• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिरा बिजुली नेपाली
२०७७ फाल्गुण ८ शनिबार ०९:५७:००
समाज

१५ वर्ष : १५ कुणा

२०७७ फाल्गुण ८ शनिबार ०९:५७:००
हिरा बिजुली नेपाली

नेपालमा लोकतन्त्रको यात्रा सुरु भएको ७० वर्ष पुग्यो । बितेको ७० वर्षमा नेपालमा पटकपटक राजनीतिक, सामाजिक क्रान्ति र आन्दोलनहरू भए । सबै आन्दोलनपछि समाज एक कदम अघि बढेको दाबी पनि गरियो । तर, सात दशकको लोकतान्त्रिक यात्रामा कर्नालीको मुहार फेरियो कि उस्तै छ ? ७० वर्षे लोकतन्त्रलाई कर्नालीबाट हेर्दा कस्तो देखिन्छ ? ‘प्रजातन्त्र दिवसको सन्दर्भ’मा हेरौँ कर्नालीका कथा :

 

उमेरले ३१ वर्षको भएँ । यो उमेरको झन्डै आधा समय सामाजिक जागरणका लागि रंगमञ्चको उपयोग गर्दै बितेछ । सायद बाँकी आधा उमेर पनि अब कर्नालीमा विद्यमान विभिन्न कुरीति र दासताहरूसँग लड्दै, लडाइँका पट्यारलाग्दा कथाहरू सुन्दै र हेर्दै बित्नेछन् । सायद १६ वर्षको कलिलो हुर्काइमै परेको नकारात्मक असरका कारण पनि आजको जीवन आरनको आगोजत्तिकै तापिलो र रापिलो छ होला । प्रायः साथीहरूलाई म धेरै पिरो, चर्को र गरम लाग्छु रे । कर्नालीमा हुर्केका धेरै मानिसहरूमा त्यस्तो खाले स्वभाव देखिन पनि सक्छ । 


नेपालमा केही वर्षअघि महान् नाम दिइएको दश वर्ष लामो जनक्रान्ति चलेको थियो । यसले थुप्रै सकारात्मक पक्षहरूका बाबजुद पनि केही पीडाका गहिरा डोबहरू छाडेर गयो । दुर्भाग्य भनौँ कि मैले जनयुद्धमा सामेल हुने सौभाग्य पाइनँ । तर, कर्नालीको एक दलित परिवारबाट आएको नाताले मेरो कलाकारिता जीवनमै पनि पछाडि फर्केर हेर्दा देखिने कथाका कैयौँ कलेवरहरू रहेछन् । आज ती सिकाइ र बुझाइहरूलाई यसरी सम्झिन मन लाग्यो । 


पहिलो कुणो : बाको मौन विद्रोह 
मेरो बाजे पनि अन्याय सहेर बस्ने स्वभावका थिएनन् । उनले गाउँका ठालुले अह्राएको काम कहिल्यै मन लगाएर गरेनन् । त्यसैले उनी सधैँ ठालुको आँखाको तारो बने । यसरी निउ खोजेकै कारण केके निउ पारेर गाउँका ठालुले बाजेका भाइलाई जुम्लाको जेलमा हालिदिएछन् । कात्तिक महिनाको गोधुलीतिर थाडा (छत)माथि कोदो बताइरहेका बाजेलाई त्यो कुरा सुनेर सहीनसक्नु भएछ । उनले तुरुन्तै कोदो भएको सुपो त्यहीँ बिसाएर घरमा केही नभनी जुम्लातिर लागेछन् ।

 

रातभरि हिँडेछन् र भोलि बिहान १० बजे अञ्चलाधीशसँग गएर भनेछन्, ‘यो मेरो भाइ हो । त्यो बिगार्ने अर्कै हो । नाम अर्कै परेको मात्र हो सरकार ।’ अञ्चलाधीशलाई झुक्याएर भाइलाई जुम्लाबाटै भारत पठाएछन् । गाउँमा आएर मेरो भाइ जेल प¥यो भन्दै रोनाधोना गरेछन् । मसँग ठूला कुरा गर्नेको यस्तै हविगत हुन्छ भन्दै ठालुचाहिँ गाउँभरि सुनाउँदै हिँडेछन् । ठालूसँग नझुक्ने यस्तै कथाहरू सुनेर हुर्किएँ ।


