• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश भुसाल काठमाडाैं
२०७५ चैत २३ शनिबार १०:४५:००
यात्रा

पानीजहाजबाट उत्तर चियाउँदा

२०७५ चैत २३ शनिबार १०:४५:००
रमेश भुसाल काठमाडाैं

नजिकै भए पनि बंगलादेश पुगेको थिइनँ । बंगलादेश त्यो देश हो, जहाँ हाम्रा सबै नदी बगेर पुग्छन् र बाफ बनेर फेरि बादलको रूप धारण गरी उकालो लाग्छन् । हामी पानी दक्षिणतिर बगाउँछौँ र उनीहरूको देशमा पुर्‍याउँछौँ । उनीहरू पानी उडाउँछन् र उत्तरतिर हाम्रो देशमा पठाउँछन् । सहकर्मी बंगाली साथी सोयब खानको इमेल झर्‍यो, ‘बंगलादेशमा पत्रकारलाई तीनदिने तालिम दिनुपर्नेछ, तिमी आउँछौ ?’ मैले एक निमेषमा उत्तर फर्काएँ, ‘स्योर’ । 

अर्को कुनै देश भएको भए म केहीबेर पर्खेर मात्रै जवाफ दिन्थेँ होला । तर, बंगलादेश कतिखेर पुगौँ भन्नेमा थिएँ । त्यसको कारण छ । ब्रह्मपुत्र र गंगा (एक मुख्य सहायक नदी कर्णाली) को उद्गस्थल कैलाश पर्वतको सेरोफेरो घुमेर ४४ दिन कर्णाली नदीलाई पछ्याउँदै भारतको उत्तर प्रदेश र बिहारको सीमासम्म पुगेको केही महिना मात्रै भएको थियो । भारतमा घाघरा बन्ने कर्णालीलाई गंगा नदीमा मिसाएर फर्केपछि म समुद्रसम्मै कर्णाली पुगेको हेर्न हाँक्किएको थिएँ । कर्णालीले कोसी र गण्डकीलाई बिहारमा भेट्छ । गंगा बनेर बंगालको बाटो तय गर्छ ।

बस्ने होटेलको ठेगाना, उड्ने टिकट, एक थान पासपोर्ट अनि मनभरि उत्साह बोकेर म बंगालको खाडीको यात्रामा निस्किएँ । विमान बंगलादेशको जहाजको अगाडिको चोसोमा ‘मेघदूत’ लेखिएको छ । पौराणिक कथामा भगवान उड्थे रे ! अहिले हामी उड्छौँ । देब्रेपट्टिको झ्यालको सिट मागेको थिएँ । जहाजमा पुग्दा सिट त झ्यालपट्टिकै छ । तर, झ्यालचाहिँ छैन । ‘सबै सिटमा झ्याल छ– मेरोमा किन छैन ?,’ विमानका कर्मचारीलाई सोधेँ । उनले जहाज भरिएको छैन पछाडि बस्न मिल्छ भन्दै दाहिनेपट्टिको झ्यालमा जान भने । मैले देब्रे नै चाहिने बताएँ । सिट खाली भए पनि उनले आनाकानी गरेपछि मैले भनेँ, ‘देयर इज ए रिजन फर आस्किंग लेफ्ट विन्डो सिट सर ।’ तर, उनी जहाज चढ्न पाएको छस् जहाँ बसे पनि भैगो नि भन्ने पारामा झर्किए । मेरो आवाज अलि कडा भएछ क्यार, हाम्रो संवाद सुनिरहेका अर्का कर्मचारी दौडिँदै आए र भने, ‘यु क्यान टेक लेफ्ट विन्डो सर, नो प्रोब्लम ।’ खासमा पूर्वतिर जाँदा देब्रेपट्टिको झ्यालमा बस्न पाए हिमाल अनि त्यहाँबाट निस्केका नदीले यमानका पहाड चिर्दै, कलिला अनि होचा चुरे पहाड चिथोर्दै समथर तराई–मधेसतिर बग्दै गर्दा जोडेका सम्बन्ध र भूगोल नजिकबाट हेर्न पाइन्छ । 

