• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झलक सुवेदी
२०७७ फाल्गुण १५ शनिबार ०८:०९:००
समाज

एउटा उत्प्रेरक, एउटा विद्रोही

२०७७ फाल्गुण १५ शनिबार ०८:०९:००
झलक सुवेदी

प्रचलित राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्थाका विरुद्ध चिन्तन गर्नु, आवाज उठाउनु, मत निर्माणको प्रयास गर्नु र बदल्न हिँड्नु विद्रोहका रूप हुन् । यहाँ भाषागत रूपमा विद्रोह शब्द कति उपयुक्त हुन्छ म निश्चित छैन, तर राज्य र समाजमा स्थापित मान्यता र मूल्य प्रणाली तथा राज्यसत्ताले जोगाउन खोज्ने यथास्थितिका विपक्षमा नागरिकको जीवन र समाजको सकारात्मक परिवर्तनका पक्षमा निरन्तर उभिनुको अर्थमा मैले यो शब्द प्रयोग गरेको हो ।


सबै मान्छे सधैँ विद्रोही हुँदैनन् । एक समयको क्रान्तिकारी अर्को समय यथास्थितिको मुख्य पहरेदार बन्न सक्छ भन्ने उदाहरण हाम्रा लागि पैँचो लिएर चिन्नुपर्ने बिम्ब होइन । हुँदाहुँदा विचार र व्यवहार दुवैमा पश्चगामी चिन्तन बोकेका ‘पूर्वक्रान्तिकारी’हरूसँग दिनदिनै साक्षात्कर गर्नुपरेको समय हो यो । हाम्रा दुःखान्तका अन्तर्निहित कारण यतै छन् ।


शासन प्रणाली, अर्थव्यवस्था, सांस्कृतिक सामाजिक मूल्यमा रहेका विभेदकारी व्यवस्थाहरूका विरुद्ध आवाज उठाइरहनु या विद्रोही बन्नु सहज अवश्य पनि होइन । थपमा यस्तो व्यक्ति आफैँ शासकीय सम्भ्रान्तवर्गबाट आएको भए झन् दोहोरो भिडन्त गर्नुपर्ने हुन्छ । कहिले जेल या प्रवास, कहिले हत्या र खेदो खनाइ सहनुपर्ने, वैयक्तिक भौतिक सुविधा परित्याग गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

 

कोही–कोही आफू सेफ साइडमा बसेर क्रान्ति र परिवर्तनको चर्का कुरा गर्ने हुन्छन् जो संगठित र व्यवस्थित रूपमा परिवर्तनका पक्षमा सक्रिय हुँदैनन् । वैयक्तिक जीवनलाई सुखमय बनाएरै विपक्षमा रहनेहरू यस कोटीमा पर्छन् । तर, यी पनि विचार–निर्माणका यात्री भने अवश्य हुन सक्छन् जसबाट प्रेरणा लिएर अर्को कोही विद्रोही र क्रान्तिको संगठक बन्न सक्छ ।


यहाँ मैले चर्चा गर्न खोजेको चाहिँ डा. देवेन्द्रराज पाण्डेको हो, जसलाई म सदावहार विद्रोही मान्छु । तत्कालीन दरबार या दरबारिया सम्भ्रान्तहरूसँग हजुरबाउको पुस्तादेखि जोडिएको पाण्डे खलकका, नेपाल भारत र अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरेर अर्थसचिवसम्म भएका यी पाण्डे आफ्नै वर्गसत्ताका विपक्षमा आवाज उठाउने एकजना विद्रोहधर्मी देखिन्छन् ।

 

कहिलेकाहीँ ठट्टाजस्तो गरेर आफूलाई बुर्जुवा भनी बस्ने यी पाण्डे विचारले यतिवेला नेपालको सीमान्तकृत समुदायका आवाज मुखरित गर्ने एकजना सशक्त प्रवक्ता हुन् । यतिवेला उनको चर्चाको सन्दर्भ भने हालै प्रकाशित आत्मसंस्मरणात्मक पुस्तक ‘एक ज्यान दुई जुनी’ले दिएको हो । फाइन प्रिन्टले बजारमा ल्याएको ‘एक ज्यान दुई जुनी’ डा. पाण्डेका अरू पुस्तककै पूरकजस्तो पनि छ र एउटा निरन्तरताको बिसौनीजस्तो पनि । यसैको सेरोफेरोमा रहेर यहाँ डा. पाण्डे र उनको पुस्तकका बारेमा सामान्य चर्चा गरिनेछ ।


मैले डा. देवेन्द्रराज पाण्डेको नाम चासोका साथ सुनेको या पढेको चाहिँ उनले जनमतसंग्रहभन्दा तीन महिनाअघि अर्थसचिवको पदबाट दिएको राजीनामासँगै हो । भर्खर तत्कालीन झापाली भनिने नेकपा मालेको रेडगार्ड बनेर माओका रचना अध्ययन गर्न थालेको समय थियो ।

 

डा. पाण्डेको राजीनामा सत्ताधारीहरूबीच अन्तर्विरोध रहेको र त्यसको संकटको अभिव्यक्तिका रूपमा हेर्नुपर्छ भन्ने धारणा हामीमा उठिहाल्ने भयो । त्यसरी नै उनलाई दरबारसँग असन्तुष्ट, बहुदलवादी उच्च सरकारी अधिकारीका रूपमा हेरियो, चिन्न खोजियो । पछि पत्र–पत्रिकामा आउने अन्तर्वार्ता र लेखका माध्यमबाट उनका विचारसँग परिचित हुँदै गइयो ।

 

२०४६ को आन्दोलनका समयमा त मानव अधिकारवादीका रूपमा डा. पाण्डेले राजनीतिमा आफ्नो स्थान र व्यक्तित्व निर्माण गर्नुभयो । समाजवादी विचार बोक्ने भएकाले बिपीको अनुयायी हो कि जस्तो लाग्ने, कम्युनिस्ट नभएकाले कांग्रेस हो कि जस्तो लाग्ने र मानवअधिकार, समावेशी विकास र सामाजिक न्यायको कुरा गर्ने भएकाले वामपन्थीजस्तो लाग्ने पाण्डेको छवि त्यतिवेला नै देखिएको हो । 


०६० देखि ०७२ सम्म पाण्डेले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने वातावरण बनाउन गरेको प्रयास, जनआन्दोलनमा खेलेको भूमिका, गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा अन्तिमसम्म दिएको दबाब, मधेसी, दलित र जनजातिलगायतका आन्दोलनका जायज मागलाई समर्थन गर्दै उभिएको उनको व्यक्तित्वले पाण्डेलाई हाम्रो समयको एकजना क्रान्तिकारीका रूपमा स्थापित गरेकै हो ।

 

अहिले पनि म उनलाई अर्थराजनीतिक चिन्तनका दृष्टिले, सामाजिक न्यायका पक्षमा उभिँदै विभेदका संरचनागत अवस्था बदल्न आवाज उठाउने भएकाले एउटा वामपन्थी भन्न रुचाउँछु । तर, पाण्डेलाई वामपन्थी भनिन रुचि छैन, त्यसमा हामीलाई खुसी यस मानेमा छ कि उनी आफ्ना चिन्तन, वचन र कर्ममा निष्ठावान् छन् । जसले आपूmलाई वामपन्थी क्रान्तिकारी दाबी गर्छन् तिनका भनाइ र व्यवहारबीचका खाडल हेर्दा बरु आफैँलाई वामपन्थी भन्न असहज महसुस हुन्छ ।


प्रस्तुत पुस्तक ‘एक ज्यान दुई जुनी’ डा. पाण्डेको आत्मसंस्मरणात्मक पुस्तक हो । यसको विशिष्टता के भने यसमा व्यक्ति पाण्डे र उनको पारिवारिक वैयक्तिक जीवन अत्यन्त कम र उनले समाजसँग अन्तरक्रियाका क्रममा देखे भोगेको नेपालको राजनीतिक विकास प्रक्रिया, यसका मुख्य कर्ता र पात्र, नेपालको कर्मचारी प्रशासनका सबल–दुर्बल पक्षसँग जोडिएका अनुभूति, वैदेशिक सम्बन्धका केही महङ्खवपूर्ण पक्ष, नागरिक समाज र नागरिक आन्दोलनसमेत समकालीन नेपालको इतिहास मुख्य रूपमा अभिलिखित छ ।

 

समकालीन नेपालको इतिहास, यसका सफलता, असफलता र त्यसका लागि जिम्मेवार संरचना र पात्रहरू, आन्तरिक र बाह्य आयामबारे आधिकारिक रूपमा थाहा पाउने यो एउटा गम्भीर पुस्तक हो

यसमा पाण्डे अवश्य छन् र थोरै झलक उनको पारिवारिक पृष्ठभूमिको अवश्य यसमा छ । तर, त्यही पारिवारिक पृष्ठभूमिसँग जोडिएको काठमाडौंको सम्भ्रान्त भनिएको पहिलो पाठले नै पृथ्वीनारायण शाहदेखि पञ्चायतकालसम्मको नेपालको राज्यसञ्चालन गर्नेहरू र जनताका आकांक्षाका बीच कसरी भेट भएन भन्ने जान्न पर्याप्त वैचारिक अवधारणा व्यक्त गर्छ । 


जम्मा ११ शीर्षक रहेका भिन्न, तर एक–आपसमा सम्बन्धित विषयको एउटा धागोले उनको जीवनलाई जोडेको छ, पुस्तकमा । मलाई उनको पुस्तकका चारवटा शीर्षक सबैभन्दा महङ्खवपूर्ण सामग्रीको खँदिलो पाठ हो भन्ने लाग्छ, पहिलो काठमाडौंको सम्भ्रान्त, दोस्रो असफल निजामती कर्मचारी, तेस्रो राजा बहुदल र माओवादी र चौथो विकास र लोकतन्त्र ः पञ्चायतदेखि गणतन्त्रसम्म । यी मूल राजनीतिक पक्षहरूलाई थप व्याख्या र पुष्टि गर्छन्, अन्य अध्यायले । 


सक्रिय नेतृत्व गरिरहेका राजाका समयमा उच्च पदस्थ कर्मचारीका रूपमा काम गरेका पाण्डेले दरबारका विकाससम्बन्धी दृष्टिकोण, त्यस समयको शासन सञ्चालनका राम्रा–नराम्रा पक्ष र खासगरी राजाहरूले बुझेको राजनीतिमा रहेका मूल समस्यामाथि समीक्षात्मक रूपमा प्रकाश पारेका छन् । उनको मुख्य बसउठ राजा वीरेन्द्रसँग भए पनि राजा महेन्द्र र ज्ञानेन्द्रका सन्दर्भले हामीलाई त्यतिवेलाको शासन व्यवस्था बुझ्न सहयोग गर्छन् ।

 

बहुदलको आरम्भिककालमा कृष्णप्रसाद भट्टराईको मन्त्रिमण्डलमा अर्थमन्त्रीका रूपमा काम गरेका र २०५० पछि केही वर्ष राजनीतिक दल खोलेरसमेत राजनीतिमा प्रवेश गरेका पाण्डेले त्यस कालखण्डको राजनीतिका मुख्य सारथिहरू नेपाली कांग्रेस र नेकपा एमालेका दृष्टि र व्यवहारको समीक्षा गरेका छन् ।

 

