• वि.सं २०७७ मङ्सिर १४ आइतबार
  • Sunday, 29 November, 2020
नवीन विभास
२०७७ कार्तिक २२ शनिबार ०९:४५:००
समाज

त्यसपछि कमरेडले राजाको घर किने

दरबारमा सुतेको पहिलो रात कमरेडले के सपना देखे होलान् ?

२०७७ कार्तिक २२ शनिबार ०९:४५:००
नवीन विभास

कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ । 


कमरेड भने टिनछाने गेरु–रङे राजदरबारको भुइँतलामा ‘दरबार आहान’ हालिरहेछन् । जुन ठाउँमा यसअघि तीनतले दरबार उभिएको हुन्छ । जसलाई माओवादीले ‘सामन्तको दरबार’ भन्दै आगो झोेस्छ । दरबार जले पनि दरबारपछिल्तिर भने गोलाकारे सेतो अनुहारको ठूलो ढुंगा भने जस्ताको तस्तै छ, जुन ढुंगामा बसी राजाले ‘नाइमुन नाइमुन’ (नुहाउने) गरेका हुन् ।  भुइँतला भित्तामा लेखिएको छ, ‘प्रकाश व्यापार सेवा एन्ड सप्लायर्स ।’ पहिलो तलाका दुई कोठामा खुला ढोकामा पर्दा छ । भुइँतलाको दुई ढोकामध्ये एउटा बन्द छ । 


खासमा यो गाउँघरको सामान्य घर नै हो । तर, राजा राज गरेकाले ‘लोकजन’ले नाम दिएका छन्, ‘दरबार’ । ‘दरबार किनेपछि मलाई त छोटे राजा आयो’ भने,’ भुइँतलामा टोपी मिलाउँदै थोरै मुस्कान मिसाईकन कमरेड (चन्द्रबहादुर केसी)ले रुकुम रैथाने सिङारु लयमा दरबार किस्सा कथ्छन्, ‘म कहाँ राजा हुँ र ? सामन्त, दलाल, पुँजीपतिविरुद्ध जनयुद्ध लडेको मान्छे हुँ । दरबार किन्दैमा र दरबारमा बस्दैमा म राजा हुने त होइन नि !’

 

बाफीकोट
दरबार उभिएको छ, बाफीकोटमा । रुकुम (पश्चिम) सदरमुकाम मुसिकोटबाट १६ किलोमिटर पश्चिम । अनुसन्धाता एवं स्थानीय शिक्षक बिपी रिजालका अनुसार भोटे बस्तीपछि मगर बस्ती बस्छ, त्यसपछि मात्र समुदाय । बाफीकोटमा संख्याका हिसाबले क्रमशः क्षेत्री, ठकुरी, मगर, बाहुन र दलित छन् । दरबार र कोत उभिएको मूल बाफीकोट दलित बहुल छ । 


मगरलगायत कबिला राज्य कब्जा गर्दै भुरेटाकुरे राज्य बन्ने क्रममै बनेका हुन्, बाइसे र चौबीसे राज्य । भुरेटाकुरे राज्य बन्ने र भत्कने सिलसिलामा विक्रम संवत् १५५० मा तेस्रा जगती बम बाफीका थपाला बन्छ (रापती अञ्चलको इतिहास, ३४, टेकनाथ गौतम) । गौतमको उक्त किताबअनुसार माहिला जस बम या जैतु बमले मुसिकोट पाउँछन् ।उनै बम आजका मल्ल हुन् । 

 

रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटका तारकबहादुर शाह मल्ल ‘रुकुमकोटमा बसोवास गरेका मल्ल ठकुरीको वंशावली’मा लेख्छन्, ‘ठकुरी राजाहरूले आफूलाई भम, बम, मल, देव, समाल, बर्मा, राठौर, शाह, शाही, मल्ल लेख्ने चलन गरेका छन् । अहिले पनि हाम्रा भाइ सन्तान मल्ल, शाह, शाही, समाल लेख्छन् ।’
बाफीकोटमा लामो समय चल्छ, मल्लराज । बाफीकोटमा मल्लराजबारे किंवदन्ती (बाफीकोट निवासी पूर्वशिक्षक तथा रुकुम जिल्ला विकास समितिका पूर्वउपसभापति खम्बु मल्लका अनुसार) छ :


