• वि.सं २०७६ असार ३१ मंगलबार
  • Tuesday, 16 July, 2019

पत्रकारिता सर्वोत्तम पेसा

२०७५ चैत ३० शनिबार ०९:०१:०० | काठमाडाैं

ग्याब्रियल गार्सिया मार्खेज समाचार टाइप गर्दै

दिवंगत कोलम्बियाली लेखक ग्याब्रियल गार्सिया मार्खेजका ‘लभ इन दी टाइम अफ कोलेरा’, ‘नो वन राइट्स टु दी कर्नेल’लगायतका थुप्रै यथार्थवादी धारका उपन्यास छन् । तर, सर्वाधिक उल्लेख गरिने उनको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’मा भने यथार्थ र स्वैरकल्पनाको बेजोड मिश्रण गरिएको छ । त्यसैले त जादूमयी यथार्थवादका पर्याय मानिन्छन् उनी । आफ्ना बाजेबज्यैबाट सुनेका दन्त्यकथा, कहानीबाट ल्याटिन अमेरिकाको इतिहास र राजनीतिप्रति उनको चाख बढ्दै गयो । विपरीत ध्रुवका राजनीतिज्ञ फिडेल क्यास्ट्रो र विल क्लिन्टन दुवैसँग उत्तिकै घनिष्ठ थियो उनको मित्रता । मारियो भार्गास लोसासँगको उनको ‘लभ–हट रिलेसन’ले पनि राम्रै चर्चा पायो साहित्यवृत्तमा । उम्दा उपन्यास मात्र होइन, उनका गैरआख्यान पनि उत्तिकै उत्कृष्ट छन्– कला र विचार दुवै दृष्टिमा । ‘लिभिङ टु टेल अ टेल’ उनको सशक्त संस्मरण हो । तर, उनको करिअरको सुरुवात पत्रकारिताबाट भएको थियो । ‘आई एम नट हिअर टु गिभ अ स्पिच’ संग्रहमा समावेश उनको निबन्ध ‘वेस्ट जब इन दी वल्र्ड’को नेपाली अनुवाद हो यो :

५० वर्षअघि पत्रकारिताको कुनै विद्यालय थिएन । समाचारकक्षमा, छापाखानामा, स्थानीय क्याफेमा, अनि शुक्रबारे बसिबियाँलोमा पत्रकारिताको कौशल सिक्थ्यौँ हामी । पत्रिका कार्यालय आफैँमा एउटा कारखाना मानिन्थ्यो, जहाँबाट पत्रकार जन्मिन्थे । त्यहीँबाट समाचार छापिन्थे, विनाझन्झट । हामी पत्रकारहरू सँगसँगै हुन्थ्यौँ । एकैखालको हुन्थ्यो हाम्रो जीवनशैली । आफ्नो काममा यति डुबेका हुन्थ्यौँ कि एक–आपसमा अकारण गफिने फुर्सद हुँदैनथ्यो । 

अन्तर्वार्तामा टेप रेकर्डर प्रयोग गर्नु उपयुक्त होइन । रेडियो र टेलिभिजनको सन्दर्भमा अलग कुरा हो । तर, छापाका सञ्चारमाध्यम पनि त्यही भ्रम पालिरहेका छन्– साँचो कुरा पत्रकारबाट होइन, अन्तर्वार्ता दिनेबाट आउँछ । पत्रकारले नोटबुकको प्रयोग गर्नु नै उत्तम विकल्प हो । 

निजी जीवनका लागि हामीसँग समय थिएन । कामको चापबीच पनि हाम्रो सम्बन्ध गाढा थियो । सम्पादक समूहको बैठक बस्ने निश्चित तालिका त थिएन । तर, हरेक साँझ ५ बजे सबै सहकर्मी एकैठाउँ भेला हुन्थ्यौँ, कफी पिउने बहानामा । दिनहुँ झेल्नुपर्ने तनावबाट केहीबेर भए पनि मुक्ति मिल्थ्यो त्यो बसाइबाट । खुला छलफल गथ्र्यौं त्यसवीब । पत्रिकामा छापिएका हरेक खण्डका जल्दाबल्दा विषयउपर व्यापक समीक्षा हुन्थ्यो । त्यही छलफलबाट आगामी अंकमा समावेश गरिने सामग्री टुङ्गो लगाइन्थ्यो ।

