• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
छुदेन काविमो
२०७७ कार्तिक १५ शनिबार ०७:०४:००
संगीत

त्यो फिलिंगो !

त्यसपछि उनले दुःखलाई सेलेब्रेट गर्न थाले

२०७७ कार्तिक १५ शनिबार ०७:०४:००
छुदेन काविमो

ब्रायन मोक्तानको नाम मैले पहिलोचोटि सुनेको कहिले हो, भन्नुस् त ? तपाईं छक्क पर्नुहुन्छ । जसको गीत गुनगुनाउँदै म हिँड्थेँ, उनै गायकको नाम मैले पहिलोचोटि सुनेको, उनले टिस्टामा हाम फालेपछि नै हो ।


०००
को हुन् त ब्रायन ? कहिलेकाहीँ म सोच्छु । आफै छक्क पर्छु । किनकि, यसको सटिक जवाफ मसँग अहिले पनि छैन । लाग्छ, ब्रायन ड्रमिस्ट हुन् । । किनकि, उनलाई चिनाएको ड्रमले हो । होइन होइन, ब्रायन त तबलावादक हुन्, किनकि उनले नारायण गोपालले गाएको गीतमा पनि तबला बजाएका छन् । होइन नि, ब्रायन त गिटारिस्ट हुन्, किनकि उनले बजाएको गिटार सुन्नेलाई लाग्छ, त्यतिको गिटारिस्ट उतिखेर अर्का जन्मिएकै थिएनन् । होइन, ब्रायन त गीतकार हुन् । किनकि, उनको शब्दमा फोल्क स्वर झल्किन्छ । जसको गीतलाई गाएर दर्जनौँ गायक चिनिए । होइन, त्यति मात्रै कहाँ हो र ? ब्रायन त आफैँ गायक हुन् नि ! किनकि, उनले गाएका गीत दर्जनौँले मन पराएर रिमिक्स गरेका छन् ।


६ फिट अग्ला मान्छे । चम्किलो अनुहार । मोडलको जस्तो लुक्स । जोर नाडी भएको मान्छे । एक झोक्की संगीतकारको नाम हो, ब्रायन मोक्तान । 
हो, ब्रायन आफैँ तबला बजाउँथे । ड्रम बजाउँथे । गिटार बजाउँथे । सितार बजाउँथे । गीत लेख्थे । संगीत भर्थे । आफैँ गाउँथे । भन्थे, ‘मुखमा माइक्रोफोन झोसेर त जसले नि गाउँछन् नि । माइक्रोफोन ऊ पर राख । अनि यहाँबाट आवाज देऊ । तब तिम्रो स्वर चिनिन्छ ।’


मैले अघि नै भने नि ब्रायन जब गिटार बजाउँथे, उनको शरीर गिटारसँगै मिल्थ्यो । लाग्थ्यो, उनी अर्कै दुनियाँमा पुग्थे । कान छोप्ने कपाल हल्लाउँदै उनी गीतका हरफहरूको पछि–पछि दगुर्थे । जब ड्रम बजाउन थाल्थे, ड्रमको आवाजसँगै उनी उड्न थाल्थे । माथि बादलनजिक कतै पुग्थे । र भन्थे, ‘ड्रम्प बजाउँदा यसको साउन्ड सुनिनु हुँदैन । वेभ निस्किनुपर्छ ।’ संगीतसँग उनको अद्भूत प्रेम थियो । संगीतबाहेक अरू कुनै कुरासँग उनलाई सरोकार थिएन । उनी वेस्टर्न धुनमा इस्टर्न फोल्कको आत्मा मिलाउन चाहन्थे । त्यसैले गाइरहन्थे ।


०००
त्यो जमाना अर्कै थियो । दार्जिलिङमा त गीत रेकर्ड गर्ने ठाउँसम्म थिएन । त्यसैले यहाँका कलाकार मञ्च खोज्नकै निम्ति पनि नेपाल पुग्थे । गोपाल योञ्जनहरू नेपालमा जम्दै थिए । उनी पनि एउटा सपना बोकेर लुरुलुरु नेपाल छिरे । तर, ब्रायनसँग एउटा समस्या थियो । उनी जे गर्थे, आत्मैदेखि गर्थे । हरेक कुरामा उनको इमोसन जोडिन्थ्यो । त्यसैले जे मन पर्दैनथ्यो, त्यसको हठात विरोध गर्थे । विरोध गर्दा हातै उठाउन परे पनि उनी पछि पर्दैनथे । त्यसैले त उनी रिसाहा संगीतकर्मी थिए ।