एकथरी बाहुन र मगर खगेनकोट (जाजरकोट) राजा लिन जान्छन् । राजा लिनेकै हालीमुहाली हुने हुनाले अर्कोथरी राजा लिन रुकुमकोट पुग्छन् । खगेनकोटबाट राजा लिई मग्माको नडुवा (वारिपारि देखिन्छ, तीन घन्टा पैदल दूरी) पुग्दा बाफीकोटमा बाजागाजा बजेको सुन्छन् ।  राजा भन्छन्, ‘रुकुमकोटको हो भने ठीकै छ । त्यो मेरो भाइ हो । अरू भए म लड्छु ।’

 

नभन्दै रुकुमकोटका मल्ल हुन्छन् । त्यसपछि रुकुमकोटबाट ल्याइएका मल्ल राजा बाफीकोटका राजा बन्छन् भने खगेनकोटबाट ल्याइएका राजा जिपसिङमा बस्छन् । गोर्खाली सेना पश्चिम लाग्छ । विक्रम संवत् १८४३ (बहादुर शाहको सेना) मा बाफीकोटमा ‘गोर्खा पर्छ’ । गोर्खाली सेना यति क्रूर हुन्छन् कि पश्चिमतिर अहिले पनि भयानक काटमार वा लडाइँ भयो कि भन्छन्, ‘गोर्खा पर्‍यो’ । 


बाफीकोट नामबारे दुई कहावत छन् । एउटा, लडाइँसँग सम्बन्धित छ भने अर्को बाफीकोटको अनुहारसँग (अनुसन्धाता एवं स्थानीय शिक्षक बिपी रिजाल) ।
एक, बाफीकोट आक्रमण गरेर ‘दुस्मन’ले समीक्षा गर्छ, ‘सब जितियो, बाँकी कोत छ ।’‘बाँकी कोत छ’ भन्दाभन्दै नामै बाफीकोट रह्यो । दुई, माथिबाट हेर्दा बाफीकोट लगाउने ‘कोट’जस्तो देखिन्छ । त्यसैले नाउँ नै बाफीकोट रह्यो । 

राजदरबार
बाफीकोट छेवैबाट बगेको सानीभेरीसँग बाजी लाग्दै समय पनि बग्छ ।  गोर्खा विस्तारपछि कब्जामा परेका भुरेटाकुरे राजा वा तिनकै खलकमध्येकैले त्यस ठाउँ शासनको तालाचाबी पाउँछन् । नाउँ रहन्छ, बिर्ता । तिनै भुरेटाकुरे राजा जिम्मल, मुक्खे बन्छन् । यसै सिलसिलामा ८० वर्षअघि राणा शासकले जाजरकोटी ठगेन्द्रविक्रम शाहलाई बाफीकोट ‘मुकाम’ तोकेर (दक्षिण–पूर्व रिम्ना त पश्चिमोत्तर गोतामकोटभन्दा माथि डोल्पा सीमा तोरीद्वारी र सिस्नेसम्म) बिर्ता दिन्छ ।


शाह बस्ने दरबार बनाउन जनता ‘झारा’ लाग्छ । जनताले करिब पाँच घन्टा पैदल दक्षिणपूर्व भेरीछेउ घना सालघारी भँरारवनबाट सबभन्दा राम्रा र पुराना सालका काठ र झन्डै एक दिन पैदल दूरी चौरजहारीछेउको जहारीकोट गोइरीबाट घर छाउने ढुंगा बोकेर ल्याउँछन् । बाफीकोट टाकुरामा उभिन्छ, सालका काठसहित माटोमा मासको दाल मिसाएको गारो गोडाले उभिएको तीनतले घर । 

 

