• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विष्णु अधिकारी
२०७७ माघ १० शनिबार ०८:१८:००
समाज

कस्तो पुस्ता जन्मिँदै छ विद्यालयबाट ?

२०७७ माघ १० शनिबार ०८:१८:००
विष्णु अधिकारी

कोरोना महामारीका कारण अधिकांश ठाउँका विद्यालय बन्द छन् । करिब नौ महिना भयो विद्यालय, शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा अन्तक्र्रिया नभएको । यसक्रममा विद्यार्थीको सिकाइ प्रक्रियाको कडी टुट्ने हो कि भन्ने चिन्ता अभिभावकमा देखिन्छ । तर, अनौपचारिक कुराकानीको क्रममा एकजना अभिभावकले विद्यालय जान छाडेपछि आफ्नो छोराले सबै क्षेत्रमा विद्यालय जाँदाभन्दा राम्रो गरिरहेको बताए ।


उनको अनुभव आमअभिभावकको भन्दा अलि फरक थियो । घरमा पुस्तकको राम्रो संकलन रहेको साथै उनले खेलकुदलगायत अन्य कुराका लागि राम्रो व्यवस्था गरेका रहेछन् । उनको मुख्य चिन्ता विद्यालयले निर्माण गर्ने ‘कल्चरल बिइङ’का बारेमा थियो । सबै अभिभावकले उनले छोरालाई प्रदान गरेको जस्तो वातावरण प्रदान गर्न सक्दैनन् र विद्यालयमा भन्दा घरमा सिकाइ प्रक्रिया राम्रोसँग अगाडि बढ्छ विद्यालय नजाऊ भन्नु पनि नैतिक रूपमा उचित कुरा भएन, तर पनि उनको अनुभव विद्यालय, सिकाइ प्रक्रिया र सम्पूर्ण शैक्षिक प्रणालीलाई अलि फरक दृष्टिकोणबाट पर्गेल्न एउटा सन्दर्भसम्म हुन सक्छ ।


स्नातक पढ्दा एकजना प्राध्यापकले अनौठो भोगाइ सुनाएका थिए । उनले आफ्नो नातिले कुनै एउटा शब्दको गलत उच्चारण गरेको सुनेपछि उनलाई सच्चाउँदै सही उच्चारण सिकाएछन् । तर, नातिले हजुरबुवाको उच्चारण स्विकारेनन् । उनले मेरो म्यामले नै यसरी उच्चारण गर्न सिकाएको भन्दै आफ्नो उच्चारण नै ठीक रहेको जिकिर गरेछन् । अर्काे दिन उनी नातिसँगै स्कुल गएछन् । संयोगवश नातिकी शिक्षिका उनकै विद्यार्थी रहिछन् । यो कुरा थाहा पाइसकेपछि मात्र ती बालकले हजुरबुवाको कुरा पत्याएछन् ।


यो प्रसंगले एउटा विद्यार्थीले विद्यालयमा सिकाइने कुरालाई कसरी अनुग्रहण गर्छ भन्ने कुरालाई स्पष्ट पार्छ । हाम्रो सामाजिक अभ्यासले विद्यालयलाई ज्ञान आर्जन गर्ने एक मात्र स्थान र शिक्षकलाई ज्ञानी व्यक्तिको रूपमा ग्रहण गर्ने दृष्टिकोण दिएको छ र माथिको प्रसंग विद्यार्थी र विद्यालयको सम्बन्ध साथै उसको ज्ञान निर्माण प्रक्रियाको प्रतिबिम्बन हो । साना बालबालिकाहरूको कलिलो दिमागमा विद्यालयमा सिकाउने कुराको कस्तो प्रभाव पर्छ ? यो प्रभावले उनीहरूको सर्वांगीण सामाजिकीकरणको प्रक्रियामा कस्तो भूमिका खेल्छ भन्ने कुरा माथिको प्रतिबिम्बनमा पाइन्छ । तसर्थ, हाम्रो परम्परा र मौजुदा व्यवस्थाले विद्यालयलाई बनाइदिएको यो स्पेसलाई मध्यनजर गर्दै यसको संरचनाको उत्खनन गर्नु आवश्यक छ ।


विद्यालयभित्र एउटा निश्चित संरचना हुन्छ र उक्त संरचना स्तरीकृत हुन्छ । सामुदायिक र निजी दुवै विद्यालयमा संरचना लगभग उस्तै हुन्छ, तर शक्ति समीकरण भने भिन्न प्रकृतिको हुन्छ । जस्तो दुवैतिर व्यवस्थापन र प्रधानाध्यापक हुन्छन्, तर निजीमा व्यवस्थापन धेरै नै हाबी हुन्छ, त्यो स्वामित्वको कुराले गर्दा हुन्छ । व्यवस्थापन र प्रिन्सिपलभन्दा तल एकेडेमिक र प्रशासनिक स्टाफ हुन्छन् ।

