• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सागर चन्द
२०७७ पौष ११ शनिबार ०९:३५:००
अनुवाद

वामपन्थीको रगतमै अन्ध–पुरुषवाद छ !

२०७७ पौष ११ शनिबार ०९:३५:००
सागर चन्द

सिमोन दि बोवुआर विश्वप्रसिद्ध नारीवादी लेखक हुन् । उनको पुस्तक ‘द सेकेन्ड सेक्स’ संसारभरि निकै रुचाइन्छ । जर्मन पत्रकार एलिस स्वेर्जरले बोवुआरसँग सन् १९७२ देखि १९८२ को अवधिसम्म विभिन्न समयमा कुराकानी गरेर पुस्तक (सिमोन द बोवुआर टुडे : कन्भर्सेसन, १९७२–१९८२) प्रकाशित गरेकी थिइन् । पत्रकार सागर चन्दले नेपालीमा अनुवाद गरेको सोही पुस्तकको केही अंश । शिर्षक परिवर्तन गरिएको छ  ः


नारीवादलाई निकै गलत तरिकाले बुझियो र परिभाषित गरियो भनिन्छ । तपाईंका लागि नारीवादको परिभाषा के हो ?

‘द सेकेन्ड सेक्स’ किताबको अन्तिममा मैले ‘म नारीवादी होइन’ भनेकी छु । त्यो किताब लेखुन्जेलसम्म समाजवादको स्थापनासँगै महिलाका समस्या पनि स्वतः समाधान हुन्छन् भन्ने विश्वास थियो मलाई । मेरा लागि नारीवादी हुनुको अर्थ केही खास महिला मुद्दामा वर्गसंघर्षभन्दा पर रहेर स्वतन्त्र तवरमा संघर्ष गर्नु हो । म आज पनि यही विचारमा कायम छु । मेरो परिभाषाअनुसार महिला र पुरुष दुवै नारीवादी छन्, जसले पितृसत्तात्मक व्यवस्थामा महिलाको अवस्था परिवर्तनका लागि संघर्ष गर्छ, आवाज उठाउँछ, ती सबै नारीवादी हुन् । महिला संघर्ष जति धेरै वर्गसंघर्षसँग जोडिएको छ, त्यति नै मात्रामा यसको स्वतन्त्र अस्तित्व पनि छ । यद्यपि पूरै समाजको मुक्ति नभई महिलाको मात्र पूर्ण मुक्ति सम्भव छैन भन्ने तथ्य पनि हामीले भुल्नुहुँदैन ।


फ्रान्समा पनि वामपन्थी र क्रान्तिकारी समूहभित्रै घोर लैंगिक असमानता विद्यमान छ । पर्दा अगाडि समानता र समताजस्तो देखिए पनि पर्दा पछाडि भने महिलाहरू सबैभन्दा तल्लो स्तरमा छन् । पुरुषहरू भने वक्ता हुन्छन् । कथित तरिकाका गम्भीर लेख लेख्छन् । सबैभन्दा राम्रा र रुचिकर काम गर्छन् । तर, महिलाहरू भयंकर थकान दिने र नीरस काम गर्न बाध्य छन् ।

 

पुरुषले प्रत्यारोपित गरेको यौनिकताको आनन्द उठाएर महिलाहरू आफ्नो दासत्वको बाटो आफैँ रोज्छन् । यौनिकताको यो आनन्दले महिलालाई पुरुषको साथमा बाँधेर राख्ने अतिरिक्त साङ्लोको काम गरेको छ ।


अतः यी तमाम माक्र्सवादी प्रतिष्ठान (सैद्धान्तिक रूपमा जसको उद्देश्य महिलासहित प्रत्येक मानवको मुक्ति हो) भित्र आज पनि महिलाको अवस्था पुरुषमातहत नै रहेको छ । सत्य यतिमा मात्र सीमित छैन, वामपन्थी समूहभित्रका केही मानिसलाई छाडेर अन्य सबै पुरुष महिला मुक्तिको विचारप्रति सहमत छैनन् । महिला मुक्तिको विचारप्रति अधिकांश पुरुषको रबैया विरोधी, आक्रामक र शत्रुतापूर्ण छ । पहिलोपटक फ्रान्समा नारीवादी सभा हुँदा केही वामपन्थीले आफ्नो कोठामा चिच्याउँदै ‘सत्ता लिंगमा राखिएको छ,’ भनेका थिए । 


