• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आकाश महर्जन
२०७७ मङ्सिर १३ शनिबार ०९:३४:००
समाज

मानव प्रजातिको लोपको सम्भावना कति ?

मानव प्रजाति कहिल्यै लोप हुँदैन भन्ने सोच अहंकारी सोच हो

२०७७ मङ्सिर १३ शनिबार ०९:३४:००
आकाश महर्जन

सन् २०११ को हलिउड चलचित्र ‘कन्टेजियन’मा हङकङको एउटा सुँगुर फार्मबाट सुरु भएको एउटा भाइरसले महामारीको रूप लिई संसारका करोडौँ मानिसको मृत्यु भएको परिवेशको कल्पना गरिएको छ । उक्त चलचित्रमा अहिले विश्वभरि फैलिएको कोरोना भाइरस महामारीले सिर्जना गरेको अवस्थाको दुरुस्तै कल्पना गरिएको छ । 

 

सन् २००९ को अर्को हलिउड चलचित्र ‘आई एम लेजेन्ड’मा परिकल्पना गरिएको अवस्था भने भिन्न र भयानक छ । क्यान्सरको निदानका लागि भनी जेनेटिक इन्जिनियरिङ गरी उत्पादन गरिएको दादुराको भाइरस नियन्त्रणभन्दा बाहिर गएपछि संसारका अधिकांश मानिसमा भाइरस संक्रमण फैलिन्छ । उक्त भाइरसका कारण ९० प्रतिशत मानिसको मृत्यु हुन्छ भने ९.८ प्रतिशत मानिसहरू भेम्पायर (मानिसको रगत चुसी बाँच्ने प्राणी) र जम्बी (मानिसको गिदी खाई बाँच्ने प्राणी) मा परिणत हुन्छन् । बाँकी ०.२ प्रतिशत भने म्युटेन्ट (भाइरसले संक्रमित गर्न नसक्ने) हुन्छन् । 

 

कोरोना भाइरस महामारीले ‘आई एम लेजेन्ड’ चलचित्रमा जस्तो सम्पूर्ण मानवजाति नै सखाप पार्ने हदसम्मको क्षति त अवश्य गर्दैन । यसको खोपको विकासमा लागिपरेका विभिन्न संस्थाहरूको प्रगति हेर्दा केही महिनादेखि वर्ष दिनसम्ममा यसको खोप आइसक्छ भन्ने आकलन गर्न सकिन्छ । तर, के ‘आई एम लेजेन्ड’मा परिकल्पना गरिएजस्तो अवस्था कुनै दिन आउला त ? मानवजातिको अस्तित्व नै सकिने अवस्था आउने सम्भावना छ त ? अर्को शब्दमा, मानव प्रजाति लोप हुन सक्ने सम्भावना छ त ? 

 

मानवजातिको लोपको कुरा गर्दा अधिकांशलाई ठट्टा जस्तो लाग्ला । ‘हामी त सबैभन्दा बौद्धिक प्राणी हौँ । हामी प्रकृतिका प्रतिकूलदेखि प्रतिकूल अवस्थालाई पनि आफूअनुकूल बनाउन सक्छौँ । मानिसहरू चन्द्रमामा पुगिसके, मंगल ग्रहमा पाइला टेक्ने तयारीमा छन्, मंगल ग्रहको मरुभूमिरूपी सतहलाई पृथ्वीको जस्तो हराभरा बनाउने परिकल्पना गरिरहेका छन् । यति बौद्धिक र शक्तिशाली प्राणी कसरी लोप हुन सक्छ ?’ हुन पनि मानव प्रजाति सितिमिती लोप हुन गाह्रै छ । यसका केही कारण छन् । 

 

हामी पृथ्वीको सबै कुनामा फैलिएका छौँ । पृथ्वीमा उल्का ठोक्किने वा विशाल ज्वालामुखी फुट्नेजस्ता महाविपत्तिको अवस्था आइपरेमा भौगोलिक रूपमा छरिएर रहेका प्रजातिहरू कम जोखिममा हुन्छन्, किनभने कुनै एक स्थानमा रहेका उक्त प्रजातिका प्राणीहरू विनाश भएकै खण्डमा पनि अन्य स्थानमा रहेका प्राणीहरू भने बाँच्न सक्ने सम्भावना हुन्छ । अर्को शब्दमा, सबै अन्डाहरू एउटै टोकरीमा नराखी विभिन्न टोकरीहरूमा राखियो भने एउटा टोकरी नष्ट भए पनि अन्य टोकरीमा अन्डा रहेकै हुन्छन् । 

 