 

एकेडेमिक स्टाफमा पनि तेर्सो अर्थात् होरिजेन्टल विभाजन हुन्छ । जस्तो पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका कोअर्डिनेटर हुन्छन्, साथै विषयगत कोअर्डिनेटर हुन्छन्, अन्य शिक्षकहरू हुन्छन् र विद्यार्थीहरू यो संरचनामा तल्लो तहमा नै हुन्छन् । यो संरचनालाई चलाउन लिखित रूपमा नै अधिकार र कर्तव्य, आचारसंहिता साथै आमरूपमा स्वीकार गरिएका अलिखित अभ्यास हुन्छन् ।

 

यसरी एउटा निश्चित प्रक्रियामा यो संरचनाले काम गर्छ । यहाँ उल्लेख गरिएका संरचनाका केही विशेषता छन् । यो संरचना एउटा शक्ति संरचना नै हो, जसमा व्यवस्थापन यसको शिरमा रहन्छ भने तलतिर पिरामिड आकारमा शक्तिको स्वरूपको निर्माण हुन्छ र त्यसको पिँधमा विद्यार्थी हुन्छन् । विशेषगरी, निजी विद्यालयमा व्यवस्थापन नै हाबी हुन्छ, उनीहरूकै स्वार्थमुताविक काम हुन्छ । समग्रमा भन्दा यो संरचना नै अधिनायकवादी स्वरूपको हुन्छ ।


माथि उल्लेख भएको शक्ति संरचनाअनुसार विद्यालयभित्र निश्चित नियम पालना गर्नुपर्छ । अपवादबाहेक सबै विद्यालयमा समान प्रकारका नियम लागू हुन्छन् र यिनै नियमका आधारमा विद्यालयको आन्तरिक पर्यावरणको निर्माण भएको हुन्छ । यी नियमले एउटा निश्चित प्रकारको अनुशासनको घेरा निर्माण गरेका हुन्छन् र त्यो घेराभन्दा बाहिर जानु दण्डनीय हुन्छ । अझ मिसेल फुकोले त विद्यालयलाई जेलसँग तुलना गरेका छन् । जस्तोकि, जेल र विद्यालय दुवैमा निश्चित अधिकारसम्पन्न संरचना हुन्छ, दुवैमा तोकिएको निश्चित ड्रेस लगाउनुपर्छ, दुवैमा शान्त र क्रमबद्ध भई बस्नुपर्छ, दुवैमा खाने, खेल्नेलगायतका कामका लागि समयतालिका बनाइएको हुन्छ, आदि ।

 

जब बालबालिका विद्यालय जान्छन् विद्यालयको त्यो पर्यावरणमा अनुकूलन हुनुपर्छ । अर्थात्, उस्तै पोसाक लगाएका विद्यार्थी उस्तै काम गरिरहेका हुन्छन्, विद्यार्थीहरू न्यूनतम रूपमा पनि प्रतिदिन ६ घन्टा समय विद्यालयमा बिताउँछन् र उक्त पर्यावरणभित्र उनीहरूले आफ्नो स्थान र भूमिकाको पहिचान गर्छन् अनि त्यहीअनुसारको मनोविज्ञान निर्माण हुन्छ ।माथिको कुराबाट हामी भन्न सक्छौँ कि बालबालिकाको सामाजिकीकरणको महत्वपूर्ण हिस्सा विद्यालय हो ।

 

अर्थात् कुनै पनि वस्तु र विषयमाथिको सुरुवाती बुझाइ र धारणा निर्माणमा यसको ठूलो भूमिका रहन्छ । यसका आधारमा हामीले भन्न सक्छौँ कि अहिले हामीसँग भएका औजारमध्ये शिक्षा नै त्यस्तो औजार हो जसद्वारा हामी आउने पुस्ताको फ्रेमिङ गर्न सक्छौँ । विद्यालयको यो संरचना र बालबालिकाको सामाजिकीकरणको सुरुवाती चरण, यी दुईवटा अवस्था सांस्कृतिक पुनरुत्पादनमा महत्वपूर्ण प्रभाव पार्ने तत्व हुन् ।


