• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वसन्त महर्जन
२०७७ मङ्सिर १३ शनिबार ०६:५२:००
समाज

बुद्धलाई बन्दुक नबोकाऊँ

बुद्धलाई देवता मान्नु बौद्धदर्शनको आधारभूत ज्ञान पनि नहुनु हो

२०७७ मङ्सिर १३ शनिबार ०६:५२:००
वसन्त महर्जन

सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने एउटा राजनीतिक मन्तव्यको प्रभावले मैत्री र करुणाको पर्यायका रूपमा लिइने गौतम बुद्धका आकृतिहरू हुनुसम्म दुरुपयोग भएको पाइन्छ । आफूलाई परिवर्तनकारी एवं क्रान्तिकारीका रूपमा पहिचान बनाउनेहरू यो वाक्यलाई गुरुमन्त्रका रूपमा लिन्छन् । उनीहरू गौतम बुद्धको लोकप्रियताबाट लोभिएका हुन् र बुद्धलाई पनि बन्दुक भिडाएको तस्बिर वा आकृतिको निर्माण गरेर बुद्धलाई पनि आफ्नो बाटोमा डोर्‍याउने निरर्थक प्रयास गर्छन् ।

 

यस्ता प्रयास बौद्धधर्मको मान्यताविपरीत भयो वा गलत प्रयोग भयो भनेर आपत्ति जनाउँदा प्रायः यो वर्गले दिने पहिलो प्रतिक्रिया हो, बुद्ध आजको जमानामा जन्मेको भएर बन्दुकै बोक्थे र समाजमा परिवर्तन ल्याउँथे । दोस्रो प्रतिक्रिया हुन्थ्यो, हामीले कला सिर्जना गरेका हौँ, कलाको स्वतन्त्र अभिव्यक्ति गरेका हौँ, तर कलालाई नबुझ्नेहरू यस्तै विरोध गर्छन् । मानौँ, बौद्धदर्शन र कला–साहित्य उनीहरूले मात्रै बुझेका छन् । 

 

‘बन्दुक भिरेका बुद्ध’ शीर्षकसहित बन्दुक बोकेका सिपाहीहरूको रेखाचित्रमा बुद्धको टाउको जोडेर बनाइएको आवरणको पुस्तकलाई केही दिनअघि प्रचारमा ल्याइयो । मझेरी साहित्य प्रतिष्ठान, भरतपुर चितवनको २२औँ वार्षिकोत्सवको विशेष समारोहमा लोकार्पण गरिने भनिएको कविता संग्रहको उक्त शीर्षक तथा आवरणलाई लिएर व्यापक आलोचना तथा निन्दा गरिएपछि अब पुस्तकको शीर्षक र आवरण फेरिने भएको छ । 

 

बुद्धलाई बन्दुक बोकाउने सोच सुरुमा कसलाई कहाँबाट आयो कुन्नि, बौद्धहरूलाई जिस्क्याउने उपाय भइरहेको छ । नेपालमा वामपन्थी आन्दोलनमा संलग्न भई मन्त्रीसमेत भइसकेका साहित्यकार मोदनाथ ‘प्रश्रित’ले पनि एकपल्ट यस्तै नाकाम गरेका थिए ।

 

नयाँ काम गर्ने सुरले होला, उनकै शब्दमा, ‘त्यस चित्रको पृष्ठभूमिमा घनघोर आग्नेय युद्धको आभास प्रतीकात्मक रूपले दिइएको थियो र साम्नेमा काँधमा कारतुसका माला भिरेर मोर्चा लिई बुद्धले मेसिनगन चलाइरहेका थिए ।’ ‘बुद्ध आज जन्मेका भए... ?’ शीर्षकको सो चित्र बुटवलमा लागेको एउटा रमाइलो मेलामा सार्वजनिक प्रदर्शनीमा राखेका थिए । चित्रको विरोध हुँदा उनको प्रतिक्रिया थियो, ‘यो मन्दिर, गुम्बा वा बौद्ध विहार हैन, चित्र प्रदर्शनी हो । यहाँ धार्मिक व्याख्याले हैन, कलाकारका भावनालेकाम गर्छ ।’ 

 

बुद्ध र बौद्ध विषयमा ‘प्रश्रित’ बरोबर लेखहरू प्रकाशित गराइरहेका हुन्छन् तर त्यसको अन्तर्य भने बेग्लै रहेको हुन्छ । फेब्रुअरी दोस्रो हप्ता (२०२०) मा लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित बौद्ध महोत्सवका अवसरमा साहित्य गोष्ठीमा उनी पनि आमन्त्रित थिए । आफूले लेखेको एउटा गीतिकाव्यको केही अंश वाचन गरे ।

