• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रिता परियार
२०७७ चैत ७ शनिबार ०७:५०:००
समाज

पानी त चलेन चलेन, दलितले कमाएको पैसा पनि चलेन

२०७७ चैत ७ शनिबार ०७:५०:००
रिता परियार

अस्तित्व र आत्मसम्मानका लागि नागरिकता नै त्याग्न नपरोस्

 

त्यसवेला म १० वर्षकी थिएँ । मलाई मन्दिर प्रवेशमा निषेध गरियो । त्यो क्षण आँखाभरि आँसु लिएर फर्किएको मलाई अझै याद छ । मेरो कलिलो मतिष्कमा ब्लुप्रिन्टजस्तै छापिएको त्यो घटना कहिल्यै मेटिएन । त्यस दिनदेखि आजसम्म म पूजा गर्न कुनै पनि मन्दिरमा गएकी छैन । जुन भगवान्ले नै मलाई अछुत बनायो । त्यही भगवान्लाई म किन मानूँ ? त्यस दिनदेखि भगवान्को नाम कहिल्यै उच्चारण गरिनँ । कलिलो दिमागमा परेको असरले मलाई नास्तिक बनायो ।

 

जातकै कारणले मैले स्कुलदेखि धारा पधेँरा र मन्दिर आदि ठाउँमा धेरै विभेद भोगेकी छु । मलार्ई कुकुरभन्दा पनि तल्लो तहमा राखी व्यवहार गरेको देखेर शिक्षकलाई प्रश्नहरू सोध्थेँ । सहानुभूति देखाएर तत्कालीन प्रमुख जिल्ला अधिकारीले भने, ‘नानी तिम्रो नागरिकतामा म थर फेरिदिन सक्छु ।’ तर मैले भनेँ, ‘के थर बदल्दैमा मेरो समस्या समाधान हुन्छ ?’ उनी नाजवाफ भए । मैले सानैदेखि सधैँ प्रतिकार गर्दै आएकी थिएँ, किन मलाई छुनु हुँदैन ? तर, जवाफ कहिल्यै पाइनँ । मलाई यस्तो ठाउँमा जान मन लाग्थ्यो सधँै, जहाँ मेरो नाम मात्रै काफी होस् । जहाँ मैले थरकै कारण विभेद भोग्न नपरोस् । 

 

संयोगवश भनौँ या भाग्यवश, पढ्ने क्रममा केही वर्ष देशबाहिर जाने मौका पाएँ । समयको गतिसँगै म पनि बगिरहेँ । बेलायत एउटा अलग्गै संसार लाग्दथ्यो । भिन्नै संस्कृति, भाषा, रहनसहन, जीवनशैली र सोच पनि । र, अनि लाग्दथ्यो, संसारको एउटै भूगोलमा पनि कतै मान्छे–मान्छेबीच विभेद नै विभेद । कतै मान्छे–मान्छेबीच समानता । हो, त्यहाँ बल्ल म रिता मात्र भएर बाँच्न पाएँ । 

 

यस्तो लाग्थ्यो, म खुला आकाशमा उडिरहेकी छु । यो सारा आकाश, धर्ती मेरै हो । म यो संसारको महत्वपूर्ण एक अंश हुँ । मेरो हकअधिकार त्यति नै छ, जति यो संसारमा जीवित अरू प्राणीको छ । मेरो आत्मविश्वास र साहसले गगन चुमिरहेको आभास हुन्थ्यो । तर, जीवनका संघर्षमय पक्षहरू छँदै थिए । 

 

जीवनको उतारचढावसँगै समय कटेको पत्तै भएन । एक्कासि आमा बिरामी भएको खबरले नेपाल फर्किएँ । अब बाँकी जिन्दगीको केही हिस्सा आमासँगै बिताउने सोच बनाएँ । झन्डै दुई वर्षपहिले नेपाल फर्किएँ ।

 

