• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
लालबहादुर बर्मा
२०७७ पौष १८ शनिबार ०८:०२:००
अनुवाद

‘महान् प्रेम’मा नारी मुद्दा

२०७७ पौष १८ शनिबार ०८:०२:००
लालबहादुर बर्मा

तत्कालीन सोभियत रुसमा लेनिन मन्त्रिमण्डलकी एक मात्र महिला सदस्य थिइन्, आलेक्सान्द्रा कोलेन्ताई (१८७२–१९५२) । नारी मुद्दामा अत्यन्त संवेदनशील भएकै कारण बिस्तारै उनी पार्टी नेतृत्वको आँखाको कसिंगर बनिन् । उनको प्रसिद्ध उपन्यास ‘अ ग्रेट लभ’मा व्यक्त नारी मुद्दा आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ । उपन्यासको हिन्दी अनुवाद ‘एक महान् प्रेम’मा भारतीय इतिहासकार लालबहादुर बर्माले लेखेको ‘मृगतृष्णा ? एक महान् प्रेम’ शीर्षक भूमिका साभार अनुवाद यहाँ प्रस्तुत छ :

 

प्रेम प्रकृतिको स्वभाव हो । त्यसमै सिर्जनशक्ति छ । खलिल जिब्रान भन्छन्, ‘हामी आफ्ना मातापिताका सन्तान होइनौँ, हामी जीवनका लागि इच्छाका सन्तान हौँ ।’ परन्तु प्रकृतिमा प्रेम एकायामी छ । यो पुनर्उत्पादन हो । मान्छेको सिर्जनशीलता बृहत्तर र महत्तम छ । उसले प्रेमलाई बहुआयामिक बनाएको छ । प्रेमको अनन्त चरितार्थको आविष्कार गरेको छ ।

 

प्रकृतिसँग प्रेम, ईश्वरप्रति प्रेम, देशप्रेम र महान् रुसी कवि पुस्किनले भनेजस्तै प्रेमसँग पनि प्रेम । मानव प्रेमका अनेक रूप छन् । नारी–पुरुषबीचको प्रेम, शिशुका लागि आमाको प्रेम, परिवेश र छिमेकीसँग प्रेम । नारी–पुरुषबीच प्रेमले धर्म, दर्शन, शास्त्र, कला, साहित्य, विज्ञान, मनोविज्ञान आदिलाई जटिल र समृद्ध अनि जीवनलाई बाँच्नयोग्य बनाएको छ । अनेक भ्रान्ति, विकृति, र रोगहरूलाई मात्र होइन, युद्धलाई पनि निम्त्याएको छ । त्यसमाथि शास्त्र, सिद्धान्त रचिएका छन् । विडम्बना के छ भने, आज पनि यो विषय विवादास्पद छ । क्रान्ति र क्रान्तिकारीहरूले पनि लैंगिक समस्याका समाधान भेटेका छैनन् ।

 

मान्छेले भएको कुरालाई अझ राम्रो बनाउन, भइसकेको कुराबाट सिकेर हुनुपर्ने कुराको सपना देख्न, अनेक युटोपियाको परिकल्पना गर्न, यथासम्भव सूत्रीकरण र सिद्धान्तीकरण गर्न प्राचीनकालमै सुरु गरेको हो । आधुनिककालमा मानवकेन्द्रित समाजमा मानवको सशक्तीकरण र आनन्दको उपाय खोज्ने प्रक्रिया तीव्र भयो । परिवर्तन वाञ्छित एवं तीव्र गराउन क्रान्तिको अवधारणा जन्मियो र लागू गरियो । परिवर्तनको स्वरूप र आयाम कस्तो हुनुपर्छ भन्नेबारे मुद्दा उठाइए । तिनैमध्ये एउटा जरुरी मुद्दा थियो, नारी–पुरुषबीचको सम्बन्ध कस्तो छ, थियो र हुनुपर्छ ?

