• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हुतु युवाको हातमा हतियार देखे पनि नदेखेजस्तो गरेर आफ्नो बाटोतर्फ लाग्दै फ्रान्सेली फौज । फ्रान्सेली फौजले क्षति रोक्न धेरै काम गर्न सक्ने भए पनि लाखौँ हत्या हुँदा पनि टुलुटुलु हेरेर बसेको आरोप छ ।
सुरेश निरौला
२०७५ चैत ३० शनिबार ०९:३६:००
रिपाेर्ट

रुवान्डा नरसंहारका २५ वर्ष

२०७५ चैत ३० शनिबार ०९:३६:००
सुरेश निरौला

त्रासदीका ती दिन 

अप्रिल ६ । रुवान्डारोदनको रजत वर्ष । रुवान्डाको मात्र नभई मानव सभ्यताकै कलंक हो, २५ वर्षअघिको त्यहाँको जातीय नरसंहार, जसमा सय दिनमा १० लाख मानिसको हत्या भएको थियो । लाखौँ महिला बलात्कृत भएका थिए । हजारौँ मानिस साहाराविहीन र बेघर भएका थिए । कैयौँले अर्काको देशमा शरणार्थी जीवन बिताउन बाध्य हुनुपर्‍यो । त्यसैको स्मिृतिमा साताअघिको शनिबार रुवान्डावासी फेरि रोए । जातिवादले निम्त्याएको यो डरलाग्दो परिणाम सम्झेर विश्व समुदाय पनि फेरि एकपटक सोचमग्न हुन पुग्यो ।

त्यस घटनाले रुवान्डावासीलाई पीडा मात्र दिएको थिएन, समग्र मानव सभ्यतालाई पनि एउटा पाठ सिकायो । यसपछि धेरै मुलुकको चेत पनि खुल्यो कि जातिवाद मानव सभ्यताको कंलक मात्र होइन, अभिशाप नै रहेछ । 

अप्रिल ६, १९९४ 
तत्कालीन रुवान्डाका राष्ट्रपति जुवेन हेविअरिमाना र बुरुन्डीका राष्ट्रपति सिप्रोननातार्यामिरा चढेको जहाजलाई राजधानी किगाली ओर्लन लाग्दै गर्दा धमकेदार बमले उडाइयो । घटना कसले घटायो भनेर अड्कलबाजी भइरहँदा सरकारी रेडियोले प्रपोगान्डा समाचार प्रचारण गर्‍यो, ‘घटना तुत्सी आतंकवादीले घटाएको आशंका छ ।’ 

मान्छेभित्रको रगत उम्लिन कतिबेर लाग्दो रहेछ र ! ८५ प्रतिशत बहुल हुतु समुदाय उत्तेजित भइहाल्यो । दुवै राष्ट्रपति पनि हुतु समुदायकै थिए । त्यसैले उनीहरूलाई कुनै शंका रहेन कि राष्ट्रपतिको हत्यामा तुत्सी अतिवादीबाहेक अरू कसैको हात हुन सक्छ । 

त्यसवेला अल्पसंख्यक रूपमा रहेको तुत्सी समुदायको तर्फबाट रुवान्डा प्याट्रियोटिक फ्रन्ट (आरपिएफ) ले लामो समयदेखि अतिवादी संगठन चलाइरहेको थियो । देशबाहिर रहेको यो पार्टीले वेलावेला आतंक सिर्जना गथ्र्यो । तर, उक्त पार्टीले राष्ट्रपति हत्याको जिम्मेवारी कहिल्यै लिएन । र, आजसम्म पनि लिएको छैन । 

बरु उनीहरूले उक्त घटनामा हुतु अतिवाद समुदायकै हात रहेको आरोप लगाए । किनकि उक्त घटनाको एक वर्षअघि हुतु अतिवादका केही नेताले राष्ट्रपति हेविअरिमानालगायत ठूला नेतालाई ‘देशको अपराधी घोषणा’ गरेका थिए । हेविअरिमानाले दुई दशकदेखि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसअवधिमा हुतुका केही नेताबीच उनीप्रति तीव्र असन्तुष्टि थियो । त्यसैले हुतु अतिवादको एक समूहले ‘देशका ती खतरनाक अपराधीलाई एक–एक गर्दै सफाया गर्ने’ सूची नै सार्वजनिक गरेको थियो । तर, घटना कसले गरायो ? आजसम्मै रहस्यमा छ । 