‘जनश्रमदानले बनाएको दरबार हो,’ ज्यामिरकोटबाट बाफीकोट पुगेका स्थानीय एवं रुकुम जिल्ला विकास समितिका पूर्वउपसभापति खम्बु मल्ल (६६) सम्झन्छन् ।ठगेन्द्र दरबार उभिएको टाकुरा पाल्लोपट्टि अर्को टाकुरा छ । जहाँँ अहिले सिँचाइ ट्यांकी छ । त्यहाँ इँटा छ । जसले पल्लो टाकुरामा दरबार थियो भने पनि यसबारे कुनै किंवदन्ती भने छैन । 


बिर्तावाल शाह शासक र पूर्वशासक मल्ल खलकबीच शक्तिसंघर्ष चल्छ । दसैँमा मौला पुज्ने पुजारी र जिम्मल जिम्मा मल्लले पाएर शक्ति बाँडफाँट गरेर मत्थर बनाउन कोसिस भए पनि जारी रहन्छ । खम्बु थप्छन्, ‘शाह उच्च क्वालिटीका ठकुरीजस्ता त हामी (मल्ल) तल्लो तहका ठकुरीजस्ता भयौँ । यहाँ शाह र मल्लबीच मागीबिहे नै भएन ।’


शासक ज्यादतीका घाउ बाफीकोटवासीका दिलमा अहिले पनि चहराइरहेछ । जनता राजबारी र राजखेतमा काम गर्न जानुपर्ने हुन्छ । जाँदा जनताका तरुनी छोरी वा बुहारीमा राजाले आँखा लाउँछन् । त्यसपछि ? यौन तिर्खा मेट्छन् । राजतिर्खा मेट्न खेत वा बारीछेउमा स्याउलाले बारिएको हुन्छ । खम्बुअनुसार ठगेन्द्रका सात पत्नी हुन् भने ११ छोरा । 


‘हाम्रा आमा, दिदीबहिनीसित छोट्टी बस्थे । रक्सी खान्थे । तर, हामीलाई नै छोइछिटो गर्थे । राजाको लौरोलाई समेत राजा मानेर ढोग्न लगाउँथे । कस्ता जुग हुनान् ती,’ स्थानीय खारखोलाका चन्द्रबहादुर विक (५५) सम्झन्छन् ।  गोरु जुधाउन राजा हुकुम झर्छ । त्यसैगरी भैँसी जुधाउन । जित्ने गोरु र भैँसी राजाले नै लान्छन् । राजमन न हो, मन लागे पैसा दिन्छन्, नलागे दिन्नन् ।  


गैरठकुरी महिलालाई रंगीन लुगा वर्जित भएको खम्बु मल्लपत्नी सम्झन्छिन्, ‘अरूले दुई चुल्ठी बातेका, टीका लगाएको र राम्रा लुगा लगाएको देखे त मैयाले खोस्थे ।’बाफीकोट, मुसीकोट, गोतामकोट, जहारीकोट, रुकुमकोट, आठबीसकोटजस्ता भुरेटाकुरे राजथलोको उत्पीडन स्मरण गर्दै बाफीकोट गाविसका पूर्वअध्यक्ष नन्दराम देवकोटा भन्छन्, ‘आमाहरूले अहिले पनि भन्छन्, ‘नाम्रा नलाऊ, च्यात्देलान् ठकुरानीले ।’

राजाले नुहाउन प्रयाेग गर्ने गरेकाे ढुंगा ।

राजथलो बन्छ वामथलो
ठगेन्द्रपुत्र धु्रवविक्रम राष्ट्रिय पञ्चायत सदस्य बन्छन् । पञ्चायतभर कहिले गोपालजीजंग शाह त कहिले ध्रुवविक्रम रुकुमको ‘माननीय’ बन्छन् । शाहद्वय नाताले मामाभाञ्जा हुन् । स्थानीय एवं माओवादी रुकुम जनसरकार प्रमुख शरुण बाँठामगरका अनुसार २०३६ तिर क्याम्पस पढ्न गएका विद्यार्थीमार्फत बाफीकोटमा ‘वाम चस्को’ पस्छ । 


