• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आरके अदीप्त गिरी काठमाडाैं
२०७५ चैत ३० शनिबार ०९:२३:००
यात्रा

देश दृश्य

नेपाल आफैँमा यति सुन्दर छ कि, कुनै कुशल कलाकारले विविध रंग संयोजन गरी बनाएको कोलाज हो

२०७५ चैत ३० शनिबार ०९:२३:००
आरके अदीप्त गिरी काठमाडाैं

नेपाल सुन्दर छ । प्रकृतिले मात्र होइन, विविधतामय संस्कृतिले पनि नेपाल सुन्दर छ । प्रकृतिले दिन बाँकी केही पनि छैन नेपालमा । सौन्दर्यको मुख्य राज यहाँका हिमाल हुन् । विश्वका ८ हजार मिटरभन्दा माथिका १७ वटा अग्ला हिमाल नेपालमै छन् । नेपालमा करिब १६ सय हिमाल छन्, ती २८ वटा हिमशृंखलामा पूर्वदेखि पश्चिमसम्म लहरै फैलिएका छन् । 

गुफा, कन्दरा, वनजंगल, नागबेली परेका नदीनाला, हरियालीयुक्त रमणीय डाँडापाखा, गाउँघरहरू पनि हाम्रो देशका प्राकृतिक सम्पत्ति हुन् । हिमाल, पहाड र तराईका कलात्मक भूबनोट हाम्रै चिनारी हुन् ।

धर्म–संस्कृति, रहनसहन यहाँको अर्को सुन्दर पक्ष हो । परम्परागत शैलीमा निर्मित घरआँगन, रहनसहन, खानपिन, कृषि प्रणाली, खनिज साथै समय–समयमा देखाउने र मनाइने मेलापर्व, जात्रा र नाचगान पनि हाम्रै मौलिक चिनारी हुन् । 

 अन्नपूर्ण आधार शिविर ।                                                                   - आरके अदीप्त गिरी

अझ यो देश देवभूमि मानिन्छ । विश्वामित्र, व्यासजस्ता तपस्वी ऋषिमुनिहरूको भूमि । जनक, सीता, बुद्ध, वाल्मीकि, ब्रह्मर्षि, देवर्षिजस्ता महामानवका पाइला परेको भूमि नेपाल पौराणिक र धार्मिक रूपले तपोभूमि पनि हो । यहाँका सांस्कृतिक बिरासत मुलुककै वैभव हुन् । 

देशका यस्ता अनेकौँ चिनारीमय दृश्यसँग एकैसाथ रमाउन पाउने विविधताको सांग्रिला सौन्दर्य नेपालबाहेक अन्यत्र सायदै होला । नेपाल आफैँमा यति सुन्दर छ कि, कुनै कुशल कलाकारले विविध रंग संयोजन गरी बनाएको कोलाज हो । 

 बाग्लुङ गल्कोटमा प्रचलित मारुनी नाच ।                                            - आरके अदीप्त गिरी

विविध जातिको साझा फूलबारी नेपाल सहिष्णु एवं मैत्रीभावनाले पनि सुन्दर छ । नेपालीहरू उदार, सहनशीलता तथा स्वाभिमानी हुनुले पनि नेपाल देश हृदयवत् लाग्छ । यो मानव मात्र नभई अनेक जैविकीय प्रजातिगत विविधताको साझा वासस्थल पनि हो । 

सौन्दर्यको मृगतृष्णा सायद मानव मात्रमा हुन्छ । हामीसँग प्रचुर सौन्दर्य भएर पनि अनविज्ञजस्तै छौँ, तर दुनियाँभरका मानिस त्यही सौन्दर्यपान गर्न लालायित छन् । र त विश्वका कुनाकुनाबाट पर्यटक नेपाल घुम्न आइपुग्छन् । त्यसैले पनि नेपाल सुन्दर छ । शान्त छ, विशाल छ । 
०००

 झलमल्ल घान्द्रुक ।                                                                    - मोहन दुवाल

हामी आफैँले चिन्न नसकिरहेको हाम्रो सौन्दर्य अर्थात् ‘नेपाल सुन्दर छ’ भन्ने अवधारणा प्रस्ट्याउनु आजको आवश्यकता पनि हो । यसै कुरालाई हृदयंगम गरी देशलाई सर्वत्र चिनाउने उद्देश्यले ‘देशलाई हाम्रो खाँचो छ’ भन्ने समाजमूलक संस्थाले एउटा फोटो प्रदर्शनी आयोजना गरेको छ । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिजो शुक्रबारदेखि देश चिनाउने फोटोहरू प्रदर्शनमा राखिएको  छ । 

 काठमाडौंमा इद ।                                                            - अजय महर्जन

जहाँ दुई दर्जनभन्दा बढी फोटोग्राफरका १०१ ती फोटामा पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मका भूगोल, समाज, प्रकृति, संस्कृति, जीवनशैली, वन्यजन्तुको चित्रण देख्न सकिन्छ ।

यस कार्यक्रमको मूल लक्ष्य नेपाललाई यात्रा गन्तव्यका रूपमा विकास गर्नु हो । साथै संसारभरका पर्यटकसामु ‘नेपाल सुन्दर छ’ भन्ने सन्देश बाँड्नु पनि हो । फोटो प्रदर्शनी आउँदो सोमबारसम्म चल्नेछ । प्रस्तुत तस्बिरहरू सोही फोटो प्रोजेक्टका प्रतिनिधि तस्बिर हुन् । 

 कुलेखानीमा साइकिलिङ ।                                   - नवराज राउत
Caption

 पर्वते पुल ।                                    -आरके अदीप्त गिरी

 [email protected]