• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भुपाल राई
२०७७ मङ्सिर ६ शनिबार ०७:३३:००
साहित्य

मेरो दाहिने हातको कथा

यो सम्पूर्ण कथा दाहिने हातको कथा भए पनि म भने जन्मजात देब्रो छु

२०७७ मङ्सिर ६ शनिबार ०७:३३:००
भुपाल राई

कथा त खास मैले देब्रे हातको लेख्नुपर्ने हो, जो म जन्मेदेखि नै मेरा हरेक कार्यव्यापारमा सरिक छ । मेरो आजीविका र अनुभवसिद्ध संस्कारमा हुबहु ढलेको छ । तर, त्यसो नभएर आज एक्कासि म आफ्नो दाहिने हातको कथा सुनाउन किन तम्सिरहेछु ? के यो मेरो आजीविकाको कार्यसूचीमा धेरैपछि जोडिएर हो ? अथवा आफैँसँग रहेर पनि देब्रे कर्मको तुलनामा अलि नयाँ भएर हो ? या सारा दुनियाँमा नै दाहिने हातको वर्चस्व स्थापित भएर हो ? या दुई ध्रुवीय दुनियाँमा दायाँ–पन्थी (राइटिस्ट) भइरहनका लागि विशेष सुविधा प्राप्त भएर हो ?

 

तर, मेरो हातको कथ्यमा यी सब आदि इत्यादि भाष्य फजुलका कुरा हुन् । भएमा व्यर्थका बुद्धिविलास । खासमा मेरो यो हातको कथा अत्यन्तै सरल, सपाट र केवल एक वाक्यांशद्वारा निर्मित छ, जसका लागि कुनै लक्षणा या अभिव्यञ्जनात्मक सूक्तिको दरकार छैन । यद्यपि कथा सुनिसकेपछि कतिले यसमा यौन मनोविज्ञानको बीज भेट्लान् ।

 

कतिले सौन्दर्यशास्त्रको ऐना हेर्लान् । कतिले हेजेमोनीको दर्शन । तर, मेरो दाहिने हातको कथा कुनै तर्क या दर्शनबाट निर्देशित छैन । जुन दिनदेखि मेरो दैनन्दिन कार्यसूचीसँग यो हात जोडियो, कुनै शास्त्रको फेर समाएर सुरु भएकै थिएन यसको नयाँ व्यापार । भएमा सानो आग्रह र अभिप्रायः थियो होला, जो प्रकट भएको थियो जम्माजम्मी एक वाक्यांशमा ।

 

आज पनि मप्रति विशेष ध्यान दिने व्यक्तिले अक्सर सोध्ने गर्छन्, ‘किन लगाएको दाहिने हातमा घडी ?’ सबैलाई मेरो एउटै उत्तर हुने गर्छ, ‘किनभने म लेफ्टी हुँ ।’
लेफ्टी, लेफ्ट हेन्डेड, देब्रो या देब्रेहाते जे भने पनि स्पष्ट हुन्छ कि उसका जम्मै कार्यव्यापार देब्रे हातबाट सम्पन्न हुने गर्छन् । खासमा ऊ देब्रेहाते हो । ठीक यसरी नै म पनि जन्मिँदै देब्रेहाते थिएँ ।

 

मैले होस सम्हालेदेखि नै मलाई ज्ञान छ, आफ्ना सम्पूर्ण काम म देब्रे हातले सम्पन्न गर्थेँ । खाने, खेल्ने, हतियार चलाउने, लेख्ने यहाँसम्म कि शरीर कन्याउने र शौच सफा गर्ने कामसमेत खुरुखुरु मेरो देव्रे हातले गथ्र्यो । सँगै रहेको दाहिने हात केवल रमित हेरेर बस्थ्यो । सँगै रहेर पनि देब्रे हात कर्मी थियो । दाहिने हात बेकामे थियो । देब्रे हात मजदुर थियो । दाहिने हात मालिक थियो ।