हामीले काम गर्ने पत्रिकाका तीन विभाग थिए ः समाचार, विशेष लेख (फिचर) अनि सम्पादकीय । साह्रै मर्यादित र संवेदनशीलचाहिँ सम्पादकीय विभाग नै थियो । रिपोर्टरलाई त तल्लो दर्जाकै ठानिन्थ्यो । प्रशिक्षार्थी पत्रकार र समाचार संकलकबीचको हुन्थ्यो उसको हैसियत । समय र अनुभवले सिकाउँदै गयो– पत्रकारिताको स्नायुकेन्द्र अर्कै किसिमबाट चल्दोरहेछ । १९ वर्षकै उमेरमा सम्पादकीय लेखकको रूपमा मैले काम थालेँ । मेरो निरन्तर खटाइका बाबजुदपछि मलाई कब रिपोर्टर (सिकारु) मा झारियो ।

क्रमशः पत्रकारिताको औपचारिक पढाइ सुरु भयो, नयाँ प्रविधि भित्रिँदै गए । पत्रकारितामा स्नातक गरेकाहरू देखापर्न थाले– तर व्याकरण र वाक्य विन्यासको छेउकुनो थाहा नभएका । कुनै गम्भीर विषयसँग अन्तर्निहित अवधारणाबाट पूरै बेखबर । पत्रकारिता पेसाप्रति नै गलत धारणा बोकेका । ‘स्कुप’ समाचार नै सबै हो, त्यत्ति जानेका । मानवीय मूल्यमान्यताको रत्तिभर कदर नभएका ।

पेसाका रूपमा पत्रकारिता एकाएक उदाएको भने होइन । पत्रकारहरू प्रविधिको जञ्जालमा कुहिरोको कागझैँ हराएका थिए । कुनै नियन्त्रणविना पत्रकारितालाई अन्धाधुन्ध अगाडि बढाइरहेका थिए । अझ प्रस्ट भन्नुपर्दा, सतही आधुनिकीकरणका नाममा आक्रामक र अस्वस्थ प्रतिस्पर्धामा लागेको देखिन्छ, अखबार उद्योग–पैदल सिपाहीजस्ता दिनरात खट्ने रिपोर्टरलाई आवश्यक तालिम दिई सक्षम बनाउन छाडेर । पेसागत भावना बढाउने सहभागिताको प्रचलित अभ्यासलाई चटक्कै बिर्सेर । एकलकाँटे फिरन्तेहरूका लागि निरापद प्रयोगशाला बनेका छन् समाचारकक्ष । यी यस्ता कक्ष हुन् जहाँबाट बाहिरी दुनियाँसँग त सम्पर्क बढ्दै छ, तर पाठकका हृदयसँग विरलै संवाद हुन्छ । अमानवीकरणको यो होडले निकै गति लिँदै छ ।

डिजिटल सुगाझैँ टेप रेकर्डरले सुन्छ अनि दोहोर्‍याउँछ, तर कहिल्यै सोच्दैन । यो बफादार त छ, तर यसको हृदय छैन । अन्तर्वार्तामा टेप रेकर्डर प्रयोग गर्नु उपयुक्त होइन । रेडियो र टेलिभिजनको सन्दर्भमा अलग कुरा हो ।

टाइपराइटर र टेलेक्सको प्रयोग हुुनुअघि रेडियोमार्फत विश्वभरका खबरहरू संकलन गरिन्थ्यो । यावत् घटनाचक्रबारे चाख राख्ने लेखकले तिनै खण्डित सूचनालाई एकत्रित गर्थे । त्यसैमा भूमिका र अन्य सान्दर्भिक विषयहरू थप्थे । सम्पादकीय लेखनको कामचाहिँ अरूले गर्न पाउँदैनथ्यो । प्रकाशकको एकल अधिकार रहन्थ्यो त्यसमा । नबुझिने खालका लम्बेतान सम्पादकीय लेख्थे प्रकाशक सधैँजसो । त्यसलाई सरल बनाउने काम टाइप गर्ने कर्मचारीको हुन्थ्यो ।

आजकल त तथ्य र विचार एक–आपसमा जेलिएका हुन्छन् । समाचार रिपोर्टिङमा समेत प्रतिक्रिया हुन्छ । तथ्यहरूको अत्यधिक प्रयोग गरिन्छ सम्पादकीयमा । नतिजा त्यति फलदायी देखिँदैन । त्यसैले त यो पेसा धरापमा परेको छ । जानीजानी वा अन्जानमा गरिएका गल्ती, दुराशयसहित गरिएको तोडमोड अनि घातक रूपान्तरणले त झन् समाचार सामग्रीलाई खतरनाक हतियारमा परिणत गरिदिएको छ ।

