• वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
नरजन तामाङ हुम्ला
२०७७ चैत २१ शनिबार १०:५७:००
रिपाेर्ट

बिरामीको मृत्यु भइसकेछ, अस्पतालले औषधि ल्याऊ भनिरह्यो

२०७७ चैत २१ शनिबार १०:५७:००
नरजन तामाङ हुम्ला

कर्णालीवासीलाई सधैँ आफ्नै देश बिरानो लागिरहन्छ 

 

कर्णाली प्रदेश हुम्लामा एक गरिब परिवारमा जन्मिएँ । सदरमुकाम सिमिकोटदेखि तीन दिनको पैदल हिँडेपछि मात्रै जन्मथलो चंखेली गाउँपालिका–५ नेप्का पुगिन्छ । गाउँमा राम्रो अध्ययन गर्ने विद्यालय छैन । राम्रो उपचार हुने स्वास्थ्य संस्था छैन । संसारसँग जोड्ने सञ्चार सेवा छैन । 

 

गाउँको स्कुलमा कक्षा पाँचभन्दा धेरै पढ्न पाइनँ । कक्षा ६ भन्दामाथि पढ्न गाउँभन्दा एक दिन टाढा महादेव माध्यमिक विद्यालयमा रासन बोकेर पढ्न जान्थेँ । जसोतसो एसएलसी त्यहीँ सकाएर उच्च शिक्षा पढ्न बुटवल झरेँ । बुटबल बहुमुखी क्याम्पसमा पढ्न थालेँ । 

 

२७ लाख सकायौँ
बुटबलमै पढिरहँदा घरमा माइला दाजु (धीरबहादुर तामाङ (३४) बिरामी भए । गाउँमा सिटामोलसमेत पाइँदैन । जिल्ला सदरमुकाममा न स्वास्थ्य उपकरण थियो, न विशेषज्ञ चिकित्सक नै । गाउँमा कोही बिरामी हुँदा ऋण गरेर भए पनि नेपालगन्जसम्म ल्याउनुपर्ने बाध्यता थियो, र अझै पनि छ । दाइलाई बिरामीले च्याप्न थालेपछि हुम्ला हुँदै नेपालगन्ज र नेपालगन्जबाट काठमाडौं पुर्‍यायौँ । काठमाडौंको ॐ अस्पतालमा भर्ना गर्‍यौँ । अल्सर भएको भन्दै अस्पतालले अप्रेसन गर्न सुझाब दियो । अप्रेसन भइसकेपछि क्यान्सर नै भइसकेको बतायो । हामीले दाइको लगातार उपचार गरिरह्यौँ । न दाइलाई सन्चो भयो, न पानीसरि पैसा बगाउनुपर्ने क्रम रोकियो । अस्पतालले बिरामी निको हुँदैन पनि भनेन । उपचारकै नाममा २७ लाख सकायौँ र अन्तिममा दाइलाई पनि २०७३ वैशाखमा गुमायौँ ।

 

दाइले अन्तिममा आमाबुबा, छोरीछोरी र भाउजूलाई भेट्ने चाहना राखेका थिए । तर, हामीले भेट गराउन सकेनौँ । अस्पतालले उपचार हुँदै छ मात्रै भनिरह्यो । हामी पनि निको हुने आशामा बसिरह्यौँ । काठमाडौं हामी चार भाइ गएका थियौँ, फर्किँदा तीन भाइ मात्रै भयौँ । हुम्लामा किन राम्रो अस्पताल भएन ? राम्रो अस्पताल गाउँमै भएको भए दाइलाई गुमाउनुपर्ने थिएन । यही कुरा हाम्रो मनमा खेलिरह्यो ।

 

