• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नुमेश घर्ती मगर
२०७७ चैत २१ शनिबार ०९:२४:००
२०७७ चैत २१ शनिबार ०९:२४:००
नुमेश घर्ती मगर

पार्टीको छाप हानिएको चिर्कटोमा लेखिएको थियो– होटेल लेकबेँसी । टुबोर्ग बियर १, बंगुरको सेकुवा १, मासुभात १

 

(यो कथा पढ्दै जाँदा ‘ए यो त अस्तिको कुरा त हो’ भन्ने मनमा आइनैहाल्छ, तर यो कथा नेपाली समाज दलीय राजनीतिमा पसेदेखि चलिआएकै छ । चलिनैरहला ! पहिलेका कथा कसरी सुरु भए मैले मेसो पाएको छैन, भोलिको कथा कस्तो होला त्यो पनि म के जानुँ ! तर, पुस ५ पछिको कथा भने यसरी सुरु भएको थियो ।)

 

‘भोलि सबेरै आइज मेरोमा, अरू पनि खोज् मान्छे ।’
झमक्क रात परेर सहर शान्त हुँदै थियो । तर, कटुवा खोलानजिक भट्टीमा भने भर्खर हल्ला सुरु भयो । टेबुल टनाटन भरिएको थियो । कोही घरपाला त कोही अंग्रेजी रक्सीअघि बसेका थिए । बंगुरको सेकुवा । राँगाको भुटुवा । कुखुराको ललिपप पुर्‍याउनै गाह्रो परिरहेको थियो साउजीलाई । नयाँ र पुराना ग्राहक नियाल्न मुसुक्क हाँस्दै थिइन् साउनी । साँघुरो कोठा चुरोटको धुँवाले कुहिरी मण्डल भएको थियो । त्यसमाथि शीलाकी जवानी गीत गुन्जँदै थियो ।
टेबल नम्बर पाँचमा बसेको गुन्जमानले भर्खरै भनेको थियो, मुमलाललाई भोलि बिहानै आइज भनेर ।
‘ह्याङ भैन भने आम्ला । नत्र नौ बजेपछि भेटम्ला ।’ मुमलालले आधा गिलास रक्सी स्वाट्टै पारेर रित्तो गिलास टक्क टेबलमाथि राख्यो । र, सेकुवाको एकचोक्टा मीठो मुखले चपायो ।
‘मुला, यत्ति खाएर ह्याङ हुन्छस् ! ट्यांकर होस् तँ बुझिस् । जति खाए पनि खडाको खडै रहन्छस् ।’ गुन्जमानले आफ्नो गिलासको पिँधमा रहेको रक्सीतिर हेर्दै भन्यो ।
‘दिन सधैँ एकनास हुन्न । त्यसमाथि मिक्स भो भने टाउको
फुट्लाजस्तो दुख्छ ।’ मुमलालले चुरोट सल्कायो ।
‘यत्ति भा पुग्यो आजलाई ।’ गुन्जमानले गिलास रित्याएर
मुख बिगा¥यो ।
अर्को टेबलमा जोरले कुरा गर्दै कोही उठेर बटारिँदै काउन्टरतिर गयो । पछाडिबाट कसैले भन्यो– ‘खाएपछि कुकुर पनि बाघ बन्छ । कति ठूला कुरा ग¥या त्यो मान्छेले, यार दाङ खरिद्नेजस्तो कुरा गर्छ ।’
अर्कोले भन्यो– ‘जग्गा दलाली रै’छ, ठूला कुरा किन
नगरोस् ! आफ्नै सोझो मान्छेलाई फसाएजस्तो छ । कति लाख कुम्लाउने हो बरु !’