भौगोलिक रूपमा सानो क्षेत्रमा फैलिएका ध्रुवीय भालु (पोलार बेयर) तथा पेङ्गुइनहरू अहिले जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मारमा परेका छन् । धेरै क्षेत्रफलमा फैलिएर रहेका खैरो भालुलाई त्यति ठूलो असर परेको छैन । मानवजाति सबैभन्दा ठूलो क्षेत्रमा फैलिएर रहेका प्रजातिहरूमध्येमा पर्छ । मानिसहरू मध्य–सहारा मरुभूमिदेखि उत्तरी ध्रुवभन्दा १३ सय किलोमिटर मात्र टाढा पर्ने नर्वेको लङइयरब्येन सहरसम्म बसोवास गर्छन् । बसोवासकै लागि नभए पनि मानिसहरू दक्षिणी ध्रुवमा रहेको महादेश एन्टार्टिकासम्म पनि पुगेका छन् । 

 

हामी संसारको सबै ठाउँमा पुगेका मात्र होइनौँ, हाम्रो संख्या पनि अचाक्ली धेरै छ । ७.८ अर्बको संख्यामा रहेको मानवजातिको संख्या सन् २१०० सम्ममा ११ अर्ब पुग्ने आकलन छ । कुनै महामारी वा परमाणु युद्धका कारण ९९ प्रतिशत मानिसहरूको मृत्यु भइहालेको खण्डमा पनि मानवजातिको पुनरुत्थानका लागि हामी लाखौँको संख्यामा बाँचेकै हुन्छौँ । 


मानवजातिको अर्को विशेषता भनेको हाम्रो खाना हो । हामी जे पनि खान्छौँ । हाम्रो खानाको प्रकार सीमित छैन । हामीले खानेमध्ये कुनै खानेकुरा लोप भएकै खण्डमा पनि हामी अन्य खानेकुरामा बाँच्न सक्छौँ । डायनोसरहरू लोप भएको समयमा लोप नभएका प्राणीहरू पनि हामी मानवजस्तै धेरै प्रकारका खानेकुराहरूमा बाँच्ने प्राणीहरू नै थिए : सर्वभक्षक स्तनधारी प्राणीहरू र जे पनि खाने गोहीजस्ता मांशहारी प्राणीहरू । 

 

तर सबैभन्दा महत्वपूर्ण विशेषता भनेको संस्कृतिमार्फत प्रकृतिलाई आफूअनुकूल ढाल्न सक्ने हाम्रो क्षमता नै हो । मानव मात्रै यस्तो एउटा प्राणी हो, जसले वंशाणुगत रूपमा प्राप्त व्यवहारभन्दा बढी आफ्नो अभिभावक, साथीसंगी तथा समाजबाट सिकेका व्यवहारहरूको प्रयोग गरी प्रकृतिलाई आफूअनुकूल परिवर्तन गर्न सक्छ ।

 

प्रकृतिमा आएका परिवर्तनहरूलाई आफूअनुकूल बनाउन पुस्तौँपुस्ता लगाएर डिएनएमा आएको परिवर्तन नकुरी हामी आफ्नो बौद्धिक शक्ति प्रयोग गरी छिनको छिनमै प्रकृतिलाई आफूअनुकूल बनाउन सक्छौँ । ह्वेल माछा सुरुमा जमिनबाट समुद्रमा छिर्दा पखेटाहरू थिएनन् । पानीमा पखेटा हुँदा पौडिन सजिलो हुने हो, तर लाखौँ करोडौँ वर्षपछि मात्र ह्वेलमा पखेटाको उद्विकास भयो । हामी मानवले भने केही हजार वर्षभित्रै आफ्नो बौद्धिकताको प्रयोग गरी पानीमा पौडिन स्विमसुट, पानीभित्र सास फेर्न अक्सिजन सिलिन्डरदेखि पानीमा तैरिन डुंगा, जहाज आदिको आविष्कार गर्‍यौँ । आणुवंशिक उद्विकासले सांस्कृतिक उद्विकासलाई पछ्याउन असम्भव हुन्छ । 

केही वैज्ञानिकहरूका अनुसार अहिले छैटौँ आमविनाशकारी घटना चलिरहेको छ । साइन्स एड्भान्सेस जर्नलमा सन् २०१५ मा प्रकाशित एक अध्ययनअनुसार प्रजातिहरूको लोप हुने प्राकृतिक दरभन्दा अहिले सय गुणाभन्दा छिटो दरमा प्रजातिहरूको लोप भइरहेको छ ।