एक दशकमा नेपाल धेरै परिवर्तन भयो होला भन्ने सोच्थेँ । ठुल्ठूला घर, फराकिला रोड, धेरै गाडी, थुप्रै कलेज, युनिभर्सिटी, महँगा रेस्टुरेन्ट, होटेल, क्लब, विभिन्न बित्तीय संस्था, बैंक, सहकारी, महँगा हस्पिटल, र मोर्डन कपडामा सजिएका मान्छेहरू चाहिँ विकास भएछ । तर, मान्छेको चेतनामा चाहिँ खासै परिवर्तन भएको पाइनँ । 

 

काठमाडौंमा केही समय बसेर गाउँ गएँ । भूकम्पले गाउँको अनुहारै फेरिएछ । कथित नयाँ र आधुनिक घर बनाउने चक्करमा पूरै गाउँ नै कुरूप भएछ । विकासको नाममा धेरै गाउँले आफ्नो सुन्दरता नै गुमाएको देखेँ । 

 

वर्षाैंपछि आमाछोरीको भेट थियो । समय रमाइलोमा बित्दै थियो । एक छिमेकीको विवाह भोजको निम्तो आयो । आमा र म बिहेभोजमा गयौँ । त्यहाँको अवस्था देखेर म एकछिन स्तब्ध भएँ । दलित समुदायलाई सँगै भोज खुवाउन मिल्दैन भनेर अलग्गै राखिएको रहेछ । त्यो देखेर म त छाँगाबाट खसेजस्तो भएँ । 

 

त्यहाँबाट कहाँ भागूँ भागूँ भएँ । आमालाई पनि संकेत गरेँ । केही वर्ष बेलायत बस्दा आफैँलाई दलित हुँ भन्ने बिर्सिएछु । नेपाल आउनेबित्तिकै मलाई मान्छेबाट दलितमा झारियो र फेरि म मान्छे बन्ने लडाइँमा होमिनुपर्‍यो । मैले तत्काल प्रतिकार गरेँ । अहँ म यहाँ हुँदाहुँदै यो विभेद हुन दिन्नँ । धेरै समयको भनाभनपछि सबैलाई सँगै बसेर खान बाध्य बनाएँ । हामी धेरैको आँखाको कसिंगर बन्यौँ । 

 

नेपाली समाजको अझ गहिरोसँग अध्ययन गर्न मन लाग्यो । अशोक दर्नाल र होमराज आचार्यसहित हामी तीन जना मिलेर ‘नेपाल पदयात्रा २०१९’ सुरु गर्‍यौँ । ‘जातीय विभेद र छवाछुत व्यावहारिक रूपमा अन्त्य गरौँ’ भन्ने नारा लिएर चाँदनी दोधारादेखि मेचीनगर काँडभिट्टासम्म ५४ दिन पैदलयात्रा गर्‍यौैँ । हजारौँ मान्छेसँग संवाद र छलफल गर्‍यौँ । 

 

पश्चिम नेपालमा मिथहरू सुनेर हामी छक्क पर्‍यौँ । त्यहाँ भनिँदो रहेछ, ‘दलितले हेरे गाईभैँसीले दूध दिन्न,’ ‘दलितले हिँडेको जमिनमा उब्जनी हुँदैन ।,’ यस्ता भनाइहरू सुनेर हामी चकित भयौँ । यस्ता भनाइ एकातिर छन् भने अर्कोतिर अन्तर्जातीय प्रेम गर्दा मारिने, बलात्कृत हुने, मन्दिर प्रवेश गर्न नदिने, धारामा पानी छोएको आधारमा ज्यानै जाने गरी पिट्ने यस्ता घटनाहरू धेरै सुन्यौँ । यी घटनाहरू सुनेपछि कैयाैँ रात निदाउनै सकिनँ । ५४ दिनको यात्रामा विभेद नसहेको कुनै दलित भेटिएन । ‘हामी विभेद गर्छौं’ भन्ने पनि कुनै गैरदलित भेटिएन । 

 

यात्रापछि अनुभूति गरेँ– नेपाल प्राकृतिक र भौगोलिक रूपमा अति नै सुन्दर छ । तर, यति सुन्दर भूगोलमा बस्ने मान्छे–मान्छेबीचमा भने कुरूप पर्खाल छ । पर्खालवारि बस्नेहरू फाटेको मन लिएर बसेका छन् । पर्खालपारि बस्नेहरूले त्यो फाटेको मनलाई महसुस नै गर्न सकिरहेका छैनन् । समयमै त्यो पर्खाल भत्काएर दुवैतर्फ जोडिने पुल बन्नुपर्छ ।