 

मातृसत्तात्मक समाज कसरी पितृसत्तात्मक बन्यो ? फेरि पितृसत्ता कसरी बहुविध पुरुषको वर्चश्वमा चरितार्थ भयो ? यी कुरा इतिहास र साहित्यमा राम्ररी अभिव्यक्त भएका छन् । यस प्रक्रियामा नारीहरू बढी नै उत्पीडित छन् किनभने, पितृसत्तात्मक समाजमा समस्त पुरुष समुदायको वर्चस्व स्थापित भएको छ । समाजमा उत्पीडित पुरुष पनि घरमा अधिकार जमाएरै बस्छ । सामन्ती समाजमा केही शासक नारीलाई मात्र होइन, शेष पुरुषलाई पनि शोषण गर्थे । पुँजीवादी समाजमा शासक समुदाय विस्तृत भयो । मुक्ति इतिहासको कार्यसूचीमा आयो । क्रान्ति भयो । मुक्तिको विस्तार भयो, तर नारीको मुक्ति भएन । नारीले राजनीतिक अधिकार पाए पनि कस्तो सांस्कृतिक प्रपञ्च रचियो भने तिनले पाएको भन्दा बढी गुमाउनुपर्‍यो ।

 

१९औँँ र २०औैँ शताब्दीमा समाजमा आमूल परिवर्तनका लागि क्रान्तिको सिद्धान्त र व्यवहार विकसित गरियो जसमा नयाँ समाजमा नयाँ मानवको विकास सम्भव भयो । परन्तु, क्रान्तिको तयारी, क्रान्ति हुनु र क्रान्तिपछि नयाँ समाज निर्माणका क्रममा नारी आश्वस्त र सन्तुष्ट हुने गरी लैंगिक राजनीति विकसित भएन । यही सवाल रुसमा आलेक्सान्द्रा कोलेन्ताईले र नेपालमा हालै कमरेड पार्वतीले उठाइन् । किन क्रान्तिकारी र उनका पार्टी पनि नारी–पुरुष सम्बन्धलाई स्वस्थ जनवादी मार्गबाट डोर्‍याउँदैनन् ? जस्तो कि कोलेन्ताईले सवाल उठाएकी थिइन्, ‘नारी–पुरुषबीच भएको सम्बन्ध र एकले अर्कालाई दास बनाउने प्रवृत्तिको अन्त्य किन हुँदैन ?’


कोलेन्ताईको औपन्यासिक ‘अ ग्रेट लभ’ को अर्थवेत्तालाई चिन्हित गर्न स्वयं उनकै बारे पहिले जान्न जरुरी छ । सन् १९१७ को फेब्रुअरी क्रान्तिपछि जर्मनीको मदत लिई गुप्त रेलबाट फिनल्यान्ड पुगी लेनिनलाई स्वागत गर्ने सानो समूहमा कोलेन्ताई पनि थिइन् । उनी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा थिइन् । लेनिनको मन्त्रिमण्डलमा एक मात्र महिला सदस्य । सन् १९२१ मा असन्तुष्ट मजदुरले विरोध गर्दा उनी तिनका पक्षमा उभिइन् । क्रान्तिको मार्गमा बढ्दो कठिनाइसँग सामना गर्न लेनिनले एक हदसम्म सम्झौतापूर्ण ‘नयाँ आर्थिक नीति’ अपनाउँदा कोलेन्ताईले विरोध गरिन् । त्यसैवेलादेखि उनी पार्टी नेतृत्वको आँखाका कसिंगर भइन् । अन्ततः उनलाई राजदूत बनाएर नर्वे पठाइयो । खासमा यो उनको राजनीतिक निर्वासन थियो ।


जन्म सामन्ती परिवारमा भए पनि कोलेन्ताई परिवर्तनकारी विचारतर्फ आकर्षित भइन् । उनले किसान पृष्ठभूमिका, उमेरमा आफूभन्दा कान्छा दिबेंकोसँग बिहे गरिन् । यसमा धेरै सहकर्मीले गलफत्ती गरे । उनी पारम्परिक नारी–पुरुष सम्बन्धबाट असन्तुष्ट थिइन् । यस सम्बन्धमा क्रान्तिकारीको विचार पनि रुढीग्रस्त पाएपछि उनको असन्तुष्टि चुलियो । उनले आफ्नो लैंगिक राजनीति तय गर्नुअघि हेबलांक एलिस र फ्रायड आदिलाई राम्ररी पढेकी थिइन् । अनि यस विषयमा खुलेर लेख्न थालिन् । 