त्यो वेला नेपाल रेडियोका निर्देशक थिए, नाति काजी । मीरा राणाहरू स्टुडियोमा आएर गीत गाउँथे । ब्रायन कहिले तबला बजाउँथे त कहिले गिटार बजाउँथे । कहिले चुपचाप बस्थे त कहिले संगीत भर्थे ।उनमा पश्चिमी संगीतको राम्रो ज्ञान थियो । त्यसैमा उनी पूर्वेली लोकलवज हाल्थे । र नयाँ स्वादको गीत बनाउँथे । युवाहरू त्यही स्वादमा आकर्षित बन्थे र ब्रायनको गीत सुन्न झुम्मिन्थे ।


नेपालको सामीप्यले उनको सिर्जना अझ झांगियो । संगीतकार प्रकाश गुरुङसँग उनको हिमचिम बढ्दै गयो । तर, एक दिन अचानक स्टुडियोमा नै उनले झगडा सुरु गरे । रेडियो नेपाल सिंहदरबारभित्रै थियो । पन्ध्र मिनेट बितेको थिएन, रेडियो स्टेसनभित्र सेना छिर्‍यो । ब्रायन पक्राउ परे । सेनाले ब्रायनलाई पुलिसकहाँ पुर्‍यायो । उनी पन्ध्र दिन हनुमानढोकाको ठ्याङ्ग्रामा बसे । त्यसपछि बल्ल गोपाल योञ्जन आइपुगे ।

 

भनसुन गरेर कुरा मिलाए । जेलबाट निकालेर घर लगे । ब्रायनको मुड बिग्रिइरहेकै थियो । योञ्जनले घर पुगेपछि बियर अफर गरे । दुवै बसेर पिउन थाले । थोरै पिएपछि गोपाल योञ्जनले हार्मोनियम निकालेर गाउन थाले । केही हरफ गाएपछि सोधे, ‘कस्तो लाग्यो ?’ब्रायन थोरै हाँसे र भने, ‘अब हार्मोनियम स्टाइल धेरै पुरानो भो । थोरै गिटार पनि सिक्नुस् ।’ गोपाल योञ्जन छक्क परे । त्यसकै भोलिपल्ट ब्रायन कालेबुङ फर्किए ।


०००
ब्रायनमा संगीतको भोक यति धेरै थियो, त्यही भोकले अब उनलाई शान्ति निकेतन पुर्‍यायो । शान्ति निकेतनमा भर्ना हुन निकै गाह्रो छ । त्यहाँ पुग्नेलाई कमसेकम रागको थोरै आइडिया त हुनैपर्छ । त्यो दिन एड्मिसनको निम्ति अन्तर्वार्ता हुँदै थियो । मास्टरले ब्रायनतिर फर्केर सोधे, ‘तिम्लाई कुन राग आउँछ ?’ब्रायनले पुलुक्क मास्टरको अनुहार हेरे र भने, ‘म त रागसाग केही जान्दिनँ । जान्ने भए यहाँ किन सिक्न आउँथेँ ?’


मास्टर छक्क परे । फेरि सोधे, ‘तब के आउँछ त तिमीलाई ?’ मलाई गीत बनाउन आउँछ । गाउन आउँछ । म आफ्नै गीत सुनाउँछु,‘धनुबाँसको मुरली त, भकिम्लोको ठेँडीस्वर ल्याइदेऊ मैना चरी, भाका ल्याइदेऊ फेरी ।’गीत सुनेर सब दंग परे । त्यहाँको नियम अलग छ । कसैको गीत मन परे थपडी मारिँदैन । तर, स्टान्डिङ ओवेसन दिइन्छ । ब्रायनको गीत सुनेर सबै उभिए र भन्न लागे, ‘साधु साधु !’

