• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तारामणि राई
२०७७ फाल्गुण २९ शनिबार ०७:१३:००
इतिहास

‘खुवालुङ’को रक्षार्थ प्रतिरोध 

२०७७ फाल्गुण २९ शनिबार ०७:१३:००
तारामणि राई

कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?

 

एकपछि अर्को सांस्कृतिक एवम् भाषिक दमनको क्रम बढ्दो छ । कहिले खोकना,  कहिले कमलपोखरी त कहिले बालाजु बाइपासमा सडक विस्तार र विकासको नाममा दमन भइरहेको छ भने कहिले मातृभाषामा कुराकानी  गरेबापत हिरासतमा जबर्जस्त बस्नुपर्ने अवस्था सिर्जना भएको छ । दमनको पछिल्लो शृंखलाको रूपमा ‘खुवालुङ’ फुटाउने कुरालाई लिन सकिन्छ, जसले राज्य अझ अनुदार र असहिष्णु बन्दै गइरहेको संकेत गर्छ । 

 

वर्तमान संविधान जारी भएपछिको निर्वाचित सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा तय गरेर समृद्धिको यात्रामा छ । समृद्धिको यात्रा निरपेक्ष छ वा सापेक्ष छ, यो छुट्टै बहसको विषय बन्न सक्ला, तर कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ? 

 

एकातिर आम किरातीहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ फुटाउने कुरा आइरहेको छ भने अर्कातिर पशुपतिनाथमा रहेको गर्भगृहमा एकसय किलोभन्दा बढी सुनको जललहरीले छपक्कै ढाक्ने कुरा आएको छ, जुन आफैँमा विरोधाभास छैन र ? 

 

के हो खुवालुङ  ? 

 

‘खुवालुङ’ किराती समुदायको सांस्कृतिक बिम्ब हो । योसँग सांस्कृतिक अनुष्ठान जोडिएको छ । मौखिक परम्परामा पुस्तान्तरण हुँदै आएको मुन्दुमी ज्ञान प्रणालीमा होस् या मिथकहरूको वर्णनमा किन नहोस्,  खुवालुङको नाम बारम्बार पुनरावृत्ति भइरहन्छ । यो नाम नलिँदा अनुष्ठान नै अपूरो प्रायः मानिन्छ । पुरातात्विक एवम् राजनीतिक हिसाबले महत्व राख्ने यो थलोको वरिपरि राजनीतिक अभ्यास भएका केही तथ्य र भग्नावशेष अझै पाइन्छन् । बेलका राजा, बेलकी रानी, मैना राजा, मैना रानीबारेका मिथक अद्यापि सुन्न पाइन्छ । 

 

आम आदिवासीहरूले झैँ किरातीहरूले पनि प्रकृतिको श्रद्धापूर्वक पूजा वा आराधना गर्ने र पितृको स्मरण गर्ने गर्छन् । किराती समुदायमा पाप र पुण्यका आधारमा स्वर्ग वा नर्कको परिकल्पना गरिँदैन । बरू मुन्दुमले प्रकृतिको लयमा जीवन जिउन निर्दिष्ट गरेको हुन्छ । 

 

किराती समुदायभित्रको दुमी र कोयीहरूको मृतात्मा बलमदेलमा पु¥याउने गरिन्छ भने थुलुङहरूले कटुन्जेमा पुर्‍याउँछन् । ती ठाउँमा मृतात्मालाई पु¥याउने काम भने नक्छोले गर्छ, जुन कुरा मुन्दुमको महागाथासँग सम्बन्धित छ । त्यसो त यी ठाउँलाई  भौतिक रूपमै पनि विशेष किसिमले संरक्षण गरिएका हुन्छन्, साथै चोखोनितो राख्नुपर्ने मान्यता छ । यो कुरा नितान्त प्रकृति संरक्षणसँग सम्बन्धित छ । किराती समुदायभित्र कसैको मृत्यु भए उनको नाममा कदमको रुख रोप्ने प्रचलन अद्यापि छ । के यो धारणा आफैँमा प्रकृतिमैत्री छैन त ? 