घटना जसले गराएको भए पनि यसबाट फाइदा भने हुतु अतिवादीले लिन चाहे । उनीहरूले तुत्सी समुदायमाथि राष्ट्रपति हत्याको ठाडो आरोप लगाए । र, हुतु समुदायलाई उत्तेजित बनाउने काम गरे । हुतु समुदायका नेताहरू यस्तै मौकाको पर्खाइमा थिए । किनकि तुत्सी अतिवादीले त्यहाँको सरकारको निँदहराम गरिरहेको थियो । यही मौकामा जनताको साहनुभूति लिएर तुत्सीलाई नामेट गर्न सके, चैनको सास फेर्न सकिने हुतुका नेतालाई लागेको थियो । 

त्यसैले उनीहरूले जनतालाई भड्काउने काम गरे । सरकारले नै रेडियो, टेलिभिजनका माध्यबाट तुत्सी समुदायविरुद्ध विष वमन गर्न थाल्यो । सरकारले सेना, प्रहरी, कर्मचारी र सर्वसाधारणलाई आह्वान नै गर्‍यो, ‘मुलुक अत्यन्त संकटमा छ, सबैले एकजुट हुनुपर्ने वेला आएको छ ।’

सरकारले राष्ट्रिय एकता, अखण्डताका लागि हुतु समुदाय एक हुन आह्वान गर्‍यो । र, जसको हातमा जे हतियार छ, त्यही प्रयोग गरी तुत्सीको सफाया गर्ने अनुमति दियो । भिडलाई के चाहिएको हुन्छ र ! फगत एक झिल्को भए पुग्छ । त्यही झिल्कोले सर्वनाश गरिदिन्छ । 

त्यसपछि 
त्यसपछि जे नहुनु थियो, त्यही भयो । हुतु समुदायको सत्ताधारी पार्टी नेसनल रिपब्लिक मुभमेन्ट फर डेमोक्रेसी एन्ड डेभलपमेन्ट (एनआरएमडी)को एक ‘इन्तेराहाम्बे’ भन्ने युवा संगठन पनि थियो, जसका कार्यकर्ता जोसिला र अन्धभक्त थिए । उनीहरू तुत्सीको नरसंहार गर्ने अभियानमा लागे । र, आफ्नो समुदायमा ‘एकअर्काका लागि काम गर्ने (वर्क फर टुगेदर)’ को नारा नै चलाए । 

संगठनका युवा तथा स्थानीयले तुत्सीलाई खोजी–खोजी मार्न थाले । तुत्सी परिवारको कुनै एक व्यक्तिको हत्या गरेर मात्र हुँदैनथ्यो । सम्पूर्ण सदस्यको सफाया गर्ने आदेश थियो । त्यस क्रममा नवजात शिशु पनि बाँकी रहेनन् । वृद्धवृद्धा पनि बच्न पाएनन् । 

महिलाको झन् दयनीय अवस्था थियो । समूहिक बलात्कार त सामान्य कुरा थियो । हजारौँलाई यौनदासी बनाइयो । बलात्कारपछिको हत्या निर्ममताको पराकाष्ठा थियो । पहिला स्तन काट्थे । त्यसपछि यातना दिएर हत्या गर्थे । 

आफ्नै परिवारका तुत्सी समुदायको कोही रहेछ भने पनि नछाड्ने निर्देशन थियो । उनीहरूप्रति कसैले सहानुभूति देखाए, त्यसको पनि हत्या हुन्थ्यो । त्यसैले आफूले प्रेम गरेकी तुत्सी श्रीमतीको पनि हुतु श्रीमान्ले हत्या गर्नुपर्‍यो । 

एकै क्षेत्रका आदिवासी जनजाति भएकाले हुतु र तुत्सीको भाषादेखि रीतिरिवाज मिल्दोजुल्दो थियो । एकै रहनसहन थियो । केही गाउँमा हुतु र तुत्सी अत्यन्त मिलेर बसेका थिए । उनीहरूमा बिहेबारी चल्नु नौलो थिएन । तर, कालान्तरमा सोचाइमा फरक आयो । छिमेकीले छिमेकीको हत्या गर्नुपर्ने दिन आइदियो । ससुरा स्वयंले तुत्सी बुहारीको हत्या गर्नुप¥यो । हुतु समुदायबाट भित्रिएकी बुहारी आफैंले पति, सासू, ससुरासमेतको हत्या गर्न बाध्य हुनुपर्‍यो । 