वन्स अपन अ टाइम 
दाइको शोकबाट हामी उठ्न सकेकै थिएनौँ । समयले फेरि अर्को बज्रपात लिएर आयो । त्यो समय ०७३ कै भदौ महिनाको थियो । म नेपालगन्जमै थिएँ । फुपूको छोराले फोन गर्‍यो । उनले मेरो कान्छो भाइ (हिराजन तामाङ, २२ ) बिरामी भएर नेपालगन्ज नर्सिङ होममा भर्ना गरेको खबर सुनायो । म छाँगाबाट खसेजस्तै भएँ । दाइको वियोगबाट मुक्त नहुँदै भाइ बिरामी भएको खबर सुनेर होटेलको कोठामै बेहोस भएछु । होसमा आएर हतार–हतार नर्सिङ होम पुगेँ । भाइ अस्पतालको बेडमा पल्टिएको देख्दा मन थाम्नै सकिनँ । बरर्र आँसु मात्रै खस्न थाल्यो ।

हातमा डाक्टरले ल्याउनू भनेको औषधिको प्रेस्क्रिप्सन छ, साथमा पैसा छैन । एटिएम पनि साथमा छैन । फार्मेसीमा गएर आफ्नो समस्या पोखेर औषधि दिन बिन्ती गरेँ । उनीहरूले दिएनन् । मोबाइल र लाइसेन्स राख्नु, भाइ आइसियूमा छ भनेँ । र, पनि उनीहरूले मानेनन् ।

भाइलाई अघिल्लो दिन राति एक्कासी खुट्टाको फिला दुखेछ । सुरुमा सामान्य नै सोचियो । घरमा आमाबुबालाई जानकारी गराउने कुनै सञ्चारको माध्यम पनि थिएन । नेपालगन्जमा दुई दिन उपचार गराउँदा–गराउँदै ४५ हजार सकियो । तर, रोग पत्ता लागेन । दुई दिनपछि डाक्टरले प्यारालाइसिस भएको हुन सक्ने भन्दै भारतको लखनउ वा काठमाडौंको टिचिङ अस्पताल लैजान सल्लाह दियो । जहाजमा काठमाडौं लैजाने तयारी गरेँ । अस्पतालका कर्मचारीले रिफर गर्नै ढिलो गरिदियो र त्यस दिनको जहाज छुट्यो । रातभरि बिरामी भाइलाई अस्पतालबाहिर राख्न बाध्य भएँ । १८ वर्षे भाईलाई ह्विलचियरमा रातभरि बाहिरै राख्नुपर्दा मन साह्रै रोयो । भाइ निकै गल्दै गइरहेको थियो । तर, मैले केही पनि गर्न सकिनँ । भोलिपल्ट बिहान ८:३० बजे बल्ल जहाज आयो । 

 

काठमाडौंको टिचिङ अस्पतालमा भाइलाई लग्यौँ । त्यहाँ सारै भिडभाड थियो । पहुँच वालाहरूको मात्रै अगाडि–अगाडि उपचार भइरहेको थियो । हाम्रो धेरैबेरसम्म पालो आएन । करिब चार घन्टा बितेपछि बल्ल बिरामीको नाम सोधियो । अस्पतालमा बेड खाली थिएन । एउटै बेडमा तीनजनासम्म बिरामी राखिएको थियो । एउटी नर्स आएर भनिन्, ‘एक हप्ता कुर्नुपर्छ ।’ भाइको अवस्था निकै जटिल हुँदै थियो । भाइको अवस्था म मात्रै अनुभूत गर्न सक्थेँ । अस्पतालका कसैले पनि भाइको पीडा देखेन । भाइलाई ट्याक्सीमा राखेर केएमसी अस्पताल सिनामंगल लगेँ । त्यहाँको एकजना कर्मचारीले भन्यो, ‘बेडमा राख्न दिनको पाँच हजार लाग्छ ।’ अर्काे कर्मचारीले भन्यो, ‘उपचार गर्ने पालो तुरुन्तै आउँदैन । बिरामीलाई महिनौँ दिनसम्म राख्नुपर्ने हुन सक्छ ।’ निजी अस्पतालमा महिनौँ राख्न सक्ने हैसियत थिएन । त्यसपछि फेरि भाइलाई टिचिङ हस्पिटलमा ल्याएँ । 

 