जहाजले मध्य दिनमा उत्तरतिरबाट टेक अफ गर्‍यो र स्वयम्भूलाई फन्को मारेर दक्षिणपूर्व लाग्यो । जति दक्षिण लाग्यो, उति धेरै तुवाँलो । पर धुमिल हिमशृंखला देखियो तर क्यामेरा तेस्र्याउन मन लाग्ने खालको छैन । खुब हेरुँला भनेका हिमाल खासै खुलेनन् । दोलालघाटबाट दक्षिणपूर्व बगेको सुनकोसी र मन्थलीतिरबाट झरेको तामाकोसी मिसिएको दोभानको केही तलपट्टि नदीकिनारको खुर्कोट बजार दखिनेगरी एउटा फोटो खिचेँ । केहीबेरपछि जहाज कोसी ब्यारेज नजिकबाट नदी काटेर अगाडि बढ्यो । समथर भूभागमा पुगेपछि विस्तीर्ण फैलिएको कोसीका बगान क्षेत्रले वर्षाको पानी पर्खिरहेझैं लाग्थ्यो । 

सेभेन अप र एउटा पाउरोटी आइपुग्यो । खान पटक्कै मन छैन । यात्राभरि पोहोर साल यही समयमा दुर्घटनामा परेको युस बंगला जहाज र त्यसमा परेका मानिस सम्झिरहेँ । सुपर फ्रेस ड्रिकिंग वाटर, रिफ्रेस, रिचार्ज, रिस्टार्ट लेखिएको मिनरल वाटरको बोटल पनि सँगै थियो । वा यस्तो पो त विज्ञापन ! २५० मिलिलिटर पानी पिएपछि जिन्दगीभरि अरू केही पिउनु जरुरी नै छैनजस्तो ! विज्ञापनको काम नै जे होइन, त्यही ‘हो’ भन्नु न हो । 

पानी खोलेर पिउन लाग्दै गर्दा विराटनगर विमानस्थललाई देब्रे पारेर जहाज अगाडि बढ्यो । काठमाडौंबाट एक घन्टा ५ मिनेटको उडानमै ढाका पुगिन्छ । केहीबेरपछि उत्तरतिरबाट विशाल बगान क्षेत्रमा फैलिएको बह्मपुत्र नदी दक्षिणतिर हान्निँदै आएको देखेपछि अब ढाका धेरै छैन भन्ने अनुमान गर्न सजिलो भयो । यमानको नदीले वर्षामा बग्दा बनाएका बाटा भर्खर लेख्न सिक्दै गरेका बालबालिकाले कापीमा तानेका बांगाटिंगा धर्साजस्ता देखिन्थे ।

उनीहरूको जमिन छैन । काठकै स–साना डुंगा नदीकिनारमा अड्याएका छन् । ८–१० जनाको परिवार एउटै डुंगामा जीवन चलाउँछन् । एउटै डुंगामा पकाउने, खाने, सुत्ने, बच्चा पाउने, हुर्काउने...। लस्करै आमा–बाबु र केटाकेटी सुत्छन् । खुट्टा पसार्न पनि मिल्दैन । जिन्दगीभरि खुट्टै नपसारी सुत्ने होला कि के होला ?

नेपालको पश्चिमी सीमा पर्तिर भारतको उत्तराखण्डको गंगोत्री हिमनदीबाट निस्केर उत्तर प्रदेश, बिहार हुँदै बग्दै गर्दा गंगा नदीको आकार हाम्रा महाकालीदेखि कोसीसम्मका नदीले बढाइदिन्छन् । बिहार कटेपछि झारखण्ड र पश्चिम बंगाललाई दायँबायाँ पारेर गंगा दक्षिणपूर्व हानिन्छ । यसैबीच गंगाको केही पानी फरक्का ब्यारेजमार्फत हुग्ली नदीमा मिसाइन्छ जुन कलकत्ता हुँदै समुद्रमा पुग्छ । फरक्काले नफर्काएको पानी गंगा नदीका रूपमा केहीबेर बग्छ र बंगलादेश पसेपछि गंगा नदी पद्माको नामले चिनिन्छ । तिब्बतबाट झोक्किँदै आएको यार्लुंग जांग्बो भारत पसेपछि ब्रह्मपुत्र कहिन्छ, अनि बंगलादेश पस्दा जमुना भइसक्छ ।