 


यही भएर मैले दाहिने हातमा घडी बाँध्न सुरु गरेको हुँ । त्यसरी घडी बाँध्नुको पछाडि मुख्यतः दुइटा कारण छन् । पहिलो हो, घडीको सुरक्षा । देब्रे हात कामकाजी हात हुनाले काम गर्दा घडी बिग्रिने डर सधैँ रहिरहन्थ्यो । त्यसैले तुलनात्मक रूपले सुरक्षित हात त दाहिने नै थियो । दोस्रो, समय हेर्ने बहानामै सही उसलाई थप शृंगारको हकदार बनाऊँ भन्ने धोको थियो, जसले उसको अलग हैसियतको हेक्का दिलाओस् ।

 

तर, स्थिति सधैँ उस्तै रहिरहेन । एक दिन त्यस्तो दिन आयो, जहाँ दाहिने हातलाई पनि आधिकारिक रूपले केही काम सुम्पिने निर्णय भयो । केही तर चुनिएको काम । भरसक मालिकले मात्र गर्न मिल्ने कुनै सम्मानित काम । यो निर्णय मेरो जीवन र मनो–आजीविकाका लागि निकै ठूलो र असरदार निर्णय थियो, जसको पछाडि सायद तात्कालिक सामाजको विश्वास र मान्यताको निर्णायक भूमिका थियो । र निश्चित रूपले मेरो दाहिने हातको कथा पनि यही दिनदेखि सुरु भयो ।

 


०००
धेरैचोटि, धेरै ठाउँमा उल्लेख गरिसकेको छु म मामाघरमा पढेर हुर्किएको मान्छे । म मात्र हैन, मेरा सबै दाजुदिदीहरू पनि मामाघरकै शैक्षिक पैदावार हुन् । आमा हामीलाई जन्म दिनुहुन्थ्यो र स्कुल जाने उमेर भएपछि मामाघर पठाउनुहुन्थ्यो । त्यसपछि हाम्रो लालनपालन, रेखदेख ठुलीआमाको हातमा सरुवा हुन्थ्यो । ठुलीआमा अर्थात् आमाकी ठुली दिदी, जसले माइतीघरको सम्पूर्ण भार थामेर बस्नुभएको थियो ।

 

त्यति कलिलो उमेरमा उहाँले मलाई यसरी दाहिने र देब्रे दुई धारमा बाँडिदिनुभयो, आज म न देब्रो छु, न दाहिनो । म त्यो दिनदेखियता नितान्त दोगलापनमा, नितान्त अलमलमा बाँचिरहेछु ।


मैले पनि एक दिन स्कुल जाने उमेरमा प्रवेश गरेँ र ठुलीआमाको वात्सल्य र प्रत्यक्ष निगरानीको घेराभित्र सरुवा भएँ । स्कुल सुरु गर्दा म मुस्किलले पाँच वर्षको थिएँ । जब मैले पहिलोचोटि अक्षर लेख्न सुरु गरेँ, स्वतःस्फूर्त देब्रे हात अगाडि बढाएँ । किनभने माथि नै भनिसकिएको छ कि म जन्मिँदै देब्रेहाते जन्मिएको थिएँ । तर, त्यतिन्जेलसम्म कसैलाई, यहाँसम्म कि म स्वयंलाई समेत हेक्का थिएन कि म ‘लेफ्ट ह्यान्डेड’ थिएँ । मात्र त्यहाँ एकजना ठुलीआमा हुनुहुन्थ्यो, जसको आँखामा त्यो कुरा खट्किँदै जान थालेको थियो । किनभने जब म लेख्न बस्थेँ ठुलीआमा ध्यान दिएर हेर्नुहुन्थ्यो ।


