• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सर्गे र्‍याडचेन्को
२०७७ चैत ७ शनिबार ०८:०२:००
अनुवाद

एक टापु जसले इतिहास बदल्यो

२०७७ चैत ७ शनिबार ०८:०२:००
सर्गे र्‍याडचेन्को

माओत्सेतुङ कम्युनिस्ट विश्वको कठोर सोपानमा सोभियत संघभन्दा तल रहन चाहँदैनथे । सोभियत नेताहरू माओ ‘ठूला अन्धराष्ट्रवादी’ भएको आरोप लगाउँथे ।

 

एक समय रुस र चीनको सिमानाको सुदूरपूर्वी भागलाई छुट्याउने उसुरी नदीमा एक सानो निर्जन टापु थियो । ‘थियो’ किनभने त्यसपछि टापु बिस्तारै चिनियाँ किनारतर्फ जोडिँदै गयो । रुसी भाषामा दामान्स्की र चिनियाँ भाषामा झेन्बाओ दाओ भनिने त्यस टापुको विषयमा सन् १९६९ को वसन्तमा चीन र रुसबीच युद्ध भड्कियो । टापुमा चीनले थापेको एम्बुसमा परेर ३१ सोभियत सीमा गार्डको ज्यान गयो । चीनले सोभियत संघबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न उक्त दुस्साहसी कदम उठाएको थियो । अघिल्लो वर्ष कम्युनिस्ट राज्य चेकोस्लोभाकियामाथि सोभियत संघले आक्रमणपछिको अवस्थामा यस्तो सम्भावना असम्भव पनि थिएन । 

 

चीनले थापेको एम्बुसमा परेर अढाई दर्जनभन्दा बढी सोभियत सैनिकको ज्यान गएको दुई हप्तामा दुई देशबीच युद्ध सुरु भयो । युद्धमा सोभियत संघले तोपसमेत परिचालन गरेको थियो । सोभियत संघले हानेको बिएम–२१ रकेटबाट झन्डै हजार चिनियाँ फौजको ज्यान गयो । यो छोटो युद्धपछि महिनौँसम्म असहज युद्धविरामको स्थिति बन्यो । अगस्ट १३ मा पुनः दुर्ई देशबीच युद्ध भड्कियो । वर्तमान सिन्जियान क्षेत्रमा पर्ने पश्चिमी सिमानामा भड्किएको यसपटकको संघर्षमा २१ चिनियाँ र दुई सोभियत सैनिकले ज्यान गुमाए । 

सोभियत संघ र चीनबीचको द्वन्द्व अचानक भने सुरु भएको थिएन । झन्डै एक दशकदेखि यी दुर्ई ठूला कम्युनिस्ट राज्यबीचको सम्बन्ध तनावपूर्ण थियो । प्रत्येकले अर्कोलाई माक्र्सवादबाट टाढिएको आरोप लगाइरहेका थिए । सतहमा सैद्धान्तिक बहसजस्तो देखिए पनि विवादको मूल कारण भने व्यक्तित्वको टकराव थियो । माओत्सेतुङ कम्युनिस्ट विश्वको कठोर सोपानमा सोभियत संघभन्दा तल रहन चाहँदैनथे । सोभियत नेताहरू माओ ‘ठूला अन्धराष्ट्रवादी’ भएको आरोप लगाउँथे । तर, यो आरोप उनीहरूकै हकमा पनि उत्तिकै लागू हुन्थ्यो । 

 

कम्तीमा सन् १९६९ सम्म सोभियत संघ र चीनले एकअर्काविरुद्ध भौतिक आक्रमण गर्नबाट संयम देखाए । तर, मस्को चीनविरुद्ध कडा खालको जवाफी कदमको तयारीमा थियो । आफ्नो पूर्व मित्र–राष्ट्रविरुद्ध विनासूचना आणविक हतियार प्रयोग गर्ने विकल्पमा पनि ऊ विचार गरिरहेको थियो । यस कदममा अमेरिकाको कस्तो प्रतिक्रिया होला भन्ने विचार गर्ने जिम्मा वासिंटनस्थित सोभियत कूटनीतिज्ञलाई दिइएको थियो । 

 