हुतु अतिवादीले आफ्नै रेडियो स्टेसन, समाचार–पत्र र टेलिभिजन सञ्चालन गरेका थिए । उनीहरूको काम नै गोयबल्स शैलीमा प्रपोगान्डा मच्चाउनु थियो । तुत्सीका बारेमा यसो भनिन्थ्यो, ‘साङ्लालाई मुक्ति देऊ’ (तुत्सीको हत्या गर) । तुत्सी समुदायको जो अलि ठूलो व्यक्ति मारिन्थ्यो, समाचार संस्थाहरू हर्षबढाइँ गर्थे र बढाइ–चढाइ गरेर समाचार सम्प्रेषण गर्थे । यसले हुतुलाई अझ उत्तेजित बनाउँथ्यो ।

हुतु युवाले त्यतिवेला तुत्सी पुजारीलाई समेत छाडेनन् । चर्चमा आश्रय लिएर बसेका तुत्सीमाथि पनि आक्रमण गरे । सडक कब्जा गरिएको थियो । विभिन्न नाकाबाट बाहिरिने स्थानमा हुतु अतिवादी युवा पहरेदार थिए । त्यहाँ परिचयपत्र हेरी तुत्सीको हत्या गर्थे । 

अल्पसंख्यक तुत्सी समुदायका लागि आश्रय लिने कतै ठाउँ थिएन । उनीहरू खुला बाटो, चौरबाट भाग्न खोज्थे । तर हुतुका कोही न कोहीले भेटिहाल्थ्यो । जहाँ भेट्यो, त्यहीँ खुकुरी, लाठी, भाला, खुँडा प्रहार गरी हत्या गरिन्थ्यो । दौडँदै गरेको मानिसलाई पछाडिबाट ढुंगा हानेरसमेत हत्या गरियो । 

त्यतिवेला तुत्सी समुदायको पहिचान गर्न हुतुलाई कुनै समस्या थिएन । बेल्जियमको उपनिवेश रहेका वेला तुत्सी समुदाय सत्तामा थिए । राज्यको सुविधा उपयोग गर्न सरकारले परिचयपत्र वितरण गरेको थियो । त्यही परिचयपत्र नै यतिवेला अभिशाप बनेको थियो । 

स्थिति यति दर्दनाक थियो कि रुवान्डाको सडक, चोक, गल्ली, चौर, जताततै लासैलासको डंगुर थियो । अन्तिम संस्कार गर्ने सदासयतासमेत कसैले देखाइरहेका थिएनन् । केही ठाउँमा सामूहिक रूपमा खाल्डो खनी पुरिए । तर, कुकुर, ब्वाँसाले खाल्डो खोस्रेर शवलाई बाहिर निकालिदिन्थे । शवको दुर्गन्धले बाटोघाटो हिँड्न नसकिने अवस्था थियो । महामारी फैलिरहेको थियो, तर पनि कसैले चासो देखाइरहेको थिएन ।

यस्तो घटना करिब सय दिनसम्म निरन्तर चलिरह्यो । विभिन्न तथ्यांकअनुसार करिब १० लाखको हत्या भएको थियो । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी तुत्सी समुदायका थिए । दुई लाखभन्दा बढी महिलाको सामूहिक बलात्कार भयो । धरैजसो निर्मम यातना दिएर मारिए । २० लाखभन्दा बढी विस्थापित हुन पुगे । उनीहरू छिमेकी मुलुक युगान्डा, जायर र कायरोमा शरण लिन बाध्य भए । 

घटना हुनुअघिको इतिहास 
घटनाको लामो पृष्ठभूमि हुन्छ । रुवान्डा नरसंहारलाई पनि तत्कालीन घटनाक्रमको अध्ययनले मात्र बुझ्न सकिँदैन । यसको
पृष्ठभूमि लामो थियो । सन् १९१८ सम्म रुवान्डाको स्थिति सामान्य थियो । देश गरिब थियो तर हिंसा थिएन । तुत्सी समुदायको राजसंस्था थियो । अल्पसंख्यक तुत्सीले बहुसंख्यक हुतुलाई शासन गर्दा निश्चय नै असन्तुष्टि हुन्छ । तर, त्यसवेलाको राजसंस्थाले युरोपको सहयोगमा शासन सत्ता चलाइरहेको थियो । पहिले यो देशमा जर्मनीको नियन्त्रण थियो । जर्मनीको पतनपछि बेल्जियमको नियन्त्रणमा रह्यो ।

