• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्वप्लिन स्मृति
२०७७ फाल्गुण १५ शनिबार ०६:४२:००
साहित्य

हालचाल के छ काठमाडौंको ?

कविता

२०७७ फाल्गुण १५ शनिबार ०६:४२:००
स्वप्लिन स्मृति

गाउँमा–
‘हेलाऊ सरकार !’
सय वर्षपछि न हो नेटवर्क टिप्ने काठमाडौंको ।

 

नत्र ता उही हो–
कि कुनै काजीको अहम् धरहरा नै ढल्नुपर्छ र 
झ्याली पिटिन्छ झारा धाउने,
कि मर्नुपर्छ कुनै सन्की राजा र 
आह्वान हुन्छ गाउँलेलाई सिनो उठाउन आउने ।

 

नत्र ता–
सफारी स्वागतमा जंगबहादुरको 
त्यै आधा बाटो सिमपानी गढी पुग्ने हो
चढ्न मन लाग्ने मोटर राणा महाराजलाई
भिमफेदीबाट जुद्धसडकसम्म उलिनकाठमा पुर्‍याउने हो ।
नत्र ता काठमाडौं छ भन्ने थाहा पाउन
कि धर्मभक्त माथेमाकै लात बज्रिनुपर्छ 
नरशमशेरको छातीमा ।
कि बाँकावीर, लखन थापा, योगमाया र 
दुर्गानन्द झाहरूले आहुति दिनैपर्छ ।

 

उही हो नत्र ता...

जसरी चुपचाप जनतालाई
चुपचाप नै शासन गर्छ शासकले
काठमाडौं पनि
गाउँले पठाएको सिर्तोक ग्रहण गरेर गुपचुप
गाउँले चढाएको सलामी थापेर धुमधाम
चुपचाप शासन गरिरहन्छ ।

 

गाउँमा–
सय वर्षपछि न हो टावर टिप्ने
हेलाऊ सरकार !
तमोरपारि आठराईवासी कुमाई काका हो ?

म क्या त
जनयुद्धमा बेपत्ता माओवादी डोलेश्वर चेम्जोङको गाउँ
सुदूरपूर्व पान्थर स्याबरुम्बा ।

 

चिन्नुभयो ?
सम्झना विक, भागरथी भट्ट, निर्मला पन्तहरू निमोठिएको 
म सुदूरपश्चिमको गाउँ पनि हो ।

भोकले मर्‍यो नि अस्ति मलार सदा
उसकै देहाती गाउँ पनि हो ।

 

‘के रे काका ?
...अँ अँ, देशकै नक्साभित्र हो...।’
हालचाल के छ काठमाडौंमा ?
यहाँबाट नाइट बसले मान्छे तारन्तार उता ओसारिरहेछ !

 

यहाँबाट बेरोजगार ङाचाहरू
फुलटेङ्की पेट्रोल भरेर भटभटे हुइँक्याइरहेछन् त्यतैतिर
यहाँबाट निमुखा मान्ठहरू 
शिलाजित बोकेर जन्त आइरहेछन् त्यतैतिर
के त्यहाँ नयाँ कलकारखाना खुलेको हो ?

 

उतै आइरहेछन् पालैपालो
कहिले ससुरा, कहिले सासू त कहिले बुहारी टोली
रमिता त्यस्तो के छ ?
कि दिउँसै रात पार्ने कुनै माताको चर्तिकला हुँदै छ त्यहाँ ? 
कि रातमा पनि सुर्जे देखाइदिने कुनै बाबा निस्किए हँ ? 

 

नत्रा ता शीतला ज्वरोबाट प्यारी जोगाउन 
त्यहाँबाट प्रजा लखेट्ने पागल राजा बस्ने ठाउँ हो त्यो
बेसारपानी नपाई ज्यामी सुकबहादुर तामाङहरू 
भोकभोकै मर्ने निष्ठुर गाउँ हो त्यो ।
हेलाऊ, हेलाऊ ...!
येता घाँस खुवाउन नपाएर दाम्ला चुँडालिसके गाइवस्तुले –
ए, उता पनि विधानमा त्यस्तै मामला आइलाग्यो ?

 

सय वर्षपछि न हो सिग्नल आउने काठमाडौंको
गाउँमा नयाँ हल्ला छ–
गाउँले भेलाएर नारायणहिटीअघि
ड्रोनबाट सेल्फी खिचाउने
अनि पशुपतिनाथमा डेढ क्विन्टल सुनको जलहरी चढाउने 
नयाँ खाले राजा आउन लाग्यो ।
‘काकौ के यो झुटो हो ?’

०००