पुँजीवादी समाजमा शासक समुदाय विस्तृत भयो । मुक्ति इतिहासको कार्यसूचीमा आयो । क्रान्ति भयो । मुक्तिको विस्तार भयो तर, नारीको मुक्ति भएन ।


सन् १९०५ को क्रान्ति असफल भएपछि पश्चिम युरोपमा बसेका लेनिन, क्रुप्सकाया र इनेसा अर्मासँग उनको सम्बन्ध निकट हुँदै गयो । इनेसासँग उनको रसायन मिल्थ्यो । नारी समस्यामा इनेसा अत्यन्त चिन्तित र उद्विग्न थिइन् । पछि दुवैजना अत्यन्त घनिष्ठ भए । दुवैको प्रयासकै परिणामस्वरूप लेनिन अलग्गै महिला विभाग बनाउन तयार भए । यी दुईले नारीहरूको राष्ट्रिय सम्मेलन गरे जसमा आशातीत सफलता प्राप्त भयो । अनि उनीहरूले अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी थाले ।

इनेसाकी आमा अंग्रेज र पिता फ्रान्सेली थिए । दुवै रंगकर्मी थिए । नाटककै लागि रुसवासी हुन पुगे । इनेसाको विवाह सम्पन्न परिवारमा भयो । पति आलेक्सान्द्रबाट उनका पाँचजना बच्चा जन्मिए । पछि देवरसँग उनको प्रेम भयो । बच्चाहरू लिएर उनी देवरकै घरमा बस्न थालिन् । तैपनि उनका पतिले आर्थिक मद्दत जारी राखे । बिस्तारै उनी राजनीतिमा सक्रिय भइन् । निर्वासनका क्रममा लेनिनको सम्पर्कमा आइन् र छिमेकी बनेर बसिन् ।

 

प्रहरी र अरू व्यक्ति उनलाई लेनिनकी पत्नी ठान्थे । उनी लेनिनको अत्यन्त निकट भएको क्रुप्सकायालाई पनि थाहा थियो । क्रुप्सकाया स्वयं इनेसालाई खुबै मन पराउँथिन् । यसको प्रमाण के छ भने, उनले इनेसा र लेनिनलाई एक हप्ता सँगै ‘बस्न’ दिएकी थिइन् । इनेसाको जीवनी लेखक जँ फेब्रिलसँग लेनिन र इनेसाको सम्बन्धबारे सोध्दा उनले गोलमाल जवाफ दिएका थिए ।

 

जस्तो कि इनेसामा बुद्धिमत्ता र असाधारण सौन्दर्य, ऊर्जा र नारीसुलभ गुण, व्यवहार–बुद्धि र क्रान्तिकारी आवेगको अद्भुत समन्वय थियो । यस्ती नारीको सम्मोहनबाट को अछुत रहन सक्दो हो ? यस्तैमा, लेनिन र इनेसाबीच भेटघाट कम हुँदै गयो । तर, इनेसा बिरामी पर्दा उनलाई क्रिमिया पठाउने प्रबन्ध लेनिनले नै गरेका थिए । गृहयुद्धका क्रममा उनको मृत्यु भयो । लेनिन अन्तिम संस्कारको अन्तिम घडीमा अघोषित रूपमा त्यहाँ पुगे । कोलेन्ताईका अनुसार आफ्नो असीम दुःख सार्वजनिक नगर्न उनले अनुहार छोपेका थिए ।


