• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राजकुमार दिक्पाल
२०७७ माघ १७ शनिबार ०६:४९:००
इतिहास

जो विद्रोहमा मारिए

२०७७ माघ १७ शनिबार ०६:४९:००
राजकुमार दिक्पाल

क्यानडाका इरोकी आदिवासीमध्येका कयुगा मुखिया देशकाहेलाई संसारकै पहिलो आदिवासी दूत मानिन्छ । उनले सन् १९२३ मा आफूलाई पहिचान गर्न ६ वटा राष्ट्रको प्रतिनिधित्व गरेर जेनेभामा लिग अफ नेसन्समा इरोकी र क्यानडाबीचमा भएको विवादलाई उठाएका थिए । यसबारे भिक्टोरिया टाउली कर्पोजको ‘हाउ द युएन डिक्लेरेसन इन् द इन्डिजिनियस पिपल्स गट अडोप्टेड’ (सन् २००७:४)मा पढ्न पाइन्छ ।

 

एक वर्षको वकालतबीचमा पनि उनलाई बोल्न दिइएन । त्यसपछि उनले स्विस जनतासमक्ष आफ्नो विचार राखेका थिए । देशकाहेको मृत्यु १९२५ मा भयो ।नेपालमा भने ‘आदिवासी’ शब्दको प्रयोग देशकाहेले लिग अफ् नेसन्समा उठाएको धेरैपछि मात्र भएको देखिन्छ । यस लेखकको हालसम्मको अध्ययनअनुसार विसं. २०१४ सालमा लेखक तिलबहादुर लोक्समले यो शब्द आफ्नो एउटा लेखमा प्रयोग गरेको देखिन्छ । तत्कालीन अ.ने. किराँत लिगका अध्यक्ष लोक्समले ‘किरातीहरू नेपालमा’ शीर्षकको लेखमा आदिवासी शब्द प्रयोग गरेका छन् । उनले ‘किराँतीहरू नेपालको सबैभन्दा पुरानो आदिवासी हुन् । हेमन्त भूमिमा स्वयम्भू मनुका एक मात्र पुत्र मंगोलका सन्तान किराँती भन्दछन्...’लगायतको प्रसंग परेको लिम्बू ल्यांग्वेज डेभलपमेन्ट एसोसिएसन (लिल्डा)ले प्रकाशन गरेको ‘पल्लो किराँत लिम्बुवानका मागहरू’ (२०५९:३७)मा पढ्न पाइन्छ । लिल्डाले छाप्नुअघि यो पुस्तिकाको पहिलो संस्करण बिबी चेम्जोङले विसं. २०१४ मा प्रकाशनमा ल्याएका आधारमा लोक्समले २०१४ सालमै आदिवासी शब्दको पहिलोपटक प्रयोग गरेको भन्ने दाबी यस लेखनमा गरिएको छ ।

 

प्रकाशनको शीर्षकमै र त्यसवेलाको मूलधारको सञ्चारमाध्यममा ‘आदिवासी’ शब्दको प्रयोग गर्ने पहिलो व्यक्तिचाहिँ नारदमुनि थुलुङ हुन् । उनले २०१८ सालमा यो शब्दको प्रयोग गरेको पाइन्छ । उनको ‘नेपालका आदिवासी किराँत ?’ शीर्षकको लेख २०१८ साल साउन २ गते सोमबार (पृष्ठ २)मा पढ्न पाइन्छ । 

 

लिग अफ् नेसन्स वा त्यसपछिको विकसित रूप संयुक्त राष्ट्र संघमा आदिवासीहरूको सवाल उठ्नुभन्दा धेरै वर्षअघि हालः नेपालमा सूचीकृत आदिवासीहरूले आफ्नो पहिचान तथा स्वाधीनताका लागि ठूलाठूला विद्रोह गरेका थिए । उनीहरूमध्ये हजारौँले ज्यान गुमाएका थिए । यस लेखनमा विसं. १९३३ अघिको आदिवासी विद्रोहका बारेमा मात्र चर्चा गरिएको छ ।

