• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १० शनिबार ०९:२७:००
समाज

पुसको हिउँ शिला, माघको हिउँ बिला

२०७७ माघ १० शनिबार ०९:२७:००

हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला, र चैतको हिउँ फात्फुत ।’ तर, यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुसी देखिए । 

हिउँविना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि दश फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एकप्रकारको खुसी पनि भित्रिन्छ । किनकि हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि नै हो । समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ ।

सिमकोट गाउँपालिका–४ की रिता लामा भन्छिन्, ‘हिउँ पर्नु हाम्रा लागि शुभ संकेत पनि हो ।’ हिमपात हुँदा कृषि, वन, वातारवरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउँछन् । 


पहिला–पहिला प्रत्येक वर्ष ५ देखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो । जलवायु परिवर्तनका कारण केही वर्षअघिदेखि कम हिमपात हुन थालेपछि स्थानीयहरू चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो । पुुसको अन्तिम साता हिमपात हुँदा कृषकहरूको मुहारमा खुसी छाएको छ ।

सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामा सुनाउँछन्, ‘समयमै हिउँ पर्‍यो । अब खेती राम्रो हुन्छ ।’ 
समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिन्छ । बजार क्षेत्रमा अझ यसको जोखिम बढी हुन्छ । हिउँ एक जल उपचार पद्धतिको मुख्य स्रोत हो । हिउँ जडीबुटीहरूका लागि पनि अत्यावश्यक छ । 


एकातिर हिउँ जीवन धान्न चाहिन्छ । अर्कोतिर त्यही हिउँ दुःखको स्रोत पनि बन्छ । बुढाबुढी, बालबालिका र रोगीका लागि हिउँ पर्नु नराम्रो पनि हो । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ ।