• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
घनश्याम शर्मा पौड्याल
२०७७ फाल्गुण १५ शनिबार ०८:५९:००
समाज

गजे घर्ती

२०७७ फाल्गुण १५ शनिबार ०८:५९:००
घनश्याम शर्मा पौड्याल

हामी तिनलाई सामुन्ने पर्दा ‘हलीबा’ भन्थ्यौँ । मान्छेहरू पर्दापछाडि तिनलाई अरू–अरू नामले पनि पुकार्थेे । मलाई प्रश्न उठ्थ्यो, ‘बा ठूलो कि हलीबा ठूलो ?’ अन्तमा निधो गरेँ बा नै ठूलो । किनकि बालाई हामी उहाँको अनुपस्थितिमा पनि तपाईं नै भनी सम्बोधन गथ्र्यौं । तर, हलीबालाई भने उनको अनुपस्थितिमा तँको सम्बोधन गथ्र्यौं । यति मात्र होइन, ‘घर्ती बूढो, गजे बूढो, पोके बूढो’ जस्ता नामले पनि पुकाथ्र्यौं तिनलाई । किनकि उनको घाँटीमा उनताक ठूलो खटिरो आएको थियो रे, सायद त्यो जनै खटिरो पो थियो कि । अनि सन्चो भएपछि पनि बाहिरैबाट देखिने गरी एउटा लुँदो छोडेर गएछ त्यसले । पिठ्युँपरि जसले जेसुकै भनून्, सामुन्ने परेपछि हेपिहाल्ने हिम्मत भने कसैले गरेनन् । किनकि, उनको त्यो अग्लो शरीर र लामो अनुहारले केही अलग्गै व्यक्तित्व पनि दर्साउँथ्यो ।  


यसै जातिका मान्छेहरूलाई नै उति वेला कमाराकमारी राख्ने चलन थियो रे ! कमाराकमारी, संसारको अनौठो दासप्रथा । नेपाली सभ्यताकोे इतिहासमा एउटा कालो अध्याय । बाबुआमा किनेर ल्याएपछि तिनका छोराछोरीलाई पनि बाख्राका पाठापाठीझैँ मनपर्दी किनबेच गर्न पाइने । लोग्नेस्वास्नीलाई अलग्याएर पनि किनबेच गर्न सकिने । छोरीको बिहे गर्दा दाइजो दिएर पठाउन पनि पाइने । जति बच्चा जन्मायो, उति बेच्दै नाफा कमाउँदै गर्न पनि पाइने । राजा–महाराजा र राणाहरू मर्दा त तिनीहरूका लाससँगै जलाउन र ‘पुण्य कमाउन’ पनि पाइने । 


म जान्ने हुँदा कमाराकमारी प्रथा थिएन । बाले भने धेरैपटक सुनाउनुहुन्थ्यो, आफ्नो घरको एकजना कमाराको कथा । होचो, पुड्को र एकदम गठिलो शरीर भएको मान्छे । नामै गिँडे कमारो । निकै बफादार, काम पनि निकै गर्ने, तर रिस उठ्यो भने कसैलाई बाँकी नराख्ने । एकपटक के कुरामा चित्त बुझेनछ कुन्नि, ऊ झ्याम्मै हजुरबामाथि जाइलागेछ । हजुरबा भाग्दै लुकेर बचेछन् । अचेल सम्झन्छु, गज्जबका विद्रोही दास रहेछन् गिँडे । उहिले भए स्पार्टाकसको सेना बन्थे होलान् तिनी । अनि अचेल जन्मेका भए खाँटी क्रान्तिकारी ।


घर्तीबालाई सम्झने क्रममा आइपुगे मेरो देशको कालो इतिहासका साक्षी एउटा विद्रोही स्वभावका गिँडे । जे होस्, जिन्दगीभर दास बन्नुपरेनछ उनले । चन्द्रशमशेरको कमाराकमारी मुक्तिको आदेशसँगै छुटेथे रे, गिँडे पनि । उनी अमलेख त भएछन्, तर त्यसपछि कहाँ पुगे र के भए, कसैलाई खाँचो परेन । म भने उनलाई नदेखे पनि आदरपूर्व स्मरण गरिरहेछु आज ! माफ गरिदेऊ गिँडे काका π तिमीलाई दास बनाउने मेरा पुर्खाहरूलाई र मलाई पनि ! यिनै दुई पंक्तिले जीवित राखून् तिम्रो सम्झना र तिम्रो पुरिएको इतिहासलाई ।