 

चैनपुरमा लिम्बू विद्रोह
लिम्बूहरूको आफ्नो भूमि र स्वायत्तताको जरा लामो छ । विसं. १८३१ मा गोरखा अधीनस्थ भए पनि लिम्बूहरूले आफ्नो गुमेको भूभाग फिर्ता लिन उनीहरूले लामो समय संघर्ष गरेका थिए । विजयपुरमा लिम्बूहरूको देवान (मुख्यमन्त्री) पदमा मुख्य अधिकार रहन्थ्यो । पल्लो किराँत लिम्बुवानमा विजयपुरमा रही सेनहरूले राज्य गरे पनि उनीहरू नाम मात्रका राजा हुन्थे । यहाँका अधिपतिचाहिँ विभिन्न गढीमा रहेर त्यहाँका प्रशासन चलाउने लिम्बू सुब्बाहरू नै हुन्थे । 

 

१८३१ सालको गोरखाली आक्रमणपछि लिम्बूहरू दुई भागमा विभाजित भए । कतिपय लिम्बूहरू सिक्किमको राजनीतिक शरणमा पुगे भने कतिपयचाहिँ गोरखालीसँग मिले ।

 

विसं. १८४८ सालमा लिम्बूहरूले सिक्किमी र लेप्चाहरूको सहयोगमा ठूलो विद्रोह मच्चाएका थिए । त्यहाँ हजारौँ विद्रोहीहरूको ज्यान गयो । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २४ (श्रावण २०३०:२)मा किराँती मुलुकमा लिम्बूहरूले कुल गर्दा त्यो विद्रोह दबाउन गोरखाली सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल कम्पनीसमेत लिएर विजयपुर पुगेको पढ्न पाइन्छ । यसअनुसार कुल गर्ने अर्थात् विद्रोही योद्धाको संख्या ठूलो छ भन्ने अर्जी आएपछि काठमाडौंबाट काजी देवदत्त थापाको नेतृत्वमा सैन्यशक्ति विद्रोह दमनका खटाइयो । उनीहरूले सिद्धिपुरमा विद्रोहीहरूमध्ये कतिपयलाई काटे, कतिपयलाई भगाए । हाल संखुवासभामा रहेको चैनपुर नै सिद्धिपुर हो ।

 

यो विद्रोह दमनपछि विद्रोहीपक्षमा कति क्षति भयो भन्ने थाहा पाउन एउटा ऐतिहासिक पत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । तत्कालीन राजा रणबहादुर शाहले आफ्नो सगुता राज्य जाजरकोटका राजा गजेन्द्र शाहलाई विद्रोह दमनपछि लेखेको पत्र पढ्दा विद्रोही पक्षको क्षतिबारे केही तस्बिर स्पष्ट हुन आउँछ ।

 

योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह’ (२०२२:१२) मा छापिएको विसं. १८४८ चैत्र शुल्क २ रोज ७ मा लेखिएको यो पत्रमा ‘विजैपुरको सुब्बा पूर्णानन्द पाध्याले १।१ कोंपनि तिलं(गा) अरु ढलेत सिपाही लि चयनपुरको गढी सिद्धिपुरमा षलंगा बारी वस्याका बैरीकन हानेछ बग्गा पनि लियो भोट्याका सरदार जना सात समेत ४।५ सय वैरी कत्तल गरेछ । ञहाँबाट गुहारलाई पठायाका पलटन फौज पुगी सामील भई सिद्धपोखरिमा ३ ठूला ठूला षलंगा बारी बस्याका वैरीलाई हाम्राले २ मुष गरी छेका पारी हान्याछन यक पनि उम्कन नपाइए कत्तल गर्‍याछन् षलंगैभित्र ५ सय वैरीका गिड पर्‍या छन् बाहिर अन्य बस्याका वैरिकन हाम्रा सिपाहीले काट्दै थिया गरे एती काटीया’ भन्ने उल्लेख छ ।

