• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दयाहाङ राई
२०७७ फाल्गुण १५ शनिबार ०७:५७:००
समाज

माफ गर बद्री

क्यामेराको फ्रेमभन्दा बाहिर निस्केपछि पो गाह्रो भयो । अहिले पनि ‘सेतो सूर्य’ हेर्दा सकस हुन्छ ।

२०७७ फाल्गुण १५ शनिबार ०७:५७:००
दयाहाङ राई

चलचित्रमा धेरै पात्रको जीवन बाँचेँ । अथवा बाँँच्ने कोसिस गरेँ । कति पात्रहरू सिनेमाभित्रै हराए, सिनेमा सकियो, बिर्सिदिएँ । तर, केही पात्र यस्ता छन्, जसले दिमाग रन्थनाइरहन्छ । जो स्मृतिमा बल्झिरहन्छन्, अल्झिरहन्छन् । केही त्यस्ता पात्र छन्, जो मैले बाँचिनँ, तर सधैँ दिमागमा ठोक्किइरहन्छन् । केही पात्र छन्, जसलाई मैले खेल्नुपरेन, जसको संवाद बोल्नुपरेन, तर स्मृतिबाट कहिल्यै टाढिँदैनन् । कोही प्रभाव बनेर बसेका छन्, कोही मीठो सम्झना बनेर बसेका छन्, त कोही सुन्दर विद्यालय बनेर बसेका छन् । 


केही पात्र छुटेका पनि छन् । काम गर्ने क्रममा छुट्दा रहेछन् । चाहँदाचाहँदै समेट्न नसकिँदो रहेछ । काम सकिन्छ । आफ्नै काम पुनः हेरिन्छ । अझै राम्रो बनाउन सकिने रहेछ भन्ने लाग्छ । तर, समयले दैलो बन्द गरिसकेको हुन्छ । सायद, प्रत्येक कलाकारलाई यस्तै लाग्दो हो, आफ्नै चलचित्र हेर्दा । यस्तो महसुस भएन भने ऊर्जा पनि नआउँदो रहेछ ।

 

म सम्झन्छु, ‘सेतो सूर्य’ । मैले व्यक्तिगत हिसाबले यस सिनेमामा जति काम गरेँ, त्यो पर्याप्त थिएन । एउटा पात्रको अनुहारभित्र धेरै मान्छेले आफूलाई पाओस् भन्ने चाहना थियो । कोसिस पनि गरेकै हुँ । तर, अझै पनि केही पात्र छुट्यो भन्ने लागिरहन्छ । जसलाई सम्बोधन गर्न सकिनँ । जनयुद्धसँँग सीधा सम्बन्ध राख्ने कति पात्रहरू अझै पनि युद्धकै ट्रमामा होलान् । अहिले उसको जीवन कस्तो अवस्थाबाट गुज्रिएको होला ! अनुमान मात्र गर्दा पनि जिउ सिरिंग हुन्छ । 

 

‘सेतो सूर्य’मा यी र यस्ता पात्र छुटेको महसुस भइरहन्छ । तर पनि एउटा प्रिय पात्र हो ‘अग्नि’ । जनयुद्धलाई मैले गाउँ, भोजपुरमा भेटेँ । भोगेँ, पर्गेलेँ र आफ्नो तरिकाले बुझेँ । यता सहरमा पनि भेटेँ जनयुद्धलाई । जनयुद्धप्रति सहर र गाउँको मनोविज्ञानसँग नजिकबाट परिचित पनि भएँ । तर, ‘सेतो सूर्य’को पात्रमा आफूलाई लैजान निकै सकस भयो । 

 

निर्देशक दीपक रौनियारले हातमा थमाइदिएका थिए स्क्रिप्ट । स्क्रिप्टले भनिरहन्थ्यो, ‘दया, तिमी लडाकु मात्र बनेर न्याय हुँदैन । आम लडाकु बन्नुपर्छ । त्यहाँ प्रचण्ड, बादलदेखि सधैँ जोशमा रहने लडाकु पनि बन्नुपर्छ । र मात्र अग्निको न्यायसंगत भूमिका निभाउन सक्छौ ।’


अर्को पात्र पनि रहेछ ‘अग्नि’ सँगै ‘चन्द्र’ । ‘चन्द्र’ घर फिरेको छ । ऊ हिजो जनयुद्धमा ‘अग्नि’ बनेर हिँड्यो । दशवर्षे जनयुद्धमा केका लागि हिँडेको थियो ? आज अवस्था कस्तो छ ? केका लागि सम्झौता गरेको छ ? त्यो कुरा चन्द्रले अन्तरमनमा मात्र महसुस गरिरहेको छ । ऊ परिवारसँग विद्रोह गर्छ । समाज र सामाजिक चिन्तनसँग विद्रोह गर्छ ।

