• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
पवित्रा नेपाली बादी
२०७७ पौष २५ शनिबार ०७:५६:००
समाज

मुक्तिको लडाइँ लड्न चाहन्छु

२०७७ पौष २५ शनिबार ०७:५६:००
पवित्रा नेपाली बादी

मेरो नाम पवित्रा नेपाली बादी । मैले थर नेपाली किन राखेँ भने दलितभित्रै पनि उपल्लो र तल्लो भनेर विभेद हुन्छ । सदियौँदेखि राज्यबाट उपेक्षित, शोषित कथित दलित जातिमा जन्मिएँ । के गर्ने, यो समाजले आफ्नो वास्तविक नाम र पहिचान लुकाएर हिँड्न बाध्य बनायो । यो समाजले हामीलाई मान्छे होइनौ भन्ने आभास दिलाउँछ । 


विपन्न परिवारमा जन्मिएर हो समाजको उत्पीडिन, उपेक्षा, विभेद र अपमान सहँदै आजसम्म आइपुगेकी छु । जतिसुकै अभाव, कष्ट तथा असह्य पीडा भए पनि जिन्दगी जिउनको विकल्प त हुँदो रहेनछ । विपन्न दलित परिवार, बुबाको दैनिक मदिरा सेवन तथा आयस्रोतको कुनै इलम नहुँदा अर्काको घरमा काम गरेर खानुको विकल्प थिएन । आमाले ज्याला मजदुरी गरेर कमाएको रकमले बुबा, आमा, दाइ र मलगायतको ५ जनाको जीवन धान्न असम्भव प्रायः थियो । यद्यपि जिन्दगी घस्रिँदै थियो आफ्नै रफ्तारमा । चाहे यसकोचाल अन्यका लागि सहानुभूतिको विषय किन नबनोस् । यावत् सकस र पीडालाई अँगालोमा बाँधेर जीवनका अनगिन्ती पीडादायी चरणहरू पार गरियो ।


अरूकै घरमा ज्याला मजदुरी गरेर आफ्नो अध्ययनलाई पनि अगाडि बढाउँदै थिएँ । म आधारभूत तहको अध्ययन गर्दै गर्दा मेरी आमा आफ्नो गुजारा चलाउने पसलको निमित्त किराना सामान किन्न नेपालगन्ज नाकानजिकै जानुभयो । रुपैडिहा भन्ने ठाउँमा जाँदै गर्दा अपरिचित व्यक्तिले रिक्सामा राखिदिएको झोलाका कारण भारतीय एसएसपीको पक्राउमा पर्नुभयो । सोधपुछका क्रममा पो थाहा भयो त्यो झोलामा लागुऔषध रहेछ ।

 

आमा पक्राउ पर्नुभयो । नियति र भाग्यले दिने अनेकन लाञ्छना र पीडा कम भएकै थिएन, त्यसमाथि थपियो जालझेल । आमाको पक्षमा बोलिदिने को थियो र । दोषी नहुँदानहुँदै पनि आमालाई बहराइचस्थित भारतीय जिल्ला अदालतले १२ वर्षको जेल सजाय सुनायो । हामीसँग र पहुँच भएको भए आमाले त्यो सजाय भोग्नुपर्ने थिएन । नियतिले अर्को पिडा थपेरै छाड्यो । आमा बहिराइचमा ४ वर्ष र लखनउमा ८ वर्ष जेल बसेर छुट्नुभयो । तर, आमा आइआउनुभएको १ वर्ष नपुग्दै बुवा ब्रेन ट्युमर भएर बित्नुभयो ।

अभावले मान्छेलाई कमाउन सिकाउँछ रे । अनि उपेक्षाले केही गरेर देखाउन । मेरो आत्मविश्वास र क्षमताले गर्दा आज कसैले पनि मलाई यो जातको भनेर लाञ्छना लगाउन सक्दैन ।


तर, पीडाले मान्छेलाई अझ बढी कठोर बनाउँदो रहेछ । हरेक पीडा र अभावलाई पैतालामा कुल्चेर अगाडि बढ्ने अठोट गरेँ । अर्काको घरमा ज्याला मजदुरी गरेरै भए पनि आफ्नो अध्ययनलाई अगाडि बढाएँ । प्लस टु सकाएँ । आज सफलताको त्यति ठूलो शिखर चढेजस्तो त लाग्दैन, तर समस्याको जुनसुकै अवस्थालाई सहज रूपमा सामना गर्न सक्छु जस्तो लाग्छ । आज म परिवार धान्न सक्ने भएको छु । बहिनी आज राजधानीमै उच्च शिक्षा पढ्दै छिन् । दाइ वैदेशिक रोजगारीमा हुनुहुन्छ ।


अभावले मान्छेलाई कमाउन सिकाउँछ रे । अनि उपेक्षाले केही गरेर देखाउन । मेरो आत्मविश्वास र क्षमताले गर्दा आज कसैले पनि मलाई यो जातको भनेर लाञ्छना लगाउन सक्दैन । भलै मेरोपछाडि कुरा काट्नेले काटुन् । यसले मलाई कुनै प्रभाव पार्दैन ।हाम्रो शरीरको संरचना समान छ । हामी शरीरभित्र उस्तै रंगको रगत बग्छ ।

 

हामी उही पृथ्वीमा बसेका छौँ । फेरि समाजको एउटा तप्कालाई तल्लो जात र उपल्लो जात भनेर छुट्याउने अधिकार कसले दियो ? समाजलाई यसरी विभाजन गर्नेहरूलाई कारबाही गर्ने कुनै कानुन छैन ? यस्ता विभेदबाट मुक्ति पाउन हामीले पटकपटक आन्दोलन गर्‍यौँ । राजनीतिक परिवर्तनहरू भए । शासन परिवर्तन भयो । शासक परिवर्तन भए । तर, अपेक्षाकृत रूपमा उपलब्धि हुन सकेन । दलितको हकलाई मौलिक हकका रूपमा वर्तमान संविधानले प्रत्याभूत गरे तापनि महसुस हुने गरी यसको व्यवहारमा लागू भएको देखिँदैन ।

 

आजभोलि मलाई लाग्छ मपछिका पुस्ताले मैलेजस्तो उपेक्षा र अपमान भोग्नुपर्दैन । छुवाछुत भेदभावका कारण मन्दिर तथा पानीपँधेराबाट एककोष टाढा बस्नुपर्दैन । विभेद भयो भने आवाज उठाउनेछन् । मेरो आगामी सपना म दलित र उत्पडीत विपन्नहरूका लागि लड्न चाहन्छु । मुक्तिको लडाइँ लड्न चाहन्छु । त्यो मुक्तिको लडाइँको एक अंश बन्न चाहन्छु ।