• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हरि राेका काठमाडाैं
२०७७ चैत २८ शनिबार ०९:३३:००
समाज

निख्रिँदै गाउँ

२०७७ चैत २८ शनिबार ०९:३३:००
हरि राेका काठमाडाैं

शिवराज सापकोटाले भन्नुभो, ‘गोठमा एक थान मोटरबाइक पालेकै छौँ’ 

 

‘गाउँका मान्छेहरू तराई र सहरतिर क्रमिक रूपमा बसाइँ हिँडिँरहेका छन्, यो बसाइँसराइ रोक्न वा घटाउन आर्थिक र सामाजिक विषयमा कस्ता सुधार आवश्यक पर्छन् ?’ हामीतिर फर्केर सांकिला भुजेलले यस्तै गम्भीर प्रश्न तेस्र्याउनु भा’थ्यो । प्रश्न साँच्चै गम्भीर थिए । हामी (लेखक–साहित्यकार नारायण ढकाल, पूर्वविद्यार्थी नेता तथा राजनीतिज्ञ टंक कार्की र म) एक–अर्कासँग मुखामुख गर्‍यौँ । समय घर्किसकेको थियो । मैले सांकिलालाई संकेत गर्दै छोटकरीमा भनेँ, ‘यो गम्भीर विषय हो । यस्तो प्रश्नको बनिबनाउ उत्तर छैन । केही सैद्धान्तिक र वैचारिक कुरा जोडेर अहिलेलाई टालटुल पार्न केही भन्दिँदा पनि ती उत्तर हुनेछैनन् । वास्तवमा यो हाम्रो वर्तमान जीवन–पद्धतिसँग जोडिएको प्रश्न हो । सामूहिक प्रश्न हो र यसलाई सामूहिक रूपमै उत्तर खोज्न आवश्यक छ ।’ यति भनेर हामीले अनौपचारिक कुरा सिध्याउन चाह्यौँ ।

 

यो फागुन ३, २०७७ का दिन दिक्तेल क्याम्पसमा आयोजित गुरुवर्ग, विद्यार्थी तथा हाम्रा बीच अनौपचारिक अन्तक्र्रियात्मक कार्यक्रमका समयमा सोधिएको प्रश्न थियो । बिएड पहिलो वर्ष पढ्दै गरेकी यी युवतीको प्रश्नले म भित्रैदेखि उद्वेलित भएको थिएँ । मेरो आफ्नै गाउँको तस्बिर मेरो मन–मस्तिष्कमा छायो । ०४६ सालअघिको जस्तो मेरो गाउँ अहिले छैन । प्रायः बच्चा र किशोरहरूको सधैँ खल्याङमल्याङ सुनिने त्यो ठाउँ यतिवेला उराठलाग्दो गरी सुनसान छ । घरहरू रित्ता छन् र स्याहार–सम्भारविनाका ती घर त्यसै–त्यसै विरक्तलाग्दा देखिन्छन् । ०४७ को हिउँदमा ७६ घरपरिवार रहेको मेरो टोलमा अहिले जम्मा सात घर बाँकी छन् । पोहोर साल दसैँमा जाँदा मेरो अन्तरे दाइ भन्दै हुनुहुन्थ्यो, ‘के गरी बस्नु ? दुई बुढाबुढी आपसमा कति कुरा गरी बस्नु ? तीन महिनादेखि अरू मान्छेसँग कुरै भा’छैन । भएका मान्छे सबै बेफुर्सदिला । रबिन्सन क्रुसोको कथा जस्तै, हेर्दाहेर्दै गाउँ टापुजस्तो भो ।’

 

                                                              ०००

 