बाले पनि कहिल्यै अन्याय सहेनन् । बालाई प्रजातन्त्र भन्ने शब्द थाहा थिएन, तर अन्याय सहनु मूर्खता हो भन्ने पूर्ण ज्ञान थियो । त्यसैले उनले हलिया प्रथाको बिगबिगी रहेको मुगु जिल्लामा कहिल्यै अरूको हलो जोतेनन् । त्यो आफँैमा मौन विद्रोह थियो । हलो जोत्न नगएकै कारण बाले ठालुहरूबाट सधैँ सामाजिक सांस्कृतिक यातना सहनुप¥यो । शिक्षाले मानिसलाई बोल्न सक्ने बनाउनेमा बाको ठूलो विश्वास थियो । उनले एक गाँस भात कम खाएर हामीलाई पढाए । त्यसैले आज म उनको कथा लेखिरहेको छु । हो, मेरा बा मौन विद्रोही थिए । उनकै कारण आज म यति बोल्न सक्ने भएको छु । 

दोस्रो कुणो : संविधानसभामा दलित 
मेरो नाट्य यात्राको सुरुवात जनचेतनामूलक सडक नाटकबाट भयो । २०६४ साल जेठमा नेपालमा संविधानसभाको पहिलो निर्वाचन थियो । त्यो चुनावमा आंशिक रूपमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधिहरूको उम्मेदवारी तय गरिएको थियो । त्यो आफैँमा सम्पूर्ण सीमान्तकृतहरूका लागि महान् पर्वझैँ थियो । आरोहण गुरुकुलको संयोजकत्वमा जुम्ला र मुुगुका लागि ‘कर्नाली थिएटर’ मुगुले नाटक प्रदर्शन गर्ने जिम्मेवारी पायो ।


नाटकको विषय ‘अब बन्ने संविधानमा कर्नालीका दलितहरूको आवाजको उचित सम्बोधनका लागि उचित प्रतिनिधि छानौँ’ भन्ने थियो । टोली नेता अहिलेका चलचित्र निर्देशक मीनबहादुर भाम थिए । कर्नाली थिएटर पनि उनै मीन भाम र मलगायतका साथीहरूले खोलेका थियौँ ।

 

नाटकका दौरानमा अरूलाई के लाग्थ्यो थाहा छैन । तर, मलाई भने जसरी भए पनि अरूभन्दा बढी न्यायप्रेमी, उम्मेदवारले जितोस् भन्ने लाग्थ्यो । स्थानीयहरूसँग त्यसरी नै छलफल चलाउथेँ । किनकि त्यहाँ दलितलाई उम्मेदवार बनाउने सम्भावना त निकै कम थियो । अन्ततः चुनाव भयो । तर, त्यो समावेशी समानुपातिक पद्धतिबाट जितेका उम्मेदवारहरूले पूरै संविधान नै आफ्नो पोल्टोमा पार्ने डर उत्पीडक समुदायका नेता कार्यकर्ताहरूलाई भयो । त्यसपछि विनाकारण त्यो संविधानसभा खारेज गरियो । तर, सामाजिक जागरणका लागि थालिएको हाम्रो नाट्ययात्रा भने रोकिएन । अझै प्रखर बन्दै गयो ।


तेस्रो कुणो : कर्नाली दख्खिन बग्दो छ
हाम्रा खेतबारीहरूमा छरिएको मल वर्षाको एक झरीले नै बगाएर भारत पु¥याउँछ । हाम्रा अमूल्य जडीबुटीहरू उचित औद्योगिकीकरण र बजारीकरणका अभावले भारत नै जान्छ । अवसरहरूको न्यायोचित वितरण अभावका कारण हाम्रा हजारौँ कलिला हातहरू सस्तोमा श्रम बेच्न भारत नै जाने कुराको तीखो बिम्ब हो ‘कर्नाली दख्खिन बग्दो छ ।’ यो नाटक नाटक मात्रै होइन ।