एकछिन त्यता अल्मलिँदा ती दुईबीच संवाद हुन सकेन । 
केहीबेरमा गुन्जमानले भन्यो– ‘हिँड् जाम्, कि एकएक गिलास थप्ने हो र ?’ उँघ्न लागेको सडकतिर एकनजर फ्याँक्यो उसले ।
‘हुन्छ स्वाट्टै पारेर जाम्ला ।’ मुमलाल ङिच्च हाँस्यो ।
रक्सी सकाइसकेपछि त्यो कोलाहल वातावरण छाडेर ती दुई आ–आफ्ना वासस्थानतिर लागे । बिल गुन्जमानले तिरेको थियो ।
भोलि प्रतिगमनविरुद्घ प्रचण्ड–माधव समूहको आन्दोलन थियो । मान्छे जम्मा गर्ने जिम्मा गुन्जमानले पाएको थियो । फेरि उसको विश्वासिलो पात्र भनेकै मुमलाल थियो हिजोआज त्यसैले सबेरै बोलाएको थियो ।

०००
करिब साढे एघार बजे घोराही बजार रात्तै भइसकेको थियो । मुर्दावाद र जिन्दावादको नारा गुन्जँदै थियो । सबैभन्दाअघि प्रहरीको जिप । त्यसपछि पाँच मिटर लामो कालो झन्डा । अनि नेकपाको झन्डा । र, नेपालको झन्डा थियो । सडकमा नअटाएर मान्छे पेटी हुँदै उफ्रँदै थिए । कति जोस थियो, ती मान्छेमा । उसै परे मर्न र मार्न पनि तयार भएजस्ता लाग्थ्यो । त्यो ¥यालीले एक फन्को घोराही बजार लगाई भाषण गर्न छनोट गरिएको तुलसीपुर चोकमा पुगेर रोकियो । धेरै चर्चित हुन नसकेका केन्द्रीय नेता । प्रदेश तथा स्थानीय नेताको उपस्थिति थियो । भाषण सुरु भइरहेको वेला शान्त मानिसमा अचानक भागदौड मच्चियो छेउतिर ।
भएको के थियो भने गोप्य योजनाअनुसार आसपासमा तोडफोड गर्ने । जब प्रहरीले रोक्न खोज्छ, तब प्रहरी दमनकारी मुर्दावाद नारा लगाउने र ढुंगा प्रहार गर्ने । हो, अहिले त्यसै गरियो । पहिला एक सर्वसाधारणको मोटर साइकलमाथि तोडफोड गरेर आगजनी गरियो । प्रहरीले दोषी व्यक्तिलाई पक्रन खोज्दा झडप भयो । केही आन्दोलनकारी र प्रहरीलाई चोट लाग्यो । जे घटना घटेको थियो त्यो जिल्लाबाहिर सुनिएन । 
घाइते हुनेहरूमा पहिला नम्बर गुन्जमान नै थियो । टाउको फुटेको थियो । र, अहिले अस्पतालको बेडमा आराम गरिरहेको थियो । उसलाई भेट्न केन्द्रीयदेखि स्थानीय नेता पुगेर हालचाल सोधे । उसलाई घाइते हुनुमा गर्व लाग्यो । आन्दोलन भाँडिनुमा राम्रै लाग्यो । कमसेकम केन्द्रीय तथा प्रदेश नेताले त चिने गुन्जमान भनेर ।
साँझपख मुमलाल पनि पुग्यो अस्पताल । हालचाल सोधेपछि कानमै खुसुक्क भन्यो– ‘नौजना मेरै मान्छे हुन् । तिनको बन्दोबस्त गर्नैप¥यो । तल भट्टीमा पुगिसके, खर्च चाइयो ।’
सँगै उभिएको कार्यकर्तातिर नौजनाको इसारा गर्‍यो गुन्जमानले ।
‘दाइ, मेरो बोनस पनि ।’ लाज मान्दै भन्यो मुमलालले ।
‘केको बोनस ?’ कार्यकर्ताले सोध्यो ।
गुन्जमानले केही जवाफ दिएन मुमलालको । तर, कार्यकर्ताको कानमा भने केही फुसफुसायो । कार्यकर्ताले मुमलालतिर हेर्दै टाउको हल्लाइरह्यो ।
एकछिनपछि झोलाबाट चिर्कटो निकाली खरखरी लेखेर पार्टीको छाप हान्यो । अनि मुमलालको हातमा थमाइदियो ।
चिर्कटोमा लेखिएको थियो,
होटेल ‘लेकबेँसी’
१, टुबोर्ग बियर
१, बंगुरको सेकुवा
१, मासुभात
१, कोठा
मुमलाल मन्दमन्द हाँस्दै अस्पतालबाट बाहिरियो ।

०००
दश दिनपछि फेरि कटुवा खोला भट्टीनिर गुन्जमान र
मुमलालको भेट भयो ।
‘कैले काठमाडौं गा’को छस् ?’ गुन्जमानले सोध्यो ।
‘छैन, किन र ?’ मुमलालले भन्यो ।
‘जाने मन भा’ भन् ।’
‘छ ।’
‘पक्का !’
‘तपाइँ नजाने ?’
‘म जान मिल्दैन ।’
‘किन ?’