मैले यो कुरा अहिलेसम्म ‘कन्फेस’ गरेको पनि थिइनँ । तर, आज लेख्दै छु । मभित्र निकै वर्षदेखि बसिरहेको यो कुरा आफूबाट बाहिर निकाल्न पाउँदा एकदमै हल्का महसुस भएको छ । एउटा गहिरो सकसबाट बाहिर निस्किएको अनुभूति गरिरहेको छु ।

 

एक बिन्दुमा पुगेपछि आफ्नै कारणले घरदेखि टाढिन्छ । तर, समय घुम्दै फिर्दै उही ठाउँमा आइपुग्छ, चन्द्रलाई घर आइपुग्नुपर्ने बाध्यता आइपर्छ । अति जरुरत पर्छ । पिता जो बितेका हुन्छन् । घर आउँछ, र पुरानै कुरासँग जुध्न थाल्छ । पुरानै संरचना, अवस्थासँग जुध्न थाल्छ । परिवर्तनका खातिर हिँडेको मानिस फर्केर फेरि उही यथास्थिति र परिवेशसँग लड्नु कत्रो दुर्भाग्य हो ! जनयुद्धकालीन समयमा हिजो उसले मानेकाहरू गाउँ हेलिकोप्टर चढेर आउँछन् ।

 

उसको अवस्था भने त्यस्तो छ । ऊ कुनै समयको लडाकु मात्र होइन । कुनै समय बम र ग्रिनेड बोकेर हिँड्ने सिपाही मात्र होइन । ऊ समग्र जनयुद्धको इमानदार लडाकुको प्रतिनिधि पात्र हो । उससँग सबैको प्रतिनिधि मनोविज्ञान छ । एउटा पात्र मात्र नभएर उसको स्वरूप नै मिश्रित छ । ऊ एक पात्र या एक मान्छे मात्र होइन ।


यसरी दुईवटा पात्रलाई समानान्तर रूपमा मैले बोक्नुपर्ने भयो । दश–पन्ध्र दिन सुटिङ रोक्यौँ । हाम्रो टिम नै छलफलमा बस्यो । मलाई काम गर्न मन लागेको त्यस्तै पात्रमाथि थियो । एक हिसाबले लोभ थियो, व्यक्तिगत इच्छा थियो । र, आकांक्षा पनि थियो । यसकारण पनि मलाई आँट आएको थियो, दीपकले ‘सेतो सूर्य’को स्क्रिप्ट जो दिएको थियो । स्क्रिप्ट पढ्दै जाँदा व्यक्तिगत रूपमै सकस भयो । एकपटक त सिनेमाबाटै हात उठाएको पनि थिएँ । तर, फेरि मनले मानेन । ‘गर्छु’ भन्ने नै लाग्यो । तर, पात्रलाई लिएर सहज प्रक्रियामा सुटिङमा जान कठिन भयो । 


पात्रमा जसरी पनि छिर्छु भन्ने लागेपछि धेरै किताबहरू पढेँ । जनयुद्धताकाका संस्मरणहरू पढेँ । लेखहरू पढेँ । मोहन मैनालीको ‘उपल्लो थलो’ दुईपटक पढेँ । चलचित्रको स्केच गर्दा हामीले गोर्खालाई केन्द्र मान्यौँ, पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको ठाउँ । त्यताको भेगमा म पुगेको थिएन । त्यस हिसाबले मलाई ती रिफ्रेन्सहरूले धेरै सहयोग गरे ।

 

कलाकार, निर्देशकसँग छलफल गरियो । गुगलमा भेटेका जनयुद्ध लडेका नेताहरूको फोटो हेर्‍यौँ । उनीहरूको कलर च्वाइसलाई लिएर कपडा बनायौँ । कपडाको डिजाइन भयो । युद्ध भनेपछि खास लडाकु सधैँ उत्साहित हुन्छन्, उनीहरूको मनोविज्ञानलाई बुझ्ने कोसिस गर्‍यौँ । यी प्रक्रियाहरू पूरा गरेपछि एक हिसाबले म पात्रका लागि तयार जस्तो भएँ ।