ब्रायनको जीवन उनकै ब्यान्ड ‘फिलिंगो’ जस्तै रह्यो । जो धरतीमा अलिकति तातो रापसँग आए, र पानीमा पसेर सधैँका निम्ति सेलिए ! 

अनि ?
उनलाई संगीत सिकाउनका निम्ति मास्टरहरूबीच तँछाडमँछाड भयो । उनको शान्ति निकेतन यात्रा सुरु भयो । त्यो माहोल निकै गज्जबको थियो । जब ब्रायनले रियाज सुरु गर्थे, होस्टेलका अरू जम्मैले अभ्यास रोकेर उनलाई सुन्थे ।

 

उनी त त्यहाँका हिरो नै भएका थिए । केटीहरू उनको वरिपरि झुम्मिन्थे । तर, ब्रायनसँग यति धेरै झोक थियो, कसैले प्रेम प्रस्ताव राख्ने आँट गर्न सक्दैनथे । बिस्तारै ब्रायनको झोक मत्थर भयो, जब एउटी बंगाली केटीसँग उनको प्रेम बस्यो ।बंगाली केटी संगीतमा मास्टर गरिरहेकी थिई । त्यो केटी त निकै राम्री थिई । यति राम्री
कि उनले जात, धर्म सब भुलेर ब्रायनसँग प्रेमको प्रस्ताव राखिन् । 


अब ब्रायन जता–जता जान्थे, राम्री केटी ऊसँगै हुन्थ्यो । यही एउटा कारण थियो, जसले गर्दा ब्रायनसँग बंगाली केटाहरू जल्न थाले ।तर, ब्रायनसँग त स्वर मात्रै थिएन, ऊसँग मजबुत शरीर पनि थियो । ६ फिट अग्लो उचाइ थियो । दुई–तीनजनाले त उनलाई कुट्ने नसोचे नि हुन्थ्यो । त्यसैले बंगाली केटाहरूले बुद्धि खटाए र ब्रायनलाई पिट्ने योजना बनाए ।


त्यो दिन ब्रायन चुपचाप खाना खाने लाइनमा उभिँदै थिए । अचानक कसैले टाउकोमा तातो दाल खन्याइदियो । त्यसपछि चारतिरबाट घुस्सी चल्न थाल्यो । ब्रायनलाई आधा पिल्ठो भइन्जेल कुटियो । तर, कसले कुटे त ? उनले देख्नै पाएनन् । उनी पन्ध्र दिन अस्पताल बसे । शरीर ठीक भएपछि चुपचाप होस्टेल फर्किए । सिरानीमा राखेको खुकुरी टिपे र बाहिर निस्केर केटाहरूलाई लखेट्न थाले । बंगाली केटाहरू होस्टेल छाडेर भागे । तैपनि, ब्रायनको रिस मरेको थिएन । तर, रिस नमरेर के गर्ने ? कम्प्लेन माथि पुगिसकेको थियो । ब्रायनलाई माफी माग्न लगाइयो । तर, उनले आफ्नो टेक छोडेनन् । भनिरहे, ‘मैले किन माफी माग्नु ?’


त्यसपछि त उनको प्रेम टुट्यो । संगीतको कोर्स छुट्यो । शान्ति निकेतनको यात्रा टुट्यो । उनी फर्केर फेरि कालेबुङ कलेज आइपुगे । शान्ति निकेतनको रवीन्द्र संगीतकी विभागीय प्रमुख नीलिमा घोष थिइन् । उनी पछिसम्म पनि कालेबुङ आइरहन्थिन् । ब्रायनबारे सोधिरहन्थिन् । र, भन्थिन्, ‘मलाई थाहा छैन । ब्रायन किन शान्ति निकेतन आएको हो ? उसलाई हामीले सिकाउनुपर्ने केही छैन । ऊ त प्रकृतिमा संगीत खोज्ने मान्छे हो ।’
अब ब्रायन फेरि कालेबुङमा झुम्मिन थाले ।