‘अस्तिको चोट राम्ररी ठीक भा’ छैन । भ्रमण हो पार्टीले
पैसा पनि दिन्छ ।’
‘त्यसो भए कुरा मिलाउनुस् जान्छु ।’
‘तीन हजार दिन्छ । पन्ध्र सय तेरो । पन्ध्र सय मेरो । जान, बस्न, खाना, आउन फ्री छ ।’
‘केटी छैन !’
‘हैट् मुला ।’
‘ल जान्छु ।’ मुमलाल तयार भयो ।
वास्तवमा गुन्जमानले आन्दोलनमा मान्छे दिने धन्दा गथ्र्यो । कुनै पार्टीमा थिएन । तर, अस्तिको घटनाले भने प्रचण्ड–माधव समूहतिर तानिएका थिए । ऊ पहिले सुकुम्बासी बस्तीमा जान्थ्यो । इमान्दार केटाहरूलाई भेट्थ्यो । मान्छे जुटाउने भन्थ्यो । पार्टीले आन्दोलनमा जुटेकालाई पैसा दिन भनी ती मुख्य इमान्दारको हातमा थमाइदिन्थ्यो । तिनले सुकुम्बासीलाई नगद होइन, जिन्सी दिन्थे । कसैलाई घरपाला रक्सी । कोहीलाई नुन, तेल, चामल त कसैलाई एक बट्टा चुरोट । त्यहीँ सुकुम्बासी बस्तीमा केही महिनाअघि मुमलालसँग गुन्जमानको भेट भएको थियो । उसलाई मुमलाल अन्यभन्दा खास लागेपछि प्रायः भट्टीतिर बोलाइरहन्थ्यो । त्यसपछि मुमलाल सुकुम्बासी बस्तीको मुख्य मान्छे बनिने तरखरमा थियो । पहिलेदेखि मान्छे आन्दोलनमा गई मुर्दावाद र जिन्दावादको नारा लगाइरहन्थे । पार्टीसित वास्ता हुँदैनथ्यो । आज कांग्रेसको होस । भोलि कम्युनिस्ट । पर्सि अन्य कोही । बस्, साँझ बस्तीमा केही थोक आए त्यत्तिमा खुसी हुन्थे ।

०००
प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद् विघटन गरेपछि प्रतिगमनविरुद्घ देशभर आन्दोलन भइरहेको थियो । र, भोलि फेरि प्रचण्ड–माधव समूहको भव्य आमसभा थियो काठमाडौंमा । देशभरबाट बसकाबस मान्छे ओसार्ने काम भइरहेको थियो । अनि त्यहीँ सभामा हाजिर हुन दाङबाट मुमलाल बस चढेको थियो साँझ ६ बजे । तर, आन्दोलनमा जाने भनेर गुन्जमानले भनिदिएको थिएन । उसले चाल पाएअनुसार आफू चढेसित १० वटा बस खचाखच भरिएको थियो ।
ऊ काठमाडौं पहिलोपल्ट गयो । उसले कल्पना गरेभन्दा फरक पायो काठमाडौं । बाटोमा कतै मासुभात खाएको थियो, उसले याद गरेन ठाउँको नाउँ । यो मौका थियो सित्तैमा राजधानी पुग्ने र घुम्ने ।
रातभरको अनिदोले होला टाउको दुःखेको थियो । त्यसमाथि माघ महिनाको जाडो । बिहान नौ बजे मात्रै राजधानी बस प्रवेश ग¥यो । बसभित्र दाङकै मान्छे भए तापनि पहिल्यै चिनेका कोही थिएनन् । तर, चिनजान भयो । कमरेड पनि भनाभन भयो । मुमलाल अचम्मै परेको थियो । आधा बाटोमा पुग्दा बल्ल चाल पाएको थियो, आन्दोलनमा जाँदै छु । गुन्जमानमाथि रिस उठेकै हो । तैपनि राजधानी घुम्ने हर्षले बिर्सिदियो । प्रचण्ड–माधवका कार्यकर्ता पार्टीभन्दा बढी व्यक्ति पुज्ने प्रवृत्ति देखेर चकितै परेको थियो । डर मान्थ्यो, कसैले भाडाको मान्छे हो भन्ने चाल पाए भने बसभित्रै भकुरी त्रिशूली नदीमा फ्याँक्दिने त होइनन् ! त्यसैले पनि आफूलाई पार्टीप्रति इमान्दार देखाउने अथक प्रयास गरिरहेको थियो बाटैभरि ।
बस भृकुटीमण्डपपछाडि पुगेर रोकियो । एउटा होटेलमा खानाको व्यवस्था गरिएको थियो । देशभरिबाट भाडाका मान्छे जम्मा हुँदै पनि थिए । कोही उँघ्दै थिए । कोही रापिलो घाम ताप्दै थिए । साँच्चै छक्कै पर्‍यो मुमलाल जब आफ्नोजस्ता थुप्रै पहिरन हाउभाउ देखेपछि । हो, सुदूर गाउँबाट होस कि मधेसबाट होस । बस्, जतिसक्दो मान्छे जम्मा गर्नुथियो । त्यो गरिएकै थियो ।
खाना खाएपछि मुमलालको समूह प्रदर्शनीमार्गतिर अघि बढ्यो । मान्छे–मान्छेका टाउको मात्रै देखिन्थ्यो । मुर्दावाद र जिन्दावादका नारा लगाइँदै थियो । नेताजीका भाषणमा ताली र हो... भन्ने चर्को स्वरमा सुनिन्थ्यो । भाषण सुन्दै सडकमा बसी बदाम खान थाले मान्छेहरू । र, प्रचण्डजी बोल्ने पालोमा पाँच लाख मान्छे जम्मा भएको जानकारी गराउनुभयो । खोइ कसले गन्ती गरेछ कुन्नि !
