• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७५ चैत २३ शनिबार ०९:३९:००
अनुवाद

सपना : नराम्रै देखे पनि राम्रो

सपनाले हामीलाई विपनाको अप्ठ्यारो झेल्न तयार पार्छ ?

२०७५ चैत २३ शनिबार ०९:३९:००
नयाँ पत्रिका काठमाडाैं

अझै भन्ने गरिन्छ, नराम्रो सपना देखे दिसा बस्दा कहनु, त्यसको दोष नासिन्छ । सपना हाम्रो मनोविज्ञान र दैनिकीसँग कसरी गाँसिएको छ, यसैले देखाउँछ । वास्तवमा सपना किन देखिन्छ त ? सपनाबारे विभिन्न सिद्धान्त प्रचलित छन् । सिग्मन्ड फ्रायडको सिद्धान्त सबैभन्दा प्रसिद्ध छ । सपनाले हाम्रा अपूरा इच्छा र लुकेको सत्य उजागर गर्ने उनको तर्क थियो । पछिल्ला अनुसन्धानले पनि सपनाको रहस्यबारे अनेक मत अघि सारेका छन् । उदाहरणका लागि, सपनाले हाम्रा सघन भावनालाई प्रशोधन गर्छ वा स्मृतिलाई शृंखलाबद्ध र एकत्रित पार्छ । न्युरोनका शृंखलाहीन गतिविधिको अर्थ बताउँछ वा खतरनाक परिस्थितिमा प्रतिक्रिया दिन हामीलाई अभ्यस्त र तयार बनाउँछ । कतिपयको तर्क छ– उद्विकासको दृष्टिकोणले सपनाको कुनै काम छैन, यसले मात्र हाम्रा व्यक्तिगत चासो र चाहनालाई नाटकीय रूपमा प्रस्तुत गर्छ । 

फ्रायडको मतलाई सघाउने प्रमाण फेला परेको छैन । तर, विश्वभर उनकै मतका समर्थक सबैभन्दा बढी छन् । अनुसन्धानले देखाएअनुसार अमेरिका, दक्षिण कोरिया र भारतका विद्यार्थी फ्रायडका अनुयायी छन् । तर्कद्वारा बढी पुष्टि भएका मतलाई छोडेर उनीहरू फ्रायडकै मतअनुसार सपनाले लुकेका सत्य खुलासा गर्ने विश्वास गर्छन् । मानिस सपनामा कति भर पर्छन् ? कतिसम्म भने विपनामा सरकारले आतंकवादी हमलाको चेतावनी दिँदाभन्दा सपनामा विमान दुर्घटना भएको देख्दा मानिसहरू बढी डराउँछन् । 

सपनाले भविष्य बताउँछ नै भन्ने छैन । तापनि सपनाले हामी सबैलाई इन्द्रजालमा पारेको छ । बढीजसो सपना निद्राको चक्रमध्ये ‘र्‍यापिड आई मुभमेन्ट’  (आरइएम) का क्रममा देखिन्छ । (प्रायःजसो निद्राका चार चरण हुन्छन् : १, २, ३ र आरइएम । एक रातको निद्रामा मानिसले यी चरणको चार वा पाँच चक्र पूरा गर्छ ।) ८ प्रतिशत सपना यौनबारे देखिन्छ । यौनको सपना देख्ने दर महिला र पुरुष दुवैमा बराबर हुन्छ । तर, फरक के छ भने चर्चित व्यक्तिसँग यौनसम्बन्ध कायम गरेको सपना पुरुषभन्दा महिलाले दोब्बर देख्छन् । त्यस्तै, महिलाभन्दा पुरुषले दोब्बर बढी पार्टनरसँग यौनसम्बन्ध राखेको सपना देख्छन् । 

८ प्रतिशत सपना यौनबारे देखिन्छ । यौनको सपना देख्ने दर महिला र पुरुष दुवैमा बराबर हुन्छ । तर, फरक के छ भने चर्चित व्यक्तिसँग यौनसम्बन्ध कायम गरेको सपना पुरुषभन्दा महिलाले दोब्बर देख्छन् । त्यस्तै, महिलाभन्दा पुरुषले दोब्बर बढी पार्टनरसँग यौनसम्बन्ध राखेको सपना देख्छन् ।

सपनामा चिन्ता हाबी हुने गर्छ । क्यानडाको एक विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार यौनबाहेक सबैभन्दा बढी सपना स्कुलमा पढेको, डिलबाट खसेको, लखेटाइमा परेको, कुनै कार्यक्रममा ढिला पुगेको देखिन्छ । 

धेरैको सपना उस्तै–उस्तै हुन्छ, तर समय र ठाउँअनुसार बदलिने गर्छ । श्यामश्वेत टेलिभिजन हेरेर हुर्केका मानिसले सपना पनि श्यामश्वेत देख्ने सम्भावना बढी हुन्छ । १९५८ मा गरिएको एक अनुसन्धानअनुसार जापानीभन्दा अमेरिकीहरूले जेलमा थुनिएको, आफन्तलाई गुमाएको, पैसा भेट्टाएको, रंग न ढंगको कपडा लगाएको, नांगो भएको वा पागल व्यक्तिसँग जम्काभेट भएको सपना बढी देख्ने गर्थे । जापानीहरूचाहिँ स्कुलबारे, एउटै काम दोहोर्‍याई दोहोर्‍याई गरिरहेको, डरलाग्दो जनावर देखेर तर्सिएको सपना बढी देख्थे । जीवजन्तुले पनि डरलाग्दा सपना देख्ने गर्छन् । चरा, केही छेपारा र लगभग सबै स्तनधारीले सपना देख्ने बताइन्छ । जीवजन्तुमध्ये सबैभन्दा बढी सपना प्लेपिपसले देख्छ । यो जन्तु एक दिनमा ८ घन्टासम्म आरइएम चरणमा रहने गर्छ ।

धेरै सपना नराम्रा हुन्छन् । तर, यसबाट डराउनुपर्ने केही छैन । नराम्रो सपनाको पनि प्रभाव भने राम्रै हुन्छ । फ्रान्सको एउटा मेडिकल स्कुलमा प्रवेश परीक्षा दिन लागेका विद्यार्थीमाथि यसबारे अनुसन्धान गरिएको थियो । ६० प्रतिशत विद्यार्थीले परीक्षामा ढिला पुगेको, उत्तरपुस्तिका खाली छोडेको, च्यातिएकोजस्ता अप्ठेरा सपना देखेका थिए । तर, नराम्रै भए पनि परीक्षाबारे सपना देखेका विद्यार्थीहरूले यसबारे सपना नदेख्ने विद्यार्थीभन्दा राम्रो नतिजा ल्याएका थिए । 

त्यसैले आगामी दिनमा तपाईंले यौन वा शिक्षासम्बन्धी सपना देख्नुभयो, लखेटिएको, डिलबाट खसेको देख्नुभयो भने चिन्ता नलिनुस् । त्यस्तो सपना निरर्थक हुन सक्छ । तथापि यसले तपाईंलाई जीवनमा आइपर्ने त्यस्ता घटनाका लागि तयार पार्न पनि सक्छ । 

–दी एट्लान्टिकबाट