• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तेजेश्वरबाबु ग्वंगः
२०७७ कार्तिक १५ शनिबार ०७:४७:००
सम्झना

बिर्सिनसकेको विगत

उप्काउन सक्दा यस्ता बिर्सिनसकेका सम्झनाहरू खातका खात छन्

२०७७ कार्तिक १५ शनिबार ०७:४७:००
तेजेश्वरबाबु ग्वंगः

ती दिन 

ती विगत मेरा सम्झनामा ताजै छन् । विगतप्रति बेइमान बनेर आफैँप्रति कृतघ्न बन्न चाहिनँ मैले । मैले आफूप्रति न बेइमानी गर्न रुचाएँ, न कृतघ्न रहन नै । कृतघ्नता बेइमानीको पराकाष्ठा मानेँ । त्यसैले बेइमानी गर्न चाहिनँ । बेइमानीको बाटो छोटो हुन्छ । अदृश्य हुन्छ । कुइरोभित्रको कागजस्तो त्यो बेइमानीको रूपै हुन्न । बेइमानीको स्वरूप हुन्न, आकार हुन्न । स्वरूप र आकारविहीन कृतघ्न बेइमानी पिरोल्ने भूतप्रेतजस्तो उत्पीडक र त्रासदी बन्छ । त्रासदीबाटै बच्न बेइमान बन्ने रहर कहिल्यै गरिनँ । बिर्सिनसकेका विगतका सम्झना उभार्न चाहेँ त्यसैले । 


०००
बाह्र नाघी तेह्र पुगेको उमेर । २००५ जेठ ५ का दिन । काठमाडाैं, तेंगल टोल (रक्तकाली र न्हैकंतला टोलबीच) बाट चार घन्टा हिँडेर भक्तपुर खौमाटोलको वासस्थान बज्रखाल पुगेँ । चहकमहकिलो काठमाडाैँ– श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणाको राज्याभिषेककोे मुहूर्तले झकिझकाउ थियो । झकिझकाउ काठमाडांै छाडी भक्तपुरे घर पुग्दा मेरो जन्मघर निन्याउरो समय– साँझको बर्को ओढिरहेको थियो । खिन्न वातावरणलाई नर्कटे त्रिखुटीमाथि राखिएको पिल्पिले सलेदोले सन्नाटा जगाइरहेझैँ लाग्थ्यो । दियो त अन्धकार नास्ने तेज । सायद त्यो दियो ढोकाबाहिर बलेनीमुनि बलेकोले घर अँध्यारो बन्यो । बलेनीमुनिको दियोले घरको उज्यालो बाहिर तानेझैँ थियो । साँझको दियोले अन्धकार हटाउन नसके पनि परबाट देख्नेलाई पिल्पिले चेत जगाइरहेको थियो । बलेनीमुनिको दियो मृत्यु संस्कार सूचक थियो ।


दिवंगत आत्माको शान्तिको कामनामा बलेको दियो पक्कै मृत्यु संस्कारको परिचायक थियो । दियो अभौतिक आत्माको स्मृति दीप थियो । त्यो दिन चञ्चला बज्यैको अन्त्येष्टि थियो । घर शून्यसार नियास्रिनुको कारण त्यही थियो । बुझ्न चाहेर पनि अबुझ केटो थिएँ त्यसताका म । यस्तै छ जीवन ! नर्कटका त्रिखुटी त त्रिकोणको प्रतीक रहेछ । तल्लो भाग त्रिकोण माथ्लो भाग दियोको अडान । नर्कट नश्वर भौतिक/ऐहिक/दैहिक/शारीरिक/स्थूल/आंगिक अवयवहरूका प्रतीक । नर्कट जताततै टुसाउँछ, पलाउँछ, हुर्कन्छ । छोटो अवधिमै हर्लक्क हुर्कन्छ । पाक्छ, छिपिन्छ, सुक्छ जीवनजस्तै । प्रत्येक साँझ त्यसरी नै दियो बालिन्छ । लगातार अचुक, आशौच अवधिभरि निरन्तर । किरियापुत्रले पालन गर्छ । त्यो संस्कार यो श्लोक पाठ गरेर :


श्मशाने नल दग्धोसि
परित्यक्त्वा सवान्धवा
इदं नीरं इदं क्षीरं
अत्र स्नायु क्षीरं पिवते !