त्यसैले आज पुरुषविरुद्ध संघर्ष पनि त्यति नै जरुरी छ, जति शोषणको यो पूरै व्यवस्थाविरुद्ध । तर, हामीले के भुल्नुहुँदैन भने कुनै एक पुरुषले यो व्यवस्था निर्माण गरेको होइन । यद्यपि पुरुष यो व्यवस्थाबाट लाभान्वित छन् र शोषण तथा दलनको यो प्रक्रियामा सहभागीसमेत छन् । पुरुषको भूमिका एक अपराधीको जस्तो छ ।
जो पुरुष आजको समाजमा उपस्थित छन्, ती पितृसत्तात्मक समाजका सर्जक त होइनन्, तर पनि ती पुरुष पितृसत्ताबाट प्राप्त भएका विशेषाधिकारको लाभ भने उठाइरहेका छन् । यो उत्पीडक व्यवस्थाका विरोधी पुरुषहरूसमेत पितृसत्ताबाट प्राप्त विशेषाधिकारको उपभोग गरिरहेका छन् । लाभ लिइरहेका छन् ।


हामीले व्यवस्था परिवर्तनका लागि त लड्नु नै छ । व्यवस्थासँगै हाम्रो संघर्ष पुरुषसँग पनि छ । तर, यो संघर्ष शत्रुतापूर्ण, घृणा र विद्वेषका साथ नभई पुरुषहरूमाथि सन्देह गरेर निकै सचेत भएर संघर्ष गर्नुपर्छ । पुरुषहरूले हाम्रो गतिविधि, लडाइँका सम्भावना र हाम्रा शक्तिमाथि हस्तक्षेप गर्न नसकून् भनेर यस्तो गर्नुपर्ने आवश्यकता छ । कम्तीमा हाम्रा सम्भावना र शक्तिमाथि अतिक्रमण गर्न नसकून् । महिलाले व्यवस्था र पुरुष दुवैमाथि आघात गर्नुपर्नेछ । दुवै व्यवस्था परिवर्तन गर्नुपर्नेछ । व्यवस्था र पितृसत्ता दुवैका विरुद्ध लड्नुपर्छ ।


यदि कोही पुरुष नारीवादी छ भने पनि ऊसँग एक सीमासम्म दूरी बनाएर पितृसत्ताबाट सावधान रहनुपर्छ । महिलाहरू कसैले दानमा दिएको, उपहारमा दिएको स्वतन्त्रता चाहँदैनन् । हामी लडेर स्वतन्त्रता लिन सक्षम छौँ । हामी लडेर, संघर्ष गरेर स्वतन्त्रता लिन चाहन्छौँ । हामी पितृसत्तामाथि जित हासिल गर्न चाहन्छौँ । स्वतन्त्रता प्रदान गरिनु र आफैँले लिनु, हासिल गर्नुबीच धेरै फरक छ ।

 

समाजवादी देशमा पनि महिलाको अवस्थामा किन परिवर्तन भएन ?


मेरो विचारमा आज अस्तित्वमा रहेका समाजवादी देश यथार्थमा समाजवादी होइनन् । अर्थात् माक्र्सवादको पैरवी गर्नेहरू समाजवादको त्यो सीमासम्म पुग्न सकेनन्, जहाँ सम्पूर्ण पुरुषवर्गको चेतनाको रूपान्तरण सम्भव होस् । मार्क्सको सपना पनि यही थियो । मार्क्सवादी  सिद्धान्तकारले पुँजीको निजी स्वामित्व, त्यसको समाप्ति र उत्पादन सम्बन्धमा मात्र परिवर्तनको काम गरे । तर, समयक्रमसँगै उत्पादन सम्बन्धमा मात्र परिवर्तन ल्याएर मानिस र समाजको आन्तरिक रूपान्तरणको लक्ष्य हासिल गर्न सकिँदैन भन्ने तथ्य स्पष्ट भएको छ ।