पद्मा बनेको गंगा र जमुना बनेको ब्रह्मपुत्र पद्मको नाम लिएर  ढाका सहरभन्दा पर पुग्छ । उत्तरतिरबाट आएको मेघना ढाका सहरको दक्षिणमा मिसिएपछि पद्मको नाम फेरिन्छ र मेघना बन्छ । यही मेघना बंगलादेशको अधिकांश भाग सोहोर्दै बंगालको खाडी पुग्छ र समुद्रमा मिसिन्छ । मानिस जहाँ गए पनि उसको नाम एउटै हुन्छ । तर, नदी जहाँ पुग्यो त्यहीँ आफ्नो नाम फेर्छ र त्यही देश वा ठाउँको भइदिन्छ । यदि, मान्छे पनि त्यस्तो हुँदो हो त कति मजा आउँदो हो ! नेपालमा रमेश भुसाल, बंगलादेश पुगेपछि इफ्तिकर महोमद, अमेरिका पुग्दा विल सुभर्ट आदि–आदि ।

जहाज अवतरण गर्ने तयारीमा छ । भिसा अन एराइभल पाइन्छ । फारम भर्ने ठाउँमा अधिकांश चिनियाँहरू छन् । यस्तो लाग्थ्यो– जसरी नदी दक्षिण बगेको छ, उस्तै रफ्तारमा चिनियाँहरू ओरालो झरिरहेका छन् । मच्छडले टोकेर हैरान पार्न थालिसकेका थिए । गर्मी छ भनेर हाफ पाइन्ट लाउनेको त बिजोग नै थियो– प्याट्ट प्याट्ट पार्दैको हैरानी ! एकजना युवा मेरो अगाडि थिए– कोरियाली मिसनरी रहेछन् । नेपाल पनि जान मन छ भन्दै गर्दा दुईवटा लामखुट्टे मारिसकेको थिएँ । हाफ पाइन्टवाला थिए ती । करिब डेढ घन्टा कुरेर भिसा लिएँ । विमानस्थल बाहिर निस्कनेबित्तिकै माहुरीजस्तै ट्याक्सीवालाहरू झुम्मिनु स्वाभाविक थियो । पार्किङ छिर्ने ठाउँमा ‘वे टु मल्टिस्टोरे पार्किङ विल्डिङ’ लेखिएको थियो । हेरेरै सबैलाई थाहा भइहाल्थ्यो, यो बहुतले पार्किङस्थल हो भनेर तर लेखेरै भनेपछि कसले नपत्याउला र भनेर होला ! 

मान्छे त कत्ति हुन् कत्ति ! घरीघरी त लाग्थ्यो, मान्छे अर्को मान्छे जन्माउन मात्रै जन्मेको हो । समथर भू–भागको माटो मात्रै होइन, मान्छे पनि उत्तिकै मलिला । एयरपोर्ट नजिकैको मरिनो होटेलका म्यानेजरले ‘मिस्टर रमेश वेलकम’ भन्दै ढोकैमा स्वागत गरे । जुस टेबलमा छ । कफी बन्दै छ । उनले कुराकानी सुरु गरे, ‘सर टेल मी हाउ डु यो राइड अन दोज् न्यारो रोड्स इन नेपाल ! इट्स् सो डेन्जरस् । आइ वेन्ट टु काठमाडौं बाइ रोड इन १९९२, ओ माइ गड !’ यस्ता साँघुरा बाटामा कसरी हामी गाडी चलाउँछाँै होला भनेर उनी सधैँ गमिरहन्छन् होला । चन्द्रमा पुग्न जस्तै गाह्रो होला तिमीहरूलाई भन्ने भावमा उनीबाट प्रस्तुत हुँदै थिए । उकालो देख्नै नपाउने समथर बंगालका मान्छेले यस्तो सोच्नु स्वाभाविक नै हो । 
०००
भोलिपल्ट ढाका सहर छिचोलेर झन्डै ४ घन्टामा हामी सदरघाट पुग्यौँ । झन्डै ३० किलोमिटरको बाटो काट्न लगभग ४ घन्टा । ट्याक्सीमा हामी गफियौँ । ‘मैले अघिल्लोपटक भोट नै हालिनँ रमेश ! किनभने मलाई थाहा थियो– मेरो नाममा कसैले भोट हालिसकेको छ,’ सोयबले भने । ‘प्रजातन्त्रको यस्तो बलियो नमुना अर्को के होला !’ मैले उसलाई जिस्क्याएँ । बंगलादेशका पहिलो राष्ट्रपति सेख मुजिबुर रहमानकी छोरी सेख हसिना बाजेद अहिले बंगलादेशकी १०औँ प्रधानमन्त्री छिन् । ‘सडकको एकातिर अलि खुला भू–भाग छ । वास्तवमा आधाजस्तो ढाका सहर त सेनाको हो । क्यान्टोनमेन्ट भन्छन्’, सोयब सुनाउँछन्, ‘उनीहरूका परिवार बस्ने भवनलगायत संरचना छन् । सेना भंयकर शक्तिशाली छ । राजनीतिज्ञहरू त देखाउने दाँत मात्रै हुन् ।’ 