विद्यालयको संरचना र सामाजिकीकरणको चरणसँग जोडिएको अर्काे महत्वपूर्ण कुरा भनेको पाठ्यपुस्तक हो । केही समयअगाडि पारिजातका कृतिहरू र उनको जीवनका विविध आयामका बारेमा अध्ययन गर्दै जाँदा साहित्यमा उनको प्रगतिशीलता र क्रान्तिकारी जीवनका बारेमा थाहा हुँदै गयो । पारिजातको जीवनी विद्यालयमा पनि पढेका थियौँ, तर विद्यालयमा उनको त्यो पाटोलाई पाठ्यपुस्तकले खोलिदिएन, न त शिक्षकले नै ।

 

साहित्य बजारको हल्लामा पनि ‘शिरिषको फूल’ मात्र गुञ्जिरह्यो, ‘अनिदो पहाडसँगै’ र अन्य कृति गुमनाम रहे । यो प्रसंगको आलोकमा हामीले बुझ्न सक्छौँ कि विद्यालयमा के पढाइन्छ भन्ने कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संरचनासँग जोडिएको छ । विद्यालयले त्यही कुरा सिकाउँछ जुन कुराले मौजुदा सामाजिक, राजनीतिक संरचनालाई सञ्चालन गर्न सहयोग गर्छ र यसका लागि अनुकूल वातावरणको सिर्जना गर्ने कामको सहायक बन्छ ।

 

तसर्थ, राज्यसत्ताको मूल चरित्र कस्तो छ भन्ने कुराले त्यसले कस्ता किसिमका नागरिकको निर्माण गर्ने परिकल्पना गर्छ भन्ने कुराको निर्धारण हुन्छ । त्यो परिकल्पना पाठ्यपुस्तकबाट थाहा पाउन सकिन्छ । आमरूपमा पाठ्यपुस्तकलगायतका अन्य पाठ्यसामग्री निर्माण गर्दा सत्तासीन वर्गकै सामाजिक, सांस्कृतिक मूल्यले प्रधानता पाउँछ र त्यहाँ त्यति कुरा मात्र ग्रहण हुन्छ जुन सत्ताको विरुद्धमा हुँदैन, साथै त्यसबाट सत्तालाई असुरक्षाको भय हुँदैन ।

 

संरचनाको एजेन्सीसँगको सम्बन्ध र भूमिकालाई पनि अलिकति खोतल्नु आवश्यक छ । अहिले शैक्षिक क्षेत्रमा क–कसको हालीमुहाली छ ? कुन लिंगको ? कुन क्षेत्रको ? कुन भाषा बोल्ने ? कस्तो संस्कृति अँगाल्ने ? कुन समुदाय र जातको ? एउटा शिक्षकले फरक लिंगीहरूप्रति राख्ने विचार, फरक जात, समुदाय र धर्मका बारेमा हेर्ने दृष्टिकोणले उसले कक्षाकोठामा गर्ने पाठ, विषयवस्तुको प्रस्तुति र व्याख्यालाई प्रभाव पार्दछ । त्यो कुरा विद्यार्थीले ग्रहण गर्ने स्थानसम्म आइपुग्दा पुनरूत्पादनको एउटा प्रक्रिया पूरा हुन्छ ।


अहिले बजार परम्परागत संस्कृतिमाथि गजधम्म परेर बसिरहेको छ र चारैतिर आँखा लगाइरहेको छ । बजारले आफ्नो स्वार्थ मुताबिक परम्परागत संस्कृतिलाई परिमार्जन गर्ने कि प्रयोग गर्ने छनोट गरिनै रहन्छ । बजारमा आउने सौन्दर्य प्रसाधनका विज्ञापन, सौन्दर्य प्रतियोगिताले सुन्दरताको मानक निर्माण गरिदिएका छन् र हाम्रा विद्यालय विशेषगरी, निजी विद्यालय यो गुरुत्व केन्द्रबाट टाढा छैनन् ।

 

बजारमा लिटिल प्रिन्स, लिटिल प्रिन्सेजजस्ता धेरै सौन्दर्य प्रतियोगीता छन् जो विद्यालयस्तरका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिन्छ । विशेषगरी, निजी विद्यालयहरूले यस्ता प्रतियोगिता जितेका आफ्ना विद्यार्थीहरूको तस्बिर प्रयोग गरी विज्ञापन पनि गर्न भ्याइसक्छन् । यस्ता प्रतियोगिताको छनोट र थप मूल्यांकनका मापदण्ड, त्यसभित्रका विशिष्टीकृत चरण र त्यसमा के गर्न लगाइन्छ भन्ने कुरालाई गौर गर्‍यौँ भने यसका पछाडिको दर्शन थाहा पाउन सकिन्छ । अझ प्रतियोगिताका प्रायोजकहरू को–को छन् भनेर हेर्ने हो भने थाहा हुन्छ, यस्ता प्रतियोगितासँग बजारको कस्तो स्वार्थ गाँसिएको हुन्छ भनेर ।