यस्तैमा ठुलीआमालाई के लाग्यो कुन्नि, एक दिन भन्नुभयो, ‘लेख्नचाहिँ दाहिनेले लेखे राम्रो हुन्थ्यो...।’ तर, मैले उहाँको आग्रहलाई खासै वास्ता गरिनँ । आफ्ना अन्य कार्यजस्तै लेखन कार्यलाई पनि स्वाभाविक बनाउँदै लगेँ । अर्को दिन फेरि उहाँले भन्नुभो, ‘लोग्ने मान्छे भएर देब्रेले लेखेको सुहाउँदैन । त्यसरी त आइमाईले पो लेख्छन् ।’ यो कुराले पनि मलाई खास छोएन । छुओस् पनि कसरी देब्रे हातले लेख्न अभ्यस्त जो भइसकेको थिएँ । म आफ्नो अभ्यास र अभ्यस्तताको पक्षमा त्यत्तिकै निडर डटिरहेँ ।

 


त्यसपछि महिनौँ बित्यो । मेरो देब्रे कर्म झन्–झन् परिपक्व हुँदै गइरहेको थियो । ठुलीआमाभित्र सुषुप्त अवस्थामा रहेको त्यो सामाजिक दाहिने अन्धविश्वास म¥यो होला भन्ने ठानिरहेको वेलामा एक्कासि फेरि प्रकट भयो । एक दिन जब म लेख्न बसेको मात्रै थिएँ, उहाँले त्यो एक वाक्यांश, जसको बारेमा मैले माथि पनि चर्चा गरिसकेको छु र जसको पछाडि कुनै गहिरो दर्शन र तर्कको गुञ्जायस छैन, एक्कासि बोल्नुभो । त्यो सरल र सपाट जम्मा–जम्मी एक वाक्यांश जसबाट मेरो दाहिने हातको कथा सुरु भएको थियो– यस्तो थियो ।

 


‘नानी ! देब्रे हातले लेख्ने मान्छेलाई त पछि केटीहरूले पत्याउँदैनन् पो है !’  मुस्किलले पाँच या साढे पाँच वर्षको त्यो कलिलो केटो एक्कासि त्यो दिन कुन दर्शनबाट अभिभूत भयो होला ? कुन मनोविज्ञानको टाँगोले त्यसलाई छोयो होला ? कुन सौन्दर्य शास्त्रको ऐनाले त्यसलाई जिस्क्यायो होला ?  लेख्दालेख्दै अचानक त्यो टक्क अडियो । मनमनै दोहो¥यायो त्यो दुई शब्द, ‘केटीहरूले पत्याउँदैनन् ।’ र, अचानक, एकदमै अचानक त्यो फुच्चेले देब्रे हातले लेखिरहेको कलम बिस्तारै दाहिने हाततिर सा¥यो ।

 

यसरी सुरु भएको थियो मेरो दाहिने हातको कथा ।    तर कुरा त्यत्तिमै कहाँ सिद्धिन्थ्यो र ! बेलुका खाना खाने वेलामा ठुलीआमा फेरि हातमा लठ्ठी लिएर बसिरहनुभएको छ । अगाडि खाना आइपुगेको छ । ठुलीआमा भन्नुहुन्छ, ‘लेख्न त दाहिनेले सुरु गरिस् । अब खाना पनि दाहिनेले नै खा । नत्र तँलाई थाहा छ नि देब्रे मान्छेलाई के हुन्छ भनेर...।’

 


आज्ञा शिरोपर नगरी धरै छैन । किनभने अगाडि तेर्सिरहेको छ, लठ्ठीसँगै त्यो निर्मम दुई शब्द । भुइँभरि खाना छर्दै भए पनि देब्रे हातबाट खोसेर प्राप्त गरेको विशेष भूमिकाबाट मख्ख पर्दै बिस्तारै दाहिने हात अगाडि बढ्छ । छेउमै छ देब्रे हात, जो आफैँ खोसिएको दृश्य हेरिरहन अभिशप्त छ । सायद बाह्य दुनियाँको दशा पनि ठीक यस्तै होला । दायाँ शक्तिले हरेक कुरा खोसेर जितिरहेको होला । देब्रे शक्ति आफ्नै हारको रमित हेरिरहेको होला । यतिखेर कैलेकाहीँ मलाई लाग्छ, दायाँ र बायाँ पन्थ जस्ता बडेमान जार्गनहरूको भीषण संघर्ष त मेरै बालजीवनले भोगेको रैछ ।