बिरामी भाईलाई बोकेर ट्याक्सीमा ओहोर–दोहोर गर्दागर्दै ल्याएको पैसा सकिनलागिसकेको थियो । भाइ पीडाले छटपटाइरहेको थियो । न खाना पाएको छ, न पानीसमेत समयमा पिउन पाएको छ, भोकभोकै बिरामी भाइलाई बोकेर ट्याक्सीमा ओहोर–दोहोर गरिरहेँ । बल्ल–बल्ल अस्पतालमा भर्ना गरियो । तर, बेड नै थिएन । बल्ल–बल्ल दुईजना भएको बेडमा भाइलाई राखेँ । भाइ पीडाले छटपटिन थाल्यो । भाइ छटपटिएको देख्दा मरेतुल्य हुन्थेँ । बरु भारत लगेको भए भाइको यस्तो बिजोग त देख्नुपर्दैनथ्यो भन्ने लागिरह्यो । त्यसवेला कर्णालीवासीलाई आफ्नै देश पनि साह्रै बिरानो लागिरह्यो । कोही मनकारी मान्छे मैले भेटिनँ । 

 

कैयौँ घन्टासम्म डाक्टरको अनुहार नै देख्न पाएनौँ । मनमा लाग्यो, यो अस्पताल त हुनेखानेहरूको रहेछ । रातभरि भाइलाई कसैले केही जाँच गरेन । भोलिपल्ट बिहान भाइलाई दूध र फ्रुटी खुवाएँ । त्यतिवेलासम्म भाइले राम्रै कुराकानी गरिरहेको थियो । एकछिनपछि भाइले मोबाइल माग्यो । आफ्नो फेसबुक खोल्यो अनि आफ्नै एउटा फोटो पोस्ट गर्दै क्याप्सन लेख्यो, ‘वन्स अपन अ टाइम, फिलिङ स्याड । 

 

त्यसपछि ठूली बहिनीसँग फोनमा कुराकानी गर्छु भन्यो । गर्‍यो पनि । गाउँको आमाबुबासँग कुरा गर्छु भन्यो, तर गाउँमा कुनै फोन थिएन । त्यसपछि भाइ छटपटिन थाल्यो । अनि बेहोस भयो । म आत्तिएँ । डाक्टरलाई बोलाएँ । डाक्टरले आइसियूमा राख्न सल्लाह दिए । तर, टिचिङमा आइसियू नै खाली नभएको भनियो । अस्पतालले भन्यो, ‘अन्तै लैजानू ।’ त्यसपछि मैले ठाउँ–ठाँउका अस्पतालहरूमा फोन गरेँ । कतैबाट पनि आइसियू बेड खाली छ भन्ने उत्तर आएन । बल्ल–बल्ल एउटा निजी अस्पतालले बेड खाली छ भन्यो । त्यसपछि भाइलाई हतार–हतार लैजान खोज्दै थिएँ, त्यहीवेला एकजना डाक्टरले हामीलाई रोके । उनले तत्काल टिचिङ अस्पतालमै आइसियूूको व्यवस्था गरिदिए । भाइलाई आइसियूमा राखियो । मेरो भाइ छटपटाइरहेको थियो । भाइको यस्तो अवस्थाबारे घरमा केही पनि थाहा थिएन । मेरो दिमागले काम गर्न छाडिसकेको थियो । सहयोग गर्ने मान्छे कोही थिएन ।

 

साथमा भएको पैसा सकिनलागेको थियो । डाक्टरले निरन्तर औषधि लिन मात्रै पठाइरहन थाल्यो । मैले औषधि ओसारिरहेँ । साथको क्यास पैसा सकियो । अब एटिएमबाट निकाल्न थालेँ । एटिएम कार्डबाट पैसा निकाल्दा कार्ड झिक्नै बिर्सेछु । एटिएम त्यहीँभित्रै अड्कियो । हातमा डाक्टरले ल्याउनू भनेको औषधिको प्रेस्क्रिप्सन छ, साथमा पैसा छैन । एटिएम पनि साथमा छैन । फार्मेसीमा गएर आफ्नो समस्या पोखेर औषधि दिन बिन्ती गरेँ । उनीहरूले दिएनन् । मोबाइल र लाइसेन्स राख्नु, भाइ आइसियूमा छ भनेँ । र, पनि उनीहरूले मानेनन् । मेरो पीडा कसैले सुनेन । एकजनाले बल्लबल्ल मोबाइल लाइसेन्स लिएर दुई हजारजतिको औषधि दियो । रातको १ बजेतिरबाट औषधि मगाउन छोड्यो । एकदमै भोक लागिरहेको थियो । क्यान्टिनमा केही पनि खानेकुरा थिएन । बाहिर सबै पसल बन्द भइसकेको थियो । त्यो रात भोकै कटाएँ । 