 

फरक–फरक आर्थिक व्यवस्थामा सदियौँदेखि चलेका मूल्य, मान्यता, संस्कार, महिला र पुरुषको भूमिकामा देखिएको पारम्परिक विभाजन जस्ताको त्यस्तै कायम रहन्छ । यो वास्तविकतासँग सम्बन्धित कटु सत्य के पनि हो भने ‘पुरुष प्रभुत्व भएको समाजमा पुरुषभित्र आफ्नो श्रेष्ठता र उच्चताको बोध आकण्ठ भरिएको छ । पुरुषहरू आफूले पाएको विशेषाधिकार सहजै परित्याग गर्न तयार छैनन् । 


पुरुषको वर्चस्व कायम राख्न महिलाहरूलाई पुरुषको तुलनामा कमजोर र हीन बनाउनु जरुरी हुन्छ । लामो समयदेखि चलेको यस्तो परम्पराले गर्दा महिलामा पनि आफूलाई पुरुषभन्दा कमजोर र हीन छु भन्ने आभास गहिरोसँग भइसकेको छ । महिलालाई आफू पुरुषभन्दा तल्लो दर्जाको ठान्ने बानी परिसकेको छ । यो सांस्कारिक जडता निकै गहिरो छ । त्यसैकारण निकै कम महिला मात्र लैंगिक असमानताको विरोधमा बोल्न सक्छन् । यस्तो विषय थाहा पाएका महिलाहरू पनि समाजमा एक्लिने डरले बोल्न डराउँछन् ।

 

फ्रान्समा सन् १९६८ मा भएको वर्गसंघर्षको लडाइँमा तपाईं निकै सक्रिय हुनुभयो । तपाईंले एक वामपन्थी पत्रिकाको दायित्व पनि सम्हाल्नुभयो । यो लडाइँका क्रममा तपाईं सडकमा पनि उत्रिनुभयो । तपाईंको विचारमा वर्गसंघर्ष र दुई लिंगबीचको संघर्षमा के अन्तर छ ?


वर्गसंघर्षको माध्यमबाट मात्र महिला मुक्तिको महान् लक्ष्य हासिल गर्न सकिँदैन भन्ने कुरा म पूर्ण विश्वासका साथ भन्न सक्छु । ‘द सेकेन्ड सेक्स’ प्रकाशित भइसकेपछि वर्गसंघर्षबाट मात्र महिला मुक्ति सम्भव छैन भन्ने मेरो धारणा झन् बलियो बन्यो । साम्यवाद, माओवाद या ट्राटस्कीवाद जुनसुकै खेमामा पनि महिलाहरू अधीनस्थ अवस्थामा छन् । सबैभन्दा तल्लो तहमा छन् । यस विषयको निष्कर्षस्वरूप म आज भन्न सक्छु– महिलाले सच्चा नारीवादी हुनुपर्छ । आफ्नो संघर्षलाई आफैँले हाँक्नुपर्छ । महिलाहरूले संघर्षको कमान्ड आफ्नै हातमा लिनुपर्छ । वर्गसंघर्ष र महिला संघर्षलाई एकै बिन्दुमा ल्याउन श्रमिक र महिला शोषणबीच सम्बन्ध स्थापित गरेर संघर्ष गर्नुपर्ने वेला आएको छ । 