 


त्यसपछि भने ठुलीआमा निश्चिन्त बन्नुभो । फेरि कहिल्यै दाहिने हातको जिकिर चलाउनुभएन । सायद उहाँलाई लाग्यो होला–अब जे भएको छ, सब ठीक भएको छ । दाहिने हातलाई उसको सामाजिक स्थानअनुसार उचित न्याय र सम्मान पनि मिलेको छ । उहाँको छोरालाई अब कसैले देब्रो भनेर होच्याउने पनि छैन । किनभने ऊ अब पूर्णतः लोग्नेमान्छे भैसकेको छ । अब उसलाई केटीहरूले पनि पत्याउनेछन् ।

 


०००
आज ठुलीआमा बित्नुभएको पनि धेरै वर्ष भइसक्यो । उहाँले छुट्याइदिनुभएको त्यो सम्मानित दुई काम मेरो दाहिने हातसँग अझै पनि यथावत् छ । त्योबाहेकका बाँकी दोस्रो दर्जाका काम पनि देब्रे हातसँग जस्ताको तस्तै छ । तर, यी दुइटा हातको खिचातानीको बीचमा म कति अप्ठ्यारोमा छु, उहाँले कहिल्यै बुझ्नुभएन । त्यो नबुझी उहाँ बित्नुभयो ।

 


जन्मिँदै जुन हातको स्वभाव लिएर म जन्मिएँ र जुन स्वभावको कार्यव्यापारमा म हुर्किंदै थिएँ, त्यसैमा स्वतन्त्र छाडिदिएको भए एउटा कुरा । अथवा उसैवेला आवश्यकताका जम्मै कार्यसूचीहरू वर्चस्वशाली हातलाई जिम्मा लगाइदिएको भए पनि अर्को कुरा । तर, त्यति कलिलो उमेरमा उहाँले मलाई यसरी दाहिने र देब्रे दुई धारमा बाँडिदिनुभयो, आज म न देब्रो छु, न दाहिनो । म त्यो दिनदेखियता नितान्त दोगलापनमा, नितान्त अलमलमा बाँचिरहेछु ।

 

म खाना खाँदा दाहिने हातले खान्छु तर काँटा चम्चा देब्रेले चलाउँछु । मेरो दिमागको कुनै एक पाटालाई त्यति वेलैदेखि यस्तो शिक्षा दिइएको थियो कि त्यसले तुरुन्तै बुझोस्– काँटाचम्चा भनेको हतियार हो, जुन देब्रेले चलाउनुपर्छ । मलाई यस विभेदले यति अन्योलग्रस्त तुल्याएको छ, न म राम्ररी देब्रे चिन्छु, न दाहिने । वास्तवमा यस विषयमा म लगभग अर्धसाक्षर छु ।

 


कसैले मलाई ‘एक सेकेन्डमा तपाईंको  दाहिने हात उठाउनुस्’ भन्यो भने म जहिले पनि असफल हुन्छु । अथवा ढिलो हुन्छु । किनभने ५–१० सेकेन्डभन्दा बढी त मलाई दाहिने हात चिन्नमै समय लाग्छ । मलाई त्यतिवेला समस्या हुन्छ, जतिवेला मैले कुनै उद्घाटन समारोहको दीप जलाउनुपर्छ । अथवा त्यतिवेला, जतिवेला सहिदहरूलाई सलामी चढाउनुपर्ने हुन्छ ।

 