कालेबुङको थाना डाँडाकै अघि त्रिकोण पार्क छ । त्यहाँबाट स्ट्यान्ड, मेन रोड र नोभेल्टी जाने बाटो छुट्टिन्छ । ब्रायन मेनरोडतिर लागोस्, केही थिएन । मोटरस्ट्यान्डतिर झरोस्, केही थिएन । तर, जब नोभेल्टीतिर हिँड्थे, सम्झिँदा हुन्थ्यो, ‘अब यो मान्छे हप्ता दिनलाई गयो ।’ नोभेल्टीकै अघिल्तिर लाटा मामाको दोकान थियो । ब्रायन मुड बिग्रिए त्यहीँ छिर्थे । गाँजा तान्थे । गीत गाइरहन्थे । हप्तादिनसम्म घर फर्किंदैनथे । जब फर्किन्थे, फेरि चिन्तित बन्थे र सुनाउँथे, ‘अब यसरी हुँदैन । म फेरि जिरोबाट सुरु गर्छु ।’ तर, वान पनि पुगेको हुन्थेन, उनी फेरि लाटा मामाको दोकानमा पुग्थे । 


उनीसँग एउटै गुनासो थियो । भन्थे, ‘लाटा मामाको दोकनामा भेला हुनेहरूले पनि तमासा गर्छ । दुईवटा सिंगडा र एक गिलास चिया किनिदिन्छ । त्यसपछि भन्छ, ‘एउटा गीत सुनाइदेऊ न ब्रायन ।’ अनि, उनी अचानक झोँक्किन्थे, ‘संगीत त्यति सस्तो छ र ?’कालेबुङ कलेजमा उनको साथी थिए, अहिलेका लेखक तथा नेता डा. हर्कबहादुर छेत्री । ब्रायनका आमालाई लाग्थ्यो, छोरा हर्कसँगै हिँडिरहोस् । किनकि, ऊ निकै ज्ञानी थियो । तर, छोराको पारा अर्कै थियो । ऊ कहिलेकाहीँ धुमधुम्ती एक्लै घुरिरहन्थे । पिठ्युँमा सानो झोला बोक्थे । त्यहाँ एउटा मार्तोल हुन्थ्यो । जहिले पनि तबला बजाउन पथ्र्याे, त्यही मार्तोल निकालेर ठोकठाक पार्थे ।
त्यो त उनको बानी नै थियो । गत्ताको खातालाई उनी ड्रम बनाउँथे । ठोकेर छेँडैछेड पार्थे । कहिले सितार झिक्थे र भमराको आवाजसँग स्वर मिलाउन खोज्थे । अलि मुड चले गिटार बजाउँथे । र गाउन थाल्थे :


‘जागे, जागे सारा रात, 
मायालु आउँछिन् भनेर !’

तर, त्यही गीतलाई पनि उनले टेप रेकर्ड मात्रै गरे । पछि नेपाली नायक भुवन केसीले यो गीत रेडियो नेपालमा रेकर्ड गरे । यही गीतले केसीलाई सुरुमा चिनाइदियो । त्यसपछि त दर्जनौँले यसलाई आफ्नै स्वरमा गाउँदै रेकर्ड गर्न थाले । रेडियो नेपालमा घरिघरि यही गीत बज्न थाल्यो । अनि त ब्रायन जहाँ गाउन पुग्थे, त्यही फर्माइस हुन थाल्यो, ‘जागे जागे...।’


ब्रायनको संगीत गर्ने स्टाइल अलग थियो । गीतको टेस्ट अलग हुन्थ्यो । इस्टर्न र वेस्टर्न संगीतको सम्मिश्रण नै उनको गीत हुन्थ्यो । यताका एड्रिन प्रधान, थुपदेन भोटिया, लम्हू भोटिया, रेबिका लेप्चा, सञ्जय प्रसादलगायत धेरैले पछिसम्म उनलाई गाइरहे । 


अँ, शान्ति निकेतनबाट जब उनी कालेबुङ कलेज आइपुगे । फेरि पनि उनले गाएरै कलेज थर्काए । गिटार बजाउँदै जब ब्रायन गाउन थाल्थे, त्यो ठाउँ चिया पसल होस् वा कलेजको हल होस्, सबै दंग परेर उनलाई सुनिरहन्थे ।त्यो दिन कलेजको परीक्षा सुरु हुँदै थियो । डा. हर्कसँगै ब्रायन परीक्षा लेख्न हलनजिक पुगेका थिए । तर, भित्र पस्नअघि नै उनको मुड अचानक बदलियो । भने, ‘म लेख्दिनँ इक्जाम ?’ हर्क तीनछक्क परे । अनि सोधे, ‘किन के भो नि ?’


