• वि.सं २०७७ मङ्सिर १४ आइतबार
  • Sunday, 29 November, 2020
डा. अरुणा उप्रेती
२०७७ मङ्सिर ६ शनिबार ०९:३८:००
सम्झना

जो स्तन क्यान्सर जितेर आमा बनिन्

२०७७ मङ्सिर ६ शनिबार ०९:३८:००
डा. अरुणा उप्रेती

स्वास्थ्य

अक्टोबर ‘स्तन क्यान्सर सचेतना’ महिना पनि हो । शुभेच्छा घिमिरे त्यसवेला ३२ वर्षकी थिइन् । उनलाई ३१ अक्टोबरकै दिन स्तन क्यान्सर भएको पत्ता लाग्यो । स्तन क्यान्सरसँग संघर्ष गरेकी शुभेच्छाले क्यान्सरसँग लड्दाका अनुभूति संगालेर एउटा पुस्तक लेखिन् । त्यो पुस्तक मेरो हातमा पर्‍यो । किताबको नाम पनि गजब रहेछ, ‘क्यान्सर करी एन्ड मी,’ अर्थात् ‘क्यान्सर, तरकारीको रस र म ।’ पुस्तक दुई दिनमै पढी सिध्याएँ । कति ठाउँमा आँखा रसायो । कति ठाउँमा आङ नै जिरिंग हुने घटनाले मन बिथोलियो । 

 

अन्तिम पानामा शुभेच्छाले लेखेकी छिन्, ‘मलाई स्तन क्यान्सर भएपछि मैले अंग्रेजीमा प्रकाशित हुने ‘नेपाली टाइम्स’मा ‘स्तनका बारेमा छलफल गरौँ’ भन्ने लेख लेखेँ । पाठकहरूले यो लेख मन पराए । मैले जिन्दगीमा राम्रा पक्षलाई लिएर बाँच्न सिकेकी छु । रुमीले भनेका छन् ‘घाउबाट नै प्रकाश छिर्छ’ मेरो लागि क्यान्सर त्यो घाउ हो ।’

 

शुभेच्छाको अनुभवले भन्छ, ‘क्यान्सर जसलाई, जुन वेला, जहाँ पनि हुन सक्ने रोग हो । उपचार राम्रोसँग पाए बाँचिन्छ । सकारात्मक सोच राखेर उपचार गर्दा छिटो निको हुन्छ,’ शुभेच्छाले पुस्तकमा लेखेकी छिन्, ‘मैले अति कठिन अवस्थामा पनि हार मानिनँ । दुःख र मानसिक पीडा मलाई नभएको होइन । मेरो पीडामा आमाबुबा झन् धेरै दुःखी हुनुहुन्थ्यो ।

 

तर, मेरो सकारात्मक सोचले मलाई ठीक गर्नमा धेरै मद्दत गर्‍यो । मेरो प्रगति देखेर डाक्टरहरू पनि छक्क परेका थिए ।’ शुभेच्छाका श्रीमान् राजले लेखेका छन्, ‘शुभेच्छाको अस्पतालमा उपचार गराउँदा मैले आफ्नो काम पनि अस्पतालबाटै गर्थें । म ल्यापटप अस्पतालमै ल्याउँथेँ र उनी सुतिरहँदा छेउमा बसी काम गर्थें ।’

 

शुभेच्छाले लेखेकी छिन्, ‘३२ वर्षीया युवतीको स्तन क्यान्सर हुुने कुरा मैले कहिल्यै सुुनेकी थिइनँ । मेरो परिवारमा आमापट्टिका कसैलाई पनि स्तन क्यान्सर छैन । जब डाक्टरले मलाई तिम्रो सेकेन्ड स्टेजको क्यान्सर छ भने म स्तब्ध भएँ । मैले राज (श्रीमान्) को अनुुहार हेरेँ, उनको अनुुहार पहेँलो भइसकेको थियो ।’ शुभेच्छाले आफ्नो बाबुुलाई आफूलाई क्यान्सर भएको खबर सुनाउँदा बाबु कसरी रोए भनेर लेखेकी छिन् । त्यो पढ्दा मन थाम्न सकिन्न ।

 

शुभेच्छाका आमाबुबाले उनलाई उपचार गराउन लन्डन लगे । ब्रिटेनको एक अस्पतालमा सित्तैंमा शुुभेच्छाको स्तन क्यान्सरको उपचार भयो । उनको दायाँ स्तन निकालेर ‘सिलिकन स्तन’ राखियो । तर, केही समयपछि त्यो स्तनले धेरै पीडा दियो । र, पुुनः उनको अर्को शल्यक्रिया गरेर अर्को स्तन हालियो । शुभेच्छाले जस्तो यसरी स्तन क्यान्सर भएर ‘नक्कली स्तन’ हालेको कुरा सुनाउने साहस प्रायः कमैलाई मात्र हुन्छ । तर, उनले साहस गरिन् । उनको परिवार र श्रीमान्ले पनि शुभेच्छालाई साथ दिए । 