राजसंस्थाले तुत्सीलाई राज्यका स्रोत, साधन र सेवामा पहुँच दिन परिचयपत्र वितरण गरेको थियो । त्यसवेला रुवान्डामा तुत्सी, हुतु र तोवा गरी तीन समूहमा जातीयकरण गरिएको थियो । सबैभन्दा धेरै हुतु थिए । कुल जनसंख्याको ८५ प्रतिशत ओगट्ने यो समुदायलाई भूमिपुत्रसमेत भनिन्थ्यो । तुत्सी समुदाय १५ प्रतिशतको हाराहारीमा थिए । उनीहरूको मुख्य पेसा सरकारी कामकाज थियो । साथै उनीहरू पशुपालन गरेर जीविकोपार्जन गर्थे । उनीहरूलाई राज्यले उच्च जाति मानेको थियो । तोवा समुदायको जनसंख्या नगण्य थियो । 

तर, समयले राजसंस्थालाई सधैँ साथ दिएन । हुतु समुदायको आवाजलाई अमेरिकाले स्थान दिन थाल्यो । युरोपले पनि राजसंस्थाको साथ छाड्यो । त्यसैको परिणामस्वरूप हुतुले सन् १९६२ मा राजसंस्था ढाले र सत्तामा पुगे । तुत्सी समुदायको विचल्ली भयो । ठूला नेता–कार्यकर्ता, कर्मचारी देश छाड्न बाध्य पारिए । निम्नवर्गकाहरू पिल्सिएर बस्न विवश भए । 

तुत्सी समुदायका नेता चुप बसेनन् । उनीहरूले देशबाहिरबाट पनि संघर्ष चलाइरहे । सन् १९८० को दशक भने तुत्सीको
आक्रमण थेगिनसक्नु भइसकेको थियो । हुतु शासक त्यसलाई निर्ममतापूर्वक दबाउन चाहन्थ्यो । सन् १९९० देखि १९९३ सम्म तुत्सीले निर्णायक आक्रमण गर्‍यो । यसले हुतुलाई गलाउन सफल भयो । दुवै संगठनमाथि अन्तर्राष्ट्रिय दबाब पनि थियो । सन् १९९३ मा दुवै पक्षले युद्ध विराम गर्दै माग सम्बोधन गर्न राजी भए । तर, राष्ट्रपतिको हत्यापछि त्यो शान्ति–सम्झौता भंग भई त्यसले जातीय नरसंहारको रूप लिएको थियो । 

अन्तर्राष्ट्रिय समुदाय के हेरेर बसे ?
रुवान्डा घटनामा अन्तर्राष्ट्रिय समुदायको मौनता उदेकलाग्दो देखिन्छ । त्यहाँ पहिल्यैदेखि राष्ट्रसंघको शान्तिसेना थियो । तर, तिनीहरूलाई हतियार उठाउने निर्देशन थिएन । शान्तिसेनाले हतियार उठाउनुको त के कुरा, सेनाकै अगाडि स्थानीयले अर्को जातिको निर्मम हत्या भइरहेको हुन्थ्यो । उनीहरूले रोक्ने प्रयाससम्म गरेनन् । सडकमा फ्रान्स, बेल्जियम र राष्ट्रसंघलगायत सेनाको बख्तरबन्द गाडी दगुर्थे । त्यही छेउबाट घरेलु हतियारधारी समूह पनि हिँडिरहेको हुन्थ्यो । सेनाका जवान मुस्कुराएर हात हल्लाउँदै अघि बढ्थे । 

त्यसवेला रुवान्डमा राष्ट्रसंघका २ हजार ५ सय शान्तिसेना कार्यरत थिए । त्यसका कमान्डर रोमियो डलायरले हिंसा रोक्ने निर्देशनका लागि राष्ट्रसंघसँग अनुमति मागेका थिए । त्यसवेला राष्ट्रसंघको शान्ति स्थापना विभागका इन्चार्ज कोफी अन्नान थिए, जो पछि महासचिवसमेत भए, उनले कुनै आदेश दिएनन् । पछि उनले खेद व्यक्त गर्दै भनेका छन्, ‘हामी सबैलाई नमिठो खेद छ कि रुवान्डा नरसंहार रोक्न हामी केही गर्न सक्थ्यौँ, तर केही गरेनाैं ।’ 