सांस्कृतिक उद्विकास आणुवंशिक उद्विकासभन्दा छिटो मात्र होइन, भिन्न पनि छ । भिन्न यस हिसाबमा कि सांस्कृतिक उद्विकासको कुरा गर्दा प्रकृतिलाई आफूअनुकूल बनाउन आवश्यकताअनुसारको परिवर्तन हामी आफैँले निर्माण गर्न सक्छौँ । आणुवंशिक उद्विकासमा भने परिवर्तन कुनै उद्देश्यका लागि हुँदैन, र्‍यान्डम हुन्छ । अणुवंशमा आएको परिवर्तन वातावरणअनुकूल भए उक्त परिवर्तन जीवित रहन्छ, नभए उक्त परिवर्तनसँगै प्रजाति नै लोप भएर जान्छ । 

 


यसको मतलब मानवजाति अविनाशी हो त ? के हाम्रो प्रजाति कहिल्यै लोप हुँदैन त ? हामी कहिल्यै लोप हुँदैनौँ भन्ने सोच अहंकारी सोच हो । प्रकृतिमा कसैको जन्म भएको छ भने मृत्यु अवश्य हुन्छ । अविनाशी कोही छैन । जन्मपछि मृत्युको नियमबाट ग्रह, तारा र तारापुञ्जजस्ता निर्जीव वस्तु त अछुतो छैन भने हामी त प्राणी हौँ । हाम्रो विनाश अवश्यम्भावी छ । यसका लागि हामीले यस पृथ्वीको इतिहासमा भएका आमविनाशकारी घटनाहरू (मास इक्स्टिङ्सन इभेन्टस्) लाई नियाले पुग्छ । 

 


पृथ्वीमा भएका ७५ प्रतिशतभन्दा बढी प्रजातिहरू क्षणभरमै (भौगर्भिक कालको हिसाबमा) लोप हुने घटनाहरूलाई आमविनाशकारी घटना भनिन्छ । हामीमध्ये धेरैलाई थाहा भएको आमविनाशकारी घटना भनेको करिब ६ करोड ६० लाख वर्षअगाडि डायनोसरहरू लोप भएको घटना हो । धेरैलाई लाग्दो हो कि पृथ्वीको इतिहासमा यही एउटा आमविनाशकारी घटना थियो । तर, न त यो एक मात्र त्यस्तो घटना हो, न त सबैभन्दा धेरै विनाशकारी नै । यो घटना सबैभन्दा पछिल्लो आमविनाशकारी घटना भने हो । यसभन्दा अगाडि चार आमविनाशकारी घटना भइसकेका वैज्ञानिकहरू बताउँछन् ।

 

ओर्डोभिसियन विनाश (४४ करोड ४० लाख वर्षपहिले)
४८ करोड ५० लाख वर्षपहिलेदेखि ४४ करोड ४० लाख वर्षपहिलेसम्मको काल ओर्डोभिसियन कालमा पृथ्वीमा रहेका प्राणीहरूमा नाटकीय परिवर्तनहरू आइरहेका थिए । यस समयमा पृथ्वीको जैविक विविधता उत्कर्षमा पुगेको थियो । तर, ओर्डोभिसियन कालको अन्त्यतिर पहिलो आमविनाशकारी घटना सुरु भयो ।

 

सुरुमा उत्तरी अमेरिकामा एपलेसियन हिमाल निर्माण भएबाट हिमालका चट्टान वायुमण्डलमा रहेको कार्बनडाइअक्साइडसित सम्पर्कमा आएपछि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा नाटकीय रूपमा कमी आयो, जसका कारण वायुमण्डलको तापक्रम घट्यो । फलस्वरूप समुद्री सतह सयौँ फिट तल झर्‍यो ।यसबाट समुद्री सतहमा बस्ने प्राणीहरू लोप हुन पुगे ।  वैज्ञानिकहरूका अनुसार यस घटनामा ८६ प्रतिशत प्रजातिहरू लोप भएका थिए । विशेष गरी ट्राइलोबाइट, कोरल तथा ब्राकियोपडका प्रजातिहरू लोप भएको वैज्ञानिकहरू बताउँछन् । 

 

डेभोनियन विनाश (३८ करोड ३० लाख वर्षदेखि ३५ करोड ९० लाख वर्षपहिले)
३८ करोड ३० लाख वर्षपहिलेदेखि सुरु भएको यो घटनाका कारण करिब दुई करोड वर्षको अन्तरालमा ७५ प्रतिशत प्रजातिहरू लोप भएका थिए । यो कुनै विनाशकारी घटना नभएर थुप्रै ससाना विनाशकारी घटनाहरूको संयोजन हो । समुद्रमा अक्सिजनको मात्रा पटक–पटक गरी घटेको कारण समुद्री प्राणीहरू लोप भएका थिए । समुद्रमा अक्सिजनको मात्रा कसरी घट्यो भन्ने कुरा अहिलेसम्म कसैले पनि यकिनका साथ भन्न नसकेको भए पनि अहिलेको साइबेरियाको क्षेत्रमा भएको विशाल ज्वालामुखीलाई यसको कारकका रूपमा हेरिएको छ ।