तनाव नियन्त्रणबाहिर जाने अवस्थामा थियो । यसको भेउ पाएर माओले संकटमा आफूहरूसँग रहेको विकल्पबारे चर्चा गर्न वरिष्ठ सैन्य अधिकारी सम्मिलित एक समूहको बैठक बोलाए । बैठकमा समूहको प्रमुख मार्सल चेन यीले एउटा नसोचिएको विकल्प सुझाए : ‘उत्तरतर्फको बलियो शत्रुको सामना गर्नुपरेको अवस्थामा चीनसँग सहयोगका लागि अमेरिकासँग सम्बन्ध सुधार गर्नुबाहेक विकल्प छैन ।’ करिब दुई दशकदेखि कम्युनिस्ट चीन र अमेरिकाले एकअर्काको सरकारलाई मान्यता नै नदिएको स्थितिमा मार्सल चेनको सुझाब अप्रत्यासित नै थियो । 

दुई वर्षसम्मको गोप्य अन्तरक्रियाले अन्ततः त्यो दिन पनि आयो । छोटो समयको तयारीमा माओले कुनै समय साम्राज्यवादी विश्वको तुच्छ नेता भन्ने गरेका अमेरिकी राष्ट्रपतिलाई भेट्ने भए । सन् १९७० डिसेम्बरमा माओले आफ्नो जीवनी लेखक (रेड स्टार ओभर चाइना) तथा अमेरिकी पत्रकार एड्गर स्नोसँग विशेष भेट गरे । भेटमा माओले रिचर्ड निक्सनसम्म बेइजिङ भ्रमणको आफ्नो निम्तोपत्र पुर्‍याइदिन आग्रह गरे । वामपन्थी झुकाब भएका स्नो रिचर्ड निक्सनका फ्यान हुने कुरै थिएन । माओको प्रस्ताव सुनेर स्नो एक छिन त अवाक् भए । मौनता भंग गर्ने हिसाबमा माओले भने, ‘निक्सन असल मानिस हुन् । विश्वकै नम्बर एक असल व्यक्ति हुन् ।’

 

माओले आफू र स्नोबीच भएको संवादको लिखित प्रतिलिपि उतारेर पार्टीको तल्लो तहमा छलफल र बहसका लागि पठाए । त्यस वेला पार्टीका विभिन्न तहमा भएका नेता कार्यकर्ताबीच भएको संवादको रेकर्ड हेर्दा अधिकांशमा अध्यक्षले लिएको अडानप्रति आश्चर्यभाव देखिन्छ । माओले ‘प्रतिक्रियावादी’ निक्सनलाई किन ‘विश्वको नम्बर एक असल मानिस’ भने भन्नेमा धेरै प्रतिक्रियाहीन देखिन्छन् । अमेरिकाप्रति यति सहिष्णु हुँदा समान विचारधारा बोकेको सोभियत संघसँग सम्बन्ध सुधार्न किन लचक नभएको भन्ने प्रश्न पनि उठेको देखिन्छ । 

सन् १९६९ मा मस्को र बेइजिङबीच सीमा विवाद उत्पन्न भयो, जसले दुई मुलुकबीच गहिरो फाटो उत्पन्न गरायोे । यही फाटोलाई उपभोग गरेर अमेरिकाले चीन र सोभियत संघलाई एकअर्काविरुद्ध प्रयोग गर्न सफल भएको थियो ।

पार्टीका कार्यकर्ताले न आफ्ना अध्यक्षको विश्वव्यापी रणनीतिको भेउ पाएका थिए, न तिनले सोभियत संघसँगको माओको डर बुझेका थिए । माओले पटक–पटक सोभियत संघलाई नाजी जर्मनीसँग तुलना गरेका छन् । उनी मस्कोको विस्तारवादअघि अमेरिकी र पश्चिमी युरोपसमेत कमजोर रहने ठान्थे । त्यस समय माओले सोभियत संघविरुद्ध एक संयुक्त मोर्चा निर्माण गर्ने प्रस्ताव गर्न थालेका थिए । उनको सोचको मोर्चामा अमेरिका, जापान, चीन, पाकिस्तान, इरान, टर्की र पश्चिम युरोपबीच एक खालको कमजोर गठबन्धन कायम हुन्थ्यो । त्यस मोर्चामार्फत मस्कोको विश्वव्यापी महत्वाकांक्षालाई कमजोर बनाउने माओको चाहना थियो । सन् १९७२ फेब्रुअरीको निक्सनको ऐतिहासिक बेइजिङ भ्रमण माओको सोही चाहनालाई साकार पार्नेतर्फ एक कदम पर्थ्यो । 