पूर्वप्रधानमन्त्री खालिदा जियालाई पोहोर साल भ्रष्टाचारको मुद्दा लगाएर ५ वर्षका लागि जेल पठाइयो । अहिले सेख हसिनाको राज छ । खालिदा जियाका श्रीमान् तत्कालीन राष्ट्रपति जियाउर रहमान सन् १९८१ मा मारिएपछि जिया सैनिक शासनविरुद्ध लडिन् । देशकै पहिलो महिला प्रधानमन्त्री बनिन् । यता प्रतिस्पर्धी सेख हसिनाको बिरासत पनि कम छैन । ‘अब सेख हसिनापछि को बन्छ त प्रधानमन्त्री ?’ मैले सोधेँ । ‘साउथ एसिया ह्याज ए डिजिज कल्ड एसटिडी (इट्स नट सक्सुयली ट्रान्समिटेड् डिजिज वट् इट्स कल्ड सेक्सुयली ट्रान्समिटेड् डेमोक्रेसी), अर्थात् जन्मका आधारमा चलेको प्रजातन्त्र ।’ हामी मजाले हाँस्यौँ । वास्तवमा दक्षिण एसियामा सेक्सुयली ट्रान्समिटेड डेमोक्रेसीको बोलवाला छ । भारतमा गान्धी, नेपालमा कोइराला, भुटानमा राजा आदि । यौनले धानेको प्रजातन्त्रको राजमा हुर्केका छौँ हामी ।  

 भोट नहालीकनै चुनाव जित्ने अनि जन्मकै आधारमा नेता हुने डेमोक्रेसीमा रमाउँदै गर्दा हामी सदरघाट पुग्यौँ । पानीजहाजले भरिभराउ छ घाट । मानिसको ओहिरो छ । घाटको पानी पूरै कालो रंगको छ । गन्ध भनिसाध्य छैन । मेरो देशमा पानीजहाजको यत्रो चर्चा छ । पुल भत्काएरै भए पनि पानीजहाज नेपाल ल्याइछाड्ने योजनामा सरकार छ । यत्रा जहाजै जहाज हेर्दा झल्झली भर्खरै उद्घाटन भएको ललितपुरको नख्खुस्थित पानी जहाज कार्यालय सम्झिरहेँ । तीनतले पानीजहाजमा हैसियतअनुसार बस्न पाइन्छ वा रकमअनुसार भनौँ । भुइँतलामा आफ्नै बर्को वा बिछ्याउना लगाएर दर्जनौँ मानिस यात्राको तयारी गर्दै थिए । दोस्रो र तेस्रो तलामा छुट्टै कोठा लिएर बस्ने व्यवस्था छ । डबल रुम कि सिंगल रुम भनेर सहभागीलाई चाबी भाग लगाउँदै थिए सोयब र अर्का पत्रकार सिदिक्की । 

ढाका सहर बुरीगंगा नदीको किनारमा अवस्थित सहर हो, जसलाई मुगलहरूले स्थापना गरेका थिए । सदरघाट त्यही बुरीगंगा नदी किनारमा छ । बंगाली पत्रकार भेला भइसकेका छन् । एकपछि अर्को चुरोट सल्केकै छ । जहाजको छत इँटाभट्टा जस्तो छ । धुवाँ निरन्तर उडिरहेको छ । चरा खासै देखिँदैनन् आकाशमा । धेरै देखिने भनेको भँगेरा र काग नै हुन् । ढाकामा सडकको अर्को नाम हर्न हो । एक हातले हर्न थिच्ने अर्को हातले स्टेरिंग घुमाउने ! जहाजले खट् खट् खट् गर्दै आफ्नो इन्जिन चालु गर्‍यो । 