 

यसअनुसार सिद्धिपुर (चैतपुर)मा पहिलो युद्धमा चार पाँच सय र त्यसपछि सिद्धपोखरीमा रहेका विद्रोहीलाई काठमाडौंबाट गएको थप सैन्य बलले पाँच सयलाई मारेको भन्ने स्पष्ट देखिन्छ । यताबाट हिसाब गर्दा लिम्बूहरूको यस विद्रोहमा सिक्किमी र लेप्चासहित एक हजार लिम्बूहरूको ज्यान गुमाएको देखिन्छ ।

हजार तामाङ काटिए

विसं. १८५० मा तामाङहरूले खासगरी नुवाकोटमा ठूलो विद्रोह गरेका थिए । यो विद्रोह जेठ महिनाको पहिलो साताबाट सुरु भएको थियो । एक–दुईजना तामाङले आफूलाई ‘अवतारी हुँ’ भन्दै नालदुम पश्चिम र वेत्रावतीपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए । उनीहरूसँग साँगाचोकका लामाले विमति जनाए । तिनको हत्या भयो । यो खबर पाएर त्यो विद्रोह दबाउन सरकारले दुई पल्टन सैनिक पठायो । केही तामाङलाई काटियो । 

 

फेरि त्यसको दुई महिनापछि तामाङहरूले निकै ठूलो विद्रोह गरे । साउन १० गते शिखरबेँसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भए । उनीहरूले लुट मच्चाउन थालेको खबर सरकारलाई भयो । यो खबरपछि फौज पठाई एक हजारजनाको ज्यान लिइयो । यो ऐतिहासिक तथ्य इतिहासकार दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ६४ मा ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई विसं. १८५० मा लेखेको अप्रकाशित पत्र’मा पढ्न पाइन्छ ।

 

यसरी विद्रोह दमन गरिएपछि त्यहाँका तामाङहरूलाई आआफ्नो थातथलोमा रहन थामिदिएका पत्रहरू पनि पढ्न पाइन्छ । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’को पूर्णांक ७५ (मार्ग २०४५:१८) मा ‘विद्रोहपछि विसं. १८५० मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शीर्षकमा ऐतिहासिक पत्र प्रकाशमा ल्याएको पत्रमा यससम्बन्धी तथ्य खुल्न आउँछ । विसं. १८५० साउन सुदि २ रोज ४ मा जारी गरिएको पत्रमा ‘...आगे. लच्याङका मुःर्वि प्रजापति तिमीहरूका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरुको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत.....को टहल परापूर्वको रित गर.’ भन्ने परेको छ ।

 

यस्तै, व्यहोरा भएका रुक्काहरू विसं. १८५० श्रावण सुदी ६ मा फोकटपुर, तापेका, सानोगाउँ, धैवुङ, कामचोक, उपल्लो गेर्खु, हिल्पा, भुलुटार–जेवाङ, कविलास, चोग्दे, पुदिकेतिक्पा र चिद्याङका मुर्मी (तामाङ)हरूको नाममा पनि जारी गरिएको ‘रेग्मी रिसर्च सेरिज’ (सन् १९८४ डिसेम्बर : १२९) पढ्दा थाहा हुन्छ । यो विद्रोहको फैलावट निकै ठूलो थियो ।

 

रेग्मी (उही)अनुसार पाँचसय खोला क्षेत्रका बासिन्दाका नाममा विसं. १८५० श्रावण बदी १२ मा जारी गरिएको रुक्कामा मुर्मी समुदाय विद्रोहमा सामेल भएकाले समातिएका र काटिएका उल्लेख गर्दै यदि कुनै विद्रोही त्यहाँ लुकेर बसेका रहेछन् भने समातेर अमालीमा बुझाउनसमेत आदेश दिइएको थियो ।

 