 

चीनसँग राम्रो सम्बन्ध भएका केही देश (सबैले होइन)ले माओको योजनालाई उत्साहपूर्वक समर्थन गरेका थिए । उत्तर कोरियाली नेता किम इल सुले निक्सनको बेइजिङ भ्रमणलाई अत्यन्त ठूलो सफलता माने । ‘चीनले सम्बन्ध खोज्दै गएको थिएन । यो ठूलो जित हो । तपार्इंको जित हाम्रो साझा जित हो । हामीले यसमा खुसी हुनुपर्छ,’ माओसँगको कुराकानीमा सुङले भनेका थिए । 

 

सोभियत संघविरुद्धको शीतयुद्धमा निक्सनले चीनलाई महत्वपूर्ण हिस्साको रूपमा स्विकारिदिऊन् भन्ने माओको चाहना थियो । माओको विचारमा चीनलाई भन्दा अमेरिकालाई चीनको बढी आवश्यकता थियो । अथवा वरिष्ठ चिनियाँ नेता जेन बियाओले सन् १९७५ को एक आन्तरिक बैठकमा भनेअनुसार ‘सोभियत संशोधनवादीविरुद्ध अमेरिकी साम्राज्यवादीले हाम्रो फाइदा उठाउन खोजेका छन् । तर, तिनले हामीलाई उपयोग गर्न सक्दैनन् । बरु हामी नै तिनलाई प्रयोग गरिदिन्छौँ ।’

 

सोभियत नेताहरू निक्सनको बेइजिङ भ्रमणको खबर पहिलोपटक सुन्दा स्तब्ध भएका थिए । उनीहरूले पहिलेदेखि नै चिनियाँहरूको दोहोरोपनको आशंका गरेका थिए, तर माओ यो हदसम्म जालान् भन्ने तिनले आशंका पनि गरेका थिएनन् । जवाफमा सोभियत महासचिव लियोनिद ब्रझ्नेभले अमेरिका–सोभियत सम्बन्ध सुधार्ने प्रयास गरे । अमेरिका–सोभियत संघ सम्बन्ध भियतनाम युद्धदेखि निकै तनावपूर्ण बनेको थियो । ब्रेझ्नेभले सन् १९७२ मेमा निक्सनलाई मस्को भ्रमणको आमन्त्रण गरे । पछि उनी आफैँ सन् १९७३ जुनमा अमेरिका गए । उनले शीतयुद्धकालीन दुई प्रतिद्वन्द्वीबीच मेलमिलाप वृद्धि गर्ने प्रयास गरेका थिए । 

 

ब्रेझ्नेभले निक्सनसँगको वार्तामा चिनियाँहरूप्रति सक्दो नकारात्मक भाव उत्पन्न गर्ने प्रयास गरेका थिए । निक्सनसँग क्यालिफोर्नियाको सान क्लेमेन्टीमा भएको वार्तामा ब्रेझ्नेभले चिनियाँहरू ‘बर्बर, विश्वासघाती र पाखन्डी’ भएको बताए । यतिमा नरोकी उनले चिनियाँहरूलाई ‘कपटी र ईष्र्यालु’, ‘प्रतिष्ठाहीन’ ‘अत्यन्त धूर्त र मित्रता कायम नगर्ने’ भन्ने आरोप लगाए । यी कारणले अमेरिकीहरूले चिनियाँहरूसँग भन्दा पनि सोभियत पक्षधरसँग नजिक हुनुपर्ने उनको जिकिर थियो । सन् १९७१ मेमा निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरसँग ब्रेझ्नेभले भनेका थिए, ‘तपाईं हामीसँग मिल्नुस् । तपाईं र हामी मिलेर संसार चलाउँला ।’

 