जहाज मेघना नदीतिर बंगालको खाडीतर्फ दक्षिण बढ्दै गर्दा गीतको माहोल सुरु भइसकेको थियो । गीत भन्नेबित्तिकै बंगलादेशमा रवीन्द्रनाथ टैगोर पहिला आउँछन् । बंगालीहरू अहिले पनि टैगोरको गीत मुखागार पारेर बस्छन् । रवीन्द्र संगीत त उनीहरूको संस्कृति नै बनिसक्यो । बंगलादेशको राष्ट्रिय गीत नै टैगोरको रचना हो । दुईवटा देश भारत र बंगलादेशको राष्ट्रिय गान लेख्ने एकै स्रष्टा सायद रवीन्द्र मात्रै होलान् । उनले भारतको ‘जन गन मन’ र बंगलादेशको ‘अमर सोनार बंगला’ लेखे । रात गहिरिँदै थियो । हावाको वेग बढ्दो छ र नदीको गन्ध भने घट्दो । 

अलिअलि डर, धेरै रमाइलो लागिरहेको छ । जहाज घरीघरी हल्लिन्छ । ‘अघिल्लो साल त एकपटक रोएँ,’ सोयबले भन्यो । किन ? ‘वर्षाका वेला म यही बाटो भोला जाँदै थिएँ । मेघना र पद्मा मिसिने ठाउँमा जहाज यसरी हल्लियो कि मानाैं अब हामी डुब्छौँ ! सबैजना चिच्याए । म पनि रोएँ । धन्नै केही भएन,’ उसले म आत्तिउँला भनेर थपिहाल्यो, ‘अहिले त पानी थोरै हुन्छ त्यस्तो हुँदैन ।’ 

सुतेको केहीबेरपछि जहाज अलि बढी हल्लियो । उठेर बाहिर हेरेँ । टाढाटाढासम्म जमिन देखिँदैन, मेघना नदी मात्रै देखिन्छ । चिसो हावा बगिरहेको छ । कोठाछेउको कुर्सीमा बसेर कर्णाली र ब्रह्मपुत्र नदीको उद्गमस्थल तिब्बत सम्झिएँ । हामीले कर्णाली त खाली खुट्टा तरेका थियाैं केही महिनाअघि । हजारौँ माइल तल यहाँ नदी कत्रो भएको छ ! यमानका सयौँ जहाजमा हजारौँ मानिस ओहोरदोहोर गरिरहेका छन् । 

रातभरि पानी जहाज चढेको यो पहिलोपटक हो । वेलावेला जहाजले लामो फोकस लाइट बाल्छ र यताउता घुमाउँछ । बाटो क्लियर गर्छ र अगाडि बढ्छ । जहाज बेस्सरी हल्लियो, घटक्क आवाजसहित । एकाएक मानिसको कोलाहल सुनियो । ढोका खोलेर बाहिर हेर्दा बिहान भइसकेको रहेछ ।

बंगालीहरू पत्रकारलाई संवाधिक भन्छन् । टोली अगाडि बढ्यो । हामी बोरीसाल डिभिजनको भोला जिल्लामा पुग्यौँ । यो नै बंगलादेशको सबैभन्दा ठूलो टापु हो । भोलाको अर्थ ‘बिर्सिएको भूमि’ हुँदोरहेछ । २० लाखभन्दा बढी जनसंख्या भएको यो बिर्सिएको सय किलोमिटर लामो र ३५ किलोमिटर फराकिलो जमिन भएको टापु हो जुन वर्षामा निकै डुबानमा पर्छ ।

होटेल क्रस्टल इनको कोठामा छिरेर झ्याल खोलेँ । अर्को घरको छतबाट फालिएको ब्यालेन्टाइन्स् ह्विस्कीको बोटल मेरो झ्यालबाहिर लम्पसार परेको थियो । जुन देशमा रक्सी प्रतिबन्धित छ, त्यही देशमा होटेलको झ्याल खोल्दा पहिलो दृश्य नै रक्सीको खाली बोतल ! सायद लुकेर खान छतमा गएका थिए होलान्, सकिएपछि खुस्स फालिदिए, टन्टै साफ ! 