अँ त, कुरा हुँदै थियो घर्तीबाको । हाम्रो गाउँमा दुइटा सानासाना घर्तीटोल थिए । तिनैले बोक्थे सबैको बिहेमा डोली । तिनैका पिठ्युँमा बोकिन्थे सबैका दुलही । बिहे हुँदा सातै वर्षकी थिइन् मेरी ठूली भाउजू । तिनलाई पाँच घन्टाको दूरीबाट पिठयुँमा बोकेरै ल्याएथे, कुभिन्डेका माइलदाइले । सोली बोकेर गाउँलेका चेलीबेटी पुुर्‍याउन जान्थे तिनै । हलो तिनैले जोत्थे । गाउँलेहरू जसको जे काम पर्‍यो, तिनैले गर्थे । तर, त्यही जातिको बीचमा पनि आफैँ विचित्रको व्यक्तित्व निर्माण गरेका थिए, यी घर्तीबाले । 


अग्ला कदका घर्तीबाको पहिरन थियो हाफबाउले भोटो, कालो इस्टकोट, सेतो कछाड अनि टाउकामा सेतै टोपी । खुट्टामा हुन्थ्यो स्थानीय सार्कीले बनाएको काने जुत्ता । तलुवाको अगाडि–पछाडि फलामको करुवा ठोकेको हुन्थ्यो । बाहुनविष्टका ढुंगाका छप्पनी बिछाएका आँगनमा सानले जुत्ता पड्काउँदै जान्थे उनी ।

 

बाहुन–क्षेत्रीभन्दा इतर जातको अरू कसैले मेरा बाआमालाई तिमी भनेका कहिल्यै सुनिन । तर, तिनले निर्धक्क तिमी र माइलामाइली भनेर बोलाउँथे, गाउँका प्रतिष्ठित पण्डित दम्पती मेरा बाआमालाई पनि । कान्छाबालाई भने तिनले तँ नै भन्थे । ‘के गर्दै छस् ए कान्छा कँडेर ?’ भनेरै हकार्थे । कान्छाबा प्रतिवाद गर्न सक्दैनथे । यस्तो उपाधि तिनैले मात्र किन दिन्थे मेरा आदरणीय काकालाई र चुपचाप किन सहन्थे मेरा काकाले, बुझ्न सकिरहेको छैन आज पनि म । 


त्यति वेलाका गुप्ती सयपति साहु थिए घर्तीबा । मेरो विचारमा उनीसँग बढीमा दुई–अढाई सय नगद हुँदो हो । किनकि उनको सेफ, कुन्तुर वा बैंक जे भनौँ, त्यही एउटा छालाको चङ्खु थियो । कसैलाई पैसा दिनुपर्दा त्यसैबाट ढ्याके रुपैयाँ निकालेर पाँच–पाँच रुपैयाँको लक्कु लाएर गन्थे र सय रुपैयाँ पुर्‍याएर दिन्थे । मेरा बा लामो समय बिरामी पर्दा ऋणमाम्लो त पर्ने नै भयो । माइलादाजु गएर सय रुपैयाँ लिनुभएको रहेछ । पैसो रहेछ मुरी ब्याजेमा ।

 

सय रुपैयाँको वार्षिक ब्याज एक मुरी कोदो, त्यो पनि उनको आफ्नैै पाथी र आफ्नै हातले भरेर । त्यो धान हैन, मकै वा कोदै हुनुपथ्र्यो, किनकि धानबाट त आधा भुसै जानेभो । मलाई तिनले दुई वर्ष मुरी कोदो भरेर लगेको सम्झना छ । ती साहु फेरि हाम्रै घरमा हलो जोत्न पनि आउँथे । को थिए ती हाम्रो निम्ति, सामन्त कि श्रमजीवी, हलीबा कि साहुबा ?, मनमा आज पनि प्रश्न बाँकी नै छ । 


