• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि ज्ञवाली
२०७७ पौष २५ शनिबार ०६:२४:००
समाज

बादी महिलाहरूको गगनगन्ज प्रतिरोध

२०७७ पौष २५ शनिबार ०६:२४:००
शिवहरि ज्ञवाली

जब माघ महिनाको सुरु हुन थाल्छ अभियन्ता सुकलाल नेपाली(बादी)को आँखामा करिब २४ वर्षअघिको दृश्य घुम्न थाल्छ । नेपाली बादी मुक्ति आन्दोलनको एउटा महत्वपूर्ण घटना ‘बादी महिलाहरूको गगनगन्ज विद्रोह’का मुख्य नेतृत्वकर्ता पनि हुन् । 

 

हालको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०७ मा पर्छ, गगनगन्ज । २०२४–२५ सालतिरबाट यहाँ सुदूर र मध्य पश्चिमका विभिन्न ठाउँबाट आएका बादी समुदायको बसोवास सुरु हुन्छ । २०४० सालतिर करीब ३५–४० परिवारहरू सोही ठाउँमा जग्गा खरिद गरी स्थायी बसोवास गर्न सुरु गर्छन् । उनीहरूको स्थायी बसोवास नै त्यहाँका गैरदलित समुदाय र बादी समुदायबीचको द्वन्द्वको निहुँ बन्छ । किनकि उनीहरू ‘दलित’ हुनुका साथै केही बादी परिवारका महिलाहरू बाध्यात्मक यौन पेसामा संलग्न थिए । 

 

गगनगन्ज विद्राहकी एक अगुवा मन्जु नेपालीका अनुसार गगनगन्जको यो बादी बस्तीलाई हटाउन जुनसुकै कदम पनि चाल्ने उद्देश्यका साथ २०५३ सालतिर स्थानीय गैरदलित समुदायले ‘बादी समुदायका व्यक्ति भगाउ अभियान’ सुरु गरे । गगनगन्जबाट बादी बस्ती हटाउनु र बादीहरूलाई मद्दत पुर्‍याउँदै आएको सेफ नेपाल (शिक्षाका लागि सामाजिक जागरण) नामक संस्थाको दर्ता खारेजी गर्नु नै सो अभियानको मुख्य उद्देश्य थियो । 

 

नेपालीका अनुसार बादी समुदायलाई विस्थापित गराउने उद्देश्यले गठन भएको कथित प्रतिकार समूहको कुनै वैधानिकता थिएन । बाहिर देखिँदा ‘टोल सुधार समिति’को नाम देखाए पनि बादीहरूको प्रतिकार गर्नु नै उक्त समितिको लक्ष्य थियो । सुकलाल नेपालीका अनुसार समितिमा कुन–कुन व्यक्तिहरूको संलग्नता थियो भन्ने कुरा कहिल्यै जानकारीमा आएन । अनौपचारिक रूपमा उक्त समितिको नेतृत्व स्थानीय हर्कबहादुर गुरुङले गरेका थिए । प्रतिकार समितिको अभियानमा तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वरप्रसाद कोइरालासमेतको प्रत्यक्ष संलग्नता थियो भने नेपालगन्जका अधिकांश गैरदलित सामाजिक अगुवाहरू सो अभियानमा संलग्न थिए । 

 

आन्दोलनको उठान
२०४८ सालतिर स्थानीय दिलीप परियारले केही अगुवाहरूको सहयोगमा बादी समुदायका बालिका र महिलाहरूका लागि विभिन्न व्यक्तिहरूको सहयोगमा अनौपचारिक शिक्षाको सुरुवात गरे । सोही वर्ष एसएलसी पास गरेका सुकलाल नेपाली बर्दिया, कमल नेपाली कैलाली र राजकुमार नेपाली कैलालीबाट उच्च शिक्षाका लागि नेपालगन्ज आए ।

 

दिलीप परियारसँग उनीहरूको भेट भयो । यसको केही समयपछि परियारको नेतृत्व र बादी समुदायका व्यक्तिहरूको सहभागितामा गगनगन्जमा बादी समुदायको एउटा भेलाको आयोजना गरियो । भेलाले गगनगन्जका बादी समुदायका बालिकाहरूलाई सुरक्षित गर्न र उनीहरूको अध्ययनका लागि वातावरण तयार गर्न छात्रावास सुरु गर्ने निर्णय गर्‍यो । गगनगन्जका ८ वर्षदेखि १४ वर्षसम्मका १५ जना बालिकाहरूलाई होस्टेलमा राखी उनीहरूको शिक्षालाई निरन्तरता दिने प्रयासको थालनी भयो ।

 

