• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुप्रिया निवासी बादी
२०७७ पौष २५ शनिबार ०८:२४:००
समाज

बादी समुदायकी पहिलो नर्स भन्छिन्– थोपरिएको पहिचान मेटिँदै छ

२०७७ पौष २५ शनिबार ०८:२४:००
सुप्रिया निवासी बादी

मेरो जन्म तुलसीपुर उपमहानगरपालिका दाङमा भएको हो । म निम्नवर्गीय बादी परिवारमा जन्मिएँ । बादी जातिमा जन्मिएर मैले धेरै संघर्ष गर्नु प¥यो । पढ्ने क्रममा भोगेका विभिन्न भेदभाव, कठिनाइहरूबारे केही लेख्ने कोसिस गरेको छु । मैले माध्यमिक तहको पढाइ त्रिदेव इङ्लिस बोर्डिङ स्कुलबाट सकाएँ । पढाइमा अब्बल छात्रा भएर होला मेरा शिक्षक तथा साथीहरूको व्यवहार राम्रो नै रह्यो ।

 

नाम सुप्रिया निवासी लेख्ने हुनाले स्कुलमा भेट्ने नयाँ शिक्षक र साथीहरूले निवासी भनेको के थर हो ? कुन जातिमा पर्छ ? बाहुन या क्षेत्री ? भनेर सधैँ सोध्थे । यस्ता प्रश्नहरूको सामाना सधैँ गर्नुपर्‍यो । मेरो थर बादी जातिमा पर्छ भन्ने आँट कहिल्यै आएन । कसैलाई भनिहाले पनि उनीहरू थप सोधपुछ गर्थे । मेरो गाउँनजिकै स्कुल भएकाले जो–जतिलाई मेरो वास्तविक जाति थाहा थियो उनीहरूसँगको मित्रता केवल स्कुलसम्म मात्रै सीमित रह्यो । जति नै मिल्ने साथी भए पनि उनीहरूको घर जाने बस्ने कहिल्यै भएन । म सधैँ उनीहरूबाट अलग नै रहेँ । असाध्यै मिल्ने साथी पनि जातकै कारण गुमाएँ ।


एसएलसीपछि नर्सिङको तयारी गर्न काठमाडौं आएँ । नर्सिङको प्रवेश परीक्षाको तयारीमा लागेँ । इन्स्टिच्युटमा भर्ना हुन नाम लेखाएँ । नाम लेख्नेले छक्क परेर मेरो अनुहारमा हेर्न थाले । ‘निवासी भनेको कुन जाति पर्छ ?’ भनेर प्रश्न सोधियो । मैले आँट गरेर दलितमा पर्छ भनेँ । फेरि प्रश्न आयो, ‘कामी, दमाई, सार्की, कुनमा पर्छ ?’ मैले बादीमा पर्छ भनेँ । उनले छक्क हुँदै भने, ‘यस्तो पनि जाति हुन्छ ?’ मैले हुन्छ भनेँ । तर, मनमा लागिरह्यो, मेरो जातिलाई कतिसम्म पछाडि पारेको रहेछ, कसैले थाहा नपाउने ? मनमा लाग्यो, हाम्रो त कुनै पहिचान नै छैन । यदि थोरै पहिचान छ भने त्यो पनि एकदम गलत । मन खिन्न बनाएर बाहिरिएँ । सुरुमै आत्मविश्वास डगमगाएको महसुस भयो ।

बादी जातिबाट पहिलो नर्स म नै हुँला । यो कुराले एकदमै खुसी हुन्छु । तर, कहिलेकाहीँ खुसी हुँदाहुँदै एउटा खिन्न भावना मनमा आउँछ । मेरा अन्य दिदीबहिनीले किन पढ्न पाउँदैनन् ?


नर्सिङको प्रवेश परीक्षामा नाम निकालेँ । दलित र महिला कोटामा छात्रवृत्ति पनि प्राप्त गरेँ । मैले आफ्नो पिसिएल नर्सिङ ‘बिपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्स’बाट उत्तीर्ण गरेँ । त्यहाँ पनि मैले परिचय दिँदा प्रत्येकपटक आफ्नो थर र जाति खुलाउनुपर्‍यो । आफ्नो बादी जातिको पहिचान, उत्पति र इतिहास व्याख्या गर्नुपर्‍यो । मनमनै लाग्थ्यो, मेरो नाम र जाति यो समाजलाई किन सजिलै स्वीकार नभएको होला ? किन मैले पटकपटक आफ्नो जातिको परिचय दिइरहनु परेको होला ? 


जब कक्षाकोठामा पुग्थेँ, मलाई अर्कै फिल हुन्थ्यो । मेरो जातिबारे थाहा पाउने शिक्षक र सहपाठीहरू मलाई हेरिरहन्थे । मलाई लाग्थ्यो, उनीहरूले हेरेरै मलाई हेपिरहेका छन्, उनीहरूको ‘ठूलो जाति’ले मलाई दबाइरहेको छ । उनीहरूसँग खुलेर बोल्ने, रमाउने, साथी बनाउने इच्छा कता–कता आफैँ हराउँथ्यो । 


बादी जातिबाट संघर्ष गरी पढेर सम्मानित पेसा अपनाउँदा अहिले आफैँलाई भाग्यमानी ठान्छु । सायद, बादी जातिबाट पहिलो नर्स म नै हुँला । यो कुराले एकदमै खुसी हुन्छु । तर, कहिलेकाहीँ खुसी हुँदाहुँदै एउटा खिन्न भावना मनमा आउँछ । मेरो जातिबाट आखिर किन मैले मात्रै पढ्न पाएँ ? मेरा दिदीबहिनीले किन पढ्न पाउँदैनन् ? मैले त आफ्नो सुन्दर भविष्यको सपना देखिरहेकी छु, तर मेरा साथीहरूले किन यस्तो सपना देख्न पाउँदैनन् ? म त आफ्नो खुट्टामा उभिएँ, तर मेरा साथीहरू किन उभिन पाउँदैनन् ? 


बादी भन्नेबित्तिकै उही शर्मनाक ‘वेश्यावृत्ति पेसा’ले नै चिनाउने हुनाले आफूलाई कता–कता नमिठो र ग्लानी महसुस हुन्छ । तर, मलाई विश्वास छ, अब हाम्रो नयाँ पुस्ता यो थोपरिएको पहिचान मेटेर सभ्य र नयाँ पहिचान बनाउन सफल हुनेछौँ । यसको सुरुवात भइसकेको छ ।