 

प्रकारान्तरले प्राकृतिक स्रोतको अनावश्यक दोहन गर्न नहुने कुरा नै मुन्दुमले सिकाएको छ । खुवालुङ पनि यही महाआख्यानसँग जोडिएको छ । दृश्यमा अरुण, तमोर र दुधकोसीको संगमस्थलमा रहेको भीमकाय ढुंगा भए पनि यो अदृश्य रूपमा धामी, नक्छो वा कुविले मुन्दुमी यात्राको क्रममा पुग्ने ठाउँ हो । विश्वास पद्धतिका विभिन्न आयाम हुन्छन्, तिनका आधारमा हेर्ने कुरा एउटा होला, तर प्रकृति संरक्षणका दृष्टिले आदिवासीहरूको ज्ञान वा दर्शन निकै महत्वपूर्ण छ । 

 

खुवालुङ शब्दबारे अन्योल 
किरातीहरू विविध भाषी भएका कारण भाषिक हिसाबले फरक–फरक शब्दहरू प्रयोगमा आउन सक्छन्  । खुवालुङलाई केहीले खोक्वालुङ भन्ने गरेको पाइन्छ । भाषाशास्त्री इच्छापूर्ण राईले खावालुङबाट खुवालुङ हुन सक्ने तर्क अघि सारेका छन् । तर, खावालुङ शब्द अहिले प्रचलनमा देखिँदैन ।  अधिकांशले खुवालुङ  शब्द नै  प्रयोग गर्ने गरेको पाइन्छ । 

 

खुवालुङको शाब्दिक अर्थबारे विद्वान्बीच मतभिन्नता देखिन्छ । संस्कृतिविद् चतुरभक्त राईको मतअनुसार ‘खुवा’को अर्थ चरीचरण वा कसैको स्वामित्वमा रहेको भूमि भन्ने हुन्छ । त्यसैगरी अर्का संस्कृति अध्येता चन्द्रकुमार हतुवालीले भने ‘खुवा’को अर्र्थ राज्य, सीमा र क्षेत्रका भनेका छन् । त्यसो त केहीले ‘खुवा’लाई  सोलोडोलो पानीको रूपमाअर्थ्याएका छन् । 

 

भोटबर्मेली भाषा मूलतः मोनोसिलेबिक अर्थात् एकाक्षरी प्रकृतिको हुने भएकाले प्रत्येक सिलेबल वा अक्षरको अर्थ पहिल्याउनुपर्छ । त्यसरी हेर्दा खुवालुङको अर्थ क्रमशः ‘खु’, ‘वा’ र ‘लुङ’ गरी तीन अक्षरका आधारमा खोज्नुपर्छ । 

 

चिनियाँ–तिब्बती भाषा परिवारका भाषाहरूको तुलनात्मक अध्ययन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका भाषाशास्त्री जेम्स मेटिसप (२००३)ले ऐतिहासिक भाषाविज्ञानको सिद्धान्तअनुसार ‘कु’ र ‘वा’ लाई चिनियाँ–तिब्बती भाषामा पानीको आद्य रूप मानेका छन् । पूर्वी नेपालको किरातीहरूको ऐतिहासिक थाक्थलोमा  पानी बुझाउने  ‘कु’ या ‘वा’ प्रत्यय लागेका प्रशस्तै खोलानालाका नामहरू आउँछन् । 

 

प्रागैतिहासिक प्रस्थानबिन्दु 

 

नेपालको पूर्वी पहाडमा  किरातीहरू विस्तारित हुनुपूर्वको एउटा प्रागैतिहासिक प्रस्थानबिन्दुका रूपमा ‘खुवालुङ’लाई लिइन्छ । सम्भवतः खुवालुङ पछिल्लोपटकको ‘ट्रान्जिट पोइन्ट’ हो । मुन्दुम अध्येता भोगीराज चाम्लिङ (२०७३)ले मुन्दुमको अध्ययन गर्ने क्रममा चीनको ह्वाङ्गो र याङ्सी नदीको बीच भागतिर नियामा पर्ने र त्यहाँबाट नै किरातीका पुर्खा योंला हुँदै खुवालुङ आइपुगेको  कुरा उल्लेख गरेका छन् ।

 