दिउँसो पत्रकार साथीहरूले आयोजना गरेको यस्तै अनौपचारिक छलफलमा खोटाङ जिल्लाका पाका पत्रकार कृष्ण आचार्यले खेतीबारे आफ्नै हिसाबले एक मीमांशा सुनाउनुभयो । काठमाडाैँमा भाग्य अजमाउन छाडेर उहाँ दिक्तेल फर्कनुभो । पेसा उहाँका दुइटै छन् । बाआमाले गर्दै आउनुभएको खेती गर्ने जिम्मेवारी पनि उहाँसँगै छ र आफ्नो पत्रकारिताको पेसा पनि छ । उहाँले पाँच रोपनी खेतमा लाग्ने औषत खर्चको विवरण यसरी पेस गर्नुभयो– ब्याड बनाउन दुई हजार रुपैयाँ, बिउ र मललाई चार हजार रुपैयाँ, गोरु र हलीसहितको खर्च तीन हजार रुपैयाँ, चारजना रोपार चार हजार रुपैयाँ, आँठा लगाउने र बाउसे तीन हजार रुपैयाँ, गोडमेल चार हजार रुपैयाँ, बाली काट्न र बिटा लगाउन पाँच हजार रुपैयाँ गरी जम्मा २५ हजार रुपैयाँ । धान फल्छ पाँच मुरी । खलाबाटै बेच्ने हो भने आउँछ २० हजार । सीधा घाटा पाँच हजार । आधा काम घरका मान्छेले गर्दा हिसाब हुन्न । उहाँले अन्तमा भन्नुभो, ‘यो हो साना किसानको जीविकोपार्जनको अप्ठ्यारो ।’ कृषिबाहेक अर्को कुनै पेसा व्यवसाय नभएको साना किसानका बारेमा यो हिसाबको तालुक रहन्छ–रहँदैन ? अझ खेती–किसानी मात्रै जानेको, फुट्टी जग्गा–जमिन नै नभएको मान्छेका बारेमा अहिलेको एक्काइसौँ शताब्दीमा कसरी जीविका चल्दो हो भन्नेबारे माथिको हिसाबले महत्व राख्छ–राख्दैन ? दलमा आबद्ध राजनीतिज्ञ र सबै तहका सरकारहरूका लागि यी र यस्ता विषय सरोकार राख्छन्–राख्दैनन् ? जवाफ कसले दिने ?

 

सूर्यकुमार सरले थप्नुभो, ‘के गर्नु त हाउ ? सातजनाले काम गर्दा पहाडमा खान पुग्दैन, दुईजना विदेश गयो भने सातजना पालिन्छन् । किन बस्नु हाउ यो महँगो ठाउँमा

 

दक्षिण खोटाङ घर भएकी निसाना राईले बाटो र व्यापारको अर्थराजनीतिबारे कुरा कोट्याउनुभो । बडा चाखलाग्दो थियो, उहाँको वर्णन । उहाँले भन्नुभो, ‘मैले थाहा पाउँदासम्म, अझ भनौँ, हाम्रो जिल्लामा गाडी नआउन्जेलसम्म खाद्य प्रबन्धको कुरा सन्तुलित थियो । जिल्लाको दक्षिणी भेगले सदरमुकामलगायत खाद्यसंकट भएको दक्षिण पश्चिमको खाँचो टाथ्र्यो । उत्तर भेगको उत्पादनले ओखलढुंगा र सोलुको समेत खाँचो टाथ्र्यो । तर, दक्षिण–पश्चिमबाट बाटोसँगै कटारीबाट खाद्यान्न र अन्य सामग्री आउन थालेपछि दक्षिणपूर्वको उत्पादनले कटारीको बजारबाट आयातित खाद्य तथा तरकारीसँग प्रतिस्पर्धा गर्न सकेन । बढ्दो चेतना, जस्तो– स्तरीय शिक्षाका लागि छोराछोरी पढाउनुपर्छ, बिमारी हुँदा अस्पतालमा उपचार गर्नुपर्छ भन्ने विषयलाई धान्ने गरी आय आर्जन हुन सकेन । नहुनेको त कुरै भएन काम गरेर उबार्नेहरूका लागि पनि बजारले घात गर्‍यो । सडक सञ्जाललगायत पूर्वाधारहरूको विस्तार गरिरहँदा कहाँनेर कस्तो हिसाबले गर्नुपर्छ भन्ने लेखाजोखा गरिएन ।’ जमिन नहुनेहरू मात्र होइन अलि–अलि, उबारेर बेच्ने सामथ्र्य भएकाहरू घरबारी, खरबारीसहितको गाउँ छाडेर हिँड्नुको अर्थराजनीति यहाँनेर झल्किन्थ्यो । 

 

                                                           ०००

 

‘चौथीमा चोर्न पाइन्छ भन्ने संस्कारको सुरुवात संघ सरकारबाटै सुरु भयो । यो अधिकार हो भनेजस्तो छ सरकारको चालामाला हेर्दा । संघदेखि गाउँपालिकासम्मै यस्तो रोग फैलियो,’ भोजपुर श्यामशिलामा भेटिनुभएका हरिप्रसाद राईले ठट्यौली पारामा आफ्नो गुनासो राख्नुभो । हाम्रा नारायण दाइ र टंक दाइ उहाँको कुरा गराइ सुनेर एक हल हाँस्नुभो । 