आत्मसम्मानभन्दा माथि न परिवार, न समाज, न धर्म, न कुनै राष्ट्र नै हुन सक्छ । लाखौँ दलितहरूले स्वाभिमानसहितको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि बिदेसिन नपरोस् ।

पश्चिमबाट जति पूर्वतर्फ गयो, विभेदको स्वरूप पनि फरक देखियो । त्यहाँका कथित केही गैरदलितहरू भन्थे, ‘अब त विभेद छैन हटिसक्यो । हेर्नुस् सबै तहतप्कामा दलितको समावेशी सहभागिता छ ।’ यसो भन्दै बुझेका भन्दा नबुझेका, आवाज उठाउन नसक्ने दलितहरूलाई स्थानीय तहहरूमा राखेको देखियो । 

 

केही गैरदलितहरू भने आर्थिक कमजोरी नै छुवाछुतको मूल जड हो भन्दै थिए । त्यो विषयमा मैले त्यहाँका केही आर्थिक सबलीकरण भएका दलित समुदायका व्यक्तिहरूलाई पनि सोधेँ । दलितहरूको भनाइ फरक थियो । उनीहरू भन्थे, ‘पैसा भए पनि हामीलाई सहरमा घरजग्गा किन्न साह्रै गाह्रो छ ।’ नेपालको अन्य सहरमा यस्तो विभेद भए पनि राजधानीमा त्यस्तो विभेद हुँदैन होला भन्ने लाग्थ्यो । दलितले सहरमा कोठा नपाएको मात्र सुनेकी थिएँ । तर, पैसा भएर पनि घर नै किन्नसमेत गाह्रो हुन्छ भन्नेचाहिँ सोचेकै थिइनँ । 

 

मैले सुनेकी थिएँ, दलितहरू वर्गीय रूपमा पछाडि परेकाले पनि अपहेलित हुनुपरेको हो । यात्राको क्रममा यस्तै कुरा सुनेकी थिएँ । मलाई लाग्थ्यो, पैसा भएपछि घर किन्न त समस्या हुन्न होला । तर, पछि यही घटना आफैँले व्यहोर्नुपर्‍यो । नेपाली समाजको बुझाइ देखेर म चकित भएँ । सानैदेखि आफ्नो घर हुनुपर्छ र मेरो घर आफैँ बनाउँछु भन्ने रहर थियो । त्यो रहर अहिले आवश्यकतामा परिणत भयो । आमासँगै नेपालमै बस्ने निर्णय गरेँ । बस्न त एउटा घर चाहियो । अनि यो पितृसत्तात्मक सोच भएको समाजले छोरीले केही गर्न सक्दिनन्, अर्काको घरमा जाने नै हो, किन पढाउनु, किन काम गर्नुपर्‍यो भन्ने मानसिकता जो तोड्नु मेरो लागि ठूलो लडाइँ थियो । म छोराभन्दा कुनै कुरामा कम छैन भन्ने प्रमाणित गर्न चाहन्थेँ । 

 

एकातिर महिला, त्यसमा पनि दलित, मेरो लडाइँ त मेरै परिवारबाट सुरु भई समाज र राज्यसँग थियो । यसरी घर किन्ने क्रममा पहिले लैनचौर पछाडि पुगेँ । घर अलिक पुरानो थियो । मूल्य पनि मिल्ने, बस्नलायक नै थियो । घरबेटी आमाले छिटो बैना गर्नू हामीलाई हतार छ । बाँकी कुरा छोरासँग गर्नू भनिन् । उनको छोरा पनि सरकारी उच्च ओहोदामा बसेर काम गर्दा रहेछन् । छोरासँग कुराकानी हुँदा नाम सोधे । मेरो नाम रिता परियार हो भनेँ । मूल्यको बारेमा कुराकानी सकिएपछि उनले पछि खबर गर्छु भने । केही दिनसम्म कुनै खबर आएन । आफैँले फोन गरेँ । जवाफमा घर त अर्कैले बैना गरिसक्यो भने । म अचम्ममा परेँ । पछि थाहा पाएँ । मलाई घर नबेच्नुको कारण जात रहेछ ।

