• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुमिना
२०७७ कार्तिक १५ शनिबार ०६:१८:००
समाज

पारिवारिक बन्धनमा महिला लेखक

‘लेखक बन्न मन छ, तर परिवार बिग्रियो भने !’

२०७७ कार्तिक १५ शनिबार ०६:१८:००
सुमिना

२० औँ शताब्दीकी अंग्रेजी साहित्यकी एक आधुनिक लेखिका भर्जिनिया वुल्फले स्पष्ट रूपमा भनेकी छन्, ‘महिलालाई रचनात्मक क्रियाकलापका लागि आफ्नै कोठा चाहिन्छ ।’ विश्वप्रसिद्ध निबन्ध ‘एउटा आफ्नै कोठा’ मा उनले कुनै महिला लेखक बन्न चाहन्छिन् भने उनीसँग एउटा आफ्नै कोठा र केही पैसा हुनुपर्छ भन्ने कुरालाई विशेष जोड दिएकी छन् ।

 

उनका अनुसार यदि हामी राम्रोसँग खान पाएका छैनौँ भने राम्रोसँग सोच्न सक्दैनौँ, राम्रोसँग सुत्न सक्दैनौँ, न त राम्रोसँग लेखन कार्य नै अगाडि बढाउन सक्छौँ । उनले चर्को अभावलाई प्रगतिको बाधक भनेकी छिन् । त्यसैगरी सिमोन द बोउवारले पनि ‘द सेकेन्ड सेक्स’मा मुक्तिको चेष्टा सामूहिक हुनुपर्छ र यसका लागि सबैभन्दा पहिले स्त्रीको आर्थिक स्थितिको विकास आवश्यक छ भनेर महिला उत्थानका निम्ति आर्थिक समृद्धिलाई प्रमुखताका साथ जोड दिएकी छिन् ।

 

उपयुक्त वातावरण र आर्थिक समृद्धि महिला लेखन सहजताका निम्ति अनिवार्य भनिए पनि के यति मात्रैले महिला लेखकको समस्यालाई समाधान गर्न सक्ला त ? यो अर्को प्रश्न हो । महिला लेखन भनेको महिलाको स्वाधीनतासँग जोडिएको पाटो नै हो ।

 

जहाँ महिलाको स्वत्व नै पितृसत्तावादको कब्जामा छ, त्यहाँ महिलाका हरेक इच्छा, आकांक्षा, स्वप्न र उद्देश्यहरू स्वतन्त्र हुने कुरा नै भएन । त्यसो त अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक तथा महिला मुक्ति आन्दोलनकी अगुवा क्लारा जेट्किनले वर्गचेतनाको विकाससँगै वर्गसंघर्षबाट मात्रै महिला मुक्ति सम्भव हुने धारणा पेस गरेकी छिन् । महिला मुक्तिभन्दा परको कुरा होइन, स्वतन्त्र र सिर्जनशील महिला लेखनको सवाल पनि ।

 

शताब्दीऔँअघिका यी र यस्ता विश्लेषण आजको परिवेशसँग पनि मिल्दाजुल्दा नै छन् । हाम्रो समाजमा पनि केही सीमित महिला लेखकका नामहरू अगाडि आउँछन् । ती नामहरू हामी औँला भाँचेरै गन्न सक्छौँ । जति छन्, सबैका आ–आफ्नै संघर्षका कथा छन् । जो लेख्न चाहन्छन् या केही लेखिरहेका छन्, उनीहरू पनि विभिन्न बाधा व्यवधानहरूका कारण संकुचित दायरामा सीमित हुनुपर्ने अवस्था छ । महिला भएकै कारण आफ्ना अभिव्यक्ति खुलस्त अभिव्यक्त गर्न नसक्ने सामाजिक बाध्यात्मक परिस्थिति त छ नै, तर यो परिस्थितिसँग भिड्दा पनि लेखनका निम्ति उपयुक्त वातावरण अर्को ठूलो समस्या बनेर हाम्रा अघिल्तिर उभिएको छ ।

 