होस्टेल सञ्चालन र व्यवस्थापनका लागि बालिकाहरूका अभिभावकहरूले स्वतःस्फूर्त रूपमा खाना, सुत्न, तथा बस्नका लागि सहयोग गर्न थाले । बादी बालिकाहरूको शिक्षाका क्षेत्रमा गरिएको यो सामुदायिक प्रयासलाई सगुनी बादी, मन्जु बादीलगायतका महिला अगुवाहरूले जरैदेखि थेग्ने काम गरे ।

 

२०४९ साल कात्तिक २५ गतेका दिन सेफ नेपालको स्थापना गरियो । सेफ नेपालको सहयोगमा बादी समुदायको शिक्षा, स्वास्थ्य तथा आयआर्जनवृद्धिका काम मात्र भएनन् बादी समुदायमा हुने सबैखाले शोषण, अत्याचार, विभेदको विरुद्धमा आवाज उठाउन पनि थाले । 

 

सुकलाल नेपालीका अनुसार बादी अगुवाहरू बाध्यात्मक यौन पेसालाई मनोवैज्ञानिक तरिकाबाट समाधान गर्न चाहन्थे । यसका लागि उनीहरू आफ्ना छोरीहरूको शिक्षामा केन्द्रित भइरहेका थिए । तर, प्रशासन र गैरदलित समुदाय हिंसामार्फत उनीहरूलाई विस्थापित गर्न चाहन्थ्यो । फलस्वरूप बाध्यात्मक यौन पेसा रोक्ने नाममा प्रशासन र गैरदलित समुदायबाट हुने अत्याचारविरुद्ध बादी समुदायले समेत संगठित रूपमा प्रतिरोध गर्न थाले । 

 

बादी समुदायले न्याय तथा अधिकारका लागि र आफूमाथि भएको ज्यादतीविरुद्ध संगठित रूपमा आवाज उठाएको यो पहिलो आन्दोलन हो । यो आन्दोलनले नै बादी समुदालाई आफ्नो अधिकार र न्यायका लागि संगठित रूपमा आवाज उठाउन प्रेरित गरेको थियो ।

 

बादी समुदायको प्रतिरोधसँगै प्रतिकार समूहले बादी समुदायलाई आफ्नै टोल प्रवेशमा निषेधाज्ञा जारी गर्‍यो । घटना सम्झँदै आन्दोलनकी अगुवा मन्जु नेपाली भन्छिन्, ‘बादी समुदायका व्यक्तिहरूका लागि आफ्नै टोल बन्दीगृह भयो । हामी नजरबन्दमा पर्‍यौँ । आफ्नो टोलबाट बाहिर कतै जानुपर्दा टोल सुधार समितिले राखेको रजिस्टरमा नाम दर्ता गराएर जानुपथ्र्यो । जसमा टोलबाहिर जानु पर्नाको कारण, कतिजना जाने, कुन ठाउँ जाने, कतिवेला फर्किने विवरण टिपाउनुपर्ने भयो । फर्किँदा पनि यस्तै गर्नुपर्ने भयो ।’

 

कथित प्रतिकार समूहका मानिसहरूलाई जुनसुकै वेला पनि बादी बस्तीको खानतलास गर्ने छुट थियो । उनीहरू गस्तीमा आउँदा बादी समुदायका कोही पनि घरबाहिर बस्न पाउँदैनथे । कसैले उनीहरूमाथि प्रश्न गरेमा कुटपिटको भागीदार हुनुपथ्र्यो । स्थानीय प्रेमनाथ नेपालीले प्रतिकार समूहका सदस्यहरूलाई सीधा आँखाले हेरेकै आरोपमा बेहोस हुने गरी कुटाई खाए ।

 

यो घटनापछि कसैले पनि प्रतिकार समितिको प्रतिरोध गर्ने आँट गरेनन् । तर, त्यस घटनाको केही समयपछि एकजना ६ वर्षीया बादी बालिकामाथि बलात्कार भयो । तर, यो घटना बलात्कारको मुद्दाको रूपमा दर्ता गरिएन । त्यसको लगत्तै अर्की एक ५० वर्षिय बादी महिलाको बलात्कार भयो । यो घटनालाई क्षतिपूर्तिको रूपमा थोरै पैसाले सुल्झाइयो । यी बलात्कारपीडितहरू यौनकर्मी थिएनन् । यद्यपि, प्रशासनले ‘वेश्या समुदाय’मा बलात्कार हुनेछैन भन्ने आधारमा बलात्कारको मुद्दा स्थापित गर्न दिएन । यी घटनाहरूले पुनः बादी समुदायलाई प्रतिरोधका लागि बाध्य बनायो । 