कुन सीमासम्म पुँजीवादको विनाश गरेपछि महिला मुक्तिका लागि उपयुक्त वातावरण तयार हुन्छ भन्ने प्रश्न पनि विचारणीय छ । यस विषयमा अहिले नै मलाई केही थाहा छैन । तर, पुँजीवादको अन्त्य महिला मुक्तिको पक्षमा छ भन्नेमा भने म स्पष्ट छु । यो लक्ष्यसम्म पुग्नका लागि हामीले लामो यात्रा तय गर्नुपर्छ । पुँजीवाद समाप्तिको अर्थ पितृसत्तात्मक परम्परा र आचार संहिता पनि समाप्त हुनु होइन । पुँजीवाद समाप्त भए पनि परिवार संस्था भने अक्षुण्ण रहन्छ । पुँजीवादको ध्वंस र उत्पादन सम्बन्धमा परिवर्तनका साथसाथै परिवार नामक संस्थाको उन्मूलन पनि उत्तिकै जरुरी छ ।परिवार संस्थाको अन्त्यका लागि प्रयासरत पुरुष र महिलाको पक्षमा छु म । परिवार संरचनाको नष्ट भएर त्यसको सट्टा कम्युन व्यवस्था लागू हुनुपर्छ वा कम्युनजस्तै अर्को कुनै संरचनाको विकास पनि गर्न सकिन्छ ।

 

कतिपय वामपन्थी पुरुषहरू वामपन्थमै समाहित भएका नारीवादीलाई पनि ‘प्रतिक्रियावादी’को आरोप लगाउने गर्छन् । यस्ता वामपन्थी पुरुषको मतमा लैंगिक विभाजन र त्यसका लागि गरिने संघर्षको कुनै महत्व नै छैन । वामपन्थी पुरुषको यो दृष्टिकोण नारीवादीका लागि गौण मुद्दा भएको छ, तर यसले नारीवादको मुख्य संघर्ष र श्रमिक वर्गको संघर्षलाई कमजोर बनाउँछ जस्तो लाग्दैन ?


त्यही घटिया कुरा ! तिनीहरू (वामपन्थी पुरुष) लाई जति प्रयास गरे पनि सम्झाउन सकिँदैन । अन्धपुरुषवादी नै वामपन्थका पहरेदार छन् । अन्धपुरुषवाद उनीहरूको रगतमै छ । वामपन्थी पुरुषहरूमा देखिएको यस्तो चरित्र पुरुषको धमिलो, अस्पष्ट र रहस्यवादी अवधारणाकै एक रूप हो । महिला–पुरुषबीच बराबरीको संघर्ष यौनसंघर्ष र अन्य संघर्षजस्तै आधारभूत तथा प्राथमिक हो । आखिर यो लडाइँ शेष आधा हिस्साविरुद्ध हो । मलाई महिलाहरूको संघर्ष वर्गसंघर्षजत्तिकै महत्वपूर्ण लाग्छ । अबका महिलावादी आन्दोलन र वर्गसंघर्ष गर्नेहरूले यी दुवै (वर्गसंघर्ष र यौन÷महिला संघर्ष) सँग जोड्ने सूत्रको खोजी गर्नुपर्छ । वर्तमान समयमा त हरहालतमा वर्गसंघर्षलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर, विभिन्न स्तरमा ठूलो संख्यामा वर्गसंघर्षमाथि प्रश्नको वर्षा पनि भइरहेको छ ।

 

महिलालाई आफू पुरुषभन्दा तल्लो दर्जाको ठान्ने बानी परिसकेको छ । यो सांस्कारिक जडता निकै गहिरो छ । त्यसैकारण निकै कम महिला मात्र लैंगिक असमानताको विरोधमा बोल्न सक्छन् ।

 
विभिन्न वर्ग र क्षेत्रमा महिलाहरूको उत्पीडन अलग–अलग ढंगले हुन्छ भन्ने कुरामा कुनै शंका गर्नुपर्दैन । विभिन्न क्षेत्रमा महिलाहरू अलग–अलग तरिकाले उत्पीडनको सिकार भइरहेका छन् । कतिपय महिलाहरू त वर्गीय र लैंगिक दुवै तरिकाले उत्पीडन खेपिरहेका छन् । जस्तो– मजदुरकी श्रीमती श्रमिक महिला, उसले मजदुर र महिला दुवैको उत्पीडन तथा विभेद सहनुपरेको छ ।