‘नानी ! देब्रे हातले लेख्ने मान्छेलाई त पछि केटीहरूले पत्याउँदैनन् पो है !’ त्यसपछि अचानक, एकदमै अचानक त्यो फुच्चेले देब्रे हातले लेखिरहेको कलम बिस्तारै दाहिने हाततिर सार्‍यो ।

 

मलाई त्यतिवेला झन् गाह्रो हुन्छ, जतिवेला कोही नयाँ मान्छेलाई आफ्नो घरको लोकेसन बताउनुपर्छ । अझ त्यतिवेला, जतिवेला म ट्याक्सीमा कतै गइरहेको हुन्छु र अचानक दोबाटोमा पुगेर ट्याक्सी चालकले सोध्छ, ‘कुन साइड जाने ?’ म एकछिन त हतप्रभ हुन्छु । किनभने कुन हातले खाना खान्छु र कुन हातले हतियार चलाउँछु भन्ने याद गर्न नै सर्वप्रथम त मलाई समय लाग्छ । र, याद गरेर जतिखेर म सही हात पत्ता लगाउँछु त्यतिखेर निकै ढिलो भैसकेको हुन्छ ।

 

मनोवैज्ञानिक वा मनोज्ञानीहरूले यस विषयमा के भन्छन् थाहा छैन । तर, कहीँ पढेजस्तो लाग्छ, मान्छेको दिमागका दुई पाटा हुन्छन्, दायाँ र बायाँ । प्रत्येकले आ–आफ्नै अन्तर्सम्बन्धित अंग र संवेदनाहरूलाई निर्देश गर्छन् । र यदाकदा सुनेअनुसार मान्छेको १२–१३ वर्षसम्मको बाल मगज एकदमै अस्थिर हुन्छ वा त्यो पानीजस्तै तरल हुन्छ । यही उमेर हो उसले सिक्ने, अभ्यास गर्ने र ज्ञान संग्रह गर्ने ।

 

जब ऊ १२–१३ मा प्रवेश गर्छ, उसको दिमागको संचेतना स्थिर हुन थाल्छ । यतिन्जेल सिकेका जम्मै कुरा यो उमेरमा पुगेपछि स्थायी ज्ञानमा परिणत हुन्छन् । यदि यो सूत्र मैले ठिकै ढंगले पढेको र बुझेको रहेछु भने मेरो समस्यालाई मनोविज्ञानको कुन आलोकमा सुल्झाउन सकिन्छ होला ? जुन कलिलो उमेरमा मेरो कार्य व्यापारलाई बलात् दुई हातमा विभक्त गरियो, के त्यसले ज्ञानको तहमा स्वाभाविक रूपले विकास गर्न पाएन ? अथवा तिनीहरूले आ–आफ्नो सम्बन्धित केन्द्रमा स्थिर भएर बस्न पाएनन् ? वा स्थिर भए पनि दुई छुट्टाछुट्टै केन्द्रको खिचातानीमा अन्योल सिर्जना हुन गयो ?

 


कथामा यत्तिको उतारचढाव आइसकेपछि अब भने म यसलाई ज्ञानीहरूकै जिम्मामा छाडिदिनु उचित ठान्छु । जे विवेचना गरून्, जस्तो टुंगोमा पुगून्, उनीहरूको कुरा । बरु भर्खरै मात्र मेरो जीवनमा फेरि एउटा सरल र सपाट ज्ञानको क्षितिज खुल्न गएको छ, म यहाँ त्यो बताउन चाहन्छु । केही दिनअघि मात्र मेरो एक अत्यन्त प्रिय मान्छेद्वारा मेरै खातिर एक अनौठो तर सजिलो उपाय सुझाइएको छ । यो उपाय यति सरल र सहज छ, यसले मभित्र एउटा प्रश्न खडा गरिदिएको छ कि जीवन बदल्न सक्ने कैयौँ महत्वपूर्ण पहलु किन यति सरल हुन्छन् ? जस्तो कि ठुलीआमा सरल हुनुहुन्थ्यो । उहाँको त्यो एक वाक्य सरल थियो । मेरो प्रिय मान्छे सरल छ । उसले सुझाएको उपाय सरल छ ।

 

ऊ भन्छ, ‘मान्नोस् तपाईं कसैलाई नयाँ ठाउँमा भेट्न जाँदै हुनुहुन्छ । फोनमा उसले तपार्इंलाई भनिरहेछ, दायाँ मोडिनुस् । तर, तपाईं अलमलमा पर्नुहुन्छ । के तपाईंको समस्या यही हैन ?’