‘यो इतिहास कम गहिरो विषय हो ?’ ब्रायनले लामो श्वास ताने र भने, ‘म त अहिले एन्सिएन्ट हिस्ट्रीमै छु । कहिले मेडिएभल पुग्ने ? कहिले मोर्डनसम्म आइपुग्ने ? अहिले त मलाई गुफाको कुराबाहेक अरू केही थाहा छैन । त्यसैले म लेख्दिनँ ।’ब्रायन अचानक फर्केर घरतिर हिँडे । हर्क हेरेकोहेरेकै भए ।


इक्जाम सकेको कति दिनपछि हो, बल्ल ब्रायनसँग हर्कको भेट भो । अचम्म ! तर, त्यो दिन त ब्रायन आफ्नो प्रिय सितार बेच्न गइरहेका थिए । ‘किन बेच्ने नि सितार ?’ हर्क फेरि छक्क परे । ‘लाटा मामाको चार सय रुपियाँ बाँकी छ । अब यै राखोस्,’ ब्रायनले अनुहार बिगार्दै भने । हर्कले सितार हातमा लिए । र भने, ‘लु सात सय राख । चार सय बाँकी तिर्नलाई । तीन सयचाहिँ तिमी आफैँ पिउनलाई ।’ब्रायन छक्क परे ।  डा. हर्क भन्छन्, ‘मलाई खुसी लाग्छ । कमसेकम ब्रायनले छोएको सितार मसँग आज पनि छ ।’


०००
८० को दशक सुरु हुँदै थियो ।  दार्जिलिङमा प्रान्त परिषद्को कुरा उठ्दै थियो । त्यहीवेला मोरार्जी देसाईले नेपाली भाषालाई विदेशी भाषाको संज्ञा दियो । दार्जिलिङका मान्छे बिस्तारै जुर्मुराउन थाले । हरेकले अलग राज्यको सपना देख्न थाले । त्यहीवेला ब्रायन मोक्तानहरूले नयाँ ब्यान्ड सुरु गरे, फिलिंगो ।
त्यही ब्यान्डमा केशर मोक्तानहरू थिए । नवरत्न प्रधानहरू थिए । राजु मोक्तान र कमल उपासकहरू थिए । ‘फिलिंगो’ गाउँ–गाउँ पुग्न थाल्यो । स्कुल–स्कुलमा कार्यक्रम गर्न थाले । मान्छेलाई सांस्कृतिक रूपमा जागरुक गराउने ब्रायनहरूको उद्देश्य थियो । यो क्रम निकै पछिसम्म चलिरह्यो ।

 

त्यो जमानामा दार्जिलिङमा गीत रेकर्ड गर्ने ठाउँसम्म थिएन । त्यसैले यहाँका कलाकार मञ्च खोज्नकै निम्ति पनि नेपाल पुग्थे । गोपाल योञ्जनहरू नेपालमा जम्दै थिए । ब्रायन पनि एउटा सपना बोकेर लुरुलुरु नेपाल छिरे ।


ब्रायन खासमा परफर्मर थिए । गिटारविना उनी गाउन सक्दैनथे । गाउँदै जाँदा उनी आफैँलाई हरफहरूमा हराउँथे । कहिले मुड्की उचाल्दै गाउँथे । स्टेजमा गाऊन् वा भट्टी पसलमा, ब्रायनको अवतार एकै हुन्थ्यो । त्यो जमाना ब्रायन मोक्तानकै थियो । युवाहरूको प्रेम उनकै गीतबाट सुरु हुन्थ्यो । हरेक प्रेमिल जोडीले आफ्नो यात्रा ‘जागे जागे’ गाएर सुरु गर्थे । तर, त्यही गीत बनाउने ब्रायनको प्रेम कहिल्यै सफल भएन ।

 

