• वि.सं २०७७ फाल्गुण २३ आइतबार
  • Sunday, 07 March, 2021
साेमत घिमिरे
२०७७ फाल्गुण ८ शनिबार ०७:१९:००
सम्झना

त्यसपछि भूगोल मात्रै बन्यो कर्णाली

कर्णालीले चामल माग्यो कि काठमाडौंले आफैँ पठायो ? आजसम्म यकिन हुन सकेको छैन ।

२०७७ फाल्गुण ८ शनिबार ०७:१९:००
साेमत घिमिरे

आज कर्णाली कमजोर अवस्थामा छ, सबैलाई थाहा छ । तर, हिजो कुनै जमानामा कर्णाली बलियो थियो । यो तथ्य धेरैलाई थाहा नहुन सक्छ । नेपाल एकीकरणलाई ज–जसले जे बुझे पनि कर्णालीले भने गोरखाकरण र हिन्दूकरण बुझ्छ । गोरखा राज्य विस्तारका क्रममा गोर्खाली सेनालाई कर्णालीको सेनाले हायलकायल बनाए । जित्न मुस्किल भयो । त्यहीँबाट कर्णालीको चीरहरण भयो । गोर्खालीलाई हराउन गाह्रो परेबापत कर्णालीले दुःख व्यहोरिरहेको छ । किस्ता–किस्तामा दुःख भोग्दै छ ।


गोर्खाली सेनाले जितेपछि सबभन्दा पहिला तत्कालीन कर्णालीको नेतृत्वलाई निर्वासन पठायो र कर्णाली नेतृत्वविहीन भयो । कर्णालीको काठमाडौंसँग बातचित हुन सकेन । किनभने नेतृत्व विस्थापित भइसकेको थियो । नयाँ नेतृत्व जन्मिएको थिएन । यस्तो परिस्थितिमा काठमाडौंले कर्णालीमाथि कठोर घोडा चढ्यो ।

 

अहिले पनि राज्य–व्यवस्था लोकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि काठमाडौं घोडाबाट ओर्लिएको छैन । यस प्रक्रियामा केवल गोरखाकरण मात्र गरिएन, हिन्दूकरण पनि गरियो । हिन्दूकरण र गोरखाकरणको मारले कर्णालीले शिर उठाउनै सकेन । आज पनि कर्णाली काठमाडौंको अगाडि शिर झुकाउन बाध्य छ ।


धेरैलाई थाहा छ, नेपाल एकीकरणपछि कीर्तिपुरवासीको नाक–कान काटिएको कुरा । तर, कर्णालीवासीको चुल्ठो काटिएको कुरा कतिलाई थाहा छ ? इतिहासमा यो कुरा लुकाइयो ।कर्णालीको आफ्नै अर्थतन्त्र थियो । स्थानीय उत्पादन राम्रो थियो र अब्बल पनि थियो । तिब्बतसँग आफ्नै प्रकारको सम्बन्ध थियो । कर्णालीको उत्पादन तिब्बतमा लगेर बेचिन्थ्यो ।

 

कर्णालीको भेडा तिब्बतसम्म लगेर चराइन्थ्यो, चरण क्षेत्र तिब्बतमा पनि थियो । कर्णालीले केबल तिब्बतबाट नुन ल्याउँथ्यो, अरू धेरै कुरा बेच्थ्यो । तर, काठमाडौंको शासकलाई कर्णालीको तिब्बतसँगको सम्बन्ध मन परेन । यो सम्बन्ध जनस्तरको थियो । जनस्तरको सम्बन्ध शासकहरूलाई मन पर्दैन । शासक–शासकको सम्बन्ध मात्र मन पर्छ । त्यहीँबाट सुरु भयो नुनको राजनीति ।

 

तिब्बतको नुनमा आयोडिन छैन भन्ने मान्यता अगाडि सारियो । भारतीय आयोडिनयुक्त नुन कर्णाली पठाउने प्रपञ्च सुरु भयो । यदि तिब्बतको नुन खराब हुन्थ्यो भने कर्णालीका मानिस लाटा–लँगडा जन्मन्थे । तर, परिस्थिति त्यस्तो थिएन । भारतीय नुन पठाउने प्रपञ्च खासमा तिब्बतसँग कर्णालीको सम्बन्ध कटौती गर्ने थियो । तिब्बतसँगको सम्बन्ध कटौती गर्दै लगेपछि अर्थतन्त्रको दृष्टिकोणबाट कर्णालीको सातो गयो । जुन सातो अहिलेसम्म फर्किएको छैन । 


कर्णालीको आफ्नोपन काठमाडौंले कटाइदियो । बलजफती यस्ता विशिष्टताहरू मेटाइदियो । कर्णालीत्व खोसिदियो । नारीत्व कुमारीत्व भनेजस्तो कर्णालीत्व थियो । कर्णालीत्व बलजफती मेटाइदियो, खोसिदियो । त्यसपछि कर्णाली केवल भूगोल भयो । आर्थिक, सांस्कृतिक, राजनीतिक र सामाजिक रूपमा सबै खोसिदिएपछि कर्णाली मात्र एउटा भूगोल बन्यो ।

