• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपेन्द्र गुरुङ
२०७७ मङ्सिर १३ शनिबार ०७:५२:००
खेल

जसलाई फुटबलको ‘भिलेन’ पनि भनिन्थ्यो

खेल

२०७७ मङ्सिर १३ शनिबार ०७:५२:००
दीपेन्द्र गुरुङ

शताब्दीकै उत्कृष्ट फुटबलर थिए, डिएगो म्याराडोना (सन् १९६०–२०२०) । यो त उनले पाएको सम्मान थियो । मैदानमा उनको कला, उनले हात पारेको सफलता र त्यसमा दर्शकले अनुभव गरेको फुटबलको फरक स्वादले सायद अर्जेन्टिनी म्याराडोना योभन्दा ठूलो सम्मानको हकदार थिए । 

 

विश्व फुटबल महासंघ (फिफा)ले सन् २००० मा ब्राजिलका पेलेसँगै उनलाई पनि शताब्दीकै उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको थियो । उनै महान् खेलाडीले यो संसारबाट बुधबार बिदा लिएका छन् । मैदानमा प्रायः जितकै नतिजा आत्मसात् गरेका म्याराडोनाले यो अदृश्य शक्तिसँगको प्रतिस्पर्धामा भने हार माने । उनलाई बुधबार ‘हर्ट अट्याक’ भएको जनाइएको छ । त्यसयता विश्व फुटबल समुदाय उनलाई गुमाउनुको शोकमा छ । अर्का महान् ब्राजिलियन फुटबलर पेलेले म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौँ ।’

 

म्याराडोना त्यो जमानाका फुटबल स्टार हुन्, जतिवेला खेलको प्रत्यक्ष प्रसारण गरी विश्वभर पुर्‍याउने टेलिभिजन र अन्य च्यानलहरूको विकास यो अवस्थामा भइसकेकै थिएन । ‘अर्काइभ’ हेर्न मिल्ने युट्युबको विकास त अझ पछि भएको हो ।  तैपनि, उनी विश्वभर ठूलो जनसंख्याले मन पराएका फुटबलर बने । यो उनमा भएको फुटबल कलाकै देन हो । म्याराडोनालाई लिएर प्रायःले सन् १९८६ को फिफा विश्वकपलाई सम्झने गर्छन् । मेक्सिकोमा भएको उक्त विश्वकप अर्जेन्टिनाले जितेको थियो । टोलीका मुख्य खेलाडी म्याराडोनाले आफ्नो एक्लो प्रदर्शनमै टोलीलाई विश्वकप उपाधि दिलाएका थिए । त्यसयता अर्जेन्टिनाले फेरि यो सफलता दोहोर्‍याउन सकेको छैन । 

 

जीवनका दुई पाटा
म्याराडोना मैदानमा हुँदा आफ्नो खेल प्रदर्शनका कारण जति चर्चामा रहे, खेलजीवनबाट बिदा लिएपछि पनि उत्तिकै चर्चामा रहे । फुटबलका ठूला स्टारलाई सञ्चारमाध्यमले त पछ्याउँथे नै, उनी आफैँले पनि समाचारमा आइरहने गतिविधि निरन्तर गरिरहे । लागुऔषध दुव्र्यसनी, प्रेम सम्बन्ध, पूर्वप्रेमिकासँगको सम्बन्ध, फुटबल र फुटबलरहरूका विषयमा उनले दिने टिप्पणीजस्ता कुराले उनी प्रायः चर्चामै हुन्थे । विश्वकप फुटबलको समयमा उनी स्टेडियममै पुग्थे । विशेष गरी अर्जेन्टिनाको महत्वपूर्ण खेल हेर्न उनी पुगेकै हुन्थे । त्यो समयमा पनि चर्चा उनकै हुन्थ्यो । 

यी सबै चर्चाको बीच म्याराडोनाको जीवन र उनको उपलव्धी दुई पाटोमा बाढिए । म्याराडोनाको खेलजीवन र सन्न्यासपछिको जीवन निकै भिन्न रह्यो । या भनौँ, म्याराडोनाले खेलजीवन र त्यसपछिको बाँकी जीवन निकै भिन्न तरिकाले जिउने प्रयास गरे ।  खेलाडीको रूपमा उनले धेरै ठूला सफलता हात पारे । आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउनेदेखि युरोपेली क्लब फुटबलबाट धेरै उपाधि जित्नेसम्मको सफलता चाखे । त्यो समय उनको धेरै प्रशंसा भयो । विश्वले नै उनलाई चिन्यो । 