तीन भाइ छोरामा कान्छो खपटेले खाएर म¥यो । माइलो या ठूलोकान्छो लाहुरे हुन गयो । जेठो गाउँघरमै दुःख गर्दैै बस्यो । घरमा के भन्नु । बटौलीदेखि दुनियाँका भारी बोक्ने उही एउटा थियो । ऊ मान्छे बाठै थियो, तर नामचाहिँ लाटो । उसलाई उनी खुब हकार्थे । हकार्ने विषय एउटै थियो ः ‘बर्साउँते ब्याएर घर भराइसकी तेरी स्वास्नीले । सक्दिनँ तेरी काली र यसका छौँडाछौँडी पाल्न म ।’ लाटो छोरो चुपचाप सहिदिन्थ्यो । वास्तवमा भारी बोकेर परिवार पाल्ने र दुई–चार पैसा बाबुका हातमा हालिदिने त बिचरा उही लाटो न थियो । तर, बूढाको हैकमका अगाडि के बोल्न सक्थ्यो र बिचराले ।


पूजाआजामा भजन गाउन हिँड्थे हलीबा । साह्रै राम्रो मुजुरा हान्थे उनी । भैलो–देउसीमा आपूm पुरुसिंगे बनेर मारुनी र खेली नाच नचाउन सिपालु थिए ती । एकचोटि देउसी खेल्न आएको उनको टोलीलाई मेरा बाले रोटीचामलको अतिरिक्त दश रुपैयाँको नयाँ नोट दिनुभयो । सात दिन सप्ताह बाँचेर मुस्किलले दक्षिणा ल्याउनुहुन्थ्यो बीस–पच्चीस रुपैयाँ । एक छिनका लागि त्यत्रो पैसा । साह्रै मन दुख्यो मेरो । अहिले पनि सम्झिरहेको छु त्यो नयाँ नोट । पैसा देख्न मुस्किल हुन्थ्यो उति वेला । त्यसमा पनि कागजको पैसा गाउँमा मुस्किलले देखिन्थ्यो ।

 
उति वेला गाउँका नाम चलेका शासकहरू थिए, रिठाटे काइँला मुखिया र कोरेङे जिम्मुवाल पनि । आआफ्नो ठाउँका राजा थिए ती । तर, तिनीहरूसमेत पूर्ण निरक्षर थिए । घर्तीबा भने साक्षर मात्र होइन, पठित नै थिए । उनी पात्रो हेरी तिथिमिति र साइतसगुन निकाल्थे । केही संस्कृतका सिलोक पढेर सूर्यलाई पानी चढाउँथे । रामायण र महाभारतका सिलोक लामो एवं संगीतमय भाकामा आनन्द मानी–मानी पढ्थे । प्रश्न आज उठिरहेको छ, त्यत्रो बाहुनक्षेत्रीको दबदबा भएको वेला कहाँ गएर पढे होलान् त्यो जमानामा त्यो जात र त्यो तहको मान्छेले ती सबै कुरा ? 


उनी आफ्नो जमानाका सानातिना डाक्टर तथा वैद्य थिए । उनीसँग भिरुंगीजस्ता गुप्तरोगको ओखती गर्न टाढाटाढाबाट पनि आउँथे मान्छेहरू । ठुल्ठूलो पिलो खटिरो भयो भने घर्तीबाले आरो हाली ठीक पारिदिन्थे । यो आरो हाल्ने भनेको फलामको सुइरो आगामा रातो बनाएर घाउखटिरामा च्वाइँ पार्दै प्वाल पार्ने काम हो । एक प्रकारको चिरफार, जो उनी कुशलतापूर्वक गर्थे । पेटमा गानुगोला या शूल उठ्यो भने उनी बातो हालेर पड्काइदिन्थे । यो भनेको पेटमा दुखेको ठाउँ पहिल्याएर बाहिरी छालामा आफ्नै हातले तयार गरेको थोरै विस्फोटक पदार्थ पड्काएर सानो घाउ पार्ने काम हो । बिहेमा उत्सवका लागि भरुवा बन्दुक पड्काउने चलन थियो । त्यसका निम्ति बारुद पनि उनी आफैँ तयार गर्थे ।