 

भिक्षु आनन्द र चण्डाल समुदायकी युवती प्रकृतिबीचको प्रसंगलाई बुद्ध र प्रकृतिबीचको घटना बनाइएको रहेछ । साथै गीतिकाव्यको अन्त्य क्रान्तिकारी नाराका साथै प्रकृतिलगायत अन्य गाउँलेहरूसँग बुद्धलाई नाच्न लगाइएको छ । सहभागीहरूबाट निकै प्रशंसा पाएको सो गीतिकाव्य बौद्ध समाजका लागि पाच्य कुरा थिएन । त्यहाँ बौद्धहरू नै थिए तर दुई हातमा गन्न पनि पुग्दैन र कुरा त्यत्तिकै रह्यो । 

 

बुद्धलाई आफूअनुकूल व्याख्या गर्ने र त्यसैलाई वैशाखी बनाएर यात्रा गर्ने मामिलामा कल्पनाको उडान भर्ने साहित्यकारहरू मात्रै नभएर विभिन्न धर्मगुरु र दार्शनिकहरू पनि पछि परेका छैनन् । कुनै वेला आचार्य रजनिश नाम रहेका ‘ओशो’ आफ्नो प्रवचनको समय घरिघरी बुद्धको नाम जपेर बस्छन् । बुद्धत्वको सपना बाँड्छन् । उनले भविष्यमा आउने भनिएका मैत्रय बुद्ध आफैँ हुँ भन्न पनि भ्याए ।

 

मैत्रय बुद्धको आत्मा आफ्नो शरीरमा अवरण भएको र पछि अस्वीकार गरेको मन्तव्य पनि दिए । हिन्दी चलचित्रका त्यति वेला चर्चित अभिनेता विनोद खन्नालगायत उनका शिष्यहरू तत्कालीन आचार्य रजनीशका अनन्य भक्त थिए र ती शिष्य मण्डलीलाई आफूले निर्वाण प्राप्त गराइदिएको घोषणा पनि गरे । फेरि उनी आफैँले निर्वाणको घोषणा आफूले गरेको ठूलो ‘जोक’ पनि रहेको पनि भने । ध्यानको ठुलै कुरा गर्ने उनी बुद्धद्वारा देसित ध्यानका अभ्यासी हुन् भन्ने कुरा कतैबाट खुल्दैन । न कहीँ कसैसँग सिकेको कुरा नै खुल्छ ।

 

अध्यात्म दुनियाँमा साईबाबा नामका अर्का व्यक्ति पनि छन् र उक्त समाजमा आजभोलि ‘साई बुद्ध’ शब्द पनि प्रचलनमा देखिन्छ । यसरी नै आजभोलि सत्गुरु पनि बुद्धका बारेमा वेलावेलामा बोलिरहेका हुन्छन्, तर तिनीहरूका प्रवचन बुद्ध र बौद्ध धर्मको वरिपरि त के, कोसौँ टाढा रहेका हुन्छन् । बुद्ध र बौद्धदर्शनका बारेमा आफूसँग रहेको सामान्य जानकारीको आधारमा आफ्नो बुझाइ वा दर्शनलाई बैसाखी बनाइरहेको बुझ्न कठिन छैन । यस्ता धार्मिक प्रवचकको कमी भारतमा कमी छैन । यिनै प्रवचकका कुरा सुनेर नेपालमा आफू बुद्ध नै हुँ भनेर ठान्नेहरूको पनि कमी छैन । 

 

क्रान्तिको शाब्दिक अर्थमा भन्नुपर्दा बुद्ध साँच्चिकै क्रान्तिकारी हुन् तर यो अर्थ बुझेर मान्छेहरू बुद्धलाई क्रान्तिकारी भनिरहेका छैनन् । बुद्धले तत्कालीन समाजमा रहेको जीवनदर्शनको विकल्पमा बौद्धदर्शन दिए । उनले जुन कुराको बोध गरे, त्यही बौद्धदर्शन हो र यो दर्शनलाई उनले आफ्नै मुठीमा सीमित राखेनन्, राख्ने कुरा पनि होइन । जे छ, त्यही देख्नु बौद्ध अभ्यास हो । बुद्धले त कसरी हेर्ने भनेर दर्शन वा शिक्षा मात्रै दिएका हुन् । हेर्नेहरूले हेरे, धर्मलाभी भए ।