त्यसवेला अमेरिकामा राष्ट्रपति बिल क्लिन्टन थिए । उनले पनि धेरै पछि रुवान्डा भ्रमणमा भनेका थिए, ‘मलाई लाग्दैन थियो कि हामी हिंसा रोक्न सक्थ्याैं, तर निश्चित रूपमा क्षति कम गर्ने पहलचाहिँ गर्न सक्थ्याँै । मलाई यसैमा खेद छ ।’

घटना कसरी नियन्त्रणमा आयो ?
तुत्सीको पार्टी आरपिएफ युगान्डामा बसेर आफ्नो गतिविधि गरिरहेको थियो । उक्त पार्टीलाई युगान्डा सरकारको ठूलो सहयोग थियो । जब रुवान्डा सरकार र हुतु समुदाय तुत्सीको सफायामा तल्लीन थिए, आरपिएफले आफ्ना लडाकुको ठूलो समूह रुवान्डा भिœयायो । बिस्तारै यसले रुवान्डाको ठूलो भूभागमाथि कब्जा जमायो । नरसंहार चलेको सय दिन नपुग्दै सन् १९९४ जुलाई ४ मा राजधानी किगाली नियन्त्रणमा लियो र तुत्सीका लडाकुले राजधानीमा मार्च गरे ।

त्यसपछि हुतुका लडाकु, सरकारका वरिष्ठ अधिकारी र सेना प्रहरीका अधिकारी भाग्न बाध्य भए । तुत्सीले नरसंहारको बदला लिन्छन् भन्ने उनीहरूमा डर थियो । करिब २० लाख हुतु जो नरसंहारमा संलग्न थिए, सीमापारको जायर (हालको डेमोक्रेटिक रिपब्लिक अफ कंगो) मा शरण लिन पुगे । केही छिमेकी मुलुक तन्जिनिया, बुरुन्डीमा शरण लिन पुगे ।

अहिले के छ ?
युगान्डा, तान्जिनिया, कंगो र बुरुन्डीले चारै दिशाबाट घेरेको यो सानो मुलुक भूपरिवेष्टित राष्ट्र हो । २६ हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफलमा रहेको यो देशमा १ करोड २० लाख जनसंख्या छ । सानो मुलुक भए पनि लामो समय जातीय द्वन्द्व र गृहयुद्धमा फसेकाले कुनै वेला यहाँ व्यापक भोकमरी थियो । अधिकांश सर्वसाधारण कुपोषण ग्रस्त थिए । शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था थिएन । 

तर, हुतु समुदायबाट तुत्सीले सत्ता लिएयता त्यहाँ २५ वर्षदेखि कागामे नै राष्ट्रपतिका रूपमा चुनिँदै आएका छन् । कागामे नरसंहारताका तुत्सीको आरपिएफ पार्टीका शीर्ष नेता थिए । 

नरसंहारपछि जातीय सद्भाव कायम गर्ने चुनौती थियो । त्यसमा कागामे सफल रहेको विश्लेषण गरिएको छ । यतिवेला त्यहाँ जातिवादको विषयमा चर्चा गर्न प्रतिबन्ध छ ।

त्यहाँ स्थिर सरकार छ । आर्थिक गतिविधिमा फड्को मारिरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । कागामेले रुवान्डालाई आर्थिक हबका रूपमा विकास गरिरहेका छन् । यतिवेला रुवान्डाको आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारी छ । प्रतिव्यक्ति आय करिब २ हजार अमेरिकी डलर छ । 

कागामे रुवान्डामा निकै लोकप्रिय छन् । उनले तेस्रोपटक सन् २०१७ मा राष्ट्रपतिको चुनाव लड्दा ९८ दशमलव ६३ प्रतिशत मत हासिल गरेका थिए । उनलाई स्थानीय सञ्चारमाध्यमले सिंगापुरका ली क्यू वानका रूपमा चित्रण गर्ने गरेका छन् । 