माझकिराँतमा मारिनेहरू
माझकिराँतमा चौदण्डी गढीमा रहेर राजाका रूपमा शासन त सेनहरूले नै गर्थे । तर, शासन सञ्चालनमा यहाँका किराँत खम्बु (राई)हरूको प्रभाव थियो । उनीहरूको प्रभावलाई समाप्त गर्ने खार्पाली पोखरेलहरूले नुवाकोटमा राज भइबसेका पृथ्वीनारायण शाहलाई आमन्त्रण गरे । उनलाई चौदण्डकै काजी स्वरूपसिंह कार्कीले साथ दिए । हरिनन्द पोखरेलले दूधकोसी तारेर आवश्यक नगदसमेत खर्च गोरखाली सैन्यलाई प्रदान गरी खम्बु राईहरूको प्रभावलाई समाप्त मात्र गराएनन्, माझकिराँतलाई गोरखा अधीनस्थ बनाउन ठूलो सहयोग गरे ।

 

माझकिराँत हात लिइसकेपछि पृथ्वीनारायण शाहले उनले सम्मान गर्ने गुरु योगी भगवन्तनाथलाई लेखेको पत्रमा ‘...आशिर्वाद शिर चढाईकन किराँतको किराँतका काज गर्‍या थ्यौँ. आफ्ना आशिर्वादले अरुण साँध लाग्यो. हजार बैरी काटियो. सये चार बैरी नदीमहा बगी म-यो. सय चौध जहान बच्चा पकडिया. वल्लोकिरात फत्ते भयो. किरात फत्ते भयाको पगडी एक चढाई पठायाको पहुचला.’ भन्ने उल्लेख छ ।

 

योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह’मा (२०२२:६)मा प्रकाशित यो पत्रअनुसार यो युद्धमा एक हजार खम्बु मारिए । चार सय नदीमा हेलिए । १४ सयजना महिला र बालबालिकालाई पक्राउ गरियो ।

 

माझकिराँत गोरखा अधीनस्थ भएको २४ वर्षपछि यहाँका खम्बु राईहरूले अरू जातिसँग मिलेर विद्रोह गरेको पाइन्छ । इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२:९९–१००) मा यस विद्रोहका बारेमा स्पष्ट हुने एउटा सरकारीपत्र प्रकाशित छ । 

 

विसं. १८६४ को यो विद्रोहलाई इतिहासकार नेपालले ‘बाग्यान पर्व’ भनेका छन् । यो पर्व खोटाङ र भोजपुरमा भएको थियो । नेपाल (उहीः ७४–७५)अनुसार यस विद्रोहमा सामेल मानिस हेर्दा बाहुन, क्षेत्री, राई, घर्ती सबै भएकाले बासट्ठीहरण र किपटहरणविरुद्ध यो विद्रोह भएको थियो । त्योवेला माझकिराँत जुरुक्कै उठेको थियो ।

 

रणजित पाँडे, भीमसेन थापालगायतले केन्द्रबाट विद्रोह दवाउन त्यहाँ पुगेका हवल्दार केहरसिंह थापालाई दिइएको आदेशपत्रमा विद्रोहमा सामेल भएका दत्तु उपाध्याय कोइराला, पशुपति जैसी, पीताम्बर उपाध्याय, रामभद्र उपाध्याय, प्रल्लाद जैसी र भगिरथ ढुंगानाको चारपाटा मुडी, जात पतित गरी सर्वस्वहरण गर्न आदेश दिइएको छ ।

 

यस विद्रोहमा दुई क्षेत्री अटल खत्री र नरी बस्नेतलाई काटियो । नरीको सर्वस्व गरियो भने अटल खत्रीको जेठो छोरो त्यसवेला दरबारमा काम गर्ने भएकाले उनले पाउने अंशचाहिँ बाँकी राखियो ।  यो विद्रोहमा पाँचजना घर्तीहरू पनि सामेल थिए । कनकसिंह घर्ती, केसर घर्ती, धीर्जे घर्ती, बन्दु घर्ती र गजसिंह घर्तीलाई पनि काटियो । उनीहरूका छोराको अंश र कविलालाई छाडियो ।