महिला लेखनका समस्या
साहित्यमा कलम चलाइरहेकी एकजना दिदीले केही समयअघि कुराकानीका क्रममा आफ्ना समस्या अभिव्यक्त गरिन् । उनले भनिन्, ‘मलाई लेखनमा तीव्र रुचि छ, तर खुलेर लेख्न डर लाग्छ । सुरुवाती दिनमा सीमान्त वर्गबारे एउटा लेख लेखेर म लेखनमा प्रवेश गरेकी हुँ । तर, पछि डर लाग्यो र मैले त्यो लेखलाई हटाएँ । त्यसपछि कहिल्यै त्यसरी लेख्ने हिम्मत गरिनँ । यसरी नै केही कथा, कविताहरूमा मात्रै सीमित भएँ । मलाई समसामयिक र सामाजिक विषयमा लेख्न मन लाग्छ, तर घर बिग्रिन्छ कि भन्ने डरले रोकिन्छु । खासमा लेख्नका निम्ति स्वतन्त्र हुनुपर्दो रहेछ । म स्वतन्त्र छैन ।’

 

समग्रमा उनले आफू विवाह संस्थामा संलग्न भएका कारण लेखनमा अवरोध भएको कुरा दर्साइन् । परम्परागत विवाह संस्था महिलाहरूको रहर र उद्देश्यको बाटोमा कसरी काँडेतार बनेर उभिएको छ र पारिवारिक निजी साङ्लोले बाँधेर सामाजिक र सामूहिक जीवनबाट टाढा राख्न चाहेको छ भन्ने कुराको यो एउटा दृष्टान्त हो ।

 

घर बिग्रिने त्रासमा कतिन्जेल महिलाहरूले आफ्नो लेखन, विचार र अभिव्यक्तिमा लगाम खिच्नुपर्ने ? लेखेकै आधारमा बिग्रिने त्यो कस्तो घर होला ? खुलेर लेख्दैमा घर बिग्रिन्छ भने त्यस्तो कमजोर घर बिग्रिन दिने हिम्मत किन नगर्ने ?

आखिर किन एक विवाहित स्त्री खुलेर आफ्नो लेखन यात्रामा अघि बढ्न सक्दिनन् ? फरक विचारको प्रतिनिधित्व गर्ने मतहरू अभिव्यक्त गरेकै आधारमा घर बिग्रिने परिस्थिति के र कस्तो कारणले निम्त्याइरहेको छ ? के हो यसको जड कारण ? पितृसत्ताले निर्धारण गरेको महिलाप्रतिको सामाजिक चेत या महिलाको आफ्नै कोठा नहुनु या आर्थिक रूपमा विपन्न हुनु या परनिर्भरता ? 

 

समाजले निर्माण गरिदिएको महिलाको कमजोर मनोवृत्तिले पनि पक्कै यहाँ भूमिका खेलेको हुनुपर्छ । घर बिग्रिने त्रासमा कतिन्जेल महिलाहरूले आफ्नो लेखन, विचार र अभिव्यक्तिहरूमा लगाम खिच्नुपर्ने ? लेखेकै आधारमा बिग्रिने त्यो कस्तो घर होला ? खुलेर लेख्दैमा घर बिग्रिन्छ भने त्यस्तो कमजोर घर बिग्रिन दिने हिम्मत किन नगर्ने ? कहिलेसम्म मर्यादा, डर र त्रासमा अल्झिएर आफ्ना उद्देश्य, सपना र रहरहरूउपर सामाजिक तथा पारिवारिक सम्झौता स्वीकार गरिरहने ?