तर उनीमाथि विपक्षीलाई देखिनसहने आरोप पनि छ । उनले आफूविरुद्ध आवाज उठाउनेलाई मुलुकभित्र होस् वा बाहिर, जहाँ भए पनि सफाया गरिदिने आरोप खेप्ने गरेका छन् । उनले पनि गत शनिबार २५ वर्षअघिको नरसंहार सम्झिए । ‘२५ वर्षअघि पनि हामी यहीँ थियौँ तर हाम्रासामु अँध्यारोसिवाय केही थिएन,’ नरसंहारको २५ वर्ष पुगेको दिन त्यही वेलादेखि हालसम्म राष्ट्रपति रहेका पल कगामे शनिबार राजधानी किगालीमा आयोजित स्मृतिसभामा भनिरहेका थिए, ‘२५ वर्षपछि पनि हामी यहीँ छौँ, तर अहिले हाम्रा सामुअँध्यारो होइन, सुन्दर उज्यालो छ । हामी भित्रैदेखि घाइते भएका थियौँ, तर टुक्रिएका थिएनाैं । त्यसैले यतिवेला समग्र रुवान्डा एकै परिवार भएका छौँ ।’ 

आमाहरूको स्वीकारोक्ति
नरसंहारका क्रममा लाखाैं महिला बलात्कृत भए । कतिपय बलात्कारपछि मारिए, कतिपय कसो–कसो गरी बाँच्न सफल भए । जो बाँच्न सफल भए, केही त गर्भवती भए । सन्तानलाई जन्म दिए । तर, उनीहरूमा सन्तानप्रति कुनै माया भएन । किनकि उनीहरूलाई लाग्थ्यो कि ‘ती सन्तान त्यस्तो व्यक्तिका थिए, जसले आफ्नै आँखाअगाडि आफ्ना पति, बाबु, आमा वा अन्य सन्तानको हत्या गरेको थियो ।’ अर्थात् ती सन्तान भयंकर अपराधीका नासो थिए । पुत्लिन्जर सेन्टरमा द्वन्द्वसम्बन्धी रिपोर्टिङ र फोटोग्राफी गर्दै आएकी जोनाथान तोर्गोनिकले न्युयोर्क टाइम्समा लेखेकी छिन्, ‘ती आमाले वर्षौंसम्म सन्तानलाई हेर्नसम्म चाहेनन् ।’ उनले केहीअघि घटनाबाट पीडित महिला र तीबाट जन्मेका सन्तानलाई भेटेर फोटो फिचर लेखेकी थिइन् । त्यतिवेला बलात्कृत भएका महिलाबाट जन्मेका बच्चा यतिवेला २४ वर्ष पुगिसकेका छन् । १० वर्षअघि तिनै आमासँग तोर्गोनिकले भेट्दा सन्तानबारे कुरा गर्न चाहेका थिएनन् । तर, पछिल्लो भेटमा भने धेरै आमाले आफ्ना सन्तानलाई वास्तविकता भनिसकेका रहेछन् । वास्तविकता थाहा पाएपछि आमा वा सन्तानप्रति एकअर्काको सद्भावना र माया अझ गहिरिएको उनले पाइन् ।  केही आमा र तिनका सन्तानसँग गरिएको कुराकानी :

आमा जस्टिन र छोरी एलिस 
आमा : छोरी ठूली भएपछि एक दिन मैले छोरीलाई भनेँ, ‘तिमीलाई थाहा छ, धेरैअघि ठूलो नरसंहार भएको थियो र त्यसवेला धेरैजना मारिए, बलात्कृत भए । त्यो बलात्कारबाट धेरैको जन्म भयो । म पनि बलात्कृत भएकी थिएँ र तिमी त्यसैको परिणाम हौ ।’ उनले चुपचाप सुनिरहिन् । केही बोलिनन् । त्यसपछि भने हाम्रो सम्बन्धमा सुधार आयो । त्यसअघि उनलाई म धेरै माया गर्दिनथेँ । जब मैले सबै कुरा भनेँ, त्यस वेला लाग्यो कि मैले उनलाई त्यस्तो वेलामा पनि जन्म दिन सकेकी रहिछु । मेरा लागि उनी ईश्वरको सहारा रहिछिन् । 

छोरी : साँचो यो हो कि मेरो बाउ हत्यारा हो र उसले यस्तो कार्य गरेको थियो कि जुन पशुले पनि गर्न सक्दैन । मलाई लाग्दैन, ऊ समान्य मान्छे थियो, त्यसैले मलाई उसको परिचय खोज्नु आवश्यक छैन । पहिला म एकदम उदास हुन्थेँ । तर, अचेल सामान्य छु । मेरो मानसिक अवस्थामा सुधार हुँदै आएको छ । आजकल आमाको धेरै माया पाउन थालेकी छु । म पनि धेरै माया गर्छु ।