०००
सुटिङमा गइयो । त्यस समय म सिर्फ ‘अग्नि’ र ‘चन्द्र’ थिएँ । अहिले पनि बारबार सम्झन्छु म ‘बद्री’लाई । जसको बाआमा माओवादीले मारिदिएको हुन्छ । ऊ टुहुरो ‘अग्नि’ अथवा ‘चन्द्र’को भारी बोकेर आउँछ । कथा यसरी नै सुरु हुन्छ । पछि ‘बद्री’ले थाहा पाउँछ, आफैँले झोला बोकिदिएकोे मानिस माओवादी हो । ऊ आक्रोशित हुन्छ । मलाई आएर ढुंगा, माटो, मुड्कीले पिट्न थाल्छ । त्यो दृश्यले मलाई त्यस समय खुब बिथोल्यो । क्यामेराको फ्रेमभन्दा बाहिर निस्केपछि पो गाह्रो भयो । अहिले पनि ‘सेतो सूर्य’ हेर्दा सकस हुन्छ ।


‘कसले बदमासी गर्‍यो, कसले सजाय पायो ?’ हाम्रो डाइलग इम्प्रोभइजेसनमा थियो । ‘लु कुट् न त कुट् । युद्धको वेला के–के भयो होला ? तँ अहिले बुझ्दैनस् । ठूलो भएपछि आफैँ बुझ्छस्,’ बद्री आक्रोशित भएर मलाई पिट्दा यी शब्दहरू मैले बोलेँ ।


मैले कसलाई बुझाउने ? मसँग सम्झाउन सक्ने क्षमता छैन । तीन पुस्ताको कुरा छ । म बीचको दोस्रो पुस्ताको मान्छे । न मभन्दा माथिको पुस्ताले मेरो कुरा बुझ्छ, न मभन्दा तलको पुस्तालाई सम्झाउन सकिरहेको छु । यसवेला मलाई व्यक्तिगत रूपमा पनि महसुस भएको थियो कि यहाँ राजनीतिक विषय आउँदा युवाहरूलाई स्पेस दिइएन भनिन्छ ।

 

युवाहरूसँग सम्भावना छ । तर, जिम्मेवारी बोक्न सकिन्छ त ? त्यसवेला मैले महसुस गरेँ– जिम्मेवारी बोक्न बहुत मुस्किल हुने रहेछ । इम्प्रोभाइजेसनमै रहेको माथिका वाक्य ‘ठूलो भएपछि आफैँ बुझ्छस्’ फ्याट्ट बोलि पठाएँ । बोलिसकेपछि यो वाक्यभन्दा राम्रो अरू शब्द के हुन सक्छ ? हामीले वाक्य चेन्ज गर्ने कोसिस गर्‍यौँ । ‘तँ अहिले बुझ्दैनस्, ठूलो भएपछि बुझ्छस्’ भन्नु सही हो त ? 

बद्रीलाई मेरो स्वार्थका लागि त्यसो गरेँ । मैले जे गरेँ, नराम्रो गरेँ । एउटा कलाकारको हिसाबले र व्यक्तिगत हिसाबले पनि त्यो गलत थियो । किनभने मेरो स्वार्थका लागि उसलाई मैले यातना दिएको थिएँ । अन्य तरिकाबाट पनि उसको इमोसन निकाल्न सकिन्थ्यो होला । 


मैले दीपकलाई भनेँ, ‘यो संवादसँग बहुत कन्भिन्स छु यार । यो पात्र र संवादमार्फत अग्रजलाई दोष दिइरहेको हुन्छु, तर अनुज पुस्तालाई बुझाउन सकिरहेको हुँदिनँ । मैले बुझाउन नसकेको कुरा हो यो ।’ पछि मैले आफैँ पनि अनुभूत गरेँ, हिजो सही या गलत थियो भनेर हामी आउने पुस्तालाई बुझाउन सक्छौँ त ? भोलिको त्यो पुस्तालाई बुझाउन सक्दैनाँै होला । ठूलो भएपछि आफैँ बुझ्छस् भनेर छाडिदिन्छौँ होला । बिस्तारै मन्थन गर्दै जाँदा म आफैँलाई यो संवाद मनप¥यो । र महसुस गरेँ, जिम्मेवारी लिन एकदमै गाह्रो रहेछ । आरोप, प्रत्यारोप लगाउन सजिलो हुन्छ । जिम्मेवारी लिएर काम देखाउन मुस्किल । 


त्यसपछि मलाई बद्रीले उसको बाउआमा मारेको आरोपमा ढुंगा, माटो, मुड्कीले हिर्काएको छ । मैले उसको अघि आत्मसमर्पण गरेको छु, या त सम्झाउन नसकेको छु । अर्को कुरा घटना कहाँ, कसले कसरी घटायो । तर, दोषको भागिदार म बनिरहेको छु । त्यसको जिम्मेवारी बोेकिरहेको छु । सजायको भागिदार बनिरहेको छु ।