 

यो कर्नालीले गरेको पहिलो सामाजिक यथार्थवादी साहित्यिक आन्दोलन नै हो । संवेदनशील विषयमा बनेको उत्कृष्ट कथा हो । यो कसैले लेखेर वा चाहेर बनेको थिएन । हामी (मुगुबाट आएका कलाकारहरू)ले तीन महिनाको अभिनयकक्षा लिइसकेपछि हाम्रो कलात्मक सीपको माध्यमबाट जबरजस्त बाहिर आउन चाहन्थ्यो त्यो कथा । किनकि यो कथा हाम्रा हरपलका भोगाइहरूको सार थियो । हाम्रा बाहरू पनि लागेका थिए, एक किलो चामलका लागि दख्खिनतिर लाइन ।

 

हाम्री आमाहरूले मर्नुपरेको थियो, समयमै सालनाल नझरेका कारण । र बितेका थिए हाम्रा दाजुभाइ, दिदीबहिनीहरू एक चक्की सिटामोल खान नपाई । क्या पायाका थियौँ र राज्यबाट हामीले ? हामी त कलाकार मात्रै पो कहाँ थियौँ र । हामीभित्र सिंगो कर्नाली थियो ।


एकदिन ‘कर्नाली दख्खिन बग्दो छ’ ले राज्यका विरुद्ध साहित्यिक आगो ओकल्यो । देशका नीति निर्माणमा बस्न्याकन त झन् धरधरी रुवायो । नाटकले साँचो वास्तविकता देखायो । फलत २०६५ मा काठमाडौंमा देखाएको नाटकले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई २०६९ मा मुगुको गमगढीसम्मको सडक उद्घाटनको रिबन काट्न तयार बनायो । के तपाईं मान्नु हुन्छ यो नाटकको राजनीति ?


चौथो कुणो : काठमाडौंको रंग राजनीति
नेपाली रंग राजनीतिबारे लेख्नुपर्ने विषय धेरै बाँकी छन् । त्यो पछिका दिनहरूमा जारी रहनेछ । अहिलेलाई यति मात्रै भनौँ कि काठमाडौंको रंग राजनीतिले कर्नालीको रंगमञ्चको बन्दै गइरहेको संरचनालाई पटकपटक भत्काउने प्रयास गरेकै हो । फरक विचारहरू आउनु सम्मानयोग्य कुरा हो ।

 

फरक मान्छेहरू लाइनमा लाग्नु झनै उत्तम कुरा हो । तर, कसैको लहैलहैमा लागेर गरिएका योजनाहरूको दीर्घकालीन रूपमा सधैँ प्रश्नहरू आउँदा रहेछन् भन्ने हामीले सिक्यौँ । यस्तै राजनीतिले हामीलाई दिनु दुःख दियो । साथीहरूलाई कसै गरे पनि सम्झाउन सकिएन । अन्ततः हार खाइयो । एक्लै काम गर्ने बानी लाग्दै गयो । निरन्तर काम गर्दै जाँदा आज साथीहरू हुनुहुन्न, तर जेनतेन भए पनि हामीले मलजल गरिरहेका छौँ कर्नालीको रंगमञ्चलाई । बिस्तारै कर्नालीका अरू जिल्लाबाट पनि कैयौँ साथीहरू हाम्रो यात्रामा हुनुहुन्छ । कामना छ, उहाँहरूले पनि काठमाडौंबाट त्यस्तै खाले गुह्य रंग राजनीतिको सामना गर्नु नपरोस् । 


पाँचौँ कुणो : नाटक गर्ने जात 
नेपालको पूर्वी भागमा जसरी कला र साहित्यलाई सम्मान गर्ने चलन छ, अझ भनौँ सबै खाले समुदाय कलाका सबैखाले विधामा लागेका छन् । त्यसैगरी कर्नालीको समुदायमा सबै खाले कलामा काम गर्ने मानिसलाई उचित सम्मान गर्ने जमाना आउन अझै थुप्रै वर्ष कुर्नुपर्ने देखिन्छ ।

