• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अस्मिता बादी
२०७७ फाल्गुण २२ शनिबार ०९:०७:००
साहित्य

आऊ एउटा नयाँ युग लेखौँ

२०७७ फाल्गुण २२ शनिबार ०९:०७:००
अस्मिता बादी

मेरो युद्ध तिमीसँग होइन 
म आफैँसँग हो 
हेप तिमी कतिसम्म सक्छौ  
कुरा तिम्रो हेप्नुको होइन 
कुरा म कतिसम्म हेपिन सक्छुको हो 
तर याद गर
जुन दिनदेखि म हेपिन छाड्छु
तिमी मलाई ठाडो शिरले हेर्न सक्नेछैनौ

 

थाहा छैन मलाई तिमी के सोच्छौ ?
मलाई हेप्दा तिमी आफूलाई के सोच्छौ ?
या तिम्रो नियत नै मलाई हेप्नु हो
तिम्रो नियतले तिमी मजबुर छौ
या तिमीमा घमन्ड छ मलाई हेप्दा
तिमी हौ को ?
सायद महामानव हुनुपर्छ,
त्यसैले त तिमी महामानव हुँदाहुँदै हेप्छौ !

 

रगत तिम्रो पनि रातो छ होइन र ?
अनि रगत मेरो पनि रातै छ नि 
तिमी पनि मान्छे नै हौ
म पनि मान्छे नै हुँ 
मानव शरीरका अंगप्रत्यंग 
मसँग पनि छन्
मन, भावना, मस्तिष्क, विचार सबै छ 
मेरो पनि मुटु रगतबाटै धड्किन्छ 

 

उत्पत्ति अनि बनावट एउटै भएका हामी
तिमी छुत अनि म अछुत कसरी ?
तिमी ठूलो म सानो कसरी ?
तिम्रो घरमा कुकुरलाई स्थान छ
तर तिम्रै घरको आँगनमा
म उभिन डराउनुपर्ने ?
छोरीको जवानी अनि
बाबाको पसिना चलाउने तिमी
तर मैले छोएको पानी किन नचल्ने ?

 

मेरो युद्ध तिमीसँग होइन 
तिमीभित्रको अहंकारसँग हो 
मेरो युद्ध मानवसँग होइन
हराइरहेको मानवतासँग हो
मेरो युद्ध समाजसँग हुँदै होइन
समाजका सबै ‘कु’ हरूसँग हो 

 

तिमी पनि आऊ न
हातेमालो गरी मेरो अस्तित्व खोजौँ
तिमी र म भएर 
एउटा नयाँ युग लेखौँ ।