 

म भन्छु, ‘बस्, यही त हो समस्या मेरो ।’
ऊ फेरि भन्छ, ‘अब समस्या खलास...।’
लगत्तै म सोध्छु, ‘कसरी ?’

 

भन्छ, ‘यसरी कि सबभन्दा पहिले तपाईं आफूले बाँधेको घडी सम्झिनुस् । साथमा सम्झिनोस् घडी बाँधेको हात । र, याद गर्नोस् कि घडी बाँधेको हात तपाईंको दाहिने हात हो । बस् उसले भनेकोतिर मोडिनोस्, जो दाहिने हो । र, यदि उसले फेरि भन्छ कि बायाँ लाग्नोस् । ठीक त्यसरी नै फेरि घडी सम्झिनोस् । र, सम्झिनोस् घडी नबाँधेको हात । याद गर्नोस् कि घडी नबाँधेको हात तपाईंको देब्रे हात हो । र तुरुन्तै त्यता मोडिनोस्, जो देब्रे हो । यसरी तुरुन्तै भेट्नुहुनेछ तपार्इंले खोजेको आफ्नो हात । तब भएन त समस्या खलास ?’

 

मेरो प्रिय मान्छेको यो सूत्र सुनेर साँच्चै यतिखेर म आश्चर्यचकित छु । यतिका दिनसम्म उकुच पल्टिएजस्तो पल्टिरहने समस्याको हल यति सजिलै निस्किन सक्छ, मैले कल्पना पनि गरेको थिइनँ । यत्रो वर्षदेखि घडी बाँध्दै आएँ, त्यसको अर्को उपयोगबारे त मैले ख्यालै गरेको रहेनछु । जान्ने हो भने घडीले पनि दिशा छुट्याउने कम्पासको काम गर्दो रहेछ । झन् अब त मैले दाहिने हातमा घडी बाँध्नुको तेस्रो कारणसमेत फेला पारेको छु ।

 


यो सरल तर गुरुत्तम उपायको ‘टिप्स’ पाएपछि अबचैँ म ढुक्क छु । किनभने आजसम्मका सबै समस्याको हल मैले पाइसकेको छु । र, यति भएपछि अब म मेरो दाहिने हातको कथा पनि यत्तिमै टुंग्याउन चाहन्छु । तर, टुंग्याउनुअघि एकचोटि म फेरि ठुलीआमालाई सम्झिने अनुमति माग्छु ।ठुलीआमा, जसले मभित्र एकाएक दाहिने भूत जगाइदिनुभएको थियो । उहाँले त सायद जितेरै जानुभो । उहाँको छोरालाई त्यसपछि कसैले देब्रो पनि भन्न पाएन । उमेरमा उसलाई खासै केटीहरूको खडेरी पनि परेन । तर, उहाँको त्यो जितमा अथवा उहाँले छाडी जानुभएको मभित्रको दोगला चरित्रमा के उहाँको पन्थको विजय भयो ?

 

उत्तर कसैसँग छ कि छैन मलाई थाहा छैन । तर, यो पन्थ पन्थको लडाइँमा, हारजितको यो बहसमा दाहिने पन्थको जित भने अवश्य हुनेछैन । किनभने म आजीवन देब्रेको पक्षमा छु । यो सम्पूर्ण कथा दाहिने हातको कथा भए पनि म भने जन्मजात देब्रो छु ।