म आफूले त आफूलाई दलित भन्दिनँ
तिमी को हौ र मलाई दलित भन्ने ?
हो म बादी हुँ, तर म दलित होइन,
बादी हुनुमा मलाई गर्व छ,
किनकि यो मेरो पहिचान हो
दलित म होइन
दलित त तिम्रो सोच हो
हुन त दलित पनि नराम्रो होइन
कसरी आफैँमा शब्द राम्रो–नराम्रो हुन सक्छ
न राम्रो त तिम्रो सोचले बनायो
तिम्रो हर्कतले बनायो
सामन्ती, शोषणको मस्तिष्क बोक्छौ
तिम्रो त्यसै सोचले देखायो ।
म किन सानो सम्झुँ आफूलाई
जाबो दुई अक्षरको जातले ?
देखाउन देऊ मेरो क्षमता कति छ
मेरो जात हेरेर आफैँ निर्धारण नगर
मेरो हैसियत के हो ?
म के–के मात्र गर्न सक्दिनँ र ?
मलाई देखाउन देऊ ।
हो म दलित होइन
म बादी हुँ
अझ भनुँ भने त मान्छे हुँ
मेरो पनि रगत रातो छ,
तिम्रोजस्तै मन छ, मुटु छ
म पनि तिमीले झैँ सास फेर्छु
मलाई पनि दुख्छ
दलित भनी हेपिरहेका हुन्छौ
आदर गर्छु र चुप छु
समुद्र मौन हुँदा जाँच्दै छौ तिमी
मभित्र सुनामी चिच्याउँदा के होला ?
हेक्का छ ?
तिमीले जति मैले पनि पढेको छु
तिम्रो जति संसार मेरो पनि छ
आँखाअगाडिको भाग मेरो पनि हो
बोल्न मलाई पनि आउँछ
र पनि निःशब्द छु
किनकि मलाई थाहा छ पीडा
अपशब्दले दिने चोट
म हारेर नबोलेको होइन
बस्, जित्नलाई मौन बसेको हुँ ।
ए मान्छेजस्ता मान्छे
सोच बदल
वेला छ अझै बदल्ने अनि बदलिने
भेदभाव र कुसोचबाट माथि उठेर मान्छे बन्ने
दलित भन्दै मेरो खेदो गर्न छोड
आफ्नो इज्जत र औकात सम्हाल
धोती अनि टोपी खस्ला मेरो खिल्ली उडाउँदा
म को हुँ चिन्न
मलाई हेर
मेरो जातलाई होइन ।