आमा भलेरी र छोरा रोबोर्ट 
आमा : सबै कुरा थाहा पाएको क्षण ऊ एकदम उदास भएको थियो । उसले मलाई सोधेको थियो, ‘साँच्चै त्यो वेला मान्छेहरू खुकुरी बोकेर हिँड्थे र जसलाई भेट्यो त्यसैलाई मार्थे ? अनि महिलालाई बलात्कार पनि गरे ? मलाई विश्वास नै हुन सकिरहेको छैन, कि मान्छेले पनि यो हदसम्म पशुवत् व्यवहार गर्न सक्छ ?’ मैले उसलाई यो सबै साँचो घटना भएको बताएँ । छोरालाई सबै कुरा भनिसकेकी छु र ऊसँग प्रतिबद्धता पनि जनाइसकेँ कि म ऊसँग आजीवन बस्नेछु । 

छोरा : आमाले मलाई वास्तविकता भनेको दिन म धेरै टुक्रिएँ । यो थाहा पाएर मलाई त्यो व्यक्तिदेखि धेरै घृणा लाग्यो, जसले मेरी आमालाई बलात्कार गर्‍यो । उसको कारणले मैले समाजमा धेरै तिरष्कार भोग्नुपरेको छ । मेरो कोही छैन, फगत आमासिवाय । बलात्कारबाट मलाई जन्म दिनुमा उनको कुनै दोष थिएन । त्यसैले यो थाहा पाएपछि म मेरी आमालाई अझ बढी माया गर्न थालेको छु ।

आमा क्लेर र छोरी एलिजावेथ
आमा : घटना सुनेपछि छोरी केही बेर विक्षिप्त भई । अनि ऊ उठी र मलाई कसिलो अँगालो हाली । भनी, ‘म तपार्इंलाई माफी दिन्छु कि यसअघि केही भन्नुभएन ।’ त्यसपछि हामी एकअर्कालाई अँगालो हाल्दै धेरै बेर रोयौँ । मैले उनलाई वास्तविकता भनेपछि मन धेरै हलुका भएको छ । त्यसअघि धेरै गाह्रो भएको थियो । 

छोरी : जब म हुर्कन थालेँ, मेरो सौतेनी बाउले मलाई नराम्रो व्यवहार गर्थे । विद्यालयको शुल्क पनि तिर्न अस्वीकार गर्थे । त्यसैले मैले अर्काको घरमा घरेलु कामदार बन्नुपर्‍यो । तर, उनका आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउँथे । मेरो सौतेनी बाउले मलाई त्यस्तो व्यवहार गर्थे, जस्तो कि उनी मलाई मार्न चाहन्छन् । उनी भन्ने गर्थे, ‘यो नभएकै भए बेस हुन्थ्यो ।’ मलाई गाली गर्दा एक्लै बस्न मन लाग्छ । मन भुलाउन गीत लेख्छु, गाउँछु । अचेल मेरी आमाले मलाई धेरै माया गर्न थाल्नुभएको छ ।

आमा बर्नाडिट र छोरा फस्टिन
आमा : पहिला त मलाई उसको अलिकति पनि माया लाग्दैनथ्यो । लाग्थ्यो, ऊ त्यो हत्याराको सन्तान हो, जसले मेरो सन्सार उडाइदिएको थियो । तर, जब ऊ बढ्दै गयो, समाजले पनि उसलाई हेप्न थालेपछि मलाई पीडा हुन थाल्यो । एक दिन उसलाई मैले सबै वास्तविकता नभनिरहन सकिनँ । मनका सबै वह पोखिदिएँ । त्यसयता मन हलुका भएको छ । उसले पनि मलाई बढी माया गर्न थालेको छ । 

छोरा : जुन वेला मलाई आमाले आफू बलात्कृत भएको र त्यसको परिणामस्वरूप म जन्मेको थाहा भयो, त्यो क्षण मलाई मेरो मुटु कसैले चुँडेर लगेको जस्तो भइरहेको थियो । यो थाहा पाउँदा मलाई निकै गाह्रो भयो कि मेरी आमालाई अपराधीले रूखमा झुन्ड्याएर बारम्बार बलात्कार गरेका थिए । र, त्यो बलात्कारीमध्येमा एक मेरो बुबा पनि थियो । तर, म मेरी आमालाई महान् मान्छु, जसले अनेक दुःखकष्ट सहेर पनि मलाई हुर्काइन्, बढाइन् ।
(विभिन्न एजेन्सीको सहयोगमा)