 

साइबेरियाको भिलुई ट्र्याप्स भन्ने ठाउँको ज्वालामुखी फुट्दा दुई लाख ४० हजार क्युबिक माइल लाभा निस्किएको थियो । ज्वालामुखी फुट्दा त्यसबाट हरितगृह ग्यास तथा सल्फरडाइअक्साइड ग्यास वायुमण्डलमा मिसिएका कारण अम्लीय वर्षा भएको हुन सक्ने वैज्ञानिकहरूको आकलन छ । ३७ करोड ७० लाख वर्षपहिले स्विडेनमा ठोक्किएको छुद्र ग्रहको प्रभावले पनि यस विनाशकारी घटनालाई सहयोग पुगेको हुन सक्ने वैज्ञानिकहरू बताउँछन् । सो छुद्र ग्रह ठोक्किएबाट बनेको सिल्यान क्रेटर पृथ्वीमा भएका क्रेटरहरूमध्ये सबैभन्दा विशाल क्रेटरमा पर्छ ।  यस विनाशकारी घटनामा प्लेकोडर्म तथा कोरल र ट्राइलोबाइटका अघिल्लो विनाशकारी घटनामा बचेका प्रजातिहरू लोप हुन पुगे ।

पर्मियन ट्राइएसिक विनाश (२५ करोड २० लाख वर्षपहिले)
२५ करोड २० लाख वर्षपहिले घटेको आमविनाशकारी घटना अहिलेसम्मकै सबैभन्दा विनाशकारी घटना हो । यस घटनालाई ‘ग्रेट डाइङ’ पनि भनिन्छ । यस घटनाका कारण ६० हजार वर्षको अन्तरालमा ९६ प्रतिशत समुद्री प्रजाति तथा ७५ प्रतिशत स्थलचर प्रजाति लोप भएका थिए । संसारभरका वनजंगल नष्ट भएका थिए भने वनजंगलहरू पुरानै अवस्थामा फर्किन १० लाख वर्ष लागेको थियो । 

 


यस घटनाको प्रमुख जिम्मेवार पनि साइबेरियाको ज्वालामुखी नै थियो । थुप्रै स्थानमा भएका विशाल ज्वालामुखी विस्फोटनबाट सात लाख २० हजार क्युबिक माइल लाभा पृथ्वीको सतहमा निस्किएको थियो । फलस्वरूप १४५ खर्ब टन कार्बन वायुमण्डलमा रिलिज भएको थियो । यो भनेको पृथ्वीको गर्भभित्र रहेको पेट्रोलियम पदार्थ एक थोपा पनि बाँकी नरहने गरी बाल्दा उत्पादन हुने कार्बनको मात्राभन्दा पनि २.५ गुना बढी हो । यति मात्र होइन, ज्वालामुखीका कारण विषालु ग्यास अत्यधिक मात्रामा वायुमण्डलमा छरिनुका साथै समुद्री पानी अम्लीय बनेको थियो । यी घटनाहरूबाट भएको जलवायु परिवर्तनका कारण जमिनमा रहेका ७५ प्रतिशत र समुद्रमा रहेका ९६ प्रतिशत प्रजातिहरू लोप भएका थिए ।

 

ट्राइएसिक जुरासिक विनाश (२० करोड १० लाख वर्षपहिले)
‘ग्रेट डाइङ’पछि पुरानै अवस्थामा फर्किन धेरै समय लाग्यो । तर, त्यसपछि जैविक विविधताको विस्फोटन नै भयो । प्राचीन गोही, टेरोसर तथा डायनोसरहरूका अनगिन्ती प्रजातिहरूको उद्विकास भयो । यद्यपि, २० करोड १० लाख वर्षपहिले अर्को आमविनाशकारी घटना घट्यो । कारण ः ज्वालामुखी । तर, यसपल्टचाहिँ साइबेरियाको नभई अहिलेको आन्ध्र महासागरमुनि रहेको क्षेत्रमा भएका विशाल ज्वालामुखी विस्फोटनहरू । यी ज्वालामुखी विस्फोटनका कारण नाटकीय रूपमा जलवायु परिवर्तन भएसँगै ८० प्रतिशत प्रजातिहरू लोप भएका थिए । यस विनाशकारी घटनापछि पृथ्वीमा डायनोसरहरूको राज करोडौँ वर्षसम्म चल्यो । 