माथिल्लो वर्गको महिलाले वर्गविभेद सहनु नपरे पनि उसले आमा र पत्नीका रूपमा उत्पीडन खेप्नु परिरहेको छ । मध्यमवर्गीय महिला पनि श्रीमान्ले त्यागेपछि सर्वहारा बन्छन् । महिलासँग रोजगारी हुँदैन । योग्यता हुँदैन । पैसा हुँदैन । खासमा महिलासँग केही हुँदैन । यो सत्यलाई विनासर्त स्वीकार गरियो भने थाहा हुन्छ, यो दुनियाँ त पुरुषहरूको मात्र हो । पुरुष नै यो दुनियाँको हर्ताकर्ता हो । र, यहाँ हुने सबै गतिविधि, संघर्ष पुरुष–पुरुषबीच मात्र हुन्छन् । पुरुषका गतिविधिमा महिलाको कुनै भूमिका छैन । कहिलेकाहीँ महिलाहरू पुरुषका गतिविधिमा यसो हात मात्र लगाउन पाउँछन् । महिला र पुरुषबीचको यो सम्बन्ध काला र गोराबीचको सम्बन्ध जस्तै छ ।


महिला आन्दोलन र राजनीतिक दलमा पनि आबद्ध भएका केही महिलाहरू घरेलु श्रमका लागि तलबको माग गरिरहेका छन् त ?


म यसको विपक्षमा छु । यस्ता मागको म विरोध गर्छु । अर्को कुनै काम नभएका, आम्दानीको स्रोत नभएका केही महिलाहरू तलब पाएर छोटो समय त खुसी होलान् । यो खुसी स्वाभाविक पनि हो । तर, लामो समयपछि घरेलु कामका लागि ज्याला दिने अभ्यासले घरेलु पत्नी हुनु पनि एक प्रकारको काम (रोजगार) नै हो भन्ने विचार स्थापित गर्नेछ । र, धेरै महिलाले जीवन जिउने सजिलो तरिकाका रूपमा यसलाई अपनाउनेछन् ।


तर, कुनै महिला मानव हुनुको महत्वलाई वास्तवमै चरितार्थ गर्न चाहन्छिन् भने उनले घरेलु सीमाभित्र खुम्चिएर रहेको महिलाको निर्वासित जीवन, महिला–पुरुषबीचको व्यक्तिगत र सार्वजनिक क्षेत्रमा हुने अन्यायपूर्ण श्रम विभाजन अस्वीकार गर्नुपर्छ । यसैकारण म घरेलु कामका लागि तलब दिने मागको विरोधमा छु । असली मुद्दा त घरेलु श्रमको परिस्थितिमा परिवर्तन गर्नु हो । ज्याला दिइयो भने घरेलु श्रमको महत्व त बढ्छ । तर, त्यो श्रमसँग जोडिएका महिलाको अलगाव र एकांगीपनको परिस्थिति भने जस्ताको त्यस्तै रहन्छ । ज्याला दिएर फेरि घरभित्रै बन्दी बनाइएमा महिलाहरू जीवन र ज्ञानका तमाम स्रोतको पहुँचबाट टाढा रहेर घरेलु श्रमको चौघेरामा पुनः कैद हुन बाध्य पारिनेछन् । हामीले यही चौघेराको विरोध गर्ने हो ।

अबको आवश्यकता भनेको पुरुषको निर्माण नै पनि घरेलु श्रममा महिलालाई सहयोग हुने गरी गरिनुपर्छ भन्ने हो । केही यस्ता समुदाय र संगठन निर्माण गरिनुपर्छ, जहाँ सबै मिलेर काम गरून् । आदिमकालीन समाजमा यस्तो अभ्यास थियो किनभने त्यहाँ एकल परिवार प्रथा थिएन । परिवार संस्था थिएन । त्यसैले म सधैँ भन्ने गर्छु, परिवार संस्था ध्वस्त पारिनुपर्छ ।

 

मातृत्वसम्बन्धी तपाईंका विचारको पुरुष मात्र होइन, महिलाले पनि आलोचना गर्छन् । महिला–पुरुष दुवै तपाईंमाथि मातृत्वविरोधी भएको आरोप लगाउने गर्छन् । तपाईं  मातृत्वविरोधी हो ?