 

विद्रोहमा सामेल ६ जना खम्बू (राई) पनि काटिए । यो विद्रोहमा अटल राई, भरथसिंह राई, कंठवीर राई, चामुफाल्या राई, सुजा राई र दिलिमी राई सामेल भएको पाइन्छ । तीमध्ये अटल राई, भरथसिंह राई र कंठवीर राईले विद्रोहमा संलग्न राईहरू मात्रै होइन, सम्पूर्ण १९ जना विद्रोहीमध्ये सबैभन्दा ठूलो सजाय पाए । ती तीनजना काटिए नै, उनीहरूको अंश पनि सर्वस्व हरण गरियो । उनीहरूका सन्तान पनि मासिए ।

 

दसैँ नमान्दा मृत्युदण्ड
धनकुटा नगरका आदिवासी आठपहरिया राईहरूमा दसैँको अवज्ञा गर्दा तत्कालीन राणा शासकबाट मृत्युदण्ड पाउनेमा रामलिहाङ र रिदामाको नाम आउँछ । उनीहरूलाई झुन्ड्याएर मारिएको इतिहास पाइन्छ । एक पुस्ताबाट अर्को पुस्तामा अनुश्रुतिगत रूपमा सर्दै आएको यो इतिहासलाई पुष्टि गर्ने उनीहरूको समयको लिखत हालसम्म प्राप्त नभएकाले यो प्रकरण अनुश्रुतिगत इतिहासका रूपमा स्थापित हुन पुगेको छ । यो विद्रोह विसं. १९३३ मा भएको अनुमान छ ।

 

आठपहरिया राईहरूको मौलिक सांस्कृतिक सूचीमा दसैँ पर्दैन । तर, दसैँ मान्न आदेश दिइएको लिखत प्रमाण भने पाइएको छ । ऐतिहासिकपत्रहरूको संकलक तथा मुन्धुमविज्ञ भरत तुङ्घङ (दिवंगत)बाट यो लेखकले प्राप्त गरेको विसं. १८९२ वैशाखको राजा राजेन्द्रविक्रम शाहले धनकुटाका वहिम्दु सिंह राईलाई दिइएको रुक्कामा बडादसैँ पञ्चवली पूजाका लागि २२ मुरीको गुठी स्थापना गरिदिएको उल्लेख छ । यसबाट क्रमशः आठपहरिया राईहरूमा दसैँ मान्नुपर्ने बाध्यता आइलागेको र यसको अवज्ञा गर्दा दुईजनाले मृत्युदण्ड पाएको अनुमान गर्न सकिन्छ ।

 

लखन थापाका सहयोद्धाहरू
लखन थापा मगर पहिलो नेपाली सहिद हुन् । लखन थापाले सेनाको जागिर छाडेर आफ्नै जन्मभूमि गोरखाको बुङ्कोटमा फर्की विद्रोहको तयारी गरेका थिए । उनले आफूलाई राम शाहकालीनसिद्ध लखन थापाको अवतार भनी प्रचार गरी आफूलाई मनकामनादेवीले जंगबहादुर राणाको हत्या गर्न आदेश दिएको बताउँथे ।

 

सशस्त्र विद्रोहका लागि उनले ठूलो संख्यामा सैन्यशक्ति र हातहतियार संकलन गरेका थिए । बुङ्कोटमै एउटा किल्ला नै निर्माण गरी त्यहीँबाट मनकामनाको पूजा चलाइदिएका थिए ।

 

जंगबहादुरका छोरा पद्मजंग राणाको पुस्तक ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४:२८४) पढ्दा देवीदत्त पल्टन लगाएर लखन थापाको विद्रोह दमन गर्दा लखन थापासहित उनको १५ सय कट्टर समर्थकलाई पक्राउ गरेर राजधानी ल्याइएको थाहा हुन्छ । पक्राउ पर्नेको सङ्ख्या नै यति ठूलो देखिएकाले यो विद्रोह सामान्य खालको थिएन भन्ने स्पष्ट हुन्छ ।