पञ्चायत ढलेपछि गोपालजीजंग नेपाली कांग्रेसमा ओत लाग्छन् भने धु्रवविक्रम राप्रपामा । ध्रुवपुत्र हुन् विवेक, जो शाही नेपाली सेनाको जर्नेल भएर राजा वीरेन्द्रको अंगरक्षक बन्छन् । दरबार हत्याकाण्डपछि लेख्छन्, ‘मैले देखेको दरबार’ । वीरभान पुरी, महेश्वर शर्मा(झुला), लालसिंह अधिकारी (मग्मा), महेश्वर गहतराज, शरुण बाँठामगर, रामप्रकाश पुरीजस्ता राजाविरोधी पुस्ता पलाउँछ । ध्रुव २०४८ र २०५१ का दुवै संसदीय चुनाव हार्छन् । 

दरबारको माथ्लो तलामा कमरेड परिवार बस्छ भने भुइँतलामा पसल चलाएका छन् । ‘मैले दरबारभन्दा तलतिरको घर बेचेर किनेको हुँ, पुख्र्यौली धन हो,’ कमरेड आफ्नो पृष्ठभूमि र जग देखाउँछन् । आफूलाई किसानपुत्र र किसानगिरी गरिरहेको दाबी गर्छन् 

 

बाफीकोट राज गर्ने मल्ल खलकीय जेबी ठकुरी रामबहादुर थापा ‘बादल’ले रोल्पा–रुकुममा चलाएको ‘सिज (सिस्ने जलजला) मितेरी अभियान’मै सामेलिएर जनमुक्ति सेना कमान्डर बन्छन् । स्थानीय खारखोलाका जनमुक्ति सेना प्लाटुन सहकमान्डर दिलबहादुर केसी कमरेड विवेक बैतडी र दार्चुलाको पहिलो सहिद बन्छन् । उनी दार्चुला गोकुलेश्वर प्रहरीचौकी आक्रमण (२०५८ मंसिर ११) मा मारिएका हुन् ।


२०५७ मंसिर ५ गते गरेको ‘नेपालमा पहिलो जिल्ला जनसरकार’ घोषणाथलो पनि माओवादीले बाफीकोट नै रोज्छ । रुकुम चुनबाङका ‘आयाम’ पूर्णबहादुर घर्तीमगर रुकुम जनसरकार प्रमुख बन्छन् भने घोषणाथलो बाफीकोटका ‘अथक’ महेश्वर गहतराज उपप्रमुख । आठ महिनापछि बाफीकोट छिमेकी गाउँका शरुण बाँठामगर प्रमुख बन्छन् भने सदरमुकाम मुसिकोटसँग जोडिएको साँकका नरेन्द्र बुढामगर उपप्रमुख । गएको स्थानीय चुनावमा बाफीकोट गाउँपालिकामा गैरमाओवादी मोर्चालाई ढालेर नेकपा (माओवादी केन्द्र)ले १० वटै वडा जित्छ । १० मध्ये एकजना वडाध्यक्ष दरबार किन्ने कमरेड हुन् भने अर्का राजदरबार र बाफीकोट गाउँपालिका केन्द्र रहेको ३ नम्बर वडा जित्ने लिलाराज विक ।


दरबारमा कमरेड
२०५६ को फागुनको एक रात । ‘पुरानो राज्य व्यवस्था टिकाउने राजसंस्थाको अवशेष’ भन्ने सैद्धान्तिक आधारमा माओवादीले ‘भौतिक कारबाही’स्वरूप दरबारमा आगो झोस्छ । दरबारमा तीन दिनसम्म आगो बल्छ । राजसम्पत्ति माओवादीले कब्जा गर्छ । माओवादी नेता र राजाबीच छलफलपछि कब्जा घर, सम्पत्ति फिर्ता हुन्छ । 