ब्रेझ्नेभको कुरालाई निक्सन र किसिन्सरले गम्भीरतापूर्वक लिएनन् । उनीहरूले रुसी र चिनियाँहरूलाई एकअर्काविरुद्ध लडाउने विचार बनाएका थिए । यो वेला सोभियत संघ र चीनबीचको सम्बन्धभन्दा अमेरिकाको ती दुई देशसँग राम्रो सम्बन्ध बनेको थियो । दुवैले अमेरिकासँग सहयोगको आस गरेका थिए । यसले गर्दा निक्सनमा निकै आत्मविश्वास आएको थियो । निक्सनको आत्मविश्वास सन् १९७२ का वसन्तमा भियतनाम युद्ध चर्काउने उनको निर्णयमा देखिन्छ । युद्ध चर्काउँदा पनि त्यसवेला हनोईका सबैभन्दा नजिकका मित्र सोभियत संघले र चीनले कमजोर प्रतिक्रिया दिए । 

 

सन् १९६९ को सीमायुद्धले अमेरिकालाई फाइदा भयो । युद्धले बेइजिङ र मस्को एकअर्कासँग कति धेरै डराउँछन् भन्ने देखियो । यो डर कामय रहेसम्म मात्र अमेरिकालाई फाइदा हुनेवाला थियो । लामो समयको तनावपूर्ण सम्बन्धपछि चीन र सोभियत संघले आफ्नो सम्बन्धमा पुनर्विचार गर्न सुरु गरे । सन् १९८९ मेमा मिखाइल गोर्बाचेभले बेइजिङ भ्रमण गरेपछि मात्र दुई देशको सम्बन्ध सामान्य अवस्थामा फर्किएको थियो । पछिल्लो समय सी जिनपिङ र भ्लादिमिर पुटिनको शासनकालमा दुई देश थप नजिकिएका छन् । दुई देशबीच बाँकी रहेको सीमा विवाद सन् २००४ मा टुंग्याइयो । झेन्बाओ/दामान्स्की भिडन्तको ५० वर्ष बढी हुँदा चीन र रुसबीच झन्डै आणविक युद्ध सुरु गराउने सो विवादको सामान्य सम्झना मात्र बाँकी छ । 

 

समयले धेरै रूपान्तरण ल्याएको छ । रुस अब कम्युनिस्ट देश रहेन । शीतयुद्धको अन्त्य भइसकेको छ । चीन आर्थिक शक्तिको रूपमा विश्वमा उदाएको छ । तर पनि बेइजिङ–मस्को–वासिंटनबीचको पुरानो त्रिकोण अझै कामय छ । चीन र रुसबीचको सम्बन्ध सुधार भए पनि दुई देश मित्रशक्ति होइनन् । उनीहरूको सम्बन्धमा अझै पनि अविश्वास कायम छ । विशेषतः बेइजिङको बढ्दो आर्थिक शक्तिबाट मस्को चिन्तित छ । तर, पुटिन र सीले आफूहरूबीचको खराब सम्बन्धले अमेरिकालाई फाइदा पुर्‍याउँछ भन्ने बुझेका छन् । त्यसैले उनीहरू आफूलाई रणनीतिक बेफाइदा हुने स्थिति सिर्जना नगर्न मिहिनेत गरिरहेका छन् । यस अर्थमा दुवैले सन् १९६९ को पाठ सिकेका छन् । तर, अमेरिकाले यस प्रकरणबाट के पाठ सिक्यो ? सन् १९६९ मा निक्सन र किसिन्जरको व्यवहार एक पुरानो चिनियाँ भनाइजस्तो थियो, ‘पहाडको टुप्पोमा बसेर दुई बाघको लडाइँ हारेजस्तो ।’ पचास वर्षपछि अमेरिकाको रणनीतिकारहरू पहाडबाट ओर्लिएर आफ्नै घरभित्र बाघसँग लडिरहेका छन् । यो सही रणनीति नभएर होला, यस स्थितिलाई व्यक्त गर्ने कुनै चिनियाँ भनाइ छैन । यदि त्रिकोणात्मक कूटनीतिलाई खेल मान्ने हो भने अमेरिकाले त्यसलाई कसरी खेल्ने भन्ने बिर्सिएको छ । 

 

(सर्गेई र्‍याडचेन्को वेल्सस्थित कार्डिफ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् ।) न्युयोर्क टाइम्सबाट

अनुवादः श्रवण उप्रेती