• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हरिहर तिमिल्सिना
२०७७ माघ ३ शनिबार ०७:००:००
साहित्य

हेडसरको हेड

कविता

२०७७ माघ ३ शनिबार ०७:००:००
हरिहर तिमिल्सिना

फूलजत्तिकै सुन्दर हेडसरको हेडमा
घुम्थे माहुरी र पुतलीका हुल
डुल्थ्यो वासन्ती बतास 
अहिले त हेडसरको हेड
रूखको टुप्पोमा टाँगिएको 
कमिलाको गोलोजस्तै भएको छ 
जहाँबाट कमिला पनि बसाइँ सरिसकेका छन् 

 

हेडसरको त्यही हेडभित्र थियो केही पाउ गिदी,
जहाँ थिए मार्क्स, लेनिन र माओका भव्य चिन्तन
बुद्धको उपदेश
चे, ओबिचे र मण्डेलाका मननीय मन्त्र
बिपी, गणेशमान, मनमोहन र मदनका प्रेमिल स्मृति

 

साथै, देशको खुइलिएको झन्डा
घाइते छापामारको सिस्नु उम्रिएको झुपडी
युद्धमा सन्तान गुमाएकी आमाको बाफिलो आँसु
परदेशीले पठाएको पसिनाको गन्ध
यी सबै संगृहित थिए टाउकाको सङ्ग्रहालयभित्र

 

खेल्दाखेल्दै तेलकासा 
आफूलाई कसैले लडाइदियो भने
नानीहरू भन्ने गर्थे – हेडसरलाई भन्दिन्छु ।
कुनै शिक्षकले पढाउँदा ठग्यो भने
विद्यार्थीहरू भन्ने गर्थे– हेडसरलाई भन्दिन्छु 
जिराहा छिमेकीले स्कुलको साँध मिच्यो भने 
अभिभावकहरू सोचिहाल्थे– हेडसरलाई भन्दिन्छु ।

 

हो हेडसर सबैका दुःख सुन्थे
तर, मानिसका दुःख तिनलाई आँधीको गीतजस्ता लाग्थे । 
कहिलेकाहीँ मातेका बेलामा हेडसर बर्बराउँथे –
म एकदिन दुःख मेट्ने डस्टर ल्याउनेछु र
सबको दुःख मेटिदिनेछु ।

 

एकदिन अचम्मै भयो –
स्कुलमा दुःख मेट्ने डस्टर आइपुग्यो
तर, त्यसले दुःख नमेटेर
हेडसरको शिरभित्र सुशोभित
सबै सुन्दर सपनाहरू मेटिदियो ।

 

हो, त्यही दिनदेखि हो
हेडसरको टाउको कमिलाको गोलोजस्तै
निरश पिण्डमा परिवर्तित भयो

 

गौशालाबाट गाई हराएजस्तै
धर्मशालाबाट धर्म हराएजस्तै
या पाठशालाबाट पाठ हराएजस्तै
हेडसरको हेडबाट ‘हेड’ हराएको छ ।

 

जब हेडसरहरूको हेड हराउँछ
तब हेडसरहरू कहिले भालेजुधाई खेल्नुहुन्छ 
कहिले हाम्रा टाउकोमाथि भकुन्डो खेल्नुहुन्छ 

 

कृपा गरेर एकपटक मेरो टाउकोमा हेरिदिनुहोस्
र बताइदिनुहोस्–
टाउका नभएकाहरूले टाउकामा हान्दा–हान्दा
कतै म पनि मुर्कट्टा त भइसकिनँ ?