 

बाह्य रूपमा नियाल्दा हामीलाई लाग्न सक्छ, कतिपय महिला लेखकहरू बेरोकतोक स्वतन्त्र र निर्बाध रूपमा लेखिरहेका छन् । तर, आन्तरिक रूपमा बुझ्ने हो भने उनीहरूका पनि आ–आफ्नै समस्या छन् । विभिन्न बाधा व्यवधानका बाबजुद कडा संघर्षका साथ लेखिरहेका छन् । २१औँ शताब्दीसम्म आइपुग्दा पनि पराधीनता महिला लेखनको मात्रै समस्या नभएर महिलाका हरेक इच्छा, आकांक्षा, उद्देश्य र स्वप्नहरूका अगाडि निकै ठूलो समस्याको पहाड बनेर उभिएको छ । एउटा त्यस्तो अजङको पहाड, जसलाई भत्काउन तत्काल कुनै अचुक हतियार नै भेटिएको छैन ।

 

निजी परिवार र निजी सम्पत्तिको उदयसँगै बलशाली बनेको पितृसत्ता जति पुरानो हो, महिला दासत्व पनि त्यति नै पुरानो हो भन्ने कुरा विभिन्न तथ्यले खुलासा गर्छन् । त्यो दासयुग होस् या सामन्तवादी युग अथवा पुँजीवादी युग नै किन नहोस् । सदियौँदेखि महिलाहरूलाई यो या त्यो रूपमा, यो या त्यो बहानामा दासत्व झेल्न बाध्य पारियो ।

 

परिवारभित्र कसैकी स्वास्नी बनाई महिलाका इच्छा, आकांक्षाहरूलाई एउटा घरको चौघेराभित्र कैद गरियो । महिला भन्नेबित्तिकै बच्चा जन्माउने, हुर्काउने, घरको कामकाज समेट्ने र परिवारको रेखदेख गर्ने यन्त्रको रूपमा मात्रै बुझियो । महिलाको स्थिति एउटी सेविका वा नोकरको स्थितिभन्दा भिन्न रहेन । समयक्रमसँगै केही संघर्ष  भए, जसबाट महिलाहरूको स्थितिमा केही फेरबदल अवश्य आयो ।

 

सीमित महिलाहरू शिक्षित तथा आत्मनिर्भर पनि भए । तर, आधुनिक समयसम्म आइपुग्दा पनि महिलाको स्वतन्त्रता पुरुषको अधीनबाट मुक्त हुन नसक्नुले परिवर्तनको आफ्नै नियम बोकेको समाजको प्रगतिशीलतामाथि नै सन्देह गर्ने ठाउँ छाडेको छ । एउटा पतिमा पत्नीलाई सेविका ठान्ने मनोवृत्ति अझै पनि समाप्त भएको छैन ।

 

महिलाहरूले परम्परासँग विद्रोह गर्नुपर्छ, अघि बढ्नुपर्छ, आत्मनिर्भर र स्वावलम्बी हुनुपर्छ भन्ने खालका अभिव्यक्ति दिएर बाहिर अत्यन्तै उदारजस्तो देखिनु तर आफैँ अत्यन्तै संस्कारी प्रेमिका या पत्नी चाहनु र घरभित्र आफ्नै श्रीमतीका इच्छा, आकांक्षालाई कुल्चिएर कैद गर्नु पुरुषवादका मूल चरित्र हुन् ।पुरुषवादको यो दोगला चरित्र जहिल्यै महिला उत्थानका निम्ति घातक नै सिद्ध हुने गर्छ ।

 

हाम्रो मुलुकमा कसैकी श्रीमती भएर महिला अझै पनि मनलाग्दो काम गर्न स्वतन्त्र छैनन् । अपवादबाहेक पतिहरू चाहँदैनन् कि आफ्नी श्रीमती योद्धा बनोस्, लेखक बनोस्, समाज सुधारक बनोस् या विद्रोही बनोस् । उनीहरू पत्नीको रूपमा सधैँ एक सेविका वा यौनकर्मी नै चाहन्छन् । कोही राजनीतिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा संलग्न हुने र लेख्ने अनुमति दिन्छन् भने पनि यो गर यो नगर, यो लेख त्यो नलेख, यतिसम्म लेख त्यतिसम्म नलेख भनेर कामकाज र लेखनको दायरा छुट्याइदिने गरेको पाइन्छ ।

 