 

मन्जु नेपाली त्यतिवेलाको घटना सम्झिन्छिन्, ‘म तीन महिनाकी सुत्केरी थिएँ । आफ्ना दिदीबहिनीहरूमाथि प्रशासनको आडमा भएको अत्याचारको विरोध गर्दा मलाई मरणासन्न हुने गरी कुटे । मेरो पेटमाथि लात्तीले भकुरे । मेरो गर्भसमेत तुहियो । उनी थप्छिन्, ‘बाहिरबाट आएका कुनै पनि पुरुषहरूलाई बादी समुदायको बस्तीको बाटो भएर हिँड्न प्रतिबन्ध लगाइएको थियो । भुलवस वा जानकारीको अभावमा कोही पुरुष बादी बस्तीको बाटो भएर हिँड्यो भने त्यसलाई प्रतिकार समितिमार्फत खटिएका व्यक्तिहरूले समातेर कुटपिट गर्दै अपमानित गरी कुनै बादी महिलासँग जबरजस्ती सिन्दुर हाल्न लगाउँथे र नमानेमा मरणासन्न हुने गरी कुटपिट गरिन्थ्यो ।’ 


गगनगन्ज आन्दोलन र प्रतिकार समूहका बारेमा अध्ययन गरेकी स्विस अध्येता यसुको फुजीकुराले ट्रान कल्चर जजमेन्ट : भ्वाइलन्स एन्ड प्रोस्टिच्युएसन इन नेपालमा उल्लेख गरेकी छन्, ‘...प्रशासनको नेतृत्वमा बादी समुदायविरुद्ध गैरदलित समुदायको प्रतिकार समितिको गठन हुन्छ । समितिले ‘बादी समुदायका व्यक्ति भगाउ अभियान’ सुरु गर्छ । प्रतिकार समितिका व्यक्तिहरू बादी समुदायका घरभित्र पस्छन् । महिलाहरूलाई घरबाट बाहिर निकाल्छन् । उनीहरूका लुगा च्यातिदिन्छन् ।

 

बाध्यात्मक यौन कार्यमा संलग्न नभएका परिवारमाथि पनि आक्रमण हुन्छ । त्यसपछि यहाँ यस्ता आक्रमणका शृंखलाहरू दोहोरिइरहन्छन् । प्रतिकार समितिको ज्यादती सहन नसकी केही परिवारहरू बस्ती छाड्न बाध्य हुन्छन् । कोही भागेर बाहिर गएकाहरू पनि फर्केर आउन सकेनन् । प्रहरी र प्रशासन प्रतिकार समूहको पक्षमा भएकाले बादी समुदायको गुनासो र उजुरी कहीँकतै सुनुवाइ हुँदैनथ्यो ।

 

प्रतिकार समूहको अभियान धेरै महिनासम्म जारी रह्यो । धेरै स्थानीयलाई पुलिस स्टेसनमा लगियो । बाध्यात्मक यौन पेसा रोक्न धम्की दिइयो । प्रहरी प्रशासनको बल प्रयोगका कारण केही मानिस अस्पताल भर्ना हुनुपर्‍यो । बाध्यात्मक यौन पेसामा संलग्न महिलालाई प्रहरीले हिरासतमा लिए । उनीहरूको रिहाइका लागि ठूलो रकम जमानत माग गरे । जमानत तिर्नका लागि केही महिलाले आफ्नो सम्पूर्ण सम्पत्ति कौडीको भाउमा बेच्न बाध्य भए ।’

 

फुजीकुराले थप उल्लेख गरेका छन्, ‘बादीसँग ‘वेश्या जाति’ भनेर कलंकित गरिएका कारण बादी महिलाको लागि बलात्कारको मुद्दा स्थापित गर्न गाह्रो थियो, यद्यपि पीडित महिला अन्य जातिको भएमा बलात्कारको मुद्दा दर्ता हुन्थ्यो । तिनीहरू बिरामी हुँदा, महिनावारी हुँदा, ज्वरो आउँदा, गर्भावस्थामा, वा सुत्केरी हुनासाथ पनि पनि यौनसम्पर्क गर्न बाध्य पारिए ।

 

जब प्रतिकार समूहका पुरुषहरू बादीहरूको घरमा आउँथे, महिलाहरूलाई यौनसम्पर्क राख्न बाध्य बनाइन्थ्यो । उनीहरूले अस्वीकर गरे हिंसा प्रयोग गरिन्थ्यो । त्यहाँ मातेका र हिंस्रक मानिसहरू थिए । केही घटनाहरूमा तिनीहरूले महिलाहरूलाई यातना दिए, उनीहरूको पैसा लुटेर उनीहरूलाई धम्काए ।’