बंगलादेशको रक्सी–कथा रमाइलो छ । पहिलो रक्सी फ्याक्ट्री १८८७ मा बेलायती नागरिक रोबर्ट रसेल कारेउले खोलेका थिए । सन् १९७३ मा सरकारले यसलाई राष्ट्रियकरण गर्‍यो र आफैँले उत्पादन गर्‍यो । सन् २००३ मा पहिलो निजी रक्सी कम्पनी स्थापना गर्ने अनुमति दिइयो र सरकारको एकाधिकारको अन्त्य गरियो । अहिले दुई अधिकार  छन्,  सरकार र जमुना डिस्टिलरीको । रक्सी पाइन्छ, देखाएर बेच्न पाइँदैन । पिउनेलाई थाहा हुन्छ– रक्सी कहाँ पाइन्छ भनेर । पिउनेका मोबाइलमा एक–दुई रक्सी एजेन्टका नम्बर पक्कै हुन्छन् । नेपाल सरकार विप्लवलाई प्रतिबन्ध लगाएर तह लाउँछु भन्दै छ, कतै बंगलादेशको रक्सीको ताल पो हुने हो कि ! प्रतिबन्धको राजनीति त गाह्रो छ ! लगाउन सजिलो, सम्हाल्न र टिकाउन गाह्रो !

अर्को रमाइलो कुरा के भने बंगलादेशमा रक्सी पिउन लाइसेन्स चाहिन्छ । मुसलमानहरूले डाक्टरको सिफारिस लिनुपर्छ अनि मात्रै पिउने सरकारी लाइसेन्स पाइन्छ । जसरी अमेरिकामा गाँजाका लागि लाइसेन्स चाहिन्छ, यहाँ रक्सीका लागि । पत्रकारलाई रक्सी पाउने ठाउँ थाहा नहुने कुरै भएन । स्थानीय पत्रकारले एक घन्टाजति खोजेपछि सूत्र भेटे । तर, मेयरको कार्यक्रम भएकाले कसैले पनि रक्सी नबेच्नु भन्ने पुलिसको आदेश रहेछ । सायद मेयरका मान्छेले सबै बुक गरिसकेका पो थिए कि ? अर्को एक घन्टापछि सूचना आयो– एक बोटल विदेशी ह्विस्की पाइयो, के गर्ने ? मूल्य जे होस्, सबैले व्यहोर्ने गरी ल्याउने । सहमति भयो । यति दुःख गरेर ल्याएको रक्सी खान सबै आतुर थिए । यसै पनि सधैं पिउन पाइने होइनन् । सबैजना एउटा कोठामा जम्मा भए, आ–आफ्ना कोठाबाट पानी पिउने गिलास लिएर । त्यसपछि पेग लिँदै गीत सुरु भयो ।

बेदे सबिना आस्मिनका ४ छोरी छन् । एउटी ७ वर्षअघि डुबेर मरिन् । गाड्ने जमिन आफ्नो नभएपछि उनले २ हजार टाका तिरेर छोरीलाई गाड्ने जमिन किनिन् र त्यहीँ गाडिन् ।

 भोलिपल्ट हामी मेघना नदी किनारमा जीवन बिताउनेहरूसँग एकदिन गफियौँ । नदी किनारमा डुंगामै आफ्नो जीवन चलाउने बेदेहरूको कारुणिक कथा छ । उनीहरूको जमिन छैन । काठकै स–साना डुंगा नदी किनारमा अड्याएका छन् । ८–१० जनाको परिवार त्यही डुंगामा जीवन चलाउँछन् । त्यही एउटा डुंगामा पकाउने, खाने, सुत्ने, बच्चा पाउने, हुर्काउने सबैथोक गर्ने । माछा मारेर बेच्छन् र त्यसैले दाउरा किनेर खाना पकाउँछन् । केटाकेटीको चिहिलबिहिल छ । कोही रूखमा झुन्डिएका छन् त कोही नांगै दौडिरहेका छन् । लस्करै आमा–बाबु र केटाकेटी सुत्ने गर्छन् । खुट्टा पसार्न पनि मिल्दैन । जिन्दगीभरि खुट्टै नपसारी सुत्ने होला कि के होला ? १४ वर्षीया मालाको एक युवकसँग प्रेम छ । तर, उनीसँग बिहे गरिदिन केटाका बाबुआमा राजी छैनन् । केटो जमिन भएको परिवारको तर माला डुंगे परिवारकी– त्यसैले बिहे हुन सकेको छैन । मालाको  कथा यस्तो छ । 