 

खासमा कर्नालीमा व्यावसायिक रंगमञ्चको सुरुवातको श्रेय मीनबहादुर भामलाई नै जान्छ । नाटक पढेको पनि उनी पहिलो र नाटक खेल्ने र निर्देशन गर्ने पनि उनी पहिलो । खैर उनी अहिले रंंगमञ्चमा काम गर्दैनन् । उनी तथाकथित हिन्दू तहगत जातीय संरचनाभित्रको क्षेत्री जातभित्रबाट पर्दछन् । सम्भवतः उनले यो नाटक पढ्नकै लागि परिवार र समाजसँग निकै पौँठेजोरी खेल्नुपरेको हुँदो हो ।

 

यो किन पनि भन्न सकिन्छ कि २०६४ सालमा मुगुमा स्थापित ‘कर्नाली थिएटर’ २०६७ सालमा मुगुमै स्थापित ‘कर्नाली नाट्य समूह’मा सामेल कलाकारहरूले सुरुका वर्षहरूमा घरखेत बेचेर पनि नाटक गर्छु भन्ने उत्साह देखाउनु र त्यसको केही वर्षमै हावा फुस्केको बेलुनझैँ हुनुमा कारण के हो त ?

हाम्रा बाहरू पनि लागेका थिए एक किलो चामलका लागि दख्खिनतिर लाइन । हाम्रा आमाहरूले मर्नु परेको थियो समयमै सालनाल नझरेका कारण । र बितेका थिए हाम्रा दाजुभाइ, दिदीबहिनी एक चक्की सिटामोल खान नपाई । क्या पायाका थियौँ र राज्यबाट हामीले ?

प्रमुख कारण रोजीरोटीको सवाल भनिए पनि परिवारमा रहेको जात प्रथाका कारण सिर्जित संकुचित मानसिकता प्रमुख देखिन्छ । अझै पनि समाजमा कलाका कुनै पनि विधा अँगाल्नेहरूलाई अछुतहरूको जस्तै व्यवहार नगरिए पनि हेर्ने सामाजिक दृष्टिकोण अछुत भनिएकाहरू सोसरह छ । भनिन्छ कि नाटक गर्ने जात । तर, पैसा आउने सडकनाटकमा भने लुछाचुँडी नै चल्छ । किनकि कर्नालीमा कलाका झन्डै ९० प्रतिशत हिस्सामा दलितहरूको प्रत्यक्ष सहभागिता छ । मुगुमा हीरा बिजुली मात्रै रहनु, जुम्लामा गोविन्द सुनार र धनराज सुनारहरू मात्रै सक्रिय रूपमा लाग्नु र हुम्लालगायत अरू जिल्लाहरूमा पनि त्यस्तै हुनु यसका उदाहरणहरू हुन् ।


छैटौँ कुणो : कला जवाफदेहिताको औजार 
इतिहासदेखि नै हाम्रा पुर्खाहरूले हाम्रो कलालाई कुनै राजामहाराजाहरूका बखान गर्नमै खेर फाले । त्यसको उत्तम उदाहरण हुड्कोको भारत हो । हरेक हुड्केले आफ्नो कलाको सुरुवात भारतको देवीदेवताको र राजाहरूको बखानबाट गर्छ । जुन राजा र देवीदेवताहरूले उसलाई कुकुरभन्दा मुनिको प्राणीको व्यवहार गर्छ ।

 

कम्तीमा मैले मेरो रंग जीवनमा यी हामीसँग भएका कलाका विभिन्न विधाहरूलाई समाज निर्माणमा प्रयोग गरिनु पर्दछ भन्ने ठान्दछु । र यसलाई व्यावहारिक रूपमा प्रयोग पनि गर्दै आइरहेको छु । फलस्वरूप हामीले हुड्केले गाउने भारतको सूत्रधारीय विधिमाथि भार्ता भन्ने रेडियो नाटक शृंखलाका केही शृंखलाहरूको निर्माण गरिसकेका छौँ । थप रेकर्ड गरेर प्रसारण गर्ने तयारीमा छौँ । वास्तवमा कलाकार हुनु भनेको समाजका लागि समेत केही सोच्नु रहेछ । अन्यायका विरुद्ध चुप नबसी केही न केही बोल्नु रहेछ । कलाकार भनेको नाचेर, फिल्म बनाएर, वा साहित्यका अन्य विधामा लागेर पैसा थुप्रो पार्नु मात्र रहेनछ । 