जनयुद्ध ‘सम्झौता’मा टुंगिएपछि बाफीकोट जनसरकार प्रमुख कमरेड दरबारभन्दा अलि तल घर बनाउँँछन् । तर, उनलाई कोतमै बस्नुपर्छ जस्तो लाग्छ । राजथलोबाट राज चलेको मनोविज्ञानले खेद्छ । अग्लो, खुला र ठूलो ठाउँ त दरबार मात्र हो जस्तो लाग्छ । संयोग ! कमरेड त २०५६ सम्म दरबारवाल धु्रवविक्रमकै राप्रपा हुन् । त्यसैले राज चमकधमक नजिकबाट अनुभूत गरेका हुन्छन् । दरबारमा बसे कस्तो हुँदो हो ? सुते कस्तो सपना देखिँदो हो ? दिलको कुनामा कतै चस्को पसेको हुन्छ ।


धु्रवविक्रमपुत्र विवेकले जलेको दरबारनेर घर उभ्याउन लगाउँछन्, २०६८÷६९ तिर । पूर्वपश्चिम ढल्केको दरबार उभिएको ठाउँमा उभिन्छ, उत्तरदक्षिण ढल्केको घर ।‘शान्ति प्रक्रियापछि म यो(दरबार) नजिकै बसेँ । राम्रै घर बनाएँ । साँगुरोमा थिएँ । त्यसैले मैले विवेक शाह र सुधिर शाहलाई ‘एउटा घरेली दिनुस् भनेँ,’ दरबार आहान हाल्ने क्रममै कमरेड भन्छन् ।


त्यसपछि ?

आफूले दरबार किन्नुको भूमिका बाँध्न विवेक र सुधिरविक्रम शाहद्वयलाई उद्धृत गर्छन्– यो भूगोल चानचुने होइन । हामीलाई लखेटे पनि इतिहास लखेटिन्न । हामीभन्दा पहिले मल्ल राजा थिए, चार सय वर्ष राज गरेका । तपाईं(माओवादी)हरूप्रति हाम्रो पूर्वाग्रह छैन । परिस्थिति नै त्यस्तो थियो । ‘जलाउने माओवादीलाई किन दिने’ पनि भन्लान् । हामी जन्मेको ठाउँ र पुर्खाको थलोको माया छ । हामीले बनाएको दरबार र थलोमोह छ । यसको जगेर्ना गर्ने मान्छे चाहिया छ, तपाईंबाट त्यो आशा गरेका छौँ । घरेली होइन, दरबार नै किन्नुस् । हाम्रो लागि यो घर होइन, दरबार नै हो । तपाईंजस्ता सामाजिक र राजनीतिक क्षेत्रका मानिस यो दरबारमा बस्दा राम्रो हुन्छ ।


दरबार आहान हालिरहेका कमरेडले दरबार किन्छन् (२०७२ चैतमा) । ‘वरपरको जग्गासहित यो घरको मूल्य २० लाख ६२ हजार हो । त्यसमध्ये घरलाई १४ लाख ६२ हजार हालेँ । ३६५ वर्गमिटर छ । पैसा नभएकाले बाँकी शशिराम केसी र बुद्धि केसीले किन्नुभयो । ८/१० लाख काढेर किनेको भए हुने रहेछ, तर त्यसवेला सकिएन,’ कमरेड दरबार आहान हाल्दाहाल्दै चुकचुकाउँछन्, ‘११ लाखमा तलको घर बेचेर किनेको हुँ ।’


दरबारको माथ्लो तलामा कमरेड परिवार बस्छ भने भुइँतलामा पसल चलाएका छन् ।‘मैले तल(दरबारभन्दा तलतिर)को घर बेचेर किनेको हुँ, पुख्र्यौली धन हो,’ कमरेड आफ्नो पृष्ठभूमि र जग देखाउँछन् । आफूलाई किसानपुत्र र किसानगिरी गरिरहेको दाबी गर्छन् । ‘मैले यो(दरबार) किनेपछि छोटे राजा आयो भने । म त जनयुद्ध लडेको मान्छे । सामन्त, दलाल, पुँजीपति वर्गविरुद्ध ज्यान मुठीमा राखेर लडेको । किसानको छोरा हुँ । अहिले पनि कृषिमै छु । राजघर किन्दैमा राजा हुने होइन । यो घरमा बस्दैमा राजा हुने पनि होइन ।’ 