ओहो ! पटक्कै होइन । म मातृत्वको विरोध गर्दिनँ । मैले त आजको समयमा मातृत्व महिलाका लागि भयानक बन्धन हो मात्र भनेकी हुँ । मैले महिलाहरूलाई बच्चा नजन्माउनोस् भनेर आग्रह गर्नुका पछाडि अनेक कारण छन् । तर, म बच्चा नजन्माउनुलाई महिलाको मूल्य वा आदर्शका रूपमा स्थापित गर्नाेस् भनिरहेकी छैन ।
म आमाको विरोधमा छैन ।

म हरेक महिलासँग आमा बन्न अपेक्षा गर्ने विचार र आचारसंहिताको विरोधमा छु । हरेक महिलाले आमा बन्नुपर्छ भनेर अपेक्षा गर्ने यो सामाजिक व्यवस्थाको विरोधमा छु म । मातृत्वलाई महिला जीवनको महान् अनिवार्यताका रूपमा महिमा मण्डन गरिने विचारको विरोधमा छु म । महिलाले बच्चा जन्माउन बाध्य हुनुपर्ने परिस्थितिको विरोधमा छु म ।


यसबाहेक आमा र बच्चाको सम्बन्धलाई पनि गूढ र रहस्यमयी बनाउने कोसिस भएको छ । सामान्यतः निकै एकांगी जीवन व्यतीत गरिरहेका मानिस नै परिवार र बच्चालाई महत्व दिन्छन् । उनीहरूको कोही साथी हुँदैन । उनीहरूको जीवनमा प्रेम र आत्मीयताको अभाव हुन्छ । उनीहरू नितान्त एक्ला हुन्छन् । त्यसकारण जीवनमा केही होस् भनेर उनीहरू बच्चा चाहन्छन् ।


यसरी बच्चा चाहनु भनेको त बच्चाहरूकै लागि खतरनाक हो । आमाबुबाको जीवनमा व्याप्त खालीपन बच्चामार्फत भर्ने प्रयास गर्दा बच्चा र अभिभावकबीच एक स्थायी खाडल बन्छ । बच्चा ठूलो भएपछि त ऊ हरहालतमा घर छाडेर जान्छ । बच्चा अभिभावकको एक्लोपनाको मुक्तिको ग्यारेन्टी होइन । मेरो विचारमा त यो महिलामाथि प्रत्यारोपित यौनिकता महिलाका लागि भीषण जेल हो ।

 

महिलालाई यसले बन्दी बनाएको छ । यौनिकताको यो दबाबमा परेर कति महिला त भावशून्य भइजान्छन् । महिलामाथि यो यौनिकता बाहिरबाट लादिएको हो । अहिले लादिएको यो यौनिकता प्राकृतिक र सहज होइन । यही यौनिकताको बोझले थिचिएर धेरै महिला संवेदनाहीन र भावशून्य भएका छन् । क्लान्त भएका छन् ।यो त्यति भयानक अवस्था भने होइन । यो पितृसत्तामा यसभन्दा पनि भयानक अवस्था सम्भव छ । महिलाहरूले पुरुष र यो समाज व्यवस्थाद्वारा महिलामाथि प्रत्यारोपित यौनिकताको आनन्द लिन थाल्नु झन् भयानक हो ।


प्रत्यारोपित यौनिकतामा आफूलाई खुसी र आनन्दित महसुस गर्न थाल्नु डरलाग्दो हो । पुरुषले प्रत्यारोपित गरेको यौनिकताको आनन्द उठाएर महिलाहरू आफ्नो दासत्वको बाटो आफैँ रोज्छन् । यौनिकताको यो आनन्दले महिलालाई पुरुषको साथमा बाँधेर राख्ने अतिरिक्त साङ्लोको काम गरेको छ ।


