सिम्मा,
वासिमसँगै खै के दियौ,
उसै दिनदेखि मदहोस म
दुनियाँको सबैभन्दा सुन्दर
लाग्छ—
तिम्रो चिम्सा आँखाभित्र हराई जाऊँ !
फाँडेर दुःखसुखका खोरिया
रोपेर फूल फुलाइदिङ
फक्रिएर रंगियोस् हाम्रो जीवनको बगैँचा
खिलेर तिम्रो केशका पोयाहरूमा सजाइदिऊँ बुकीफूल
जीवनलाई छोक्रा बनाऊँ तिम्रो मायालु छपनीमा छानेर
उठाएर सर्लक्कै एक डबका वासिम
राखेर मोहोर पिइदिऊँ सुनौलो एक जुग
र तिम्रै हातको साहारामा
हिडौँ जीवनको गन्तव्यसम्म !
त्यो
साकेलाथानको कसम
ए पवित्र धर्ती,
लत्याएर चित नखावोस् डबकाले
ए आकाश,
नछेकिदियोस् है बादलहरूले
चलिरहोस् सृष्टि !
सिम्मा,
तिम्रो कलात्मक हात
आप्पा र आमालाई मागेर
मानेनन् भने जाउँ हिँड भागेर
चिन्ता नगर्न खबर छोड्नू दाजैलाई
तारेवासा बुन्छरम उमसेला ।
भेटाइदिनु छ वाप्पाम सहाराले लिम्चिङ र कवै
जहाँ
एउटै मातृत्व प्रेम–मिलनको हर्षले
बगेर पानी मिसियोस् खुवालुङमा !
साकेला नाच्दैनाच्दै सोचिरहेको
म एक निछा
सोइ ढोले सोइ
अर्को ढोले खोइ ?
सिम्मा : कान्छी
वासिम : जाँड ।
साकेलाथान : साकेला पुज्ने ठाउँ ।
तारेवासा बुन्छरम उमसेला : साकेला सकिएको भोलिपल्ट लमी पठाउँला ।
वाप्पाम : भाले । कथापात्र ।
लिम्चिङ : लेकमा फुल्ने फूल । दिदीको प्रतीक ।
कवै : बेँसीमा फुल्ने फूल । बहिनीको प्रतीक ।
खुवालुङ : त्रिवेणी ।
निछा : प्यारो भाइ ।