 

यो विद्रोहमा लखन र उनका ६ जना कट्टर समर्थकलाई झुन्ड्याएर मारिएको थियो । यसरी मृत्युदण्ड पाउनेहरूमा हालसम्म लखन थापा र जहरे चुमी (जहरसिंह चुमी)को नाम मात्र लिइने गरिएको छ ।

 

लखन थापाको गतिविधिबारे सरकारी पक्षलाई प्राप्त भएको सूचना खुल्ने एउटा महत्वपूर्ण ऐतिहासिक पत्र ‘रेग्मी रिसर्च सेरिज’को वर्ष १२ अंक ५ (डिसेम्बर १९८०:७०–७१)मा छापिएको छ । विसं. १९३२ चैत सुदी १ मा मेजर क्याप्टेन शमशेरबहादुर थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री, बदलसिंह बस्न्यातलगायतले लखन थापाको गतिविधिसम्बन्धी सूचना सरकारलाई जाहेर गर्दा लखन थापासँगै अजपसिंह थापा पक्राउ परेको देखिन्छ ।

 

योजना सफल भए जंगबहादुरको हत्यापछि शाहज्यादा उपेन्द्रविक्रमलाई राजा बनाउने र आफू प्रधानमन्त्री बन्ने योजना बनाएका लखन थापाले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जीतमान गुरुङ र जुठ्या थापा मगरलाई कर्णेल पद दिने प्रतिज्ञा गरेका थिए । 

 

यो विद्रोह दमन गरी मृत्युदण्ड दिइँदा सातजनालाई मृत्युदण्ड दिइएको प्रचारलाई मनन गर्दा लखन थापाबाट महत्वपूर्ण जिम्मेवारी पाएकाहरूले नै मृत्युदण्ड पाएको निष्कर्षको नजिक पुग्न सकिन्छ । यो विद्रोहमा लखन थापा मगरका साथै अजपसिंह थापा मगर, जहरे चुमी मगर, विराज थापा मगर, जीतमान गुरुङ र जुठ्या थापा मगरले नै मृत्युदण्ड पाएको हुन सक्छ । 

 

बाँकी एकजनाचाहिँ अच्छामी उपथरका अर्का थापा मगर हुन सक्छ । यसबारे सहिद लखन थापा मगर प्रतिष्ठानका उपाध्यक्ष उमेशबहादुर राना मगर गोरखाको बुङ्कोट भ्रमणमा जाँदा उनले त्यहाँ भेटेका तेजबहादुर अच्छामी मगरले आफ्ना पुर्खा पनि उक्त विद्रोहमा मारिएको बताएको आधारमा मृत्युदण्ड पाउने सातौँ व्यक्ति अच्छामी मगर हुन सक्छ ।

 

(राना मगरसँगको २०७७ साल मंसिर १९ गते गरिएको कुराकानीका आधारमा) । उनीहरूलाई १९३३ को पोखी (पुस ?)मा मृत्युदण्ड दिइएको इतिहासकार पुरुषोत्तशमशेर जबराको पुस्तक ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ (२०६४:१८०)मा उल्लेख छ । लखन थापाले गरेको विद्रोहमा अधिकाँश मगर संलग्न भएकाले यो विद्रोहलाई मगर विद्रोह पनि भन्न सकिन्छ ।

 

बौद्ध विद्रोहीको जेलमै मृत्यु
जगबहादुर राणाको जीवनको अन्तिम समयतिर गोरखाका एकजना बौद्ध धर्मावलम्बीले आफूलाई ‘नौ सरकार बौद्ध बादशाह’ घोषणा गरी विद्रोह सुरु गरे । उनले आफ्ना अनुयायी पनि जम्मा गर्न थाले । विसं. १९३३ मा सुकदेव गुरुङले यस्तो विद्रोह मच्चाएका थिए । उनी तत्कालै पक्राउ परे । अदालत इटा चपलीमार्फत फैसला भई उनी जेल परे । १९३३ चैतमा उनले जेलमै प्राण त्याग गरे । 