‘महान् प्रेम’मा यी दुईको सम्बन्धको झलक भेटिन्छ । सेमियोन सेमियोनोबीच क्रान्तिकारी पार्टीको नेता हो । उसको पारिवारिक जीवन सुखी छैन । एउटा भोजमा उसको भेट नतासासँग हुन्छ जो ऊसँग नभेट्दै उसकी प्रशंसक भइसकेकी हुन्छे । यी दुईबीच मित्रता गाढा हुँदै जान्छ । नतासा सेमियोनको घर पनि जान्छे । सेमियोनकी पत्नी सेन्युता पनि उसलाई मन पराउँछे । यी दुईबीचको निकटतासँग ईष्र्या पनि गर्छे । यी दुईजना मौन प्रेममा अगाडि बढ्दै जान्छन् । लुकीलुकी अलग्गै भेट्न थाल्छन् र प्रगाढ प्रेममा बाँधिन्छन् ।


नतासालाई लाग्छ, सेमियोन अर्थात् उसको प्रिय सेन्या उसलाई प्रेम गर्दैन । मात्र कामावेगमा सवार हुन्छ र नतासाको कोमल भावनाको समुचित जवाफ नदिई हमेसा आफ्नो विचार र कामवासनामा लिप्त रहन्छ । उसलाई लाग्छ, सेन्या उसलाई अन्युतालाई जति पनि भाउ दिँदैन जब कि ऊ अन्युतालाई प्रेम नै गर्दैन । सेन्या पत्नी र बच्चाप्रति कर्तव्यबोध, नतासासँगको मित्रता र प्रेम अनि राजनीतिक व्यस्तताको झुलामा झुलिरहन्छ । बीचमा आर्थिक संकट तथा शारीरिक अस्वस्थताले पनि ग्रस्त भइरहन्छ । यस्तोमा नतासालाई आफ्नो समस्यासँगै सेन्याको समस्यासँग पनि लड्नुपर्ने हुन्छ । ऊ अत्यन्त संवेदनशील र प्रेमातुर छे ।

 

सेन्यालाई असीम प्रेम र सम्मान दिएर पनि जवाफमा सेन्याको व्यवहारमा कोमलता र अपेक्षित संवेदनशीलता नपाउँदा उद्विग्न हुन्छे । कथाको अधिकांश नतासाको अन्तरमन्थनमा केन्द्रित छ । त्यसको चित्रणमा लेखकले असाधारण सिर्जनशीलता र समानुभूति (एम्पेथी) देखाएकी छिन् । दुवै प्रेमीको अपेक्षा र व्यक्तित्व भिन्न छन् परन्तु दुवै एक–अर्काप्रति भावनात्मक रूपले निर्भर छन् । तैपनि सेन्याको व्यवहारबाट नतासा बारम्बार अपमानित हुन्छे । यसभन्दा बढी ऊ सहन सक्दिन । अन्ततः उनीहरू छुट्टिने निर्णयमा पुग्छन् ।


सेन्या र नतासा दुवै क्रान्तिकारी भए पनि, राजनीतिक काममा समर्पित भए पनि दुवैजना मान्छे हुन्, नारी–पुरुष हुन् । दुवैमा कर्तव्यबोध र प्रेमावेग पनि छ । दुवैजना चेतनशील र विवेकशील छन् । दुवैको व्यक्तित्व मौलिक र प्रखर छ । यस्तोमा दुवैको प्रेम जति वास्तविक छ, त्यत्तिकै द्वन्द्वात्मक पनि । निश्चय पनि लेखक नतासाको साथमा छिन् । तर, उनी सेन्याको व्यक्तित्वको रसायनसँग पनि सचेत भएर न्याय गर्छिन् । उपन्यासिकाको अन्त्यले कोलेन्ताईको दृष्टिकोणलाई स्पष्ट पार्छ, ‘पुरुष महोदय ! तिमीले आफ्नो अन्धोपनका कारण नारीलाई खुब सतायौ । अब बुझ्नू, नारीको हृदयमा आघात गर्‍यौ भने उसको प्रेमलाई तिमी सदाका लागि हत्या गर्नेछौ ।’


