• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भूपिन काठमाडाैं
२०७५ फाल्गुण ३० बिहीबार २१:०६:००
साहित्य

बडीलाइनमा एक कवि

दार्जिलिङको छुकछुके रेल स्लो छ, राजा फास्ट छ । रेल गुड्ने अठ्चालीस माइलको लौहपथभन्दा धेरै लामो छ, राजाको काव्यपथ । रेल र राजामा एउटा समानता छ– दुवै सिलिगुढी–दार्जिलिङ गरिरहन्छन् ।

२०७५ फाल्गुण ३० बिहीबार २१:०६:००
भूपिन काठमाडाैं

कछुके रेल भएको दार्जिलिङको चकचके कवि हो, राजा । दार्जिलिङको छुकछुके रेल स्लो छ, राजा फास्ट छ । छुकछुके रेल छोटीलाइनमा चल्छ, राजा बडीलाइनमा । रेल गुड्ने अठ्चालीस माइलको लौहपथभन्दा धेरै लामो छ, राजाको काव्यपथ । त्यसले सिलिगुढी र दार्जिलिङ मात्र जोड्दैन, सारा विश्वलाई नेपाली भाषासँग जोड्ने सामथ्र्य राख्छ । रेल र राजामा एउटा समानता छ– दुवै सिलिगुढी–दार्जिलिङ गरिरहन्छन् । दार्जिलिङ–सिलिगुढी गरिरहन्छन् । 

समयका बाटाहरूमा, घुम्तीहरूमा, पुल र कुइनेटाहरूमा राजालाई सम्झिरहन्छु । राजा, अर्थात् कवि राजा पुनियानीलाई । उसलाई सम्झिनुपर्ने केही कारण छन् र ती विशेष छन् । ऊ मेरो आत्मीय मित्र हो, स्मार्ट कवि हो र हो मेरो मीत पनि ।राजासँग मेरो यसरी मित्रता होला भन्ने मेरो कल्पनाको क्षेत्रफलभित्र थिएन । अरबौँ मानिसले ढाकिएको दुनियाँमा राजा भन्ने कवि होला, ऊसँग भेट होला र मीतगिरी गरिएला भन्ने कहिल्यै सोच्न सक्ने विषय पनि भएन । जीवनमा कल्पना गरेकाभन्दा कल्पना नगरेका र होला भन्दा नहोला ठानेका कुरा धेरै हुने रहेछन् । र, यी कुराले नै जीवन बढी मूल्यवान् लाग्दो रहेछ । राजासँगको मेरो मितेरी यस्तै दुर्लभ उदाहरण हो । 

सन् २०१० को डिसेम्बरमा कवि मनोज बोगटीको आत्मीय निम्तो मान्न सिलिगुढी पुगेका थियौँ । शब्दसाँघु नामको उक्त कार्यक्रममा धेरै भारतीय नेपाली कविसहित पहिलोपटक भेट भएको थियो, राजासँग । संयोग कस्तो थियो भने भेटअघि नै राजाको एक कवितालाई मियो मानेर मैले निबन्ध लेखिसकेको थिएँ– ‘जीवन : साझा बसको अन्तिम सिट ।’ उनान्सत्तरीमा प्रकाशित ‘चौबीस रिल’को एक रिल बन्यो त्यो निबन्ध । प्रज्ञा प्रतिष्ठानले निकाल्ने कविता त्रैमासिकमा छापिएको राजाको ‘जीवन बहत्तर’ शीर्षक कविताले मलाई उक्त निबन्ध लेख्ने प्रेरणा दिएको थियो । त्यसपछि मैले राजालाई खोज्न थालेको थिएँ र केही वर्षपछि फेसबुकमा भेटेको थिएँ । विशेषतः राजाले फेसबुकमा राख्ने कविताहरू मेरा रुचिका विषय थिए । म तिनलाई नियमित पछ्याउथेँ । आकर्षक कुरा के थियो भने ऊ नेपालीका अलवा आफ्ना बंगाली, हिन्दी र अंग्रेजीका कविता पनि वालमा टाँसिरहन्थ्यो । धेरै भाषामाथिको उसको पकडले मलाई थप आकर्षित गरिदिन्थ्यो । 