अमर आत्मा र पुनर्जन्मवादी विश्वासमा उठेको यो श्लोक, यो विश्वास नेपाली जीवन संस्कार बनेको छ । देखिएर पनि नबुझी यी अवधारणात्मक संस्कार अमूर्त सांकृतिक सम्पदाको अभिन्न अंग बनेको छ । २००५ जेठ ५ का साँझ भोगेको यो मूर्त व्यथाको अमूर्त कथा बिर्सिनसकेको विगत बनेछ अहिले । जन्मी खेल्दै हुर्केको ठाउँ– खौमा टोल, भक्तपुर–१३ मेरो त्यस ताकाको– वडा संख्या ! नगर वडाहरू बदलिरहन्छन् ! मात्र सरकारी सरोकारझैँ ! भक्तपुर दरबारको ठूलो द्वारअगाडि खौमामा एउटा ढुंगे शिल्प साधनाका ज्वलन्त उदाहरण बनेको बसाहा मूर्ति/प्रतिमा छ । किन रह्यो त्यहाँ त्यो ? थाहा थिएन ।

 

बालापनमा खुबै चढियो त्यस बसाहामाथि । घिचोमाथि बस्दा आनन्द लाग्थ्यो । पिठ्युँमा चढिएन । घाँटीमा चढियो बेस्कन । देवादिदेव महादेव नै बनिएझैँ हुन्थ्यो । तैपनि भोलेनाथ भइएन । मनमा कुतूहलले ठाउँ ओगट्न भने छाडेन । बसाहाको सामुन्ने शिवमन्दिर हुनुपथ्र्यो त्यहाँ । शिवमन्दिरको पश्चिममा वाहन बसाहा रहेको हुन्छ । प्रमाण पारम्परिक संस्कार मानिन्छ । परम्परा लोकसंस्कृतिको अभिन्न संस्कार बनेको छ । त्यसैले संस्कार पनि लोक गवाईको सबुत प्रमाण बन्न सक्छ । संस्कारगत परम्परा र परम्परागत संस्कृति न्याय–निसाफको विवेकी दृष्टि बन्न सक्छ । 

 

यो तर्क हो एउटा । तर्कको अर्क निचोर्नु मेरो संस्कारगत सोच बनेछ यहाँ । अग्रजहरूबाट सुनेथेँ– प्रारम्भ कालमा बिस्केट जात्राको भैरवनाथ–रथ खौमा टोलमा बनाइएको थियो । खौमा शब्दको प्रारूप खःमा थियो । यो नेपालभाषाको शब्द हो । खः शब्दको पूर्वरूप खट हो । खट संस्कृत खटिकाको छोटकरी रूप बनेको छ । ‘मा’ शब्द पनि नेपाल भाषाकै हो । नेपाल भाषामा ‘मा’ शब्दको अर्थ चौकोस (फ्रेम) हुन्छ । खःमा संयुक्त शब्द बन्दा रथको चौकोस हुन आउँछ । भैरवनाथ–रथको चौकोस बनाइएको पहिलो ठाउँ भएर त्यो टोलको नाम खःमा रहेको थियो । कालान्तरमा नेपाली भाषाको प्रभावमा खः ‘खा’ हुन पुग्यो । अनि खःमा खौमा बन्न पुग्यो । यो पनि बिर्सिनसकेका विगतका मेरा सम्झना हुन् । उप्काउन सक्दा यस्ता बिर्सिनसकेका सम्झनाहरू खातकाखात छन् । 

 