 

मैले कुरा कोट्याउन खोजेँ । किनकि मेरो बुद्धिले उहाँको कुराको फेदटुप्पो समात्न सकिरहेको थिएन । उहाँले अलि गम्भीर हुँदै थप्नुभो, ‘७० प्रतिशतजति किसानले कृषि छाडे । उमेर पुगेका लगभग ८० प्रतिशत ठिटाहरूले गाउँ छाडे । अब त ठिटीहरूले पनि गाउँ छाड्न थाले ।’ 

 

किन छोडे ? सोध्न नपाई जुद्ध राईले थप्नुभो, ‘किन गाउँ नछाडून् । गाउँका ७० प्रतिशतभन्दा बढी पानीका मुहान सुके । खेतीका लागि पानी आवश्यक हुन्छ । उहिलेको जस्तो वर्षा हुन छाड्यो । खेतीमा पाँच हजार खर्च गरेर पाँच सयको उत्पादन हुन छाड्यो । अनि के बस्नु खेतीमा ।’ उहाँले त्यसो भनिरहँदा दिक्तेलमा भेटिनुभएका समाजशास्त्री धु्रव श्रेष्ठको ‘खोटाङमा बितेका दश वर्षको अन्तरालमा एउटै पनि राजकुलोहरूको मर्मत भएको छैन ।’ भन्ने भनाइ सम्झिएँ ।

 

मिङ्मा दोर्जे शेर्पा दाइले थप्नुभो, ‘व्यावसायिकीकरण–व्यावसायिकीकरण भन्छन्, तर कृषिमा लाग्ने जनशक्ति कसरी निर्माण गर्ने भन्ने सोच्दैनन् । मैले जैतुनको फार्म खोलेँ, तर मैले खोजे र सोचेअनुसार त्यस विषयको विज्ञ छैन, उत्पादन भइसकेपछि तेल प्रशोधन कसरी गर्ने भन्ने उपाय छैन, कहाँ लगेर धेरै नाफा कमाउने गरी बेच्ने भन्ने उपाय छैन ।’ कृषिमा सिँचाइ, मल, बिउ, बजार मात्र होइन, कृषि पढेको कृषक नै छैन । उहिलेको रामपुर क्याम्पस अहिलेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उत्पादित कृषि विशेषज्ञहरू आधा अमेरिकामा पलायन भएका छन् । एकचौथाइ अन्य पश्चिम युरोप र अस्ट्रेलियामा विज्ञ भएर जागिर खाइरहेछन् । आधा कृषि मन्त्रालयअन्तर्गत जागिरे छन् । मैले मनमनै आफैँलाई प्रश्न गरेँ, कृषि विश्वविद्यालयमा पढ्नेहरूले किसानी गर्न हुँदैन ? अनि अर्को प्रश्न पनि सँगै उब्जियो, किसानहरूले सजिलो भाषामा कृषि विश्वविद्यालयमा पढ्न मिल्दैन ? मैले यसको उत्तर आजसम्म पनि थाहा पाएको छैन ।

 

हरिप्रसादले थप्नुभो, ‘कृषिमा गफ ज्यादा भो लगानी भएन । शिक्षा सहरमुखी भो, गाउँमुखी भएन । शिक्षा र स्वास्थ्यको गाउँमा राम्रो सुविधा नभएपछि सहर ताक्नु मात्र होइन, सहरमै मर्न खोज्नु अस्वाभाविक थिएन र होइन । पढ्न गाको छोराछोरी गाउँ फर्केन, फर्के पनि काम गरेन । सब जमिन बाँझै ।’

 

गाउँलेहरू भन्दै छन्, ‘७० प्रतिशतजति किसानले कृषि छाडे । उमेर पुगेका लगभग ८० प्रतिशत ठिटाहरूले गाउँ छाडे । अब त ठिटीहरूले पनि गाउँ छाड्न थाले ।’ 

 

सूर्यकुमार सरले थप्नुभो, ‘के गर्नु त हाउ ? सातजनाले काम गर्दा पहाडमा खान पुग्दैन, दुईजना विदेश गयो भने सातजना पालिन्छ । किन बस्नु हाउ यो महँगो ठाउँमा ?’ बुढाहरूको कुरा सुनेर भुतुक्क भएर हाँस्नुभो नारायण दाइ ।

 