राजाले राखेको प्रोफाइल पिक्चर म अझै सम्झिन्छु । बाइकको ऐनामा प्रतिबिम्बित एक रहस्यमय अनुहार थियो त्यहाँ, जसमा राजा अलिक प्रौढ देखिन्थ्यो । ‘मभन्दा सिनियर कवि रहेछ’ मैले ठानिदिएको थिएँ । सिलिगुढीको भेटपछि मात्र थाहा लाग्यो, राजा लगभग मेरै उमेरको निकै हेन्डसम कवि रहेछ । उता, राजाले पनि मेरो एक कविता ‘हजार वर्षको निद्रा’ लाई आधार मानेर लेखेको समीक्षात्मक निबन्ध हिमालय दर्पणमा छपाइसकेको रहेछ । मेरा लागि यो गजब सरप्राइज ! यसरी राजा र म भेट नहुँदै एक–अर्काका कविताबाट प्रभावित भइसकेका रहेछौँ ।

११ डिसेम्बरको कार्यक्रमपछि कवि साथीहरूको अनुरोधको दबाबमा राजा र मैले टाउको ठोकेर र पैसा साटेर मीत लगायौँ । कुनै धार्मिक आस्थाका कारण नभई साथीहरूको अनुरोधमा पचास–पचासको नोट साट्यौँ र गले मिलायौँ । राजाको आइसी नोट भएकाले मलाई तीस रुपैयाँ नाफा भयो । लिटरल्ली, मेरो मीतगिरी त्यही अतिरिक्त तीस रुपैयाँ राजालाई तिर्ने कोसिस हो । म राजालाई सधैँ घाटामा पार्न चाहन्नँ । 

राजाको जीवनका विविध आयाम छन् र हरेक आयाममा बलियो पकड छ उसको । पेसाले ऊ कलेजको प्राध्यापक । सिलिगुढीस्थित सुरेन्द्र इन्स्टिच्युट अफ इन्जिनियरिङमा अर्गनाइजेसनल बिहेभियर, प्रोफेसनल इथिक्स र कम्युनिकेसन पढाउँछ । म आफू पनि त्यही पेसामा छु । कहिलेकाहीँ कक्षा लिइरहँदा राजाबारे सोच्छु । उसको कक्षाको भाइब्रेसन म अनुमान गर्न सक्छु । किनकि ऊ राम्रो वक्ता हो । राम्रो वक्ता नभई कोही राम्रो प्राध्यापक बन्न सक्दैन । यो पनि उत्तिकै सत्य हो कि राम्रो वक्ता हुँदैमा सबै राम्रो प्राध्यापक नबन्न पनि सक्छन् ।

राजा बहुल सिर्जनशीलताको पुञ्ज हो र यसको एक मात्र आलम्ब कविता हो । ऊ पोयट्री पर्फरमर हो, फोटोग्राफर हो, गायक हो । ऊ वक्ता हो, पेन्टर हो, अनुवादक हो । ऊ समीक्षक हो, निबन्धकार हो, विद्रोही हो । साहित्यलाई ‘समाजको, समाजबाट, समाजका लागि’ बीज बाक्य बनाउने हस्तक्षेप आन्दोलनको ऊ आन्दोलनकारी पनि हो । उसको लेखनी बताउँछ, प्रवृत्तिगत रूपमा ऊ एक सिर्जनशील अराजक हो । देब्रे कोणबाट जीवन–जगत्लाई नापजाँच गर्न मनपराउने राजा आवश्यक परे तमाम देब्रे संगठनप्रति खरो असहमति राख्छ । अधिकांश देब्रे ढल्कुवा कविहरूमा के भ्रम देखिन्छ भने बायाँ गोलार्धको नागरिक भएपछि सुविधा र स्वार्थअनुसार दाहिनेतिर बसे पनि हुन्छ । वास्तवमा देब्रे ढल्कुवा कवि बायाँ गोलार्धमा पनि देब्रेतिर नै बस्छ । राजा यसमा सचेत छ । 