यो सत्य कथा होइन । यसलाई कुरुसावाको फिल्म ‘रसोमन’ले कति राम्ररी चित्रण गरिदिएको छ ! अरूको त कुरा छाडौँ, अतीतको यथार्थ प्रस्तुत गर्ने इतिहासमा समेत इतिहासकारले वस्तुनिष्ठताको लाखौँ दाबी र प्रयास गर्दा पनि पूर्वाग्रह भरमार र तथ्य सीमित हुन पुगेको देखिन्छ ।यो महान् प्रेमका तीनजना पात्रले इतिहासका तीन ज्ञात पात्रतर्फ संकेत गर्छन् । सेन्याका रूपमा लेनिन, अन्युता क्रुप्सकाया र नतासा नारीवादी क्रान्तिकारी इनेसा अर्मा । प्रकट भएको कुरा के हो भने कथाका पात्र इतिहासका पात्रभन्दा एकदम भिन्न छन् । कोलेन्ताई तीनैजनाको अत्यन्त निकट थिइन् । इनेसाको त घनिष्ट मित्र ।

 

कथामा इनेसाले बताएको तथ्यको पनि प्रभाव छ । नकारात्मक पूर्वाग्रह र बदनियतिको यहाँ अलिकति पनि गुन्जाइस छैन । भएकै भए पनि सद्भावना र प्रशंसा । वास्तविकता के हो भने कोलेन्ताईले उठाएको लैंगिक नैतिकताको प्रश्न, पारम्परिक शुद्धतावादमाथि गरिरहेको हमला र यसको पाखण्डको पर्दाफासका लागि उनलाई आफ्ना निकट व्यक्तिकै जीवनबाट सामल प्राप्त भएको थियो । त्यसलाई बढाईचढाई भए पनि, कथा बनाएर उनले आफ्नो तर्कलाई मजबुत बनाइन् ।

समाजमा उत्पीडित पुरुष पनि घरमा अधिकार जमाएरै बस्छ ।  नारीले राजनीतिक अधिकार पाए पनि कस्तो सांस्कृतिक प्रपञ्च रचियो भने तिनले पाएको भन्दा बढी गुमाउनुपर्‍यो ।


कथामा केही यस्ता कुरा छन् जसले यसलाई पूरै कपोलकल्पित भन्न मिल्दैन । तर, त्यसमा लेनिन आदिको छविलाई हटाइदिनुपर्ने हुन्छ । तीनै पात्रमा तिनका ऐतिहासिक मोडलसँग सादृश्य होइन, भिन्नता नै गढिएको भेटिन्छ । सेन्या र अन्युताबीचको सम्बन्ध सासै रोकिने खालको लाग्छ । त्यहाँ तिनका सन्तानको उल्लेख छ । परन्तु यी भिन्नताले वास्तविकतालाई पूर्ण रूपले छोप्न सक्दैन । एक समय स्तालिन आफ्नो कुरा कडाइपूर्वक लागू गर्न क्रुप्सकायालाई पनि व्यवधान ठानेर उनीमाथि हमला गरिरहेका थिए । त्यसवेला कोलेन्ताई छड्केमा परिसकेकी थिइन् । उनका रचना रुसमा जलाइएका थिए । त्यस्तोवेला पनि ‘महान् पे्रेम’को पुनप्र्रकाशन गरियो । किनभने, त्यसमा प्रस्तुत अन्युताको चरित्र क्रुप्सकायाविरुद्ध दुष्प्रचारका लागि प्रयोग हुन सक्थ्यो ।


जेसुकै होस्, मुख्य मुद्दा कुनै ऐतिहासिक चरित्रसँग मिल्दैन । सवाल के हो भने नारी–पुरुष सम्बन्धबारे पुरुषका तर्फ यसमा क्रान्तिकारी अपवाद छैन, उसको दृष्टिकोण नारीविरोधी हुँदै आएको छ । हरेक कुरामा क्रान्तिदर्शी मान्छे यस मामलामा किन कन्फर्मिस्ट र परम्परावादी छ ? क्रान्तिकारीको व्यक्तिगत जीवन यस मामलामा किन कुनै विकल्प र आदर्श प्रस्तुत गर्न सफल छैन ? यो कुरा आज पनि उत्तिकै सही छ । यसको दस्तावेजी प्रमाण नेपालको कम्युनिस्ट पार्टीकी शीर्ष नेता कमरेड पार्वतीद्वारा प्रस्तुत रिपोर्ट छ जो नेपालको भए पनि त्यसको सान्दर्भिकता व्यापक छ ।