खौमा म जन्मिएको टोल । मल्लकालीन ९९ चोक त्यहीँबाट श्रीगणेश हुन्छ । ९९ चोकमध्येका निकैवटा चोकहरू अचेल श्री पद्म उच्च मा. वि. अनि पद्म कलेजका परिसर बनेका छन् । राणा शासनपछिको जमानाले ऐतिहासिक त्यस स्थलमा श्री पद्म माध्यमिक विद्यालयको जग बसाल्यो । पुरातात्विक महत्वको ठाउँ उत्खनन गरेर इतिहासका जग र सम्पदाका सामग्री बटुल्नुपर्ने स्थलमा नयाँ भवन निर्माण गर्न नहुने चेत खुलेको थिएन । सम्पदास्थलका हेरचाह त्यसताका छँेभडेल अड्डाले गथ्र्यो । छेँ भडेल शब्द पनि नेपाल भाषा कै हो । छेँ = घर । भडेल = पाकशास्त्री । छेँभडेलको सोझासोझी अर्थ घर पकाउने हुन्छ । घर बनाइन्छ, पकाइन्न । लक्षणा र व्यञ्जना अर्थ विन्यास हुँदा घर बनाउने, हेरचाह गर्ने नै हुन आउँछ । 

 

जयमल प्रधानांग वंशगोपाल, भक्तपुर निवासी । लायक जिउडालका अग्ला, रातोपिरो गाला, बायाँ खुट्टा एक–दुई सेन्टिमिटरले छोटो । घोडामा सवार भई अड्डा धाउने उनको आदत थियो । टोलमा उनको सान–मान–सौकत थियो । उनको माइलो छोरो मनोहरलाल श्री पद्मका विद्यार्थी । शिक्षक–विद्यार्थीले जुलुस गरे । आफ्नै छोरालाई पनि नतमस्तक भई जयमल ‘खरदार मुर्दावाद !’ भन्न लगाए । त्यसताका म जुद्धोदय हाई स्कुलको विद्यार्थी थिएँ । ती दिनहरू सम्झिँदा अहिले लाग्छ, पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति अचेल पश्चात्तापमा सुस्केरा हालिरहेका छन् । 

 

मेरो मावली पद्म विद्यालयको सीधै दक्षिण पर्छ । झ्याल, कौसीबाट त्यस ठाउँको सबै दृश्य देख्न सकिन्छ अझै पनि । चोकको आकारप्रकार र खेती गरिएको दृश्य अमिट छ अझै । असल जाते सुन्तला, नास्पाती र भोगटेहरू लगाइएको सुन्दर दृश्य आँखैमा छ अझै । २००८ सालमा विद्यालय बनाउन जग खन्दा यामानका इँटासँगै सम्पदाजन्य वस्तु–मुद्राप्रदाय फेला परेको क्षण पनि कहाँ बिर्सेको छु र ! त्यो घटनाको त म साक्षी नै हुँ ।

 

९९ चोकहरूका अवशेष खण्डमा बनाएको बगैंचालाई मेग्जिन बगैंचा भनिन्थ्यो । त्यस बगैंचाका आयस्ता भक्तपुरका ब्रिगेडियर कर्नेल÷जर्नेलले उपभोग गर्थे । बगैंचेहरूचाहिँ आफ्नै टोेले छिमेकी थिए । उनीहरूका बसिबियाँलो कुराकानी सुन्नु लोककथा सुनेजत्तिकै लाग्थ्यो । २०१३ को राजा महेन्द्रको शुभराज्याभिषेकको अवसरमा पद्म विद्यालयको सामुन्ने ‘त्रिभुवन स्मारक महेन्द्र पार्क’ निर्माणको काम विद्यालयका प्रधानाध्यापक अखण्डप्रसाद धौभडेलको सक्रियतामा भएको थियो ।

 

त्यस वेलाका केही रूख बिरुवा, काठका बारहरू, बीचको स्मारकस्थल अझै छ । त्यस स्थलको बीचमा राजा त्रिभुवनको सालिक स्थापना गर्ने काम कहिल्यै हुन नसकेको विवरण बिर्सिनसकेको विगतको सम्झनामा अझै सुरक्षित छ । सारमा ज्येष्ठ नागरिक जीवन साधना र बाँच्नुको मूलभूत तत्व भनेको विगतमा भएका घटनावलीलाई सम्झेर नयाँ पुस्तालाई उस्तै सम्झने मेलामेसो हस्तान्तरण गर्नु रहेछ ।