राजा नथाक्ने प्राणी हो, तपाईंहरूले थाहा पाइसक्नु भो कि म उसलाई चकचके कवि भन्छु । खेलेर सिक्न खोजिरहेको कुनै बच्चाजस्तो । स्वाभाविक हो, चकचकेले कहिलेकाहीँ तोडफोड पनि गर्छ । रियालिटी डिस्टोर्सन फिल्डको कुरा गरे पनि बाउको रेडियो, टिभी तोडफोड नगरेका भए स्टिभ जब्सले आइफोनको आकर्षक इन्जिनियरिङ गर्ने थिएनन् । राजाले पनि कविताको इन्जिनियरिङ गर्ने थिएन । केही अर्थमा मलाई कविहरू बच्चा भएको बेहद मन पर्छ । बच्चाहरूको निरीक्षण क्षमता असाधारण हुन्छ । केही क्षण राजाको फेसबुक विचरण गरेपछि थाहा हुन्छ, ‘राजा खाली हात बस्न जन्मिएको कवि होइन ।’ ऊ ननस्टप लेखिरहन्छ । कहिले धाराबाहिक ‘बोजु’ लेख्छ, कहिले ‘प्रेम’ लेख्छ, कहिले ‘सिरिया’ लेख्छ । अहिले ऊ कविताको ‘एक दिन’ सेरिज लेख्न व्यस्त छ । 

एकताका यता नेपालतिर शृंखला कविता लेख्ने चलन थियो । प्रकाशित कृतिकै कुरा गर्दा पनि मञ्जुलका ‘सिद्धिचरणहरू’ र ‘मृत्यु कविता’, रोशन शेरचनको ‘सरुभक्तहरू’ र रमेश श्रेष्ठको ‘घाँस उखेलिरहेकी केटी’ चर्चित भए । मैले पनि १७–१८ वटा ‘ईश्वर’ लेखेँ र थन्किएँ । राजा यसमा निरन्तर लागिरहेको छ । यसका अलवा ऊ हितैसी कवि मनोजसँग मिलेर सिलिगुढीतिर विभिन्न कार्यक्रम गरिरहन्छ । अहिले दार्जिलिङ लिटरेचर फेस्टिबलको तयारीमा व्यस्त छ ऊ । राजाको चकचक झनै बढेको छ । कहिलेकाहीँ राजा एकदिनमै एक दर्जन कविता पोस्ट गरिदिन्छ फेसबुकमा ।

उसका शुभचिन्तकलाई लाइक हान्न भ्याई–नभ्याई हुन्छ । यस्तो प्रायः भइरहन्छ । मलाई भने उसको कवितात्मक जुनुन देखेर अचम्म लाग्छ । सोध्छु, ‘ओ चकचके कवि, कति लेख्न सकेको यार ?’ ऊ भन्छ, ‘के लेख्नु हौ ! चालीस कट्दा पनि नाथे एकटा किताबबाहेक अरू केही निस्केन । म एक असफल फकिर हुँ ।’  के यही बोध थियो, जसको कारण राजाले आफ्नो दोस्रो नाम रोजेको थियो, फकिर कमिला ! म घोत्लिन्छु । तर, कमिला न असफल हुन्छ, न फकिर । के ऊ असामान्य कमिला हो ? मेरो मन भन्छ, राजा कमिलाचाहिँ पक्का हो । श्रम र सामूहिकतामा विश्वास भएको । त्यसैले त ऊ भन्छ, ‘साहित्य समाजको, समाजबाट, समाजका लागि ।’

‘अर्को कृति निकाल्न किन जाँगर नगरेको त फकिर ?’ तीन–चार वर्षअघि ‘अर्को लस्कर’ कविता कृति निकालेपछि दोस्रो कृति निकाल्न उदासीन राजासँग सोध्छु । भन्छ, ‘कसका लागि छाप्ने ? लाखौँ जनसंख्यामा मरेर हजार कपी !’ म मेसेन्जरमा स्माइली इमोजी पठाइदिन्छु । राजा रोकिन्न, ‘पपुलर राइटिङ गर्न मन लाग्दैन । अर्को डर पर्फेक्सनिजम् । लेखेको भएन भन्ने त्रास । लेख्नु खोजेको लेखिएन, तेस्रो डर ।’

‘लेखक कमजोरीसहित नै त आउने हो कृतिमा,’ म मेसेज सेन्ड गर्छु । एकछिन मेसेन्जर बक्समा केही थोप्लाहरू हल्लिँदै टिङलिङ टिङलिङ बजिरहन्छन् । ‘हो त्यो पनि । हजार कमजोरीको माया लागेर आउँछ । जस्तो प्रेम कति मिठो कमजोरी । जसरी आमाबाउ, जसरी साथीभाइ । हाहाहा,’ जवाफ पठाउँछ ।  ‘जीवनवादी राजाको एब्सर्ड मन्तव्य ? यी छन् र त जीवनको खास मूल्य छ । राजा, प्रेम त बल हो,’ यी वाक्यसहित म फेरि स्माइली इमोजी ठेलिदिन्छु । मेसेन्जर बक्समा तीन थोप्लाहरू हल्लिँदै फेरि टिङलिङ टिङलिङ बजिरहन्छन् । यसपालि अलि लामो । 