सत्ता सधैँ शासकीय प्रवृत्तिको हुन्छ, समाज सत्ताद्वारा शासित हुन्छ र मानिसहरू सत्ता र समाजको कब्जामा हुन्छन् । विभिन्न नियम–कानुनका विधि–विधान रचेर यसप्रकारको सत्ता र समाज नामको संस्था व्यक्तिका स्वतन्त्रताहरू संकुचित गर्छ । यथार्थमा यो शासकीय चरित्रको सत्ता नै सदियौँदेखि महिलाहरूलाई सोच्न र चिन्तन गर्नबाट वञ्चित गराउन चाहन्छ ।

 

महिलाहरूलाई सिर्जनात्मक लेखनबाट टाढा राख्न चाहन्छ । पिता तथा पतिहरू यो सामाजिक प्रणालीका मोहरा मात्र हुन् ।आखिर यो पद्धति किन महिलाहरूलाई अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित गर्न चाहन्छ ? किन अभिव्यक्तिहरू दबाएर कुण्ठित पार्न र विचारहरूमा प्रतिबन्ध लगाउन चाहन्छ ? महिलाहरूको अन्तरहृदयबाट निस्किएका शब्दबाट किन हतोत्साहित हुन्छ ? किन चाहन्छ, महिलाहरू दासत्वबाट मुक्त हुनका लागि पुरूषवादविरुद्ध विद्रोह नगरून् ?

 

एकातर्फ पुरुष र पितृसत्ताको अधीनका कारण महिला स्वतन्त्र लेखनबाट वञ्चित हुनुपरेको छ भने अर्कोतर्फ भर्जिनिया वुल्फले भनेजस्तै आफ्नै कोठा र पुँजीको अभावका कारण पनि महिला लेखकले ठुल्ठूला चुनौतीहरूसँग भिड्नुपरेको छ । न माइतीघरलाई महिलाहरूले आफ्नो घर भन्न सक्छन्, न त पतिको घरलाई नै ।

 

‘पैतृक सम्पत्तिमा समान अधिकार’ भनेर कानुनले घोषणा त गरेको छ, तर के महिलाहरूले जन्मघर र सम्पत्तिलाई निर्धक्कसँग आफ्नो घर तथा सम्पत्ति भन्न सक्ने वातावरणको निर्माण भएको छ त ? छोरीलाई सधैँ ‘पराइघर जाने जात’को रूपमा बुझिने हुनाले पिताको सम्पत्तिमा हकदाबी गर्दा आफ्नै दाजुभाइसँग दुस्मनी झेल्नुपर्ने अवस्था छ । आफ्नैसँग शत्रुता मोल्ने हिम्मत सायदै कसैले गर्लान् । पतिको सम्पत्ति पनि उसैको अधीनमा हुन्छ । पतिलाई खुसी बनाउन सके मात्र कमाइ र सम्पत्ति भोग गर्न पाउने परिस्थिति छ । आफ्नो छुट्टै कोठा नहुनु भनेको सोच्ने वातावरण नहुनु हो र सोचबाट वञ्चित हुनु भनेको लेखनबाट टाढा रहनु हो । यो महिला लेखनको अर्को समस्या हो ।

 

जोे पुरुषहरू उत्तेजक र विवादित हर्कत गर्छन्, तिनलाई ‘साहसी’ भनेर वर्णन गरिन्छ । तर, महिलाद्वारा प्रस्फुटन गरिएका केही भिन्न मतहरूलाई समाज भड्काउने गतिविधिको रूपमा चित्रित गरेर लाञ्छित र आरोपित गरिन्छ । जब कुनै महिला समाजमा विद्यमान कुरीति, कुसंस्कार तथा खराब गतिविधिमाथि प्रहार गर्छिन्, तब पितृसत्तात्मक समाजको टाउको दुख्न थाल्छ ।

 

घरपरिवार र समाजबाटै उनीहरूलाई रोक्ने भरपूर प्रयास गरिन्छ । फरक मत राख्नेबित्तिकै सामूहिक प्रहार गरिन्छ । तुच्छ गालीहरूको सिकार बनाइन्छ । खुलस्त अभिव्यक्ति राख्ने महिला लेखकलाई अराजक उच्छृंखल, कुण्ठित र पागल करार गरिन्छ । आठ हजार वर्षदेखिको शोषणका विरुद्धको आक्रोश शब्दमार्फत ओकल्दा त्यो कसरी कुण्ठा हुन्छ ? कलमबाट दासत्वमाथि विद्रोह बोल्ने लेखक कसरी पागल हुन्छ ? 