जगजाहेर छ, कम्युनिस्ट भनिने व्यक्तिसमेत कतिपय काम सही भए पनि खुलेआम गर्दैनन् । उनीहरू पनि बुर्जुवा समाजकै मान्छे हुन् । यसको सबभन्दा ठूलो उदाहरण त लोकतन्त्र नै छ । बुर्जुवा लोकतन्त्रको थुप्रै सीमा छन् । त्यसको प्रयोग पूरै बेइमानीका साथ बुर्जुवाहरू आफ्नो हितमा गर्छन् । तर, यही निहुँमा यसका सकारात्मक उपकरणलाई पनि नकार्नुपर्छ र ? अक्सर हामी के बिर्सन्छौँ भने विकसित बुर्जुवा व्यवस्था नै समाजवादको सफलताको पूर्वसर्त हो । बुर्जुवा समाजमा क्रान्ति हुन नपाएकै कारण रुस र चीनको प्रयोगमा सुरुदेखि नै कमजोरी देखियो । अन्ततः त्यो आत्मघाती साबित भयो ।


यहाँ हामी प्रेमसम्बन्धी विषयवस्तुमा केन्द्रित छौँ । तैपनि सत्य के हो भने क्रान्तिकारीले पनि एक नारी र एक पुरुषबीच लैंगिक सम्बन्ध– एक पत्नीत्व वा एक पतित्व, विवाह, घर आदिबारे परम्पराकै पक्ष लिएका छन् । अनि त्यो नाजुक मुद्दालाई नछुनु नै श्रेयस्कर ठानेका छन् । आजका दिनमा पनि हरेक ठाउँमा पारम्परिक ‘साधारण’ प्रवृत्तिलाई चुनौती दिने यौनसम्बन्धको साटो तथाकथित ‘साधारण’ चलनलाई नै सही मानिएको छ । यथार्थमा, तथाकथित ‘असाधारण’ मनोवैज्ञानिक र वैज्ञानिक रूपले साधारणसिद्ध भइसकेको छ ।


यसकारण कोलेन्ताईको ‘महान् प्रेम’ आज झनै सान्दर्भिक छ । त्यसमा उठाइएको प्रश्नमा आज खुलेर विचार गर्ने सम्भावना तथा आवश्यकता दुवै छ । सिमोन द बोउभारलाई नारीवाद मात्र होइन, नारी–पुरुष सम्बन्धको सन्दर्भमा पनि प्रकाश स्तम्भ मान्न सकिन्छ । उनले यसमाथि सिर्जनात्मक लेखन मात्र गरिनन्, बरु आफ्नो कुरा जीवनमै लागू गरेर सानसित बाँचिन् । उनीमाथि विवाद खडा गर्ने क्रम जारी रह्यो, तर रुढीवादीहरू कमजोर हुँदै गएका छन् । सिमोन फ्रान्समा थिइन् । त्यसैले, उनको लेखन र जीवन चर्चित, प्रकाशित र अनुकृत भइरह्यो । आलेक्सान्द्रा र इनेसा रुसी थिए । त्यसैले, उनीहरूको प्रचार, विस्तार र अनुकरण भएन । नत्र यी दुईको विचार उत्तिकै प्रासंगिक र अनुकरणीय छ ।


‘महान् प्रेम’मा प्रेमको पराकाष्ठा मित्रतामा हुन्छ भन्ने संकेत छ । मित्रता कसैसँग पनि र एकभन्दा बढीसँग पनि हुन सक्छ । क्रान्तिकारीका बीच पनि, तिनका शीर्ष नेतृत्वका बीच पनि । असम्भव हुँदैन भने नारी–पुरुषबीच मात्र मित्रता कठिन हुन्छ । दुनियाँ परिवर्तित हुँदै जानु छ, ताकि प्रेम आफ्नो व्यापक र उदात्त रूपमा चरितार्थ हुन सकोस् ।

हिन्दीबाट अनुवाद : अभय श्रेष्ठ