कवि साथीहरूको अनुरोधको दबाबमा राजा र मैले टाउको ठोकेर र पैसा साटेर मीत लगायौँ । राजाको आइसी नोट भएकाले मलाई तीस रुपैयाँ नाफा भयो । लिटरल्ली, मेरो मीतगिरी त्यही अतिरिक्त तीस रुपैयाँ राजालाई तिर्ने कोसिस हो । म राजालाई सधैँ घाटामा पार्न चाहन्नँ

‘एब्सर्डिटी नै ट्रुथ पनि हो,’ राजा भन्छ । ‘मान्छु । तर, त्यहीँ अल्झिबस्नु त अनि ? तिमी त्यस्तो कवि पनि होइन । तिम्रो कवितामा त आगो छ, विद्रोह छ ।’ म लेख्छु । ‘यही अल्झाइसँगको लडाइँ पनि हाम्रो जीवन ।’ मेसेन्जरको भर्चुअल भेटमा राजा गम्भीर बनिदिन्छ । मलाई राजा गम्भीर भएको मन पर्छ । म गफ गर्ने मुडमा छु । ‘राजा किन लेख्छ ?’ म फ्याट्ट सोधिदिन्छु । मलाई पनि यो प्रश्न कतिजनाले सोधे कतिजनाले ! तर, मैले यसको पर्फेक्ट जवाफ कसैलाई दिन सकेको छैन । राजाले देला कि भनी यही प्रश्नको ब्याटन राजाको हातमा थमाइदिन्छु । हामी कवि रिले दौडका धावक नै त हौँ, प्रश्नका ब्याटनहरू एकअर्कोलाई थमाएर काव्यको ट्र्याकमा दौडिइरहने । फरक यत्ति छ, यो रिले दौडको अन्तिम साँध छैन । ‘नलेखी बस्न सकिन्न । भित्रको मानिसले लेखाइहाल्छ ।’ राजाको छोटो जवाफ आउँछ । म उसको जवाफ सुनेर केहीबेर एकोहोरिन्छु । घोरिन्छु । को हो त्यो भूमिगत मान्छे, जसले राजालाई लेखिरहने वरदान वा श्राप दिएको छ । यसको जन्मदाता को हो ? ऊ आफँै, समय वा समाज ?’‘ती तीनैवटा हुन् ।’ मनले निचोड निकाल्छ ।

‘मीतज्यू, अब म छिटै मर्छु । सुताइ छैन । टाइममा खुवाइ छैन ।’ मेरो मौनताको बीचमा टिङलिङ टिङलिङ उसको अर्को मेसेज आउँछ । म विस्मयले भरिन्छु । मलाई थाहा छ, ऊ धेरै सुत्दैन । जसरी चकचके केटाकेटीका लागि सुत्नु अप्रिय कुरा हो, त्यसरी नै राजाका लागि पनि सुत्नु अप्रिय कुरा हो । ऊ ननिदाई धेरै सपना देख्ने कवि हो । म राति मस्त सुतिरहेका वेला ऊ केही न केही सिर्जनशील चकचक गरिरहेको हुन्छ । म मध्यरातपछि प्रायः सुतिहाल्छु । मेरो त कतिसम्म खराब बानी छ भने दिउँसो पनि एक डोज नउँघी फ्रेस हुनै सक्दिनँ । वर्षमा दुई–तीनपटक यस्तो समय पनि आउँछ कि त्यो वेला म लगातार दिनभरि र रातभरि सुतिदिन्छु । तर राजा ? कहिलेकाहीँ ब्युँझिएर बिहान दुई–तीन बजेतिर हेर्दा पनि राजाले फेसबुकमा कविता पोस्ट गरिरहेको देख्छु । फेरि बिहान ६ बजे उठेर हेर्छु, केही मिनेटअघि उसले पोस्ट गरेका कविताहरू फेसबुकमा झुल्किन्छन् । के राजा दिनमा पनि रातमा पनि सक्रिय हुने लाटोकोसेरो हो ?