आमसभा साढे पाँच बजेतिर सकियो । र, जो जुन परिस्थितिमा आइपुगेका थिए, त्यही शैलीमा घर फर्कनुपर्ने थियो । तर, भइदियो के भने मुमलाल आफ्नो समूहबाट छुट्टियो । कतिवेला मोबाइल पनि हराइसकेछ । जजसलाई सोध्नुपर्ने सोध्यो । कसैले पनि आफ्नो समूहबारे चाल नपाएको भनिदिए । रुन मात्रै सकेको थिएन । मान्छेको भिड त थियो । खोइ दाङतिरका भने कोही थिएनन् । जब बिहान खाना खाएको ठाउँमा पुग्यो, तब बस छुटिसकेछ । कसैले उपाय भनिदियो, गोंगबु बसपार्कबाट दाङ जाने बस भेट्ने । तर, त्यहाँसम्म पुग्ने कसरी थाहै थिएन । फेरि कसैले ट्याक्सी बताइदियो । ट्याक्सीलाई तिर्ने भाडा पाँचसय थिएन । झन् दाङ जाने भाडा एक हजार कहाँ पो हुनु ! उपत्यकामा रात परेर सडक पनि सुत्ने तरखरमा थियो । अब भने मुमलाल वास्तवमा रुन थाल्यो । के खाने ? कहाँ बस्ने ? घर कसरी पुग्ने ? समस्या अनेक उपाय शून्य । प्रहरीसँग आमसभाबारे सोध्यो । झन्डै लौरो हानेर भगायो । छिटपुट हिँडेका मान्छेअघि आफ्नो समस्या राख्दा तिनीहरू गलल्ल हाँसिदिन्थे । एक कल मात्रै गर्छु भन्दा पनि कसैले मोबाइल दिएनन् । सायद उसको लट्टे कपाल । थांग्रे लुगा । खाउटे आकृति देखेर पो हो कि ! अन्तिममा भोकै आकासेपुलमुनि रात बिताउन मजबुर भयो । तब घोराहीमा गुन्जमानसित भट्टीमा बसेर दारु खाएको स्मरण ग¥यो । बफादार बनेपछि ठूलै मान्छे बनाइदिने उसको गफ सम्झियो । तर, आज गुन्जमानले छल ग¥यो भन्दै पिच्च थुक्यो । रात थरथरी काँप्दै बितायो । समयमै मान्छे नचिन्दा धोका हुनेरहेछ भनी बुझ्यो बल्ल ।
मजदुरी मुमलाललाई कोरोनाले दुनियाँ हल्लाएपछि पुँजीपतिले कामबाट निकालिदिएको थियो । ऊ पन्जाबमा मजदुरी गथ्र्यो । देशमा लकडाउन लागेपछि आजसम्म बेरोजगारी नै थियो । भारत बन्द भएलगत्तै नेपाल फर्कन पनि पाएन । ओली सरकारले उल्टो आफ्नै देश आउन रोक लगाएको थियो । काम नहुँदा माम खाने दाम थिएन । त्यसमाथि घरबेटीलाई भाडा तिर्नैपर्ने । तिर्न नसक्दा डेराबाट पनि निकालिएको थियो । पूर्वसहकर्मीअघि घुँडा टेकेपछि एकछाक र वास भने पाएको थियो । पैसा अभावकै कारण घरबाट भाइको मृत्युको खबर आउँदा आफू पनि मरेसरह भएको थियो । पछि नेपाल फर्कियो । घरमा पनि छाक टार्न मुस्किलै थियो । मजदुरी गर्छु भन्दा पनि केही थिएन । धेरै महिना फुर्सदिलो हुँदा पछि त कामै गर्ने जाँगर चलेन । बरु गुन्जमानसित लागेर कता–कता डुल्न लाग्यो । अनैतिक काम गर्न लाग्यो, संगतअनुसारको फल भनेजस्तै । ऊ आफ्नो इलाकामा त राजै मानिन थालेको थियो ।  