आफ्नोपन गुमाएर कति न्यास्रो लाग्यो होला, कति छट्पटायो होला, कर्णाली ? काठमाडाैंले यो न्यास्रो र छट्पटाहट कहिल्यै बुझेन । कर्णालीलाई सुमसुम्याउने कोसिस नै गरेन । उल्टो कर्णालीमाथि माया र दया देखाउन थाल्यो । कर्णालीमाथि केही आरोप थोपरिए । कर्णालीवासी अचेत छन्, अल्छी छन्, फजुलखर्ची छन् । यस्तो आरोपले कर्णालीवासी थिचिएको धेरै वर्ष भयो । कुन प्रक्रियाले, कुन राजनीतिक इतिहासको प्रक्रियाले कर्णालीवासी सीमान्तीकरणमा परे, लुकाइयो । केवल भनिन्छ, अल्छी भएका कारण, अचेत भएका कारण, फजुलखर्ची भएका कारण कर्णाली सीमान्तीकरणमा पर्‍यो ।

आरोपको सूची लामो छ । तर, यस्ता आरोपलाई कर्णालीले मौन प्रतिवाद गरेको छ । दलका नेताहरूले यस्तो आरोपलाई खण्डन गर्न सकेका छैनन् । कर्णालीका सबै दलका नेताहरूलाई डर पनि छ, यस्तो आरोपको खण्डन गर्दा मुख्य नेतृत्व रिसाउलान् भन्ने । अर्कोतिर कर्णालीलाई लामो समयदेखि गलत पढाइयो । गलत सिकाइयो । सीमान्तीकरणमा पर्नुको कारण आफैँ हो कि जस्तो पनि लाग्ने बनाइयो । गलत भाष्य निर्माण गरिएको लामो अवधिले नयाँ भाष्य निर्माण हुन सकेको छैन । गल्ती भए पनि एउटै कुरा दोहोर्‍याइरहँदा हो कि हो कि जस्तो लाग्ने अप्ठ्यारो कर्णालीमा पनि छ । यो सत्य हो ।


काठमाडौंले कर्णालीलाई केवल आरोप मात्र लगाएन, माया गरेजस्तो पनि देखाउन थाल्यो । काठमाडौंले कर्णालीलाई आजभन्दा ४५ वर्षअगाडिदेखि चामल पठाउन थाल्यो । कर्णालीको भोक र गरिबीप्रति आफू संवेदनशील भएको देखाउन थाल्यो । कर्णालीले चामल माग्यो कि काठमाडौंले आफैँ पठायो ? आजसम्म यकिन हुन सकेको छैन । दुवैथरी तर्क छन् । प्रधानपञ्चको भेलाले चामल मागेर पठाएको तर्क अहिलेसम्म बलियो छ । दैलेखका प्रधानपञ्चको भेलाले चामलको माग गर्‍यो, काठमाडौंले पठाउँदैन होला भन्ने विचारमा । तर, काठमाडौंले तुरुन्त पठाइदियो । अर्को तर्क, चामल कर्णालीबाट माग भएको थिएन, काठमाडौंले आफैँ पठाइदियो ।

 

पञ्चायतमा प्रधानपञ्चहरूको धेरै काम थिएन । समाजमा आफ्ना धाक, धम्की फैलाउन र समाजलाई थप पञ्चायतीकरण गर्न चामल एउटा औजार हुन सक्ने ठम्याइ भयो । चामल निरन्तर पठाइयो । जनमत संग्रहमा पञ्चायतमा आएको मतले त झन् चामलको थप औचित्य पुष्टि गर्‍यो । एउटा अनुसन्धानका क्रममा दैलेखमा भेटिएका प्रधानपञ्चले मलाई निकै ठूलो स्वरमा बताएका थिए, ‘चामल ल्याउने म हुँ । मैले ल्याएको हो ।’

 

प्रधानपञ्चको केही काम नै भएन । चामल ल्याए, बाँडे । समाजमा इज्जत हुने । नाम फैलने । मैले थप प्रश्न गरेँ । चामल नल्याएको भए के हुन्थ्यो ? प्रधानपञ्चले सगौरव उत्तर दिए, ‘यहीँकै सागसिस्नु, कन्दमुल, कोदो, फापर, जौ खाएर बाँच्न त बाँचिन्थ्यो ।’ प्रस्ट छ । चामल अनिकालमा परेका जनतालाई खुवाउन होइन, पञ्चायतको जरो गाउँगाउँमा पु¥याउन लगिएको थियो ।