 

फेरि केही दिनको अन्तरालमा बालाजुनजिक अर्को घर हेर्न गइयो । त्यहाँ पनि एउटा घर मेरो बजेटले धान्ने खालकै भेटियो । घरधनी महिलाले भनिन्, ‘बहिनी त बाहुनीजस्तै राम्री देखिनुहुन्छ । थरचाहिँ के पर्‍यो होला ?’ मेरो नाम रिता परियार हो भनेँ । ती महिलाले एकछिन मेरो मुखमा ट्वाँ हेरिरहिन् । त्यसपछि सिधै तिमी सम्बोधन गर्न थालिन् । ‘तिमी त कति राम्री देखिन्छौ त ।’ मेरो मनभित्र आगोको ज्वाला दन्किरहेको थियो । ती महिलाले भनिन्, ‘बेलुका श्रीमान् आएपछि खबर गर्छु ।’ तर, त्यस्ता धेरै बेलुकीहरू बिते । खबर आएन । मैले बुझेँ, त्यहाँ पनि कारण जात नै थियो । 

 

तेस्रोपटक घर खोज्न जान पटक्कै रहर लागेन । जतासुकै अपमानित हुनुपरेपछि मलाई रिस उठ्यो । मैले सोचेँ, दलितले छोएको पानी त चलेन चलेन, दलितले कमाएको पैसा पनि चलेन । 

 

केही शिक्षित र धनी कथित गैरदलित सहरी बासिन्दाको मनोविज्ञानमा दलितलाई विभेद गर्ने, होच्याउने व्यवहारमा रत्तिभर पनि परिवर्तन भएको पाइनँ । सहरमा बसेका तथाकथित बौद्धिकहरूले पनि दलितलाई छिमेकी नबनाउने, समाजमा भित्र्याउनै नखोज्ने र आत्मीय साथीको रूपमा त झनै स्विकार्नै चाहँदैनन् । उनीहरूलाई लाग्छ कि दलितहरू ‘शक्तिहीन’ ‘निरीह’ भएका कारण समाजमा समावेश गर्न योग्य छैनन् । यस्तो कहालीलाग्दो अवस्थामा राज्यले जात व्यवस्था नै गलत छ भन्ने कुरा स्थापित गर्नुपर्छ । किनभने समाजको उन्नति प्रगतिको बाधक जात व्यवस्था नै हो । गैरदलितले दलितलाई गर्ने विभेदकारी व्यवहार एउटा खतरनाक मानसिक रोग हो । जसको उपचार नभएसम्म समाज यसरी नै विभेदको जञ्जालमा परिरहन्छ र सधैँभरि दलितहरू अन्यायको चरम पीडा भोग्न बाधा भइरहन्छन् । 

 

यस्ता विभेदजन्य क्रियाकलाप अन्त्य गर्न राज्यले नै सक्रियतापूर्वक कदम चाल्न आवश्यक छ । केवल नीति र कानुनले मात्र समाज परिवर्तन गर्न सकिँदैन । समाजको निर्माण विभिन्न विधाको माध्यमबाट, जस्तै– शिक्षा, जागरण अभियान, राजनीतिक दल, बौद्धिक वर्ग, सामाजिक अभियन्ता र सचेत नागरिकले आ–आफ्नो ठाउँबाट विभेद अन्त्य गर्न भूमिका निर्वाह गर्नुपर्छ । राज्यका संयन्त्रहरू प्रहरी, न्यायिक निकाय, प्रशासन, स्थानीय तहहरूले पनि जात व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक भूमिका खेल्नुपर्छ ।

 

अन्यथा, मजस्ता लाखौँ दलितहरूले आफ्नो स्वाभिमानसहितको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि बिदेसिन नपरोस् । आत्मसम्मानभन्दा माथि न परिवार, न समाज, न धर्म, न कुनै राष्ट्र नै हुन सक्छ । अस्तित्व र आत्मसम्मानका लागि मैले नेपाली नागरिकता नै त्याग्न नपरोस् ।