खेलजीवनको उत्तराद्र्धमा उनी कुलतमा फसेको समाचार आउन थाले । त्यसको निरन्तरता सायद जीवनको अन्तिम क्षणसम्मै रह्यो । यसबाट उनको नकारात्मक चर्चा धेरै भयो । यसकै कारण उनले धेरैपटक लज्जित पनि हुनुपर्‍यो । उनको सफलताको पनि यस्तै दुई पाटा छन् । सन् १९८६ को विश्वकपको उपाधि जित्नुअघि अर्जेन्टिनाले इंग्ल्यान्डलाई क्वार्टरफाइनलमा २–१ ले पराजित गरेको थियो । उक्त खेलमा अर्जेन्टिनाका लागि दुबै गोल म्याराडोनाले गरेका थिए । दोस्रो गोल निक्कै उत्कृष्ट रह्यो । मैदानको मध्यभागबाट बल लिएका उनले इंग्ल्यान्डका ६ खेलाडी र गोलरक्षकलाई पनि छक्याउँदै गोल गरेका थिए । उनको यो गोल सन् २००० मा शताब्धीकै उत्कृष्ट घोषित भएको थियो । 

 

उक्त खेलमा उनले गरेको पहिलो गोल पनि उत्तिकै चर्चित रह्यो । तर, उत्तिकै विवादित पनि । यो विवादले म्याराडोनालाई कतिपयले फुटबलको ‘भिलेन’ पनि भन्ने गरेका छन् । त्यसमा इंग्लिस फुटबलका फ्यान बढी छन् । उनले उक्त खेलमा हातले गोल गरेका थिए । हेडिङजस्तो देखिने उक्त गोलमा उनले आफ्नो हात प्रयोग गरेको स्पष्ट देखिन्छ । उनको चलाखी रेफ्री र लाइन रेफ्रीले देखेनन् । त्यसैले उक्त गोलले मान्यता पाएको थियो । 


उक्त गोल गरेको १९ वर्षपछि सन् २००५ मा उनले एक टेलिभिजन कार्यक्रममा आफूले हातले गोल गरेको स्वीकार गरेका थिए । त्यसलाई उनले ‘ह्यान्ड अफ गड’ भनेका छन् । यो शब्द म्याराडोना आफैँले प्रयोग गरेका हुन् । फुटबल खेलमा हातले बल छुन पाइन्न । त्यसका वावजुद उनले त हातैले गोल गरेका थिए । त्यसैले उनलाई कतिपयले नियमभन्दा माथिका खेलाडी भन्ने गर्छन् । 


इंग्लिस फुटबलका कट्टर समर्थकहरूको विरोध भने यसैमा छ । विश्वकप जस्तो ठूलो प्रतियोगितामा नियमविपरित गोल गर्ने खेलाडीलाई भगवानसँग दाजेँको भनी उनीहरूको विरोध छ । बेलायती मिडियाले पनि यसलाई साथ दिएका छन् । बिहीबार प्रकाशित भएका बेलायतका कतिपय पत्रपत्रिकाले यही कुरालाई उठाएका छन् । 


द डेली मेलले म्याराडोनाले हातले गोल गर्दा इंग्ल्यान्डको गोल रक्षक रहेका पिटर सिल्टोनको भनाइ उद्धृत गरेको छ, ‘मलाई के मन परेको छैन भने उनले गल्ती गरेर पनि कहिल्यै माफी मागेनन् । उल्टै भगवान्को हात भनिदिए । यो स्वीकार्य छैन । उनमा खेल भावना नै रहेनछ ।’ हुन त इंग्ल्यान्ड र अर्जेन्टिनाबीच खेलभन्दा बाहिरको द्वन्द्व पनि छ । १९८६ को विश्वकप जितेपछि म्याराडोनाले इंग्ल्यान्डविरुद्ध फाल्कल्यान्ड्स युद्धको बदला लिएको प्रतिकृया दिएका थिए । 

 

संघर्ष
सफलता, चर्चा र विवादमा आउनुअघिको उनको संघर्ष अझ कठिन छ । अर्जेन्टिनाको ब्युनस आयर्सनजिक एउटा गरिब परिवारमा ३० अक्टोबर १९६० मा उनको जन्म भएको थियो । म्याराडोनाले आफ्नो ‘अटोबायोग्राफी’मा लेखेअनुसार उनका पिता इँटाभट्टामा काम गर्थे । आमा घरको काम हेर्थिन् । म्याराडोना आठ दाजुभाइ–दिदीबहिनीमध्येका पाँचौँ सन्तान हुन् । 