 

शुभेच्छाको उपचारको क्रममा उनको आँखीभौँ, कपाल, रौंहरू मात्र झरेनन्, औँलाका नङहरू पनि खसे । हामीलाई नङ काट्दा अलि भित्रसम्म काटिए कति दुख्छ, औँलाको मासुमा केहीले छोयो भने सिरिंग हुन्छ । उनको त पूरा नङहरू नै झरे, एक–एक गरेर । उनले औँलामा टेप बेरिन् र अस्पताल गइन् । त्यो शारीरिक पीडा बयान गर्न नसकिने रहेछ । 

 

शुभेच्छा एक स्वस्थ युवती थिइन्, चुरोट, रक्सी नखाने, मासु एकदमै कम खाने । तर, कुनै पनि स्वास्थ्य समस्या नभएको मानिसलाई स्तन क्यान्सर भएको सुन्दा उनलाई ‘बज्रपात’ पर्‍यो ।

 

यो किताब पढ्दा मैले उनको साहसको प्रशंसा बारम्बार गरेँ । किनभने ‘महिलाका लागि स्तन सुन्दरता र मातृत्वका लागि चाहिन्छ’ भन्ने मान्यता हाम्रो समाजमा छ । एउटा स्तन गुमाएर ‘नक्कली स्तन’ राखेको अनुभव उनले लेखेकी छिन्, ‘स्तन शल्यक्रिया गरेपछि मेरो दुई स्तन दुई थरीका जस्ता भए । मैले मेरा नक्कली स्तनलाई ‘जोकरको हाँसो’(जोकर्स स्माइल) नाम दिएँ ।’ आफैँलाई ‘मजाक’ गर्न सक्ने उनको स्वभावले सायद त्यो असीम वेदनासँग लड्न मद्दत पुग्यो । 

 

 

शुभेच्छा एउटा स्तन गुमाएर ‘नक्कली स्तन’ राखेको अनुभव सुनाउँछिन्, ‘स्तन शल्यक्रिया गरेपछि मेरो दुई स्तन दुई थरीका जस्ता भए । मेरो नक्कली स्तनलाई ‘जोकरको हाँसो’ (जोकर्स स्माइल) नाम दिएँ ।’

 

 

शुभेच्छाले पुस्तकमा उपचार गर्दा कस्तो–कस्तो किसिमको खानाले तंग्रिन सहयोग पुग्यो भनेर पनि लेखेकी छिन् । हजुरआमा र आमाले बनाएको खानाले उनलाई तंग्रिन मद्दत पुगेको पनि लेखेकी छिन् । उनको दुःखले भरिपूर्ण कथा पढेपछि खानाको कुरा पढ्दा म खुसी भएँ । उनले जाउलो, खिचडी, जिम्बु, टिमुर, थरी–थरीका दाल, इमली, बेसार, बिरेनुन, लसुन, प्याज आदिका बारेमा लेखेकी छिन् । 

 

नेपालीहरूका लागि सामान्य लाग्ने यस्ता खानेकुराले उनलाई कति मद्दत गरेछन् भन्ने पढ्दा नेपाली भोजन र आयुर्वेदको महत्वको बारेमा विदेशीहरूले सहजै सिक्न सक्छन् । उनलाई उपचार गर्ने डाक्टरले पनि उनलाई ‘बेसार, मरिच र दूध’ खान सल्लाह दिएको कुरा उनले मलाई नै सुनाएकी थिइन् । 

 

उपचार सफल भएको ३ वर्षपछि श्रीमान् र उनले बच्चा पाउने निधो गरे । शुभेच्छा गर्भवती पनि भइन्, तर उनको गर्भ पाठेघरबाहिर ‘नलीमा’ बसेपछि आकस्मिक शल्यक्रिया गर्नुपर्‍यो । ‘त्यसको केही महिनापछि हामीले बच्चा टेस्टट्युबबाट जन्माउने निधो गर्‍यौँ । डाक्टरकहाँ गयौँ । डाक्टरले मेरो जाँच गरे, लौ म त फेरि गर्भवती भइसकेकी रहेछु । यसपालि त सबै नै ठीक रह्यो ।

 

अनि सेप्टेम्बर २०२० मा सामान्य प्राकृतिक तरिकाले मेरी छोरी जन्मिइन्,’ उनले लेखेकी छिन् । अन्ततः शुभेच्छाले ३२ वर्षको उमेरमा क्यान्सरसँग लडेर ३६ वर्षमा क्यान्सर जितेर आमा पनि बनिन् । अहिले उनी खुसी छिन्, स्वस्थ भोजन र क्यान्सरबारे जनचेतना फैलाउने विचार गर्दै छिन् । अहिलेचाहिँ उनी श्रीमान् र छोरीको प्रेममा लुट्पुटिएर बसेकी छिन् ।