हाम्रो सुटिङ स्थल पोखराको धम्पुसदेखि माथि जंगलमा थियो । धम्पुसदेखि दुई घन्टा पैदल हिँडेर जानुपथ्र्यो । बिहान ६ बजे उठेर गएका थियौँ । दिउँसो दुई बजेको फ्लाइट थियो, पोखरादेखि काठमाडौंसम्मको मेरो । काठमाडौंमा ‘कबड्डी कबड्डी’को प्रिमियर थियो । त्यो दृश्यको सुट सकाएर म तीन–चार दिनको बिदामा काठमाडौं पनि आउँदै थिएँ । 
सुटिङ भइरहेको छ । हामी तीनजना कलाकार म, बद्री, र सानी बहिनी बाटोमा हिँडिरहेका छौँ । ओरालो छ बाटो ।

 

सिनेम्याटोग्राफरले खिचिरहेको छ । तर, एक बिन्दुमा पुगेर हामी सबै निराश भयौँ । बद्रीले त्यहाँ रुनु छ । ऊ रोइरहेकै छ । तर, एकदमै नक्कली रुवाइ । मुडमा छैन । साँच्चिकै अभिनय गरिरहेको छ ऊ । त्यस दृश्यका लागि समय निकै खर्च भइसक्यो । साढे एघार बजिसकेको छ । सुट सकाएर दुई घन्टा हिँड्नु छ । धम्पुस पुग्नु छ । त्यहाँबाट बाइकमा चढेर पोखरा पुग्नु छ । र प्रिमियरमा सहभागी हुनु छ ।


चलचित्रको सबै टिम निराश भए । दीपक पनि थकित भइसकेको थियो । दीपकले भन्यो, ‘दया, केही ट्राई गर न तिमी ।’ त्यही वेला एउटा कुरा दिमागमा क्लिक गर्‍यो । म पात्र मात्रै जो थिएँ । मेरो असली परिचय बिर्सिसकेको थिएँ । जे थिएँ, जनयुद्धको अग्नि र गाउँ फिरेको चन्द्र थिएँ । क्यामेरा अगाडि छ । बद्री मेरो काखमा छ । क्यामेराले खिचिरहेको छ । अचानक बद्रीको फिलामा चिमोटिदिएँ । ऊ रोएन, तर्सियो मात्र । मलाई पुलुक्क त्रसित भएर हे¥यो ।


फेरि चिमोट्न खोजेँ । यतिवेला भने बद्रीले साह्रै चित्त दुखाएछ । मेरो काखमा रुँदै मलाई पिट्न थाल्यो । सिनेम्याटोग्राफरले खिच्यो । त्यसवेला सबै टिमलाई भोक लागिसकेको थियो । उसले सोच्यो होला, ‘मैले काम पनि राम्रोसँग गर्न सकिनँ । त्यो भएर दाइले मलाई चिमोट्यो ।’ सिनेम्याटोग्राफरले त्यो दृश्य खिच्यो । सिक्वेन्सका लागि राम्रो पनि भयो । त्यसपछि म त काठमाडौं हिँडेँ, दयाहाङ राई बनेर । 


काठमाडौंमा काम र बिदा सकेर फेरि गएँ । बाँकी सुटिङ गर्नु थियो । तर, भेट हुँदा बद्री त मसँग बोल्दैन ! त्यसवेला एकदमै ग्लानि महसुस भयो । पछुतो लाग्यो । मैले बद्रीलाई मेरो स्वार्थका लागि त्यसो गरेँ । मैले जे गरेँ, नराम्रो गरेँ । एउटा कलाकारको हिसाबले र व्यक्तिगत हिसाबले पनि त्यो गलत थियो । किनभने मेरो स्वार्थका लागि उसलाई मैले यातना दिएको थिएँ । अन्य तरिकाबाट पनि उसको इमोसन निकाल्न सकिन्थ्यो होला । तर, त्यसै गर्नु मेरो गल्ती थियो ।

 

मलाई अहिले पनि त्यो अकस्मातको निर्णयले अपराधबोध महसुस हुन्छ । मैले यो कुरा अहिलेसम्म ‘कन्फेस’ गरेको पनि थिइनँ । तर, आज लेख्दै छु । मभित्र निकै वर्षदेखि बसिरहेको यो कुरा आफूबाट बाहिर निकाल्न पाउँदा एकदमै हल्का महसुस भएको छ । एउटा गहिरो सकसबाट बाहिर निस्किएको अनुभूति गरिरहेको छु ।


पछि मैले बद्र्री (अमृत परियार)सँग माफी मागेँ । उसले मलाई माफी पनि दियो । पछि काम पनि राम्रै गर्दै गयो । हाम्रो मित्रता पनि राम्रो भयो । त्यसपछि हाम्रो सम्बन्ध झनै बलियो बन्यो । तर, अहिले पनि लाग्छ, त्यो पल मैले त्यसो गर्नु गलतै थियो ।