 

‘ती घटनाहरू सम्झिँदा आज पनि आग सिरिङ भएर आउँछ । त्यस समयमा बादी समुदायको सुरक्षाका लागि कुनै निकाय थिएन, न्यायका लागि कुनै कानुन थिएन, बादी समुदायको सहयोगका लागि कुनै हात थिएन । अधिकारको रक्षाका लागि कुनै मानवअधिकारवादी संस्था थिएनन् । कुनै राजनीति दल, कुनै नेता थिएन ।’ मन्जु नेपालीले विगत सुनाइन् । 


आन्दोलनको बैठान
स्थानीय तहमा कहीँकतैबाट न्याय नपाएपछि बाध्य भएर २०५४ साल माघ १२ मा सुकलाल नेपालीको नेतृत्वमा आशा नेपालीलगायतका ५२ जना बादी महिलाहरू काठमाडौंमा आएर ३ दिनसम्म बसे । उनीहरूले यसबीचमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर आफ्नो समस्या सुनाउन चाहन्थे । तर, प्रधानमन्त्रीले उनीहरूलाई भेट दिएनन् ।

 

त्यसपछि उनीहरूले १४ बुँदे मागहरू विभिन्न राजनीतिक दलका नेताहरूलाई बुझाए । सोही वर्ष चैतमा पुनः मन्जु नेपालीको नेतृत्वमा गगनगन्जका १०० जना महिलाहरू न्यायका लागि काठमाडौं आए र गृहमन्त्री खुमबहादुर खड्कालाई न्यायका लागि बिन्ती बिसाए । खड्काले छानबिन गरी न्याय दिलाउने बचन दिए । तर, सरकारको तर्फबाट कुनै पहल भएन ।  

 

गगनगन्ज प्रतिरोधका अगुवाहरूकै पहलमा २०५८ साल माघ १८ गते विभिन्न जिल्लाका बादी महिलाहरूले काठमाडौंमा बृहत् भेला गरे । त्यो भेला बादी महिलाहरूको पहिलो राष्ट्रियस्तरको भेला थियो । सयौँको संख्यामा आएका उनीहरूले काठमाडौंमा मौन जुलुस निकाले । प्लेकार्ड बोके । न्यायका लागि आफ्ना मागहरू सार्वजनिक गरे ।

 

जुलुसपछि काठमाडौंको बागबजारमा रहेको जागरण मिडिया सेन्टरको सभाहलमा एक कार्यक्रम गरियो । कार्यक्रममा राष्ट्रिय सभाका माननीय बिजुल विश्वकर्मा र सपना प्रधान मल्ल सहभागी भएर बादी समुदायको अधिकारका लागि पहल गर्ने वचन दिए ।

 

 देशव्यापी आन्दोलनको परिणामस्वरूप बादी समुदाय र प्रतिकार समूहबीच वार्ता भयो । बादी समुदायले गाउँबाट विस्थापित सबै फर्किन पाए । त्यहाँबाट निकालिएका बासिन्दालाई उनीहरूको घरमा यौनकार्य हुनेछैन भन्ने सर्तमा समुदायमा फर्कन अनुमति दिइयो । त्यसपछिका महिनाहरूमा जो घरबाट निकालिएका थिए, उनीहरू बिस्तारै समुदायमा फर्किए ।

 

यद्यपि गम्भीर हिंसा र उत्पीडनमा परेका केही महिलाहरू भारततिर विस्थापित भए । उनीहरूले आफ्नो टोलको नाम ‘गगनगन्ज’बाट प्रगतिशील मार्ग राखे । यो प्रतिरोधात्मक आन्दोलनअघि बादी समुदाय आफ्नो जीविकोपार्जनका लागि संघर्ष गर्दै आएका थिए ।

 

बादी समुदायले न्याय तथा अधिकारका लागि र आफूमाथि भएको ज्यादतीविरुद्ध संगठित रूपमा आवाज उठाएको यो पहिलो आन्दोलन हो । यो आन्दोलनले नै बादी समुदालाई आफ्नो अधिकार र न्यायका लागि संगठित रूपमा आवाज उठाउन प्रेरित गरेको थियो । यसपछि नै बादी समुदायले आफ्नो हक, अधिकार, न्याय तथा विकासका लागि निरन्तर कानुनी तथा सडक संघर्षहरू गर्दै आएको छ । 

 

(यो लेख सुकलाल नेपाली, मन्जु नेपाली,गोपाल बादी, सुन्दरी बादीलगायतसँगको कुराकानीका आधारमा तयार गरिएको हो ।)