सातौँ कुणो : एनजिओको पैसा
सबैले भन्ने गरेका छन् कि नेपालमा सबैभन्दा बढी एनजिओ र आइएनजिओहरू कर्नालीमै छन् । तर, किन कर्नालीको विकास भएन ? सँगै एउटा प्रतिप्रश्न पनि छ कि के तिनीहरू साँच्चिकै विकास नै गर्न आएका हुन् त ? तिनीहरूमा अध्यक्षहरू कुनकुन समुदायका छन् ? त्यसमा जागिरेहरू कुन समुदायकाबाट बढी छन् ? कसको प्रपोजलले कामका लागि फन्ड पाउँछ ? यी यावत् विषयहरू छन् जो डोरबहादुर विष्टदेखि सौभाग्यजंग शाह हुँदै चैतन्य मिश्रसम्मकाले छलफलको विषय बनाउँदै आइरहेका छन् ।

 

अन्ततः तिनीहरूको बहस हात लाग्यो शून्य भएको छ । तर, दशकौँदेखि चरम आर्थिक हिनामिनाको आरोप खेप्दै आइरहेका कर्नालीका एनजिओहरूले के यहाँका कलाकारहरूको श्रमको दुरुपयोग गरेनन् होला र ? अवश्य गरे । मुख्यतया उनीहरूका विकासे समाचार सुनाउने कार्यका लागि पैसा दिने बहानामा आफ्ना पार्टीका रसिद त दिने भइहाले । यतिसम्म गर्न भ्याए कि एकपटक सडक नाटक गरेका कैयौँ फोटोहरू मागेर कैयौँ परियोजनामा प्रयोग गरेर बिल मिलाएर खाए । वर्षमा पाइने जाबो दुई लाखको कामबाट चालीस प्रतिशत कमिसन उसैलाई फर्काएर गरिएको काम के काम ? 


नवौँ कुणो : सांस्कृतिक संरक्षण र जनप्रतिनिधिको चेत 
सांस्कृतिक संरक्षण भनेको के हो ? आफ्ना छोराछोरीलाई काठमाडौं पढाउनु हो ? या सहरतिर जग्गा किन्नु हो ? आफैँ योजना बनाएर आफैँ डोजर मालिक बन्नु हो ? हो, कर्नालीका जनप्रतिनिधिहरूका लागि लाग्ने उपयुक्त उत्तर माथिका सबै हो ।

 

थोरै नजिक जाउँ, देउताका थानमा दुई–दुईओटा जस्ताका पाता दिएर सकिन्छ उनीहरूको सांस्कृतिक संरक्षण । के कर्नालीका देउताका थानहरू मात्रै सम्पूर्ण रूपमा सांस्कृतिक सम्पदाहरू हुन् ? यहाँका आदिवासी जनजातिहरूले सदियौँदेखि भन्दै आइरहेका कथाहरू, बजाउँदै आइरहेका बाजाहरू, नाच्दै आइरहेका नाचहरू र उत्पादनमुखी सीपहरू सांस्कृतिक सम्पदाहरूभित्र पर्दैनन् र ? के यहाँका जनप्रतिनिधिहरूलाई यी पक्षहरूको ज्ञान छैन र ?