मैले दरबार किनेपछि छोटे राजा आयो भने । म त जनयुद्ध लडेको मान्छे । सामन्त, दलाल, पँुजीपति वर्गविरुद्ध ज्यान मुठीमा राखेर लडेको । किसानको छोरा हुँ । अहिले पनि कृषिमै छु । राजघर किन्दैमा राजा हुने होइन ।


कमरेडले के सपना देखे होलान् दरबारमा सुतेको पहिलो रात ? के सपना देख्छन् होला अचेल ? जान्न जरुर जिज्ञासा जुर्मुराएको होला । तर, कमरेड सब थाती राखेर भन्छन्, ‘यो घर किन्नु र बस्नु ‘लक’ मान्छु । अवसर हो, राम्रो भूगोलमा बस्ने ।’ दरबार बेचे पनि एउटा दरबार उभ्याउने राजमोह अझै बाँकी छ । कमरेड उद्धृत गर्छन्, ‘सुधिरले ‘सुविधाभोगी भइयो, बाफीकोटमा बाटो पिच गर, अट्याच बाथरुमसहितका घर बनाऊ’ भन्नुहुन्छ । एउटा घर बनाउने उहाँहरूको मन छ । हाम्रा पुर्खा बसेको मेटिन हुन्न भन्ने आशय छ ।’सुधिर माओवादी कोटाबाट निर्वाचन आयुक्त नियुक्त हुन्छन् । 


०००
स्यार्पुदहबाट एकाएक भूमिगत भएको पानी दार्मेमा देखापर्छ । जसबाट बिजुली निकालिएको छ । किनारमा छ, दार्मे गाउँ । दार्मेका साधारण किसानपुत्र उनका दाजु पुलिस हुन् । पत्नी स्यार्पुदह जलविद्युत्की कर्मचारी । उनी पनि जलविद्युत्का पूर्वकर्मचारी हुन् । शान्ति प्रक्रियापछि मात्र उनले एसएलसी र प्लस टु गर्दै बिएड पास गरेका हुन् । दार्मे र दरबारबीच करिब तीन किलोमिटर दूरी छ । माओवादीले दरबार जलाउँदा ध्रुवविक्रमको राप्रपा कार्यकर्ता चन्द्रबहादुर केसी (४३) त कमरेड उभार बन्छन् । २०५८ मा जनसत्ताको वडाध्यक्ष । २०६० मा बाफीकोट गाजस(गाउँ जनसरकार) प्रमुख । त्यसपछि ? इन्चार्ज । गत स्थानीय चुनावमा बाफीकोट गाउँपालिका ४ नम्बर वडाध्यक्ष । 


‘१४ वर्ष बाफीकोट नेतृत्व गरेको छु,’ दरबार आहानान्ततिर कमरेडले यति भन्दा सूर्यले खामेबाट बाफीकोटलाई हात हल्लाइरहेको हुन्छ । ढाका टोपी, टिसर्टमाथि इस्टकोट र कालो पाइन्टवाल कमरेडले हालेको ‘आहान आँखीझ्याल’बाट सुप्रिमो प्रचण्डले भन्ने ‘क्रान्तिकारी छलाङ’ र पुष्पकमल दाहालले भन्ने ‘समृद्धि’ झलक्क देखिन्छ । त्योभन्दा पनि तपार्इंको अनुमानलाई सहजीकरण गर्छ, ‘कमरेडका ‘सर’ र ‘हेडसर’ले राजधानीलगायत ठूला सहरमा उभ्याएका दरबार कति भव्य होलान् ?’ जुन दरबार बिरालोले ‘गु’ लुकाएजसरी लुकाएर ‘राजा’को ऐयासी जिन्दगी जिइरहेछन् । सबभन्दा सकारात्मक कुरा के भने, कमरेड केसी कम्तीमा आफ्ना ‘सर’ र ‘हेड सर’ले पार्ने ‘स्वाङ’ र ‘ढोङ’मुक्त छन् ।