 

इतिहासकार त्रिरत्न मानन्धरको पुस्तक ‘नेपालको इतिहासमा जंगबहादुर’ (२०४८:१४५–१४७)मा सुकदेव गुरुङको मृत्युसम्बन्धी तथ्य खुल्ने एक लिखत प्रकाशित छ । जो यस्तो छः

 

अदालत इटा चपलीमार्फत नौ सर्कार बौध वादशाह भञा भंन्या मुद्दामा पक्री आई कैद पर्ने गोर्षा बसन्या सुकदेव गुरुं जरोको वेथाले मर्दा फाल्नाके जना २ के ज्याला दिनु भंन्या ३३ साल चैत्रवदी ५ रोज १ को श्री ३ का पूर्जी बमोजीं हस्ते माहाने वलवीर सिं जना १ के २ आनाका दर्ले जम्माº। (चार आना)।

 

जेलमै ज्वरो आई मृत्यु हुँदा उनको शव फ्याक्नका लागि महान् र बलवीर सिंहलाई ज्यालाका लागि विसं. १९३३ चैत वदी ५ आइतबार श्री ३ को आदेशबमोजिम प्रति कामदार दुई आनाका दरले पारिश्रमिक दिइएको व्यहोरा यो लिखतबाट खुल्न आउँछ ।

 

मानन्धर (उही : १४७)ले जेलमा कडा यातनाका कारण सुकदेवको मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । तर, सुकदेवको मृत्युले उनले सुरु गरेको बौद्ध विद्रोह भने रोकिएन । सुपति गुरुङ अर्का विद्रोही भएर निस्किए । उनले पनि आफूलाई बौद्ध बादशाह घोषणा गरी उत्पात मच्चाउन थालेका थिए ।

 

सुकदेवको मृत्यु हुनुअघि नै जंगबहादुरको मृत्यु भइसकेको थियो । भर्खरै प्रधानमन्त्री बनेका रणोद्दीपसिंहले सुपति गुरुङलाई पक्राउ गर्न आदेश दिए । तत्कालीन कमान्डर इन चिफले विसं. १९३४ असार वदी १० शनिबार कप्तान रन्धोज अधिकारीलाई लेखेको पत्रमा पक्राउ गर्न गएकाहरूले जाहेर गरेको तथ्य विवरणअनुसार सुपति गुरुङलाई पक्राउ गर्न गएकाहरू असफल भए । उनीहरूले गोरखा सातघरदेखि पसी लमजुङ, कास्की, अठार सय खोलासम्म खोज्दा पनि सुपति फेला पर्न सकेनन् (मानन्धर, उही : १४५–१४६) ।

 

सुकदेवको मृत्युअघि तत्कालीन गुरुङ पल्टनमा एक जमदारलाई मारिएको थियो । ती जमदारले पल्टनभित्र आफ्ना साथीहरूलाई समेत सामेल गरी जंगबहादुरको हत्या गर्ने गोप्य योजना बनाएका थिए । यो गोपनीयता भंग भएपछि परेडको नाममा गुरुङ पल्टनका सबैलाई विसं. १९१४ जेठ १२ गते टुँडिखेलमा जम्मा हुन लगाइयो । यदि अपराध साबित भयो भने सबैलाई त्यहीँ खत्तम गर्ने योजनाअनुसार तोप पनि ल्याएको थियो । त्यहीबीच आरोपित कैदीलाई ल्याइयो । गुरुङ सैनिक जवानहरूले एक–आपसमा खासखुस गरी ती जमदारलाई टुक्रा–टुक्रा हुने गरी काटेर जंगबहादुरप्रति बफादारिता जनाएको एचए ओल्डफिल्डले लेखेको ‘स्केजेज फ्रम नीपाल’ (सन् २००५:१९–२०)मा उल्लेख छ ।