 

यदि ज्ञान नै छैन भने किन अरूको ज्ञान र विवेकलाई वास्ता गर्दैनन् त ? किन सोध्दैनन् र ? हाम्रो आइडिया दिएर काम गर्न चाहँदा पनि किन हाम्राअघि पार्टीको रसिद भिराइन्छ । के हामीले तिनीहरूका भरौटे बनेर मात्रै आफ्नो संस्कृति संरक्षण गर्न पाउने हो ? जनप्रतिनिधि आए के–के न सजिलो हुन्छ भनिन्थ्यो, अन्त्यमा त्यस्तो भएन । 


दशौँ कुणो : बहुआयामिकताप्रति प्रेम 
एकअर्काप्रतिको सम्मान र आदरबारे सधैँ सचेत रहनुपर्दछ । या हामी फरक जातबाट, फरक भूगोलबाट, फरक धर्म संस्कृतिबाट नै किन नहोउँ । यो अभ्यास कलाका विधाहरूमा पनि लागू हुनुपर्दछ । हामी कर्नालीमा कलाका बहुआयामिक विधाहरूको धेरैभन्दा धेरै अभ्यास गर्दैै कलात्मक रूपले तरंगित कर्नालीको परिकल्पना गर्दछौँ ।

 

यसका लागि मैले र हाम्रो टोलीले मिथिलालगायतका फरक संस्कृतिहरूको अवलोकन गरेका छौँ । र बाहिरका कलाकारहरूलाई पनि कर्नालीमा स्वागत गर्दछौँ । यति मात्रै होइन कि हामी हाम्रो कलालाई कलाका आधुनिक माध्यमहरू जस्तै फोटोग्राफी, इन्स्टलेसन आर्ट, आम सञ्चार, भिजुअल आर्टसँग पनि जोड्न चाहन्छौँ । 


एघारौँ कुणो : गर्भछिटाजस्तै कुरीति 
कर्नालीमा केही मानिस अहिले पनि भन्ने गर्छन् कि छुईगोठ भत्काइयो । त्यो त हाम्रो पहिचान हो । एक हिसाबले सोच्दा लाग्छ कि कर्नाली भौगोलिकताले विकट कथिएको छ, तर धर्मकर्मका आडमा लुकाएर राखिएका सामाजिक कुरीतिहरूको चाङ हो ।

 

यहाँका धामीदेखि एनजिओका हाकिमसम्म, समाजशास्त्रीदेखि निरक्षरसम्म, सडक नाटकका कलाकारदेखि विदेश घुम्ने चर्चित चलचित्र निर्देशकसम्मको दिमागबाट देउता रिसाउँछन् भन्ने छाप अझ हट्न सकेको छैन । तर, समाजका आमूल परिवर्तन, सामाजिक सहअस्तित्व, भ्रातृत्व र विकासका बाधक रहीआएको त्यस्ता सामाजिक कुरीतिहरूलाई चिरफार गर्न चाहन्छु । किनकि अरूलाई उत्पीडन दिने, हेँला गर्ने कुनै पनि संस्कृति कसैको पहिचान नभई केवल कुरीति मात्रै हुन् । 


बाह्रौँ कुणो : कलात्मक उद्यमशीलता 
मैले कर्नालीको कला संरक्षणका लागि भनेर झन्डै पन्ध्र वर्ष लगाइसकेको छु र बाँकी जीवन पनि यसमै लगाउने चाहना छ । हामीले विगतका वर्षहरूमा खोजेको सांस्कृतिक संरक्षणको बाटो के हो भन्ने विषयमा घनीभूत छलफलपछि आज एउटा निर्णयमा पुगेका छौँ ।

 

हामीलाई लाग्छ, समुदायमा कलाकारहरूलाई सम्मान गर्ने न्यायोचित समाजको निर्माण नहुन्जेलसम्म यो संस्कृति हराउने क्रम जारी रहन्छ । जसले जति भाषण गरे पनि पुस्तौनी कलाकारहरूका लागि मर्यादित हिसाबले बाँच्न पाउने समाज, परिश्रमको उचित मूल्यांकन हुने बजार नबनुन्जेल नयाँ पुस्ताले कसरी संस्कृतिलाई आफ्नो इलमका रूपमा अंगीकार गर्न सक्छ ? 