उनी तान्त्रिक थिए । उनले तीन प्रकारको तान्त्रिक काम गरेको ज्ञात छ मलाई । बोक्सी फुक्थे, पतिपत्नीको मन मिलाउन कुनै मिठो खाने कुरामा मोहनी मन्त्र गरिदिन्थे र मन बिगे्रको मान्छेलाई मन्त्र हालेको कुरा थाहा नदिई खुवाउन अह्राउँथे । चोर पहिल्याउन धनु मन्तरी दिन्थे उनी । उनको यो तन्त्रविद्या उनी र उनका बिरामीबीचको गजबको मनोविज्ञानको खेल थियो । तर, जमाना त्यही थियो, उपाय त्यही थियो र विश्वास त्यसैमा थियो मान्छेको । उनी डकर्मी सिकर्मी दुवै काम गर्थे । गाउँलेका घर कटेरा बनाउने काम पनि गरिदिन्थे उनी । धागो कात्ने चर्खा आफैँ बनाउँथे र त्यसभन्दा जटिल कपासबाट बियाँ र घुरकसेर अलग गर्ने यन्त्र उइँटा आफैँ बनाएर प्रयोग गर्थे । खसीबोका मार हान्ने काममा उनी नामुद थिए ।

पहिचान भनेको आँखा, नाक, कद र शरीरको रङ मात्र होइन, आ–आफ्ना पुर्खाका ज्ञान, सीप, सिर्जना र पौरख आदि पुख्र्यौली सम्पदाको संरक्षण, परिष्कार तथा हस्तान्तरण हो । जनतालाई पूरै अज्ञानी ठान्ने आपूm सर्वज्ञ बनेर हावादारी भाषण गर्दैमा दुनियाँ फेरिँदैन रहेछ ।


हाम्री आमाले बनाएको कोदाको ढिँडो र पिँडालु मिसाएर पकाएको मासको दालमा रातो खुर्सानी ठोसेर उनले खान थालेपछि हामी हेरेको हेर्‍यै गथ्र्यौ । तर, खाना गाँस हाल्नुभन्दापहिले केही मन्त्र भन्दै पानी घुमाउँदै गर्थे र गाँसलाई माथि निधारमा लगेर ढोगेपछि मुखमा हाल्थे । यो प्रक्रिया तीन गाँससम्म दोहोर्‍याउथेँ उनी । म प्रश्न गर्थें : ‘खाने कुरालाई किन ढोगेको हलीबा ?’ उनी जवाफ दिन्थे, ‘अँ, त्यसै आउँछ भनेको छस् यो भाग थालीसम्म, कति गर्नुपर्छ एक गेडो अन्न उब्जाउन ? उही भुँडी फुलुन्जेल खान र डहरमा गएर हग्नबाहेक अरू के थाहा छ तँ सिँगानेलाई ?’ म लुत्रुक्क परेर दौराको बाहुलाले सिँगान पुछ्दै उता गएर चुप लागी बस्थेँ ।


उनको उमेर त्यस वेला कति पुगेको हुँदो हो थाहा भएन । तर, दुःखको कुरा मैले गाउँ छाडेर हिँड्ने वेला उनी कुनै मानसिक रोगका, वा मेरो अनुमानमा एक प्रकारको फोबियाका सिकार बनिसकेका थिए । वा बुढेसकालमा हुन सक्ने एक प्रकारको डिप्रेसनका सिकार भएका थिए उनी । कोही मान्छे देखे भने लौ मलाई पक्रन आए, लान आए, मार्न आएजस्ता त्रसित आवाज निकाल्दै लुक्न जान्थे । तर, गाउँलेहरू भने ‘गजे घर्ती त बौलाएको छ नि, थाहा पायौ ?’ भन्दै कुरा काट्दै हिँड््थे उनका । सायद केही समयपछि ती पनि विनाहारगुहार त्यसैगरी मरे होलान्, जसरी सीप र सिर्जनाको बिरासतले सम्पन्न हर ग्रामीण श्रमजीवी मर्छ । तिनको मृत्युमा पक्कै गएनन् मलामी बनेर कोही बाहुन–क्षेत्रीहरू । किनकि उनी थिए ‘जातघटीका मान्छे ।’ 


