• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १५ शनिबार ०६:२८:००
समाज

घुँघट त्यागेर बसमा कन्डक्टर

मधेसतिर

२०७७ कार्तिक १५ शनिबार ०६:२८:००

विरगन्जबाट राजविराज पुग्ने ‘स्वस्तिका ट्राभल्स’ चढेँ । मेरो छेउमा बस्ने यात्रीलाई एकजना कुर्ता–सुरुवाल लगाएकी महिलाले सोधिन्, ‘कहाँ जानुहुन्छ ? टिकट लिनुभयो ?’ ती यात्रीले भने, ‘छैन ।’ महिलाले पुनः भनिन्, ‘त्यसो भए भाडा दिनुस् ।’ ती महिला देखेर मलाई अचम्म लाग्यो । किनकि, यतिका वर्षसम्म मधेसी महिला कन्डक्टर मैले कहिल्यै देखेको थिइनँ । बस राजविराजतिर हुइँकिइरह्यो । उनी यात्रुको टिकट चेक गर्दै, पैसा उठाउँदै अगाडि बढिन् । 


प्रदेश २ को समाजमा रूढिवादी विचार र विसंगतिहरू जबरजस्त छ । यो त्यही मधेस हो, जहाँ मोटरसाइकल र कोट दाइजोमा नदिएको निहुँमा पनि छोरीहरू मारिन्छन् । यो त्यही समाज हो, जहाँ महिला हिंसा र हत्याका घटना दिनहुँ हुने गर्छ । समाचारमा नसुनिएका महिला हिंसा झन् कति होलान् ।

 

पितृसत्ताले राज गरिरहेको यो ठाउँमा एउटी मधेसी महिला कसरी सार्वजनिक बसको कन्डक्टर बनिन् ? महिला ‘कमजोर’ हुन्छिन्, पुरुषले ‘सबथोक’ काम गर्ने हो भन्ने मनोविज्ञान भएको ठाउँमा एउटी महिला सहचालक कसरी भइन् ? युगौँको घुँघट हटाएर यो स्वतन्त्रताको उडान कसरी भरिन होला ? उनले टिकट चेक गरिरहँदा मेरो मनमा यिनै प्रश्नहरू खेलिरहे । 


‘स्वस्तिका ट्राभल्स’ सिरहाको चोहर्वा पुग्दा मैले ती साहसिक महिलाको केही तस्बिर लिएँ । बसबाट ओर्लिंदै सोचेँ, ‘उनका बारेमा लेख्नेछु ।’ राजविराजका पत्रकार मित्रहरूसँग सहयोग लिएँ, र पछि उनीसँग भेटेँ । 


०००
उनको नाम रहेछ, स्वस्तिका यादव (३२) । मानिसहरू उनलाई कल्पनाको नामले पनि बोलाउँदा रहेछन् । तीन दशक पार गरिसकेकी सप्तरी राजविराज नगरपालिका–७ बस्दै आएकी स्वस्तिकाका दिनहरू बसमै बित्छन् । उनको प्रत्येक दिनको यात्रा राजविराजबाट सुरु हुन्छ, अनि वीरगन्ज पुगेर टुंगिन्छ । बिहान साढे ४ बजे उनको बस छुट्ने समय हो । 


स्वस्तिकाको १४ वर्षकै उमेरमा बिहे भयो । परिवार राम्रो भए पनि चुनौती कम थिएन । मनीषा, अर्चना र अक्षत गरी तीन सन्तानकी आमा हुन्, उनी । मनीषा स्नातक, अर्चना १२ कक्षा र अक्षत ९ कक्षामा अध्ययनरत छन् । स्नातक तहमा अध्ययनरत मनीषा आफ्नी आमाले चुनौती मोलेको बताउँछिन् । ‘साथीहरूबीच कुरा चल्दा आमा बसको कन्डक्टर भएर हिँडेको साथीहरूले भन्दा थोरै लाज त लाग्छ,’ स्वस्तिकाकी छोरी मनीषा भन्छिन्, ‘तर, किताबमा महिला–पुरुष समान हो भनेर पढाइ हुन्छ । त्यसको उदाहरण आफ्नै आमा भइदिँदा गर्व पनि लाग्दो रै’छ ।’


‘अई लाइनमा दिक्कत छ, मगर हामी आफैँ नभए सपै पैसा कन्डक्टरले खाइदिन्छ । दुई–तीन हजार मात्रै दिन्छ,’ बसको साहु भएर पनि आफैँ सहचालक बन्नुको कारण बताउँछिन्, स्वस्तिका । 


स्वस्तिका प्रत्येक चोकमा बसबाट ओर्लिन्छिन्, कुदेर बुकिङ काउन्टरमा पुग्छिन्, अनि फेरि बसमा फर्किन्छिन् । बसमा चढ्नु, ओर्लनु, यात्रु चढाउनु, टिकट चेक गर्नु, सहचालक साथीलाई अह्राउनु उनको हरेक दिनको काम हो । यसैमा भ्याइनभ्याई छ, उनलाई । सुरु–सुरुमा निकै गाह्रो भए पनि बिस्तारै सजिलो हुँदै गएको उनको अनुभव छ । अहिले यो क्षेत्रमा आफू स्थापित पनि भइरहेको र सबैले सम्मानपूर्वक हेर्ने गरेको देख्दा दंग छिन्, स्वस्तिका । भन्छिन्, ‘मधेसी महिलाले के गर्न सक्दैनन् र ? आँट गरे जस्तो काम पनि गर्न सकिन्छ ।’ 