तेह्रौँ कुणो : संस्कृति संरक्षण कि छानबिन ?
प्रायः मानवशास्त्रीहरू संस्कृति समयक्रमसँगै परिवर्तन हुने कुरामा एकमत छन् । त्यसमा पनि आजको विश्व भूमण्डलीकरणको युगमा त झन् संस्कृतिमा बाहिरिया प्रभाव हुनु स्वाभाविकै हो । तर पनि कसको संस्कृतिले साम्राज्य कायम ग¥यो भन्ने कुरा महत्वपूर्ण हो ।

 

धनी र हुनेखाने देशहरू स्वतः विकास परियोजनाका नाममा धर्मसंस्कृति पनि फैलाउँछन् भन्ने कुरामा पनि दुविधा छैन । तर, यदि हाम्रो समाजकै संस्कृतिले पनि अमानवीय, क्रूर र दासता वा दानवीयतालाई प्रवद्र्धन गर्छ भने यसलाई पनि किन मान्न बाध्य हुने ? अथवा त्यो संस्कृति छाड्न किन स्वतन्त्र नहुने भन्ने प्रश्न हर सीमान्त नागरिकहरूका दिमाग आउनु अनर्थ होइन । किन धर्म नासुवाहरूको संज्ञा दिनु ? त्यसैले हामीले हाम्रो संस्कृतिसँग भएका उत्पीडनकारी र अमानवीय तत्वहरूलाई वेलैमा पहिचान गरेर निकाल्न सक्नु नै भएको बाँकी संस्कृतिको संरक्षणका लागि उत्तम बाटो हुन सक्छ । 


चौधौँ कुणो : आगामी पुस्ताका लागि नासो
कुनै पनि संस्कृति तब मात्र नयाँ पुस्तासम्म पुर्‍याउन लायक हुन्छ, जबसम्म बदलिँदो नयाँ पुस्तालाई आफ्ना बाजेबराजुले मान्दै आएको संस्कृति अमानवीय र पासविक लाग्न छाड्दै जान्छ । तर, नेपालमा त धर्मवादले मै हुँ भन्ने बौद्धिकहरूलाई समेत खाइसकेको आजको समयमा कर्नालीमा त झन् जर्जर अवस्था छ ।

 

फलस्वरूप, सामान्यतया होइन गाउँका गाउँ धर्म परिवर्तनको लर्कोमा समावेश भइरहेका छन् । फेरि कट्टर धर्मभीरुहरूलाई लाग्दछ कि डलर पचाउन त्यसो गरिएको हो । यसमा थप के भन्न मन लाग्छ भने यहाँका आदिवासीहरूका जग्गाजमिन नहडपिएको भए, दलितहरूलाई कुकुरभन्दा निम्नस्तरको व्यवहार नगरिएको भए, महिलालाई दोस्रो दर्जाका नागरिकसरह नहेरिएको भए किन फेर्थे मानिसले धर्म ? त्यसैले पनि हाम्रा विद्यालयका पाठ्यक्रमहरूमा हामीले मानिरहेको धर्मका नकारात्मक पक्षहरूलाई पढाइनुपर्दछ । र नयाँ पुस्ताका लागि समुन्नत र समतामूलक संस्कृतिको नासो दिन सक्नुपर्दछ । खाली जयजयकारका भरमा मात्रै नयाँ पुस्ताले कसरी अंगीकार गर्न सक्छ त यो विकृत संस्कृति ?


पन्ध्रौँ कुणो : तटस्थ हुने कि भूमिका खोज्ने ? 
मलाई मुगुमा केही मानिस राजनीति गरिरहेको झैँ ठान्छन् । एक हिसाबले उनीहरू सत्य पनि हुन् किनकि सीमान्तकृतहरूले थोरै बोल्नेबित्तिकै शोषकहरूलाई पच्दैन । सीमान्तकृतहरूले सधैँ चुप बसेको हेर्ने उत्पीडक वर्गको आसक्ति नै हुन्छ । हामीले सामाजिक कुरीतिविरुद्ध, अन्यायका विरुद्धमा बोल्दा हाम्रा फ्यानहरू भाग्नेछन् भन्ने रोगबाट निस्किनुपर्छ र एउटा कलाकार भएका नाताले आफूसँग भएको कलाको माध्यमबाट त्यस्ता बेथिति र विसंगतिका विरुद्ध समयमै आवाज उठाउन सके मात्रै हाम्रो कलाको सार्थकता हुनेछ ।