• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दृष्टान्त बिडारी
२०७७ चैत १४ शनिबार ०९:५२:००
पर्यावरण

दुर्लभ पक्षी काँडेभ्याकुर

२०७७ चैत १४ शनिबार ०९:५२:००
दृष्टान्त बिडारी

एक झलक हेर्न तड्पिन्छन् पक्षीप्रेमी 

 

नेपालमा ८ सय ७६ प्रजातिका चरा पाइन्छन्, जुन संसारभरिको करिब नौ प्रतिशत हो । तीमध्ये नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हो ।  सानै कक्षादेखि नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हो भनेर सुन्दै र पढ्दै आएका हामीमध्ये धेरैले यसलार्ई कहिल्यै देखेका या चिनेका हुँदैनौँ । मध्य अठारौँ शताब्दीमा ब्रिटिस नागरिक ब्रायन हड्सनले पहिलोपटक काठमाडौंमा यसको अभिलेख गरेका थिए ।

त्यसको करिब १०६ वर्षपछि मात्र यो चराको पुनः अभिलेख गरिएको थियो । खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाती हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बैतडीसम्म यस चराको अभिलेख गरिएको छ भने नेपालको भूभागबाहिर यो चराको अभिलेख पाइएको छैन । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा १५ सयदेखि २१ सय मिटरको उचाइमा बिताउँछ ।

हिउँदमा भने पाँच सयदेखि ११ सय मिटरको उचाइसम्म बसाइँ सर्ने गर्छ । जमिनको नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किराफट्यांग्रा हो । अप्रिलदेखि जुन महिना यस चराको प्रजनन समय हो । सामान्य वेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजननका वेला भने झाडीको बाहिरी हाँगामा बसेर गीत गाउने गर्छ । यही समयमा यसले बढी चहलपहल गर्छ ।

काठमाडौं उपत्यकावरपरको पहाडी क्षेत्र, पोखरावरपरको क्षेत्रदेखि खप्तड राष्ट्रिय निकुञ्जको इलाकामा मुख्य गरी देखिने यस चराको सबैभन्दा ठूलो संख्या चितवनको अपरदाङ गढी–सिराचुलीको जंगलमा भएको मानिन्छ । यसको कुल संख्या र वासस्थानबारे अझै राम्रो अध्ययन भएको छैन । अंग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चराको एक झलक पाउन संसारभरबाट हजारौँ पक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् ।

सन् १९५० तिर ठूलो संख्यामा देखिएको यो चराको संख्यामा हाल धेरै गिरावट आएको छ । बढ्दो सहरीकरण, वनजंगल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेका हुन् । पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पुर्‍याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने देखिन्छ ।