पञ्चायत गए पनि चामलको मानसिकता फेरिएन । चामल बाँड्ने पञ्चप्रवृत्ति विनाकुनै हिचकिचाहट कांग्रेस–एमालेमा सर्‍यो । जनयुद्धभरि क्षेत्रीय विभेदको नारा लगाएको माओवादीमा पनि सर्‍यो । चामल वितरण गर्दाको असर खोजिएन । चामल जान थालेपछि स्थानीय उत्पादन घट्यो । कर्णाली शुष्क र अर्धशुष्क क्षेत्र हो । यस्तो ठाउँमा कृषि प्रणाली फरक विशेषताको हुन्छ । यस्तो विशेषता खोज्न कुनै प्रयास गरिएन । उल्टो कर्णालीलाई चामल वितरण गरेर दया गरेको धाकधम्की लगाउन थालियो । काठमाडौं दिने र कर्णाली थाप्ने भयो । काठमाडौं बडो मायालु र कर्णाली निरीह बन्दै गयो ।

धेरैलाई थाहा छ, नेपाल एकीकरणका वेला कीर्तिपुरवासीको नाक–कान काटिएको कुरा । तर, कर्णालीवासीको चुल्ठो काटिएको कुरा कतिलाई थाहा छ ? इतिहासमा यो कुरा लुकाइयो ।

कुनै आपत्कालीन वेलामा गर्ने यस्तो वितरण कार्यलाई सदाबहार गरियो । आफ्नो भिरालो जमिनमा बजारिन पर्ने पाखुरीहरू खाद्यले वितरण गर्ने चामल उठाउन थाले । खेतबारीमा आफ्नो अन्न कस्तो भयो भनेर हेर्नुपर्ने आँखाले हेलिकोप्टर कहिले आउँछ भनेर आकाशमा हेर्न थाल्यो । स्थानीय उत्पादन घट्न थाल्यो । चामल वितरणले खाद्य संस्कृतिमा परिवर्तन आयो ।

 

काठमाडौंबाट पठाइएको चामल खाने मानिस ठूलो र स्थानीय उत्पादन लुकेर खानुपर्ने भयो ।कागनो चिनो पौष्टिकताको दृष्टिकोणले उत्कृष्ट छ । कोदो त लगाउन पनि नहुने भयो । खान त परै जाओस् । हेलिकोप्टरमा उडाएर पठाइएको चामलले कर्णालीको उत्पादनलाई दोस्रो दर्जाको बनाइदियो । आजसम्म दोस्रो दर्जा नै कायम छ । खानै नहुने कुरा उत्पादन गर्ने किन ? जग्गा बाँझिन थाल्यो । से–फोक्सुन्डो तालको नजिकको बस्तीमा भेटिएका छिरिङ भन्थे, ‘हामी तिब्बतमा खाद्यान्न लगेर बेच्थ्यौँ । नुन ल्याउँथ्यौँ ।

 

तिब्बतमा केही हँुदैनथ्यो । अहिले तिब्बत कहाँ पुग्यो, हामी कहाँ छौँ, सम्झिँदा पनि रुन मन लाग्छ ।’ उनले यसो भन्दा उनको न्याउरो अनुहार हेरेर म धेरै कुरा बुझ्न सक्थेँ । खाद्यान्न दोस्रो श्रेणीका झ¥यो । खाद्य संस्कृति पनि बिग्रियो । चाउचाउभन्दा कैयौँ गुणा राम्रो कागुनो चिनो छायामा परे । बिस्तारै बजारले चाउचाउ, बिस्कुट लग्यो । कर्णालीवासीलाई बजारले जाल फाल्यो । चाउचाउ कोक, बाहिरबाट गएका रक्सी खानु सानको विषय बन्यो । 


२०४६ को परिवर्तनपछि नेपालमा एउटा नयाँ संगठन जन्मिए–गैसस । गैससका लागि कर्णाली उर्वर भूमि भयो । कर्णाली किन सीमान्तीकरणमा पर्‍यो । गहिरो खोज गर्ने फुर्सदमा गैसस थिएन । दृष्टिकोणको आधारमा पनि थिएन । पुरानै भाष्यलाई पछ्याउँदै नयाँ अवतारमा कर्णालीका गाउँगाउँमा पुगे गैसस र भन्न थाले, ‘तिमी अचेत छौ, निरक्षर छौ, अल्छी छौ । तिमीहरूका लागि हामी आएका छौँ ।’ उनीहरूले दान गर्न थाले ।

 

चामल बाँड्न थाले । दानको सूची लामो छ । चामल दान, चर्पी दान, बिउबिजन दान, कुखुराका चल्ला दान, भौतिक पूर्वाधारको दान, लामो समय गैससले कर्णालीमा रमिता देखाए । देखाइरहेकै छन् । अपेक्षाकृत पढेलेखेका गैसस वर्गलाई कर्णाली फाप्यो । सीमान्तीकरणको प्रक्रियामा बहुसंख्यक गैससले पनि प्रश्न उठाएन । रमिता र चर्तीकला देखाए । जताततैबाट सीमान्तीकरणमा धकेलिएका कारण कर्णाली आज यो अवस्थामा छ । गैससको काम मूल विषयमा परेन । गैससकर्मीको जीविकोपार्जन त भयो, तर कर्णालीको भएन । गैससकर्मीको जीवन त फेरियो, तर कर्णालीवासीको फेरिएन ।