पुरुषहरू हामीसँग भन्छन्, ‘सुशील र सभ्य महिला बन्ने बाटोमा हिँड । भारी र कठिन चिज, शक्ति, प्रतिष्ठा र भविष्य हाम्रा (पुरुष) लागि छाडिदेऊ.... तिमी जस्तो छौ, त्यसैमा खुसी होऊ, पृथ्वीको लयमा निमग्न होऊ । आफ्ना मानवीय सरोकारमा तल्लीन... ।’ यो निकै खतरनाक हो । यस्तो विचारले महिलालाई फेरि कमजोर बनाउँछ । शक्तिहीन बनाउने प्रपञ्च हो यो ।


महिलाहरूले आफ्नो शरीरलाई लिएर लज्जित महसुस नगरून् । गर्भावस्था या रजस्वलाप्रति निकै सहज होऊन् । मेरो बुझाइमा त महिलाहरूलाई आफ्नो शरीरका बारेमा सम्पूर्ण जानकारी हुनुपर्छ । तर, महिलाको शरीरलाई आफैँमा निकै महान् र गरिमामय भने बनाउन दिनुहुँदैन । महिलाको शरीरले यो दुनियाँको नयाँ तस्बिर देखाउँछ भन्ने भ्रममा बस्नु भएन । यस्ता कुराहरू तर्कहीन र हास्यास्पद लाग्छन् । जो महिला यस प्रकारका रहस्यात्मकतामा विश्वास गर्छन्, ती विवेकहीन र अतार्किक लाग्छन् मलाई । उनीहरू पुरुषले नै बनाएको खेल खेलिरहेका हुन्छन् । 

 

महिला आन्दोलन स्वायत्त हुनुपर्ने वकालत गरिन्छ । यसको मतलब समाजमा महिला प्रतिष्ठित र प्रभावकारी पदमा हुनुपर्छ भन्ने हो कि होइन ?


यो विषयमा म अलिक दोधारमा छु । आफूसँग सत्ता र शक्ति छ भने तपाईंले धेरै चिज हासिल गर्न सक्नुहुन्छ । तर, के हाम्रो प्रश्न यति मात्र हो त ? अहिलेको अवस्थामा सत्तासीन महिला पनि पुरुषजस्तै भइदिन्छन् । सत्तासीन महिलाको प्रतीक त बन्छ । तर, यो पुरुषवादी तन्त्रमा सत्तासीन महिला पुरुषका लागि पुरुषले जस्तै तरिकाले काम गर्छन् । 


महिलाहरूको पार्टी हुनासाथ सबै कुरा बदलिन्छ र अचानक सुधार भइहाल्छ भन्ने कुनै सम्भावना छैन । महिलाका नाममा खोलिएका यस्ता पार्टीको प्रतीकात्मक महत्व मात्र हुन्छ । दोस्रो महत्वपूर्ण कुरा के हो भने महिला हुनु मात्र आफैँमा पर्याप्त होइन । महिला राष्ट्रपतिले पनि पुरुष राष्ट्रपतिले जे गर्थे, त्यही गर्ने हुन् । यो व्यवस्थामा सामेल भइसकेपछि त्यसको केन्द्रमा महिला वा पुरुष जो पुगे पनि नयाँ केही गर्दैनन् । उदाहरणका लागि मिसेज थ्याचर (मार्गरेट थ्याचर, बेलायतकी पहिलो महिला प्रधानमन्त्री)लाई लिन सकिन्छ ।


वर्तमान व्यवस्थाको हुबहु कार्बन कपीसहित, पुरुषप्रधान राजनीतिक दलको सट्टा महिलाप्रधान राजनीतिक दल सत्ता र शक्तिमा आए पनि आधारभूत परिवर्तन सम्भव छैन । सत्तारुढ महिला पनि सत्ताको खेलका तिनै प्रचलित दाउपेच, नियम मानेर यो खेलमा सामेल हुनेछन् । सत्ताको खेल परिवर्तन गर्ने नभई सत्ताको खेलमा खेलाडी अझ मोहरा हुनेछन् । सत्ताका सारा नियम शक्ति छ, पैसा हुने व्यक्तिको पक्षमा छन् । हामीले त सत्ताको यो इन्जिनमा इन्धन थप्ने नभई यसलाई भत्काउने काम पो गर्नुपर्छ त !