हामीबीचको अन्तक्र्रिया सुनिरहनुभएकी पौवा दुम्मा गाउँपालिका उपाध्यक्ष सम्झना राईलाई समष्टिमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, कृषि, पर्यटन आदिबारे गाउँपालिकाका प्रयत्नहरू, भोगाइ र काम गर्दाका अनुभवबारे केही बताउन हामीले अनुरोध ग¥यौँ । सौम्य, भद्र, शिष्ट भाषामा उहाँले हामीलाई सहजता, सहजीकरण गर्न अप्ठ्यारो, सहभागितामूलक काम गर्न धकाउने प्रवृत्ति र सामाजिक समन्वयमा गाह्रो परेका कुराहरूलाई मेलो लगाएर बताउनुभयो । उहाँले राखेका कुरालाई पाँचवटा बुँदामा जोड्न सकिन्छ :

 

१. धेरै अधिकार अझै पनि केन्द्रमा राखिएका छन् । गाउँपालिकाले चलाउने कृषि कार्यालयभन्दा संघीय कृषि मन्त्रालयले जिल्लामा समन्वय गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कता हो कता बलियो र आर्थिक रूपमा शक्ति–सम्पन्न छ । 

 

२. सबैखाले परियोजनाहरू सञ्चालन गर्न नीति, कानुन, ऐन प्रस्ट छैनन् । संविधानमा उल्लेख गरिएको अनुसूची ९ को कनकरेन्ट लिस्ट (गाउँ प्रदेश तथा संघबीच समन्वय गरी परिचालन गर्ने) ले अनुसूची ८ को गाउँ–नगर सरकारको काम कारबाहीसम्बन्धी संवैधानिक अधिकारलाई नै कुण्ठित तुल्याइदिएको छ । 

 

३. समाजवादउन्मुख समाज बनाउन सरकारको तीनखम्बे अर्थनीति गाउँमा कसरी अथ्र्याउने भन्नेबारे असहजता छ । कसको कस्तो भूमिका हुने ? हाम्रो गाउँको सन्दर्भमा निजी क्षेत्र के हो ? सरकार र सहकारी के हो ? कसैलाई पत्तै छैन । परिभाषा गरिएकै छैन । सहकारी भन्नासाथ बचत तथा ऋण सहकारी मात्र भन्ने बुझिने अवस्था छ । मल, बिउबिजन, औजार, सहकार्यमा कृषि, सहकार्यमा बजार भन्ने अर्थ र अधिकार परिभाषित छैन । 

 

४. कुरा उठे झैँ शिक्षा र स्वास्थ्यमाथिको अधिकार र व्यवस्थापनबारे व्यापक अन्योल छ । ‘सामुदायिक क्याम्पस र सामुदायिक विद्यालयहरू’ सत्यवादी हरिश्चन्द्र राजाको कथामा भेटिने माइला छोराको जस्तो थियो । संघले पनि नहेर्ने, प्रदेश सरकारले पनि नहेर्ने । मुस्किलले चलेकालाई राम्रो चलाउन लगानी बढाउनैपर्छ । तर, परीक्षा, अनुगमन, निरीक्षण र नियन्त्रण संघमातहतको विश्वविद्यालयले अधिकार राख्छ र यी निरीह सामुदायिक क्याम्पसलाई भार बोकाउँछ । खै के मिल्दैन मिल्दैन ?

 

५. अनुभवहरूलाई पर्गेल्दै जाँदा कठिनाइहरू देखिएका छन् । जनप्रतिनिधिहरूको काँधमा जिम्मेवारी आएका छन् । तर, संघ, प्रदेश र गाउँ–नगरबीचका प्रतिनिधिमाझ समन्वय छैन । मिलाएर अघि बढ्न समय लाग्छ । 

 

                                                              ०००

 

हाम्रो भोजपुर यात्रामा सहजीकरण गरिदिनुभएका माननीय संघीय सांसद कमरेड सुदन किराँतीले हामीलाई तिवारी भञ्ज्याङमा गाडी रोकेर चिया खान ओर्लन आदेश दिनुभो । चिया अर्डर गर्दा नगर्दै वरपरका केही साथीहरू भेला हुनुभो । माननीयजीले यो छोटो भेट भोजपुर बजारबाटै हिँड्दा–हिँडदै मिलाउनुभएको रहेछ ।

 

माननीयज्यूले काठमाडौंबाट यहाँहरूसँग छलफल गर्न र गुनासो सुन्न आउनुभएका हाम्रा साथीहरूलाई आफ्नो गुनासोको पोको खोल्नुस् त भनेर