मलाई अनायास मार्खेजको याद आउँछ (राजालाई मार्खेजसँग तुलना गरेको होइन ।) जीवनका अन्तिम क्षणतिरको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई एकेक सेकेन्डको माया लाग्छ । खेर गइरहेका ती क्षणले मलाई चिन्तित बनाउँछन् ।’ मलाई दुःख लाग्छ, समयप्रति सचेत ती महान् लेखकलाई बिखालु अल्जाइमरले डसिदियो । 
पछिल्लो समय कविता पर्फर्मिङमा ज्यादा ध्यान दिने केही कवि देख्छु ।

कताकता राजा पनि यतैकतै उभिएको देखेर सोचमग्न हुन्छु । कविता वाचनमा मात्रै नभएर भिडियो मेकिङमा पनि व्यस्त रहन्छ ऊ । उसको कविताको तलतल लागेर चितवनमा आयोजना गरेको एकल कविता वाचनमा म छुटेँ । त्यही बिहान गाउँबाट अचानक आमा बिरामी भएको खबर पाएपछि म हुर्रिंदै पोखरा लागेको थिएँ । केही महिनाअघि सांग्रिला पब्लिकेसनले शिल्पीमा गरेको एकल कविता वाचनमा भने राजालाई सुन्न पाएर आनन्दित भएँ । त्यो मेरा लागि गजब अवसर र क्षतिपूर्ति थियो । गहिरोसँग महसुस गरेँ, कविताजस्तै उसको वाचनकला पनि जीवन्त छ । त्यहाँ राजाको भिडियो कविता ‘साइकल’को पनि प्रदर्शनी गरियो ।

मैले नाना पाटेकर सम्झिएँ, जसले फिल्म ‘वजुद’मा जावेद अख्तरको कविता पर्फम गरेका छन् । यस्ता पर्फर्मेन्सले कवितालाई क्लासबाट माससम्म पु-याउन ठूलो योगदान दिन्छन् । राजा खुलेरै भन्छ, ‘कविता पफर्मिङ आर्ट हो ।’ तर, कविता त मूल रूपमा टेक्स्ट नै हो । नत्र मैले भूपि, रिमाल, ब्रेख्थ, नेरुदा, सर्वेश्वरदयाल सक्सेनाहरूलाई कसरी चिन्नु ? नत्र मैले देवकोटा, धुमिल, अक्टोभियो पाज कसरी मन पराउनु ? कताकति अचेल मलाई राजा बढ्ता नै पर्फर्मिङमा केन्द्रित हुने हो कि भन्ने डर लागिरहन्छ । 

म त मीत भैगएँ, राजाको सबैभन्दा निकटको कवि–साथी सायद मनोज बोगटी नै हो । सबैभन्दा निकट भएकाले राजालाई सबैभन्दा बढी मनोजले नै चिन्छ । भेटघाटमा राजाका दर्जनौँ खुबीबारे मनोज खरर्र बोल्न सक्छ । ‘राजा को हो ?’ म सोध्छु । मनोजले तुरुन्त जवाफ दिन्छ, ‘राजा कोही वेला कवितालाई विचार कम र बाक्लो कलाको आँखाले पनि हेर्दिन्छ, कोही वेला बाक्लो विचार र पातलो कलाको आँखाले पनि ।’ मलाई मनोजको कुराले छुन्छ ।

फेसबुकमा छ्यापछ्याप्ती पाइने राजाका कवितामा म पनि पोयटिक फ्लकचुएसन भेट्छु । कतिपय कविता पावरफुल लाग्छन्, कतिपय सपाट । बडी लाइनको स्मार्ट कविले कहिलेकाहीँ किन कविता पर्खिने धैर्य गर्दैन ? मनमा यस्तो सोच आइदिन्छ । कविताको पर्खाइ निष्क्रिय हुनुहुन्न, तर पर्फेक्सनको खोजी गर्ने कविले कविताको भ्रूण परिपक्व नहुने समयसम्म कविता पर्खिएकै राम्रो । आमिर खानले फिल्म पर्खेजस्तो । नत्र कविताका कतिपय भ्रूण खेर जाने डर हुन्छ ।  टिङलिङ टिङलिङ !  हैन त बडी लाइनको स्मार्ट कवि ? 

Follow @bhupeen