 

क्रिटेसियस विनाश (६ करोड ६० लाख वर्षपहिले)
यो आमविनाशकारी घटना सबैभन्दा पछिल्लो हो । छुद्र ग्रह पृथ्वीमा ठोक्किन आएबाट आमविनाशकारी घटना घटेको भनेर प्रमाणसहित किटेर भन्न सकिएको घटना यही एउटा हो । ६ करोड ६० लाख वर्षपहिले अहिलेको मेक्सिकोको युकाटान प्रायद्वीपमा ७.५ माइल व्यास भएको एउटा छुद्र ग्रह ठोक्किन आइपुगेको थियो । यसबाट विशाल मात्रामा धुलो, धुवाँ तथा सल्फर वायुमण्डलमा मिसिएको थियो ।

 

फलस्वरूप सूर्यको किरण पृथ्वीको सतहमा छिर्न नपाएर पृथ्वीको सतह अत्यधिक चिसिई डायनोसरहरूसहित ७६ प्रतिशत प्रजातिहरू लोप भएका थिए । सोही समयमा भारतको डेक्कनमा विशाल ज्वालामुखी फुटिरहेको र त्यसबाट पनि वायुमण्डल थप खल्बलिएको कारण प्रजातिहरू लोप हुनमा सहयोग पुगेको हुन सक्ने वैज्ञानिकहरू बताउँछन् ।   यस विनाशकारी घटनाका कारण पृथ्वीमा डायनोसरहरूको राज सकिएको थियो । तातो रगतका सरीसृप डायनोसरहरू लोप भएपछि पृथ्वीमा स्तनधारी प्राणीहरूको उदय भएको थियो ।

 

छैटौँ आमविनाशकारी घटनाको सिकार मानव प्रजाति ?
यी सबै आमविनाशकारी घटनाहरू नियाल्दा कुनै समय हजारौँ, लाखौँ वर्षसम्म संसारमा राज गरेका ट्राइलोबाइट र डायनोसरहरूजस्तै मानव प्रजाति पनि कुनै दिन अवश्य लोप हुन्छन् भन्ने कुरा नकार्न सकिन्न । केही वैज्ञानिकका अनुसार अहिले छैटौँ आमविनाशकारी घटना चलिरहेको छ । साइन्स एड्भान्सेस जर्नलमा सन् २०१५ मा प्रकाशित एक अध्ययनअनुसार प्रजातिहरूको लोप हुने प्राकृतिक दरभन्दा अहिले सय गुणाभन्दा छिटो दरमा प्रजातिहरूको लोप भइरहेको छ ।

 

सन् २०१५ को पुलिट्जर पुरस्कार पाएको ‘द सिक्स्थ एक्स्टिङ्क्सन’ की लेखिका एलिजाबेथ कोल्बर्टका अनुसार छैटौँ आमविनाशकारी घटना चलिरहेको छ कि छैन भन्ने कुरा बहसमै छ, तर हामी गलत कुरामा केन्द्रित भइरहेका छौँ । उनका अनुसार यस प्रश्नको निर्णायक उत्तर आइसक्ने वेलासम्ममा त पृथ्वीका ७५ प्रतिशत प्रजातिहरू लोप भइसकेका हुन सक्नेछन् । हामी त्यो अवस्थासम्म कुर्ने गल्ती नगरौँ । 

 

यदि छैटौँ आमविनाशकारी घटना चलिरहेकै हो भने हामी मानव प्रजाति लोप हुन सक्ने सम्भावना कति छ त ? के कुरामा दुईमत छैन भने यदि अहिले आमविनाशकारी घटना घटिरहेकै भए त्यो मानव क्रियाकलापकै प्रतिफल हो । मानव क्रियाकलापका कारण जलवायुमा आइरहेको परिवर्तनका कारण नै प्रजातिहरू लोप हुने दर बढ्दै गइरहेको हो । तर, के हाम्रा क्रियाकलापहरूको सिकार हामी आफैँ हुने त होइनौँ ? 

 

अहिलेको कोरोना भाइरसको महामारी पनि अनियन्त्रित मानव क्रियाकलापकै उपज हो । अहिलेको महामारीले मानव प्रजाति लोप नै त हुन्न । ‘आई एम लेजेन्ड’मा जस्तो कुनै महामारीकै कारण हामी लोप हुन सक्ने सम्भावना शून्यप्रायः नै होला । तर, कोल्बर्टका अनुसार यसको मतलब हामी आफ्नो विनाश आफैँले गर्न सक्ने सम्भावना नै छैन भन्ने पनि होइन ।