 

पुरुषप्रधान समाज महिलालाई दोस्रो श्रेणीको मनुष्य मान्छ । समाजको जुन मानसिकता एउटी महिलालाई पूरा मानव मान्न इन्कार गर्छ, ऊ हार्दिकतापूर्वक एक लेखक अर्थात् सचेत मानव कसरी स्वीकार गर्न सक्छ ? महिलाले उठान गरेका विषय कसरी न्यायसंगत ठान्छ ? कसरी अनुशरण गर्छ ? पितृसत्ताको पुरुषवादी मानसिकता र महिलाप्रतिको सामाजिक दृष्टिकोण महिला लेखनको अर्को व्यवधान हो ।

 

हाम्रा अघिल्तिर कैयौँ महिला योद्धाका नाम छन्, जसले कलमलाई समाज बदल्ने हतियार बनाए । त्यस्तै एउटा नाम हो, पारिजात । मौसम र प्रकृतिसँग रम्ने संवेदनशील, अन्तर्मुखी र कोमल प्रकारकी एक भावुक युवती सामाजिक असमानता, विभेद र विसंगतिविरुद्ध डटेर लेख्ने एक परिपक्व लेखक बन्ने अवस्थामा पुगुन्जेल उनले के कस्ता बाधा र चुनौतीको बाटो हिँड्नुपर्‍यो होला ? उनका संघर्षका कथाहरू हाम्रा निम्ति प्रेरणा बन्नुपर्छ ।

 

अब योगमायाको संघर्षमा इँटा थप्न हाम्रा कलमहरू सक्षम हुनैपर्छ । इतिहास तिनैको लेखिन्छ, जो चुनौतीको बाटो हिँड्ने अदम्य साहस गर्छन् । हामीअघि खडा गरिएका विशाल चुनौतीसँग भिड्दै हामीले पनि अप्ठ्यारो यात्रा तय गर्नुको विकल्प छैन । चाहे उपयुक्त वातावरणको अभाव होस् या आर्थिक समस्या या समाजमा स्थापित मनोवृत्ति । यी सम्पूर्ण बाधा सामाजिक व्यवस्थाले निम्त्याएका हुन् । जहाँ सिंगो अस्तित्व नै एउटा अवरोधक व्यवस्थाको फन्दामा छ, त्यहाँ केही झुण्ड वा एक व्यक्तिको स्वतन्त्रता दीर्घजीवीक हुन सक्छ भनेर कसरी कल्पना गर्नु ?

 

अन्त्यमा
यस्तो अवरोधक संरचनाको स्तम्भ भत्काउँदै हामीले त्यस्तो व्यवस्थाको खोज र पहिचान गर्नु जरुरी छ, जहाँ महिलाद्वारा अभिव्यक्त विचारले पनि समान महत्व पाऊन् । खुलेर बोल्न र लेख्न पाउने वातावरणको सिर्जना होओस् । अभिव्यक्तिको रोकावटले कुण्ठित हुने सामाजिक वातावरण झेल्नु नपरोस् । लेखनले प्रतिकूल अवस्थाको सामना गर्नु नपरोस् । फरक विचार व्यक्त गरेकै आधारमा सामाजिक तिरष्कार सहन गर्नु नपरोस् । घर भत्किने त्रासमा संकुचित हुनु नपरोस् । एउटा त्यस्तो सामूहिक व्यवस्था होस्, जसले महिला स्वतन्त्रता र स्वाधीनताको सुनिश्चितता गरोस् । सोचौँ, त्यस्तो कुन व्यवस्था होला, जसले महिलाहरूको स्वतन्त्रतामाथि आफ्नो अतिक्रमणको पन्जा पुर्‍याउँदैन ?