माओवादी आन्दोलनको उठान र बैठानका समयमा एकजना सहजकर्ता, आशावादी आँखाले माओवादीप्रति हेरिरहेका र पछि तिनले खासगरी राजनीतिक संस्कृतिका क्षेत्रमा काठमाडाैंको सम्भ्रान्तवर्गकै परम्परा पछ्याउन गरेको सम्झौताका कारण निराश भएका द्रष्टाका रूपमा डा. पाण्डेका विचारले वास्तवमा हाम्रो समकालीन इतिहासमा नेपाली जनताले अनेक आन्दोलनमा सहभागी भएर राजनीतिक वर्गलाई गरेको सहयोग कसरी नेताहरूको अल्पदृष्टिका कारण दुरुपयोग भयो भन्ने कुरा प्रस्टसँग राखेका छन् । उनी अहिले पनि लोकतन्त्रलाई बलियो बनाएर, समावेशी र सहभागितामूलक बनाएर, लोकतान्त्रिक संस्थालाई थप मजबुत बनाएर जाँदा नै वर्तमान निराशाबाट मुक्त हुन सकिन्छ भन्ने विश्वासप्रति दृढ देखिन्छन् । 


डा. पाण्डेले यस पुस्तकमा यसअघि निस्किएका आफ्ना पुस्तक ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’, ‘अर्थराजनीतिक विसंगति राष्ट्रनिर्माणको तगारो’, ‘डेभलपमेन्ट एन्ड डोनर्स’, ‘कर्पोरेट गभर्नेन्स एन्ड इन्टर्नेसनल कोअपरेसन’, ‘दी आइडिया अफ इन्टग्रिटी’ र नागरिक आन्दोलन र गणतान्त्रिक चेतनामा समेटिएका आफ्ना विकास, प्रशासन, शुसासन, लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायसहितको सहभागितामूलक प्रजातन्त्रका विविध आयामसहित समेटिएका आफ्ना दृष्टिकोणको सारसंक्षेप प्रस्तुत गरेका छन् ।

 

हाम्रो समयको इतिहास, यहाँका विभिन्न आर्थिक राजनीतिक र सामाजिक समूहका अन्तत्र्रिmया संघर्ष र एकताका बहुआयामिक पक्ष समेटिएको पाण्डेको यो पुस्तक नेपालका बारेमा जान्न चाहने सबैका लागि विशेष पाठ्यासामाग्री र संग्रहणीय पुस्तक हो । समकालीन नेपालको इतिहास, यसका सफलता असफलता र त्यसका लागि जिम्मेवार संरचना र पात्र, आन्तरिक र बाह्य आयामका बारेमा आधिकारिक रूपमा थाहा पाउन पनि यो एउटा गम्भीर पुस्तक हो ।

 

समग्रमा नेपालले सन् १९६० देखि २०२० सम्मका समयमा एउटा पिछडिएको सामन्तवादी पृष्ठभूमिको समाजबाट आधुनिक विश्वसँग पछिपछि हिँड्न गरेका प्रयासहरूको समीक्षा पनि हो यो पुस्तक । २०७२ को संविधान जारी हुँदा जे–जति असहमति भए पनि त्यसले कोरेको बाटोबाट पनि अघि बढ्ने सम्भावनाका बारेमा आशा गरिएको थियो त्यसप्रति पछिल्लो विकसित राजनीतिले संशय जन्माइदिएको छ ।

 

यस्तो समयमा नेपालका सम्भावना र उज्यालो बाटोका बारेमा मन्थन गर्न पनि ८१ वर्ष पुगेका, आधा जुनी पञ्चायत वा राजाको कर्मचारीका रूपमा बिताएका र आधा जुनी बृहत्तर नेपाली समाजसँग अन्तक्र्रिया गरेर अनुभव हासिल गरेका पाण्डेको यो पुस्तकमा समेटिएका विचार झन् महङ्खवपूर्ण हुनेछन् । यो फगत परिचयको प्रयास हो पुस्तकको समीक्षा होइन, आफैँ डुबेर जति सकिन्छ त्यति झिक्ने जिम्मा पाठकहरूकै हातमा ।