 

अस्पतालका कर्मचारीले रिफर गर्नै ढिलो गरिदिए र त्यस दिनको जहाज छुट्यो । रातभरि बिरामी भाइलाई अस्पतालबाहिर राख्न बाध्य भएँ । १८ वर्षे भाइलाई ह्विलचियरमा रातभरि बाहिरै राख्नुपर्दा मन साह्रै रोयो ।

 

भोलिपल्ट शनिबारको दिन थियो । बिहान ७ बजेभित्रै सिटिस्क्यान गर्नुपर्छ, बिल काटेर आउनु भन्ने आदेश जारी भयो । खल्तीमा एक सुको थिएन । रातभरि अनिँदो र भोको थिएँ । आफन्तहरूलाई फोन गरेँ । कतैबाट केही उपाय लागेन । बिहान १० बजेसम्म पनि सिटिस्क्यान गर्ने पैसा जुटेन । टिचिङ हस्पिटल हामीजस्ता गरिबका लागि होइनरहेछ भन्ने मनमा लागिरह्यो ।

 

दिउँसोतिर भाइ भएको ठाउँनजिकै गएँ । दुईजना पाका नर्स दिदीहरूले मलाई बोलाएर रुँदै भने, ‘कति राम्रो बाबु थियो ।’ यति शब्द मेरो कानमा परेपछि म रन्थनिएँ । आँखाभरि आँसु पार्दै उनीहरूले मलाई सम्झाउन थाले । मेरो चारैतिर अन्धकार छायो । केही पनि देखिनँ । त्यति नै वेला एकजना नर्स आइन् र बिल काटेर ल्याऊ भन्ने आदेश जारी गरिन् । ती दुई नर्स दिदीहरूले रिसाउँदै भने, ‘यो भाइसँग पैसा छैन । अब कहाँबाट बिल काटेर ल्याओस् । डाक्टरले बिरामीको ब्रेनडेथ भइसक्यो, अब उपचार रोक्नू भनिसक्यो । किन बिल काटिरहनुपर्‍यो ?’ ती नर्स लुसुक्क साइट लागिन् । मेरो आँखाबाट बरर्र आँसु खस्न थाल्यो । चारैतिर अन्धकार छायो ।

 

मलाई फेरि काठमाडौं शून्य लाग्यो । दाइको पालोमा हामी चार भाइमध्ये तीन भाइ मात्रै घर फर्किएका थियौँ । एक वर्ष पनि नबित्दै अब फेरि भाइलाई संसारबाट बिदा गरेर एक्लै फर्किनुपर्ने भयो । बिरामी भएको खबरसमेत थाहा नपाएको आमाबुबालाई भाइको मृत्युको खबर एक्कासी कसरी भन्ने ? अस्पतालको चौघेराभित्रै बेस्सरी रोएँ । यो बिरानो निर्दयी सहरमा रोएर कसलाई देखाउनुछ र ? मेरो आँसु बुझिदिने को छ र ? आफैँ रोएँ, आफैँले आफूलाई सम्हालेँ । अनि भाइको मृतदेह भएको ठाउँतिर बिस्तारै गएँ । 

 

प्यारी बहिनी
त्यसपछि के–के भयो ? यसको फेहरिस्त लामो छ । अहिलेलाई यो घटना यही टुंग्याउँछु । तर, पानामा लेख्न टुंग्याएर दुःख कहाँ टुंगिँदोरहेछ र । एकपछि अर्को दुःख र पीडाको लस्कर मेरो जीवनमा आउन अझै बाँकी रहेछ । 

