• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निभा शाह 
२०७७ चैत २१ शनिबार ०६:११:००
साहित्य

कविता : जोकर नाच

२०७७ चैत २१ शनिबार ०६:११:००
निभा शाह 

उचेल 
बाघले बाख्रासँग 
मितेरी लाउने 
नाटक मञ्चन हुन्थे 
र त 
महाकाली रिहल्सलमा 
कोही सडकतिर नाचे 
कोही सदनतिर नाचे 
जो जता नाचे नि 
जब मध्यरातमा 
महाकाली मञ्चन भयो
सडक–सदन दुवै मिली 
महाकालीको गुन्यु खोली
एकै रंगमञ्चमा नाचे

 

क्या गज्जबका जोकर 
क्या गज्जबका जोकर नाच

 

यस्तै हो माई 
जोकर नाच 
सडक सदन 
जो जता, नाचे नि 
नाच्ने पैतलाका 
सालनाल एकै 
एकै हत्केलामा नाचे ।।

 

अचेल 
बाजले परेवासँग मितेरी लाउने 
नौटंकी हुँदै छ 
र त अचेल 
कोही सडकतिर नाचे 
कोही सदनतिर नाचे 
जो जता नाचे नि 
एकै बाजपञ्जामा नाचे ।

 

यस्तै हो माई 
जोकर नाच 
जो जता नाचे नि 
एकै हत्केलामा नाच्छन् ।

 

हत्केलामा नाच्ने पैतला 
औंले हुन् कि ठुटा
राता हुन् कि सेता 
दाइ हुन् कि बाउ हुन् 
हत्केलामा नाच्ने पैतलाका
सालनाल एकै 
एकै हत्केलामा नाच्छन् । 

 

त्यसैले त 
हत्केलामा नाच्ने पैतला 
चाहे जतिसुकै मजबुत किन नहून् 
हत्केला हल्लिए 
पैतला ढल्छन् ।

 

हत्केलामा नाच्ने पैतला 
चाहे जतिसुकै पूर्णतामा नाचोस् 
हत्केलाले चाहे 
आधा नचाउँछ 
हत्केलाले चाहे पूरा नचाउँछ ।

 

हत्केलामा उफ्रिने पैतला 
हत्केलाले चाहे उफार्छ 
हत्केलाले चाहे पछार्छ 
हत्केलाले चाहे थचार्छ ।
हत्केलामा नाच्ने पैतलाको 
न अर्धविराम आफ्नो 
न पूर्णविराम आफ्नो 
न ज्वार आफ्नो 
न भाटा आफ्नो 
फगत कठपुतली 
जोकर पैतला । 

 

हत्केलामा नाच्ने 
फगत कठपुतली 
जोकर पैतला 
गोटीभन्दा खतरनाक हुन्छ 
गोटी नाच्दैन 
कठपुतली नाच्छ ।

 

कठपुतली 
विभीषणका पैतला 
देश पोलेर नाच्यो । 

 

कठपुतली 
जुडासको पैतला 
जेससको छाती चढेर नाच्यो 
त्यतिले धित मरेन 
कठपुतली जुडासको पैतला 
जेससको मुकुन्डो लगाई 
देश दुनियाँको छातीलाई 
मैदान बनाएर नाच्यो । 

 

कठपुतली जोकर पैतला 
चाहे विभीषणका हुन् 
चाहे जुडासका हुन् 
बहुतै खतरनाक हुन्छन् ।

 

कुर्सीमोही 
देशद्रोही विभीषण 
देश पोल्ने 
सलाई खोज्दै नाच्थ्यो ।

 

यताका विभीषण 
देश पोल्ने सलाई खोज्दै नाचिरहेछन् ।

 

द्रव्यमोही 
गुरुद्रोही जुडास 
जेससलाई सुली चढाउने 
खाँबो खोज्दै नाच्थ्यो ।

 

यताका जुडासहरू 
देशलाई शूली चढाउने 
एमसिसी खाँबो खोज्दै नाचिरहेछन् । 

 

यस्तै छ देश 
देश दुःशासनहरूले चलाउँछन् 
देशले अब 
मोड होइन 
बाटो बदल्नुपर्छ ।

 

जुडास : जेससका प्रिय चेला, जसले पैसाका लागि आफ्नै गुरु जेससलाई रोमन साम्राज्यवादलाई बेचिदिए । त्यसपछि रोमन साम्राज्यवादले जेससलाई शूलीमा चढायो ।