परिचय खुलाउन नचाहने ‘जानकार स्रोत’ वा ‘सरकारी अधिकारी’ वा सबै जान्ने, तर कसैले नचिन्ने पर्यवेक्षकका भनाइले त सबै प्रकारका मनोमानी र ज्यादतीलाई ढाकछोप गर्न सघाउँछन् । दोषी उन्मुक्त हिँड्छ, स्रोत खुलाउन नपर्ने अधिकारको बुँदा रट्दै । ऊ आफैँ उक्त स्रोतबाट बलिको बोको बनाइएको पनि हुन सक्छ । स्रोतको इसारामा सूचना चुहाएको पनि हुन सक्छ । म विश्वस्त छु, खराब पत्रकारहरूले त्यस्ता स्रोतलाई आफ्नै ठान्छन् र बोकी हिँड्छन् । खासगरी सरकारी स्रोत छ भने काल्पनिक बुट्टा भर्छन्, यसको पक्षपोषण र मलजलसमेत गर्छन् । कालान्तरमा भयानक जटिलतातिर मोडिन्छ घटना, वास्तविक स्रोतबाट टाढिन्छ । 

अर्को दोषी काम टेपरेकर्डरले गरेको छ । यसको आविष्कार हुनुअघि सामान्य तीन चिज भए पुग्थ्यो । नोटबुक, स्पष्ट मान्यता र एकजोडा कानले नै यो काम राम्ररी गर्थे । यिनकै उपयोग गर्दै स्रोतले बताएका विषयहरू ध्यानपूर्वक सुन्थ्यौँ हामी रिपोर्टर । टेप रेकर्डरको पेसागत र नैतिक निर्देशिका भने त्यतिवेलासम्म व्यवहारमा आएको थिएन । युवा रिपोर्टरहरूलाई बताउनु जरुरी छ– टेप रेकर्डर मानव मस्तिष्कको विकल्प हुन सक्दैन । नोटबुकको विकल्प भने अवश्य मान्न सकिन्छ ।

डिजिटल सुगाझैँ टेप रेकर्डरले सुन्छ अनि दोहो¥याउँछ, तर कहिल्यै सोच्दैन । यो बफादार त छ, तर यसको हृदय छैन । टेप रेकर्डरमा जस्ताको तस्तै सुरक्षित सामग्री पत्रकारले संकलन गरेकोजस्तो विश्वस्त कहिल्यै हुन सक्दैन । पत्रकारले त छलफलमा सहभागीका हरेक शब्दलाई ध्यानपूर्वक सुन्छ, सँगसँगै पर्गेल्छ अनि आफ्नो ज्ञान र अनुभवको कसीमा त्यसको निरूपण गर्छ । 

अन्तर्वार्तामा टेप रेकर्डर प्रयोग गर्नु उपयुक्त होइन । रेडियो र टेलिभिजनको सन्दर्भमा अलग कुरा हो । तर, छापाका सञ्चारमाध्यम पनि त्यही भ्रम पालिरहेका छन्– साँचो कुरा पत्रकारबाट होइन, अन्तर्वार्ता दिनेबाट आउँछ । पत्रकारले नोटबुकको प्रयोग गर्नु नै उत्तम विकल्प हो । यसो गर्दा कुराकानीको क्रममा उसले थपथाप गर्न पाउँछ, विवेकसम्मत । टेप रेकर्डरको प्रयोगलाई चाहिँ अनिवार्य साक्षीका रूपमा सीमित गर्न सकिन्छ । पेसागत दक्षताको अभावमा हाम्रा मूल्यमान्यतामा ह्रास आएको पक्कै हो । यस्तै कारणले गर्दा त हो नि, आजको पत्रकारिताको अवस्था खस्किँदै गएको ।

पत्रकारिता विधाको दुर्भाग्य के भने तालिम अवधिमा केही कामकाजी ज्ञान त दिइन्छ, तर पेसागत मर्यादाबारे केही सिकाइँदैन । यस विधामा दिइने तालिम तीन मूलभूत सिद्घान्तमा आधारित हुनुपर्छ । पहिलो, पत्रकारमा इच्छाशक्ति र क्षमता दुवै हुनुपर्छ । दोस्रो, खोज पत्रकारिता अलग केही होइन, हरेक पत्रकारिता नै खोज पत्रकारिता हो । तेस्रो, मूल्यमान्यता कहिलेकाहीँ मात्र प्रयोग हुने सर्त होइन, पत्रकारिताको अभिन्न अंग हो । 

कामकै दौरानमा आधारभूत तालिम लिने, सार्वजनिक हितमा आफ्नो सेवाको प्रयोग गर्दै जाने र दैनिक कफीगफमा उठेका अनौपचारिक विषयलाई क्रमशः उपयोग गर्दै लैजाने मूल उद्देश्य हुनुपर्छ पत्रकारिता विधाको । 

अनुवाद : गणेश खनिया 

 

 

प्रतिकृया दिनुहोस