 

हामी पाँच भाइको प्यारी बहिनी वसन्ती तामाङ । भर्खरै अनमी पास गरेकी । फोनमा वेलावेला मायालु स्वरमा दाइ भनेको अहिले पनि कानमा गुन्जिन्छ । गाउँघरमा धुलोमैलोसँग खेल्दै हुर्किएकी मेरी कान्छी बहिनी । सहरबाट गाउँ जाँदा सधैँ झोला खोतल्नुअघि सर्ने हाम्री बहिनी । आँखामा राख्दा पनि नबिझाउने प्यारी बहिनी । दुईजना दाइको मृत्यु भएपछि आमाबुबालाई सम्झाउने उनी नै थिइन् घरमा । ०७५ साल भदौ महिना हाम्रो जीवनमा फेरि अर्को विपत् बनेर आयो । जुन विपत्ले आज पनि मेरो हात काँपिरहेको छ । 

 

सोलुखुम्बुबाट अनमी अध्ययन गरेर घर फर्किएकी थिइन् बहिनी । उनी जिल्लामै जागिर खाने योजनामा थिइन् । तर, उनको सर्टिफिकेटमा हुम्ला हुनुपर्नेमा कलेजले जुम्ला बनाइदिएछ । दोलखाको जिरी टेक्निकल कलेजबाट मैले सर्टिफिकेट सच्याएर ल्याइदिएको थिएँ । अब बहिनीको आफ्नै गाउँमा जागिर मिल्ने करिब पक्काजस्तै भइसकेको थियो । घरमा आमाबाले कान्छी छोरी साथमा भएपछि दुई छोराको पीडा भुल्न सहज हुने ठानेका थिए ।

 

मैले काठमाडौंबाट बहिनीका लागि एकजोर कपडा किनेर लगेको थिएँ । म सिमिकोट पुग्दा बहिनी गाउँ गइसकिछन् । गाउँ जाँदा उनले आफ्नै लागि एकजोर नयाँ जुत्ता किनेर लगेछिन् । घरमा पुगेपछि आमाले गाउँनजिकैको पोरीगाउँ भन्ने ठाउँमा खम्बु फल टिप्न पठाउनुभएछ । माइला दाइकी जेठी छोरी अस्मिता तामाङसँगै बहिनी वसन्ती पनि खम्बु टिप्न गएछिन् । खम्बु टिपेपछि पहाडको फेदीमा बसेर घरबाट लगेको स्याउ खान थालेछन् । त्यहीवेला माथिबाट सुक्खा पहिरो आयो । छोरी हतार–हतार भागिन् । तर, बहिनी भाग्न खोज्दाखोज्दै त्यही पहिरोमा पुरिइन् । खै कसलाई दोष दिऊँ अब ? प्राकृतिक विपत्तिलाई दोष दिने कि मानवनिर्मित विपत्तिलाई ! कहिल्यै पहिरो नजाने ठाउँमा बहिनी पुरिइन् । मेरी बहिनीको कलिलो देह पहिरोले लुछ्यो । बहिनी आफैँले किनेको नयाँ जुत्ता पनि लगाउन पाइनन् । मैले लगेको नयाँ कपडा पनि लगाउन पाइनन् । गाउँमै अनमी बनेर सेवा गर्ने सपना पनि अधुरै रह्यो ।

 

परिवारको तीन सदस्य केही वर्षभित्रै गुमाउनुपर्दा वेलावेला मन साह्रै आत्तिन्छ । दाइ, भाइ र बहिनीको सम्झना वेलावेला साह्रै आउँछ । यस्तो लाग्छ, कर्नालीमा राम्रो अस्पताल भएको भए दाइ र भाइ बाँच्ने थिए । मान्छेले पर्यावरण नबिगारेको भए मेरी प्यारी बहिनी सुक्खा पहिरोमा पुरिने थिइनन् ।