जम्मा पन्ध्र वर्षको उमेरसम्म बस्न पाएँ म आफ्नो जन्मथलोमा र त्यतिमै जाने मैले उनलाई । अर्थात् आजभन्दा करिब अन्ठाउन्न वर्षपहिलेको स्मृतिमा रहेका एक सामाजिक पात्रको कथा हो यो । त्यस उमेरसम्मको मेरो सामाजिक सम्बन्ध र सामाजिक चेतनाको तहबाट स्मृतिमा सँगालेका यस्ता कैयन् पात्रहरू छन्, जसले आफ्नो सीप, कला, श्रम र सिर्जनाद्वारा समाजलाई निरन्तर गति दिएर गए ।

 

तिनका बारेमा न कसैले सम्झिदिनेछ, न त लेखिदिनेछ । आज पनि मेरो स्मृतिमा ताजै छन्, हातैले लुगा सिएर विष्टको इज्जत थामिदिने पुत्ले दमैका दम्पती । पहिलोपटक सिलाइ कल ल्याएर सिलाइमा क्रान्ति ल्याउने टीके दमार्इं, हाम्रा सबै घरायसी तथा कृषिऔजारको आवश्यकता पूरा गरिदिने मसिने कामी । बूढीलाई खाना बनाउन भनेर बारीमा डल्ला फोर्न गएका नब्बे वर्षे कान्छा सार्कीले बारीमै जीवन बिसाएको कथा ।

 

एक पैसा नलिई वारिपारिका पूरै गाउँलाई नदीपार गराइदिने बाच्छाका बोटेदाइहरू । वा एक खुट्टाले गाउँगाउँ घुमेर चन्दा मागेरै काली गण्डकीमा झोलुंगे पुल हाल्ने नाम थाहा नभएका ‘एकखुट्टे भुसाल ।’ ‘गण्डकीमा पक्की पुल पारेर, धर्म लुटौँ दुनियाँ तारेर ।’ उनको यो गीत अझै कण्ठै छ मलाई । उनकै साहसले कसरी विकट पहरालाई मुडा जोतेर तताउने र गहतको झोल हालेर हमरले हान्ने गरेर पुलसम्म जाने बाटो तयार भएथ्यो । तर, कसैले सम्झिदिँदैन र कसैले लेखिदिँदैन यिनीहरूका संघर्षका कथाहरू र स्तूत्य कर्महरू । त्यसरी नै पुरिएर गए तिनका कथाहरू पनि, जसरी पुरिँदै गए तिनका लासहरू कालीको बगरमा ।


आज पहिचानको मुद्दा प्रबल रूपमा उठिरहेको छ । वास्तवमा पहिचान भनेको आँखा, नाक, कद र शरीरको रङ मात्र होइन, आआफ्ना पुर्खाका ज्ञान, सीप, सिर्जना र पौरख आदि पुख्र्यौली सम्पदाको संरक्षण, परिष्कार तथा हस्तान्तरण हो । जनतालाई पूरै अज्ञानी ठान्ने आफू सर्वज्ञ बनेर हावादारी भाषण गर्दैमा दुनियाँ फेरिँदैन रहेछ । ज्ञानको स्रोत श्रमजीवी जनतालाई मान्ने हो भने गजे घर्ती एक बहुप्रतिभाशाली पात्र हुन्, जो आजको युगमा जन्मिएका भए बहुमुखी प्रतिभा बन्न सक्थे । सायद ठूलो वैज्ञानिक पो बन्दा हुन् कि ? उनको कथाले पाठकलाई थोरै भए पनि पुर्खाहरूका ज्ञान, सीप तथा सिर्जनाबारे खोजी अनुसन्धान गर्नतिर उत्पे्ररित गर्न सक्ला कि भन्ने अपेक्षाले जन्मायो यो कथ्यपरक निबन्ध पनि । 
हात्तीवन, ललितपुर