 

धर्मलाभीहरू स्वतः क्रान्तिकारी हुन्छन् । बुद्धलाई समाज सुधारक भन्नु पनि ठीक छैन, किनभने उनी समाज सुधारक हुँदो हो त, सांसारिकताबाट कसरी मुक्ति हुन्छन् ? र, सांसारिकतामा अल्झिउन्जेल बुद्ध हुने गुन्जायस नै हुँदैन । जातपातलाई नमान्नु, महिला–पुरुष बराबर ठान्नु, आत्मा, परमात्मा तथा ईश्वर आदि कुरालाई नकार्नु बौद्ध धर्मदर्शनको सामान्य कुरा हो ।

जातपातलाई नमान्नु, महिला–पुरुष बराबर ठान्नु, आत्मा, परमात्मा तथा ईश्वर आदि कुरालाई नकार्नु बौद्ध धर्मदर्शनको सामान्य कुरा हो । यही सामान्य कुरालाई कोकोहोलो मच्चाएर उनलाई क्रान्तिकारी भनी प्रशंसा गर्छन् ।

 

यही सामान्य कुरालाई कोकोहोलो मच्चाएर उनलाई क्रान्तिकारी भनी प्रशंसा गर्नु तथा सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने दर्शन बोक्छन् । उनीहरूलाई बौद्ध अभ्यास चित्त बुझ्दैन र आजको जमानामा बुद्ध जन्मेको भए मैत्री, करुणा, मुदिता र उपेक्षाको कुरा गरी ध्यान गरेर बस्दैनन्, बन्दुक बोकेर लड्न हिँड्छन्भनेर बोल्छन् । 

 

मूर्ति वा चित्रकलामा बुद्धको प्रयोग जथाभावी हुने गरेको सन्दर्भमा एक समय बुद्धको मूर्ति वा चित्र नै नबनाइने परम्परा रहेको सम्झना हुन्छ । स्वयं गौतम बुद्धको जीवनकालमा नै उनको मूर्ति तथा चित्रको सिर्जना हुने गरेका घटना प्रसंगहरू पाइन्छन् । तर, महापरिनिर्वाणपछि बुद्धको मूर्ति तथा चित्र बन्ने क्रम रोकियो ।

 

दुरुस्त बुद्धकै आकृति ल्याउन नसकिएला र अनादर हुन पुग्ला भन्ने भयले कलाको सिर्जना कार्यलाई स्वयं बौद्धबाटै रोक लगाएको थियो । बरु बुद्ध र बुद्धका विभिन्न घटनाहरू दर्साउन हात्ती, घोडा, कमल, चैत्य, बोधिवृक्ष, भर्‍याङ, आदिलाई प्रतीकका रूपमा दर्साउने परम्परा लामो समयसम्म बस्यो । ईशाको प्रथम शताब्दीबाट मात्रै पुनः बुद्धको मूर्ति बन्न थालेपछि गलत प्रयोग नहोस् भन्ने कुरामा ध्यान दिइन्छ । 

 

मूर्तिलाई अन्य सम्प्रदाय, साक्षात् देवताका रूपमा लिन्छन् र सोहीअनुसार व्यवहार गर्छन् । तर, बुद्धलाई देवता मान्नु बौद्धदर्शनको आधारभूत ज्ञान पनि नहुनु हो । बुद्धको मूर्तिलाई बौद्धहरूले साक्षात् बुद्धको रूपमा नभएर आफ्नो साधनाका लागि आलम्बनका रूपमा मात्रै लिने हो । बुद्ध मूर्तिमा प्रयुक्त हुने उष्णीष, उर्णा तथा मुद्रालगायतका कुराले विशेष अर्थ राख्छन्, जुन पुस्तकमा वर्णित ज्ञानजस्तै हो ।

 

सर्वसाधारण बौद्धका लागि पुस्तक पढ्नु र मूर्ति हेर्नुमा तात्विक भिन्नता हुँदैन । मूर्तिमाथि श्रद्धा व्यक्त गर्नु पनि ज्ञानको आदर गर्नुजस्तै हो । यसलाई अन्यथा लिनु हुँदैन । यस अवस्थामा बुद्धका आकृतिहरूलाई बन्दुक भिडाउने तथा आफूअनुकूल प्रयोग गर्नु गलत प्रयोग त हो नै, साथसाथै बुद्धको नाममा भ्रमको खेती पनि हो ।