मौखिक परम्परामा सीमित किरातीहरूको मुन्दुमको समग्र अध्ययन भएको छैन । उपलब्ध स्रोतका आधारमा भन्ने हो भने अधिकांश मुन्दुममा खुवालुङबाट अरुण, तमोर र दुधकोसी पछ्याएको प्रसंग आउँछ ।  किराती समुदायमा खुवालुङसम्बन्धी प्रशस्तै मिथक छन् । भाषिक विविधताका कारण मिथकमा आउने पात्रका नाम र वर्णनमा एकरूपता देखिँदैन, तर मूलभूत सार भने एकै देखिन्छ ।  प्रचलित मिथकमध्ये एक मिथकअनुसार सप्तकोसी पछ्याउँदै आएकामध्ये कान्छा भाइ औल अर्थात् तराईमै छुट्छ, जो आजका थारू, दनुवार र धिमालका रूपमा चिनिन्छन् । बाँकी तीन भाइ भने अरुण, तमोर र दुधकोसी पछ्याउँदै गए भनिन्छ । मिथकका आधारमा मात्रै होइन, भाषिक आधारले समेत यो बिन्दु महत्वपूर्ण रहेको मान्न सकिन्छ । किनभने यही बिन्दु हो, जहाँ पानीका लागि दुइटा शब्द प्रयोग भएको देखिन्छ भने अन्य ठाउँमा ‘कु’ र ‘वा’, ‘खु’ र ‘वा’ जोडिएका स्थाननामहरू पाइन्छन् । 

 

अरुण पछ्याउँदै गएका किरातीहरूको बसोवास क्षेत्रमा ‘वा’ प्रत्यय लागेका खोलानाला वा स्थाननामहरू आउँछन् । धनकुटाबाट भोजपुर जाँदा अरुण नदी पार गर्ने क्रममा लेगु–वा आउँछ । यो घाटबाट एकवार हुँदै संखुवासभाको खाँदबारी जाने बाटो छ । अरुण पछ्याउँदै जाँदा  बाटामा ‘वा’  प्रत्यय लागेका कैयन् खोलाखोल्सी छन्, जस्तै– चान–वा, पिलु–वा, के–वा, खे–वा, चे–वा, चिर्खु–वा, इर्खु–वा, बेत्तु–वा, चन्दु–वा, खर्दु–वा, साले–वा आदि । अहिलेको संखुवासभा जिल्ला पनि संखु–वा र स–वा (सभा अपभ्रंशित रूप) दुईवटा खोलाका नामबाट बनेको हो ।  यी भेगमा लोहोरुङ र मेवाहाङ राई जातिको सघन बस्ती छ । उनीहरूको भाषामा ‘वा’ को अर्थ ‘पानी’ भन्ने नै लाग्छ । ‘वा’ शब्दान्तमा आउने खोलाका नामहरू अन्य किरात–राई भाषिक क्षेत्रमा पनि पाइन्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने प्रायः भोटबर्मेली भाषामा आकाशबाट झर्ने पानी र जमिनमा उब्जने पानीका लागि छुट्टाछुट्टै शब्द प्रयोग हुने गरेको पाइन्छ । पहिले छुट्टाछुट्टै शब्दको प्रयोग हुने गरेको भए पनि कालान्तरमा आएर एउटै अर्थका रूपमा दुइटा शब्द प्रयोग भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले आजभोलि किरात–राईमध्ये केहीले पानीका लागि ‘वा’ प्रयोग गर्ने गरेको पाइन्छ भने ‘कु’ (कंखा) आदि पनि प्रयोगमा आएको देखिन्छ । 

 