 

विश्व फुटबलले म्याराडोनाको असफलताभन्दा पनि उनले कायम गरेको इतिहास र सफलता नै धेरै सम्झनेछ । अनि, कतिपयले उनको जीवनशैलीका कारणले पनि सम्झनेछन् । केही नराम्रो व्यवहारलाई छाड्ने हो भने म्याराडोनाले साँच्चिकै बिन्दास जीवन बिताए ।


म्याराडोनाको परिवार आर्थिक रूपमा निकै कमजोर थियो । तैपनि, म्याराडोनाले फुटबल खेल्न छाडेनन् । उनले नौ वर्षको उमेरमा फुटबल खेल्न सिकिसकेका थिए । आफ्नो जन्मदिनमा आफन्तले उपहार दिएको फुटबलबाट उनले खेल्न सिकेका हुन् । त्यसपछि उनले आफ्नो घरनजिकको एउटा टोली लिटल ओनिअनबाट खेले । उनी उक्त टोलीमा रहँदा लिटल ओनिअनले लगातार एक सय ४० खेलमा जित हात पारेको थियो । 

 


त्यसपछि उनी समाचारमा छाउन थाले । अरू ठूला क्लब र उमेरसमूह हुँदै उनी राष्ट्रिय टोलीमा पुगे । उमेर समूहमा सन् १९७९ मा जापानमा भएको यू–२० विश्वकप जिते । त्यसपछि सन् १९८६ मा सिनियर टोलीकै विश्वकप जिते । स्पेनी टोली बार्सिलोना र इटालियन टोली नापोलीबाट पनि प्रशस्तै सफलता हासिल गरे । त्यसअनुसार थुप्रै सम्मान प्राप्त गरे । 

 


यो सफलतासम्म आइपुग्दा उनले बाल्यकालमा भोग्नुपरेको गरिबीको समस्यालाई जिते । तर, अरू समस्या र संघर्ष थपियो । जीवनमा सायद उनले खराब हो भनेर जान्दाजान्दै पनि जित्न नसकेको संघर्ष लागुऔषधसँगको हो ।  दुव्र्यसनीले आफूमा पारेको गलत असरबारे उनले राम्रैसँग बुझेका थिए । त्यसका बाबजुद त्याग्न नसकेको उनी आफैँले पनि स्वीकार गरेका छन् । 

 

लागुऔषध सेवन
गरेको पुष्टि भएपछि उनलाई एकपटक अर्जेन्टिनाकोविश्वकप टोलीबाटै हटाइएको थियो । नापोलीले पनि यस्तै कारणबाट उनलाई कतिपटक आर्थिक जरिवाना लगाउनेदेखि टोलीबाट निकाल्नेसम्मको निर्णय गरेको थियो । 

 

असफल प्रशिक्षक
खेलजीवनको सफलतालाई पछ्याउँदै म्याराडोनाले प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले । म्याराडोनाले सन् २०१० को विश्वकपमा लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीको प्रशिक्षणको जिम्मेवारी लिएका थिए । तर, उनको नेतृत्वमा अर्जेन्टिनाले क्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेन । जर्मनीसँग ४–० ले पराजित हुँदै अर्जेन्टिना घर फर्कियो ।  त्यसपछि उनको सम्झौता नवीकरण भएन । राष्ट्रिय टोलीको जिम्मेवारी नपाए पनि उनले क्लबहरूलाई भने प्रशिक्षण दिइरहे । क्लबको प्रशिक्षक बन्न उनी दुबईसम्म आए । तर, क्लब फुटबलमा पनि प्रशिक्षकको रूपमा उनका लागि सफलता सम्भव भएन । 

 

विश्व फुटबलले म्याराडोनाको असफलताभन्दा पनि उनले कायम गरेको इतिहास र सफलता नै धेरै सम्झनेछ । उनको कला र बलसँगको गति नै सम्झने छ । अनि कतिपयले उनको जीवनशैलीका कारण पनि सम्झनेछन् । केही नराम्रो व्यवहारलाई छाड्ने हो भने म्याराडोनाले साँच्चिकै बिन्दास जीवन बिताए, जहाँ जान्थे बिन्दास देखिन्थे ।