 

यो सन्दर्भबाट पुँजीवादी उत्पादन सम्बन्ध विकास भइरहेको वा विकास भइसकेको ठाउँका विद्यालयमा कसरी पुँजीवादी सांस्कृतिक मूल्यको पुनरूत्पादन हुन्छ भन्ने कुराको धमिलो तस्बिर देख्न सक्छौँ ।फ्रान्सका दार्शनिक पियर बोर्दुले कुनै पनि समाजमा सांस्कृतिक मूल्य र मान्यता, अभ्यास, आमबुझाइ कसरी एउटा पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुन्छन् भनेर अध्ययन गरेका छन् ।

मिसेल फुकोले विद्यालयलाई जेलसँग तुलना गरेका छन् । जस्तो कि, जेल र विद्यालय दुवैमा निश्चित अधिकारसम्पन्न संरचना हुन्छ, दुवैमा तोकिएको निश्चित ड्रेस लगाउनुपर्छ, दुवैमा शान्त र क्रमबद्ध भई बस्नुपर्छ ।

सांस्कृतिक पुँजीमा केन्द्रित हुँदै उनको तर्क मूलतः शैक्षिक व्यवस्थामार्फत प्रभुत्वशाली वर्गको संस्कृतिको पुनरूत्पादन हुन्छ भन्ने हो । शिक्षालाई दुई पुस्ता वा पक्षका बीचमा हुने हस्तान्तरणको वाहकका रूपमा हेरेका छन्, साथै यो प्रक्रियामा आर्थिक सम्बन्धभन्दा सामाजिक पक्षको क्षमतालाई जोड दिएका छन् । तर, हामीले यसलाई समग्रतामा हेर्नु आवश्यक छ ।

 

किनकि विद्यालय, त्यहाँ हुने नियमित शिक्षण सिकाइ वा अतिरिक्त गतिविधि शैक्षिक व्यवस्थाभित्रका विषय भए र शैक्षिक व्यवस्था समग्र अर्थ–राजनीतिक व्यवस्थाको एउटा पक्ष भयो । तसर्थ, समग्र रूपमा शैक्षिक व्यवस्थालाई त्यो समयको उत्पादन सम्बन्धले स्वरूप प्रदान गर्छ ।

 

शिक्षा वा शैक्षिक व्यवस्था आफैँमा उपरीसंरचनाको एउटा भाग हो । त्यसकारण, विद्यालयमा के–के सिकाइन्छ वा के–के गर्न लगाइन्छ भन्ने कुरा र समग्रमा यसको स्वरूपलाई हाम्रो समाजको आधार संरचना कस्तो किसिमको छ भन्ने कुराले निर्धारण गर्छ । यसरी औपचारिक पाठ्यक्रमका माध्यमबाट मात्र नभई विद्यालयभित्र वा कक्षाभित्र हुने अन्य बौद्धिक गतिविधिले पनि प्रभुत्वशाली सांस्कृतिक मूल्य–मान्यतालाई स्थापित गर्छन् ।

 

हाम्रो समाजमा रहेका प्रतिनिधि विद्यालयभित्र सञ्चालन हुने नियमित र अतिरिक्त क्रियाकलाप हाम्रो सामाजिक व्यवस्थाका आधार संरचनाका प्रतिबिम्बन हुन् जसले त्यो आधार संरचनामा टिकेका उपरीसंरचनाका अन्य अंशका मूल्यको पुनरुत्पादन गर्ने काम गर्छन् । विद्यालय शिक्षालाई जनपक्षीय बनाउन के गर्न सकिन्छ भन्ने छलफल पुरानै हो । साथै, आमरूपमा पनि विद्यालयलाई सुधार गर्नेसम्बन्धी बहस भइरहेका छन् ।

 

सरकारले विद्यालय सुधार परियोजना चलाइरहेको छ, तर सम्पूर्ण व्यवस्थाको एउटा अंगका रूपमा विद्यालय वा विद्यालय शिक्षा सुधारका आफ्नै सीमितता छन् । यही सामाजिक राजनीतिक व्यवस्थामा विद्यालय वा विद्यालय शिक्षा सुधार यही सत्ताका जरालाई मजबुत बनाउन गरिने हो र त्यही विश्वदृष्टिकोणलाई नै परिष्कार गर्ने हो । तसर्थ, विद्यालय वा समग्र शिक्षा क्षेत्रको सुधारका विषय व्यवस्था विरोधी मुद्दासँग जोडिनु आवश्यक छ ।