स्वस्तिकाको पुरानो घर सिरहा नगरपालिका–२ हो । आठ दाजुभाइ–दिदीबहिनीमध्येकी उनी माइली । १४ वर्षको उमेरमा मिर्चैया नगरपालिका–८ भगवतपुरमा विवाह भयो । विवाह भएको परिवार राम्रै जग्गाजमिन भएको थियो । २० वर्ष नपुग्दै उनी तीन सन्तानकी आमा बनिन् ।राजविराजको बसस्टेसननजिकै स्वस्तिकाको बुबाले पान पसल खोलेका थिए । स्वस्तिका पनि त्यहीँ बस्थिन् । त्यहीँ बस्दाबस्दै उनलाई घुम्टोभित्र बन्दी भएर बस्न मनै लागेन । घुँघटभित्रको संसार निकै साँघुरो लाग्न थाल्यो । 


८ वर्षअघि १२ लाखमा म्याजिक भ्यान किनेर राजविराजदेखि लहानसम्म चलाउन थालिन् । त्यति राम्रो फापेन । तर, निराश भइहालिनन् । त्यसपछि राजविराजदेखि वीरगन्ज चल्ने बस ना.४ख ६१२० नम्बरको बस २८ लाखमा किनिन् । भन्छिन्, ‘बैंकबाट ऋण लिएर बस किनेँ । तर, आम्दानी भएन ।’ बसले राम्रै कमाइ गरे पनि बीचमा हुने गडबडीका कारण आफ्नो हातसम्म पैसा नपुगेको ठहरमा पुगिन्, स्वस्तिका । ‘त्यसपछि म आफैँ बसमा कन्डक्टर बन्ने निर्णयमा पुगेँ,’ उनी भन्छिन्, ‘सुरु–सुरुमा निकै गाह्रो भयो । पछि सबैले माया गरेर दिदी भन्न थाले । काम पनि सिकेँ ।’ बसमा कमाइ राम्रो हुँँदै गयो । स्वस्तिका पनि काममा अभ्यस्त हुँदै गइन् । अहिले त उनले थप दुईवटा बस पनि किनेकी छन् । आफू एउटा बसमा काम गर्छिन्, अरू बसमा कर्मचारी खटाएकी छन् । 


स्वस्तिकाको पारिवारिक सम्बन्ध भने त्यति सुमधुर छैन । श्रीमान्सँग सम्बन्धविच्छेद नभए पनि उनी अहिले छोराछोरीसहित माइतमै बस्दै आएकी छन् । आफ्ना तीन सन्तानलाई हुर्काउने र पठनपाठन गराउने त छँदैछ, साथै आफ्ना भाइहरूलाई समेत स्वस्तिकाले सहयोग गर्दै आएकी छन् । उनको सफलतामा माइतीको पनि साथ छ । भन्छिन्, ‘तीनवटा बसमा एक करोडजति लगानी भएको छ ।

‘त्यसपछि म आफैँ बसमा कन्डक्टर बन्ने निर्णयमा पुगेँ’
मधेसी महिला भएर बस लाइनमा काम गरेको भन्दै समाजले स्वस्तिकाको कुरा काटे । तर, उनी समाजको कुरा सुनेर बसिनन् । ‘मैलै घुँघट त्यागेर अगाडि बढ्ने हिम्मत गरेँ,’ उनी भन्छिन्, ‘अरू महिलाले पनि आ–आफ्नो ठाउँबाट हिम्मत गर्नुपर्छ ।’

 

मासिक तीन लाख किस्ता तिर्नुपर्छ । दुःख भए पनि अहिले मलाई गाडी फापेको छ ।’मधेसी महिला भएर बस लाइनमा काम गरेको भन्दै समाजले स्वस्तिकाको कुरा काटे । तर, उनी समाजको कुरा सुनेर बसिनन् । ‘मैलै घुँघट त्यागेर अगाडि बढ्ने हिम्मत गरेँ,’ उनी भन्छिन्, ‘अरू महिलाले पनि आ–आफ्नो ठाउँबाट हिम्मत गर्नुपर्छ ।’


लकडाउनमा सार्वजनिक यातायात ठप्प भएपछि उनलाई गाह्रो भएको थियो । बिस्तारै परिस्थिति खुकुलो भएसँगै उनी खुसी छिन् । गाडी लाइनमा मात्रै होइन, उनी होटेल व्यवसायमा पनि संलग्न भएकी छन् । सप्तरीमै पूर्व–पश्चिम राजमार्गले छोएको ठाउँमा ‘शम्भुनाथ स्वस्तिका लाइन होटेल’ सञ्चालनमा ल्याउने काममा जुटेकी छन् । छोराछोरीलाई उच्च शिक्षा पढाउन विदेश पठाउने योजनामा छिन् । 


बस लाइनमा काम थाल्दा छिमेकी र आफन्तहरूले समेत अविश्वास गरेका थिए । तर, उनले सबैलाई छक्क पार्दै सफलता हात पारिरहेकी छन् । उनको आँट देखेर अहिले समाज छक्क परेको छ । उनका एक दाजुले भने, ‘स्वस्तिका सानैदेखि आँटी स्वाभावकी थिइन् । त्यही भएर उनले सफलता हात पारेकी हुन् ।’ आँटिली स्वस्तिका भन्छिन्, ‘महिलामाथि हुने हिंसा रोकिनुपर्छ । महिलाले पनि हिम्मत गरेर अगाडि बढ्नुपर्छ ।