शान्ति निकेतनको प्रेम यतिकै टुट्यो । कालेबुङमा फर्किएपछि एउटी तामाङनीसँग उनको प्रेम बस्यो । तर, प्रेममा परेपछि थाहा पाए, उनीहरूको त थर एकै परेछ । त्यसपछि उनले दुःखलाई सेलेब्रेट गर्न थाले । उनका गीतहरूमा त्यही प्रेमको खोट पनि देखिन्छ । त्यही पीडाको अनुहार पनि झल्किन्छ ।


पछि उनी फेरि केही दिनलाई जन्मथलो सोरेङ फर्किए । घरमा काम सघाउँदै बसेकी एउटी केटी थिइन् । उनले उसैलाई जीवनसंगीनी बनाए । पछिसम्म पनि उनी हाँस्दै भन्थे, ‘बिहे भनेको कुन ठूलो कुरा हो र ? बाहिरबाट केटी ल्याए वर्षदिन त घरको रखनधरन चिनाउँदै जान्छ । त्यै भएर मैले घरकैलाई बिहे गरेँ । भाउजूको ट्यालेन्ट तिमेरले देखेकै छैन । अहिले पनि तिमेरको भाउजूले क्या रूख चढ्दिन्छ, नि ?’


ब्रायनसँग केही छटपटी थियो । केही पीडा थियो । केही अधुरा सपना थिए । केही अपुगका कथा थिए । त्यही पीडाको कारण उनी पिइरहन्थे । अन्तिम समयमा उनी क्रसरोडमा हुन्थे । मधुसूदन लामा, उर्गेन लामा, केशर मोक्तानहरूसँग भलाकुसरी गर्थे । पिउँथे, फेरि गाउँथे । फेरि गाउँथे, अनि पिउँथे । पिएर सडकमा निस्किँदा कोही माग्ने भेटे आफूले लगाएको कोर्टसम्म खोलेर दिइराख्थे । उनले जीवनलाई जहिले मुडअनुसार सेलेब्रेट गरे । अनि मृत्युलाई नि त्यसरी नै सेलेब्रेट गर्न चाहे ।


त्यो सन् २०११ को कुरा थियो । बंगाल विधानसभा चुनाउ ठ्याक्क सकिएको थियो । उनी चुनावी ड्युटीमा खटिएका थिए । खरसाङबाट रोहिणी मार्ग भएर सिलिगुडी हुँदै फर्किंदै थिए । टिस्टा हाइवेनजिक आएपछि उनले अचानक अनौठो हरकत देखाए । हठात् गाडीबाट निस्किन खोजे । तब, आत्तिएर चालकले गाडी रोके ।


झरेर उनी सरासर प्यारापेटमा गएर बसे । त्यसपछि हेर्दाहेर्दै जम्प गरेर जंगलतिर लागे । घरि रूखको हाँगामा चढे । घरि ढुंगामा उभिए । लगभग दुई घन्टा उनले यस्तै के–के गरिरहे । जब उनी नदीको किनारबाट चिप्लेटी ढुंगामा उक्लिए, तब गाडीमा हुनेहरूको होस गुम भयो । त्यो भिर निकै भयानक थियो, जहाँ मान्छेलाई जानै पनि गाह्रो हुन्थ्यो । यस्तोमा ब्रायनजस्तो बलियो मान्छेलाई सम्हाल्न झन् गाह्रो थियो । फेरि सम्हाल्न जाँदा पानीमा हामफाल्ने डर अर्को थियो । त्यसैले कोही पुलिस बोलाउनतिर लागे । कोही राफ्ट बोलाउनतिर लागे । कोही उनका साथीहरूलाई फोन गर्न थाले ।


तर, दुर्भाग्य ! न राफ्टरहरू आइपुग्न पाए, न उनी भए ठाउँमा पुलिस पुग्न सके । मानिसहरूको चहलपहल बढेको थाहा पाउनासाथ ब्रायन अचानक ठिंग उभिए । खोलामा फ्याँक्दै गरेको ढुंगा यतिकै छाडे । र, चिच्याए, ‘हियर आई कम !’त्यसपछि उनी टिस्टामा उफ्रिए । ब्रायनको जीवन उनकै ब्यान्ड ‘फिलिंगो’ जस्तै रह्यो । जो धरतीमा अलिकति तातो रापसँग आए, र पानीमा पसेर सधैँका निम्ति सेलिए !