भोलिपल्ट भौतारिँदै आन्दोलकारीकहाँ नै पुग्यो । खुसी भयो । किनकि त्यो जुलुस नेपाल कम्युनिस्ट पार्टीकै थियो । रातो टोपी लगाएका । सूर्य र हँसिया–हथौदाको झन्डा बोकेका थिए । उसलाई लाग्यो, अब नेतृत्व गर्ने व्यक्तिलाई भेटेर आफ्नो समस्या राखेपछि पक्कै समाधान हुन्छ । हँसिलो मुहार बनाउँदै जुलुसमा होमियो । कमरेडहरूलाई अभिवादन ग¥यो । दह्रो गरी हात मिलायो । जोसियो । र, ओली मुर्दावादको नारा लगायो । त्यसो भन्दै गर्दा आफूमाथि झम्टिए कमरेडहरू । आफ्नै कमरेड भनिनेहरूबाट गोदाइ खाँदा पत्तै पाएन आखिर के भएको ? तानाशाही ओलीभन्दा हिजो त सबैले ताली बजाउँथे । ए, उसले जुलुस चिनिसक्दा नाथ्री फुटिसकेको थियो । शरीरभरि नीलडाम बसिसकेको थियो । कसैले रोकेर प्रहरीलाई जिम्मा लगाइदियो । 
‘राज नेता तथा प्रधानमन्त्री ओलीविरोधी हो यो । हेर्नुस् कपडा पनि कालै लगाएको छ । कत्रो हिम्मत हाम्रै आन्दोलनमा आएर ओलीलाई मुर्दावाद भन्छ ।’ नेता पुज्ने कार्यकर्ता बोल्यो ।
त्यो वेला ओली समर्थक जुलुस रहेछ भनी बल्ल बुझ्यो । ‘केपी ओली आई लभ यु’ ‘ओली भोलिलाई हैन, दश वर्षलाई’ ‘राजनेता ओली जिन्दावाद’जस्ता नारा चर्किरहेको थियो ।
कुटिँदा उसको ज्याकेट च्यातिएको थियो । संयोगवश, भित्री लुगा कालो रहेछ । पाइन्ट त कालै लगाएको थियो । प्रहरीले घिसार्दै जिपमा हाल्यो । हत्केलाले रगत पुछ्यो । कुहिनाको चोट फुक्यो । सोच्यो, दाङ घोराही पुग्ने मान्छे कता चौकी पो पुगियो हैट् । उसलाई आत्मग्लानि लाग्यो आफ्नै व्यवहार सम्झिरहँदा । तप्प–तप्प आँसु झार्‍यो । त्यो आँसु शारीरिक पीडाको भने थिएन ।
विपरीत दिशामा बसेकी प्रहरीले भनी– ‘तिमीजस्ता युवा कि भट्टीतिर भुलेका छौ कि नेताको तलुवा चाटेका छौ । देश बनाउन होइन, फेरि अर्को कोही तानाशाही जन्माउन लागेका छौ । तिमी देश बनाउनपूर्व स्वयं आफू बन । परिवार, छिमेकी, समाजमा मान्छे–मान्छेबीचको सम्बन्ध बनाऊ । व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठ ।’ 
मुमलाल घोप्टे पर्‍यो । र, ग्वाँग्वाँ रोयो ।
नेताले देशमाथि गरेको छल ठूलो हो कि गुन्जमानले मुमलालमाथि गरेको छल ठूलो हो ! मुममालजस्तैलाई छल गर्दै गुन्जमानहरू देशलाई नै छल गर्ने ठाउँमा पुग्दा हुन् कि ! मुमलालले सहरको बिचोबिच पोलमा टाँगिएको प्रधानमन्त्रीको तस्बिर किन–किन गुन्जमानको जस्तो देख्यो । आँखा मिचेर हेर्दा पनि तस्बिर उस्तै देखिरह्यो ।