अर्की बेदे सबिना आस्मिनका ४ छोरी छन् । एउटी ७ वर्षअघि डुबेर मरिन् । गाड्ने जमिन आफ्नो नभएपछि उनले २ हजार टाका तिरेर छोरीलाई गाड्ने जमिन किनिन् र त्यहीँ गाडिन् । उनले यसो भन्दै गर्दा मेरा आँखा रसाइसकेका थिए, तर उनी खासै बिचलित थिइनन् । सायद केही चोटले ज्ञानी हुन्छन् धेरै चोटले बानी हुन्छ भन्ने गीतजस्तै भइसकेको थियो जिन्दगी । दिनभरि नदीमा गयो, माछा बटुल्यो अनि बेचेको आम्दानीले खायो । केटाकेटी कोही स्कुल जाँदैनन् । सक्ने भएपछि डुंगा लिएर नदीमा जान्छन् । जीवन यसरी नै चल्छ बेदेहरूको ।
०००
फर्कँदा जहाजमा झ्यालको सिट मागेको थिएँ । यसपटक चाहिँ दाहिनेपट्टि । उद्देश्य फेरि त्यही । तर, कोही मेरो सिटमा बसिसकेको रहेछ । त्यो सिटमा बस्ने सिराहाका सोनेलाल काम्ती रहेछन् । मैले आपूm झ्यालमा बस्ने कुरा बताएँ र कुरा सुरु गरेँ । कहाँ, कहिले, कताबाट यस्तै । ‘१० वर्षपछि घर जाँदै छु सर,’ उनले सुरु गरे । त्यसपछि उनी खुल्दै गए । एकछिनपछि यसरी खुले मानौँ, उनी केही लुकाउनेवाला छैनन् । ‘सर मलेसियामा चिना (चिनियाँ ) त नेपालीसँग डराउँछ, तर साला तामिलहरू गुन्डा हुन्छ । सालाहरू हरामी हुन्छन् । तामिलहरू एकदम फ्रांग हान्छ ।’ फ्रांग भनेको ? ‘तरबार सर तरबार’, उनी उत्तर फर्किए । हेरकपटक बोलेपछि उनी ‘सर’ भनेर अन्त्य गर्थे । ‘साउथ इन्डियन फिलिममा जस्तै गर्छ सर तामिलले मलेसियामा,’ उनी निरन्तर बोली नै रहेका थिए । उनले थपे, ‘मलाई त एकपटक टाउको फुटाएर रगतै रगत पार्दियो सर । म त कुस्ती खेलाडी भएर मात्रै हो । लडेको लडेकै गरेँ नि सर । मेरो पैसा लुट्न आएको थियो । बोतलले त टाउकोमा कति हान्यो कति !’ 

उनी कुरा सुनाउँदा पूरै एक्सनसहित बोल्थे । ‘सुन्नुस् सर, एकदिन एउटा बंगालीको टाउको तरबारले काटेको मैले नै देखेको, त्यो तामिलले । साला हरामी ! टाउको एकातिर ज्यान एकातिर । हत्तेरिका ! यत्रोयत्रो पाखुरा हुन्छ सर तिनीहरूको । नेपाली र बंगालीलाई धेरै लुटेको छ ती गुन्डाहरूले । सरकार कमजोर छ सर मेलेसियामा,’ सोनेलाल बर्सिरहेका थिए । उनी साँच्चै खुसी थिए । यतिका वर्षपछि घर फर्कँदा को खुसी नहोस् !

अर्को कथा सुरु भयो । ‘एकदिन पानी परिरहेको थियो तर विचरा दुई–तीनजना नेपाली भाइहरू भर्खर मेरो कम्पनीमा आएका थिए । उनीहरू दुकानबाट सामान किनेर गए । म र एकजना नेपाली भाइ एकछिनमा आउँछौँ भनेर बियर पिउँदै थियौँ । एकछिनपछि जाँदा त भाइहरू लुकेर बसेका रहेछन् बाटामा । रुँदै गल्लीबाट बाहिर निस्किए । मैले के भयो भनेर सोधँे । तामिलले लुटेर पैसा लग्यो भने । पारिपट्टि बसेर बियर खाइरहेको छ भनेर देखाए भाइहरूले,’ उनी बोल्दा हात पनि चलाउन थालेका थिए । ‘पारिपट्टि बसिरहेको तामिलको नजिकै गएँ । काम गर्ने बुट लगाएको थिएँ । एक किक मुखमै हानिदिएँ सर । मुखबाट ह्वालह्वाल रगत आयो । अर्को भाइले पनि हान्यो सर, मज्जाले हान्यो । बेहोस भएपछि नालीमा फालेर हामी भाग्यौँ । त्यसपछि ३/४ महिना त बाहिरै निस्केनौँ । बहुत खतरा छ सर मेलेसियामा ।’

‘३५ दिन नेपालमा बस्ने हो सर । छोरीको बिहे गरिसकेँ । नाति पनि छ । बिहेमा आउन पाइएन,’ उनले मोबाइलमा आफ्ना परिवारका फोटो देखाउँदै भन्न थाले, ‘बहुत धनीलाई बिहे गरिदिएको छु सर मैले छोरीको । बोलेरो, उलेरो पनि छ ज्वाइँको । मेरी छोरी पनि कहाँ कम छे र ? त्यही भएर त माग्न आयो नि सर ! छोरीले जे मागे पनि म तुरुन्तै पठाइदिइहाल्छु । छोरी खुसी भए पुग्यो,’ उनले छोरीको फोटो मोबाइलमा देखाए । ‘दुई–तीन मकान छ ज्वाइँको । यो हो ज्वाइँ,’ उनले ज्वाइँको फोटो पनि देखाए । ‘१५ लाख खर्च भयो सर बिहेमा तर म खुसी छु ।’
०००
जहाज नेपाल प्रवेश गरिसकेको छ । एउटा महिला आवाज आउँछ । ‘क्याप्टेन तानिया स्पिकिङ,’ महिला क्याप्टेनको आवाज बिरलै सुन्न पाइन्छ जहाजमा । मैले कान ठाडो पारेँ । ‘वि आर सिक्स्टी नौटिकल माइल फ्रम काठमाडौं । डिउ टु एयर ट्राफिक वि विल होल्ड हियर फर ट्वान्टी टु ट्वान्टी फाइभ मिनेटस् एन्ड एपरोच आवर डिसेन्ट टु काठमाडौं ।’ अहो ! जहाज २५ मिनेट आकाशमै रहने भयो । ‘यो आकाशमा कसरी रोक्छ सर यो जहाज ?’ सोने लालले फेरि सोधे । मैले २५ मिनेट होल्ड गर्छ भनेपछि उनको प्रतिक्रिया थियो त्यो । ‘हैन यहीँ फन्को लाउँछ जहाजले,’ मैले उत्तर फर्काएँ । ‘अरे बाप रे बाप । देख यही घुम्छ रे,’ उनले सँगैका साथीलाई भने । 

जहाजले ५ फन्को लगायो । ‘सर मलाई मन परेको नेता मोदी हो । हाम्रो त सब खत्तम छ । त्यो मोदीको सोचाइ भयंकर छ सर,’ सोनेलाल रोकिएका छैनन् । ककपिटबाट अर्को आवाज आयो, ‘क्याबिन क्रिउ रेडी फर ल्यान्डिङ ।’ म भने वेलावेला नोट लेखिरहेको थिएँ । उनले सोधिहाले, ‘सर के गर्नुहुन्छ ?’ म पत्रकारिता गर्छु भन्दा नभन्दै उनले भने, ‘मलाई लागिरहेथ्यो सर, तपाईं लेखिरहनुभएछ मोबाइलमा । तपाईंको नम्बर यो मोबाइलमा सेभ गर्दिनुस् त सर,’ उनले आफ्नो मोबाइल मतिर तेस्र्याए । 

जहाज रोकिएपछि अरू हतारिँदै थिए । म भने मोबाइलमा टिपेको नोट पढ्दै थिएँ । बंगाली संवाधिकहरूले गीत गाउँदा मैले टिपेको प्रोतुल मुखोपाध्यायको चर्चित गीतमा आँखा परे । गीत भन्छ, ‘आलु बेच, छोला बेच, रोटी बेच तर सपना नबेच, आँसु नबेच, आत्मसम्मान नबेच...।’ 

आलु बेचो, छोला बेचो, बेचो बाखुरखानी (रोटी)
बेचो ना बेचो ना बोन्धु तोमर चोखेरमोनी (आँखाको नानी)
कोला (केरा) बेचो कोइला बेचो बेचो मोटोरदाना
बुकेजाला बुकेइजोलुक कन्ना (आँसु) बेचो ना ।।