किराती भाषाको शब्दान्तमा ‘कु÷खु’ प्रत्यय लागेर बनेका थुप्रै खोलानालाका नाम छन् । माझकिरातमा रहेको थुलुङ राईहरूको मूलथलो मानिने ठाउँमा बोक्साकु, फर्देकु, बइपुकु, सरकु जस्ता खोलाजन्य नाम छन् ।  यी खोलानाला या ठाउँको नाम बुझाउने शब्दान्तमा ‘कु’ आएको छ । त्यसैगरी त्यसैगरी दुमी राईहरू भएको खोटाङ जिल्लाको उत्तरी उँभोखोला भेगतिर बाछे–र्कु, बिखे–र्कु, छे–कु, हल्–कु आदि जनाउने ठाउँ छन् । त्यसैगरी सोलुखुम्बु जिल्लाको खालिङभाषी क्षेत्र मानिने दुधकोसी आसपासमा का–कु, लोस्–कु, वा–कु, सेन्–कु, हेल्–कु, ख्वालजम्–कु, दाम्–कु जस्ता खोला या ठाउँका नाम छन् । त्यसैगरी सुनकोसीको वारिपारि चाम्लिङ राईहरूले आबादी गरेका क्षेत्रमा समेत ‘कु’ शब्दान्तमा आएको पाइन्छ, जस्तै– ला–कु, माइ–कु, लै–कु, सायाँ–कु, सापा–कु,  पे–कु, बुत्–कु आदि । 

 

प्रत्ययका रूपमा ‘खु’ आउने खोलानदी वा ठाउँका नाम पनि पाइन्छन् । प्रत्ययका रूपमा आएने ‘कु’ बाट नै ‘खु’ भएको हो । यो प्रक्रियालाई महाप्राणत्वकरण भनिन्छ । किराती भाषामा ‘कु’ को ठाउँमा ‘खु’ शब्दान्तमा प्रत्यय लागेका खोलानालाका नाम रहेका छन्, जस्तै– चाम्लिङ भाषिक क्षेत्रमा बया–खु, चुमा–खु, छाला–खु आदि रहेको पाइन्छ भने ‘खु’ प्रत्यय लागेका खोलाको सूची ओल्लोकिरातसम्म फैलिँदै आएको देखिन्छ, जस्तै– लि–खु, बो–खु, सो–खु आदि । यी नाम सुनकोसीबाट भोटेकोसीतिर आइपुग्दासम्म देखिन्छ । 

 

त्यसो त ‘खु’ प्रत्यय लागेका खोलाको सूची उपत्यकासम्मै फैलिएको छ, जस्तै बल्–खु, न्वाँ–खु, साँ–खु आदि । यसले के देखाउँछ भने जल शब्दका लागि ‘कु’ या ‘खु’को प्रयोग प्राचीन किरात सभ्यतामा थियो, जसको अवशेष अहिलेका किराती भाषामा पनि रहेको छ । अहिलेको आधुनिक नेवारी शब्दमा छट ‘कु’ वा ‘ख’ु को अर्थ पानी नभए तापनि तत्कालीन अवस्थामा यो भूमि किरातहरूले आबादी गरेका थिए भन्ने कुरा अहिले काठमाडौंमा रहेका स्थाननामले पनि  पुष्टि गर्छन् । 

 

लिच्छविकालीन अभिलेखमा पाइएका गैरसंस्कृत शब्दहरूलाई किराती शब्द मानिएका छन्, जहाँ नदीका ‘कु’, ‘खु’ वा ‘को’, ‘खो’ प्रत्यय लागेका प्रशस्तै स्थाननाम देखिन्छन्, जस्तै–  विल्लाह्–खु (चाँगु), चुत्लुङ–खु (मंगल बजार, पाटन), जाप्ति–खु (नारायण चौर, तेङ्–खु (अपभ्रंशित रूप टेकु)  हुडि–खु (नक्साल) (पन्त २०६९) । यसले के देखाउँछ भने खुवालुङमा भएको ‘कु–खु’ र ‘वा’को फैलावट काठमाडौंसम्म थियो । 

 

प्रतिरोधी आवाजको शक्ति 

 

केही समयअघि स्थलगत अध्ययनका क्रममा खुवालुङ पुगेको थिएँ । त्यहाँ पुग्दा थाहा भयो, अहिले त्रिवेणीका रूपमा चिनिने ठाउँ नै खुवालुङको सविस्तार भूगोल रहेछ । खुवालुङ फुटाउन नदिने गरी अभियान वा आन्दोलन गर्ने कुरा प्राथमिकतामा रहे पनि स्थाननामको पुनर्स्थापनाको मुद्दालाई सँगसँगै उठाउन जरुरी छ ।  

 

खुवालुङ मास्ने गरी राज्यको कदम जसरी अघि बढिरहेको छ, यसविरुद्धको आवाज पनि बलशाली बन्दै गइरहेको छ । यसमा किरातजन्य संघसंस्थाले प्रतिरोध गरिरहेका छन् । किरात राई यायोक्खाको पहलकदमीमा बनेको ‘खुवालुङ संरक्षण समिति’ तदारुकताकासाथ अघि बढिरहेको छ भने बृहत् नागरिक आन्दोलनको तर्फबाट आख्यानकार राजन मुकारुङको नेतृत्वमा अन्य संघसंस्थासमेत संलग्न भई स्थलगत रूपमै विरोधको कार्यक्रम भर्खरै सम्पन्न भएको छ । 

 

निश्चय पनि ‘खुवालुङ’ कुनै जाति वा समुदाय विशेषको आस्थाको केन्द्र भए पनि मुलुककै सम्पदाको रूपमा बुझ्नुपथ्योर्, तर यसलाई सीमित अर्थमा मात्र बुझी मास्ने धृष्टता गरियो । त्यसो त उक्त ढुंगालाई नचलाईकनै पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने ठाउँ छन् । त्यसैले संविधानको रक्षार्थ र मुलुकको विविधतापूर्ण पहिचानलाई सम्बोधन गर्नका लागि राज्यको भूमिका समन्वयकारी हुनु जरुरी छ । सत्ताबाहेक अरू सबै भ्रम हुन् भन्ने कुराले दिशानिर्देश ग¥यो भने क्रेनको सहयोगले खुवालुङ  फुटाउन के गाह्रो ? बजेट विनियोजन भइसकेकै छ । तर, आमकिरातीको मनमस्तिष्कमा रहेको खुवालुङ शब्दलाई किमार्थ कसैले पनि फुटाउन सक्दैन, जो युगयुगान्तरसम्म रहिरहनेछ । 

 

‘खुवालुङ’लाई आमाको बिम्बका रूपमा प्रयोग गर्दै कवि तथा गीतकार खुक्सङ खम्बूले गीत नै लेखेका छन्, जसको पहिलो अंशले भन्छ–

 

‘खुवालुङ खुल खुल खुल... 
नछेकिदेऊ मेरो बाटो 
नरोकिदेऊ मेरो पाइला...’

 

कविता : खुवालुङ


जनकऋषि राई (चाम्लिङ)


तिमी ढुंगा देखिरहेका छौ
त्यही ढुंगाबाट मेरो इतिहास सुरु हुन्छ 
बगिरहेको नदीको आवाज संगीत हुन्छ
मेरो सौन्दर्य त्यही छ्यालुङ्माबाट उठेको हो
तप्प चुहिएको रगतसँग
मेरो सीमान्त कथा त्यही ढुंगासँग जीवन्त छ ।

 

तिमीले यसरी नै ढुंगा देख्नुअघि
आफ्नै बुढ्यौली अनुहारलाई हेरेर आउनु
बालुवाटारको कुनै ऐनामा
सत्ताको आवधिक उन्माद 
कोतपर्वको पटांगिनीमा बिसाएर आउनु
र, आउनु छाडेर कुनै वादको खोपडी
सोलोलोलो...सोलोलो...
तिमीले थाहा पाउनेछौ
तिम्रो पुस्ता यो धर्तीमा आउनुअघिको सुन्दरता
यही ढुंगा फुलेको थियो ।

 

सभ्यताको मिथक बुनेर
हजारौँ वर्षदेखि पानीमा डुबेर हेरिरहेको छ
–तिम्रो अराजक राजनीति
–चिसो लासजस्तो संविधान
बुझ्नु, पानीमा फुलेको शान्त सभ्यता
आँधी नहोस्
र, नहोस् बाढी पनि
बगाउन सक्छ तिम्रो अहंकार गंगातिर

 

नठान्नु, पानीमा डुबेको ढुंगा मात्र 
सभ्यता हो, तिमीलाई चिहाउन पानीमाथि उत्रिएको
जो, मेरो आँखा भएर हेरिरहेको छ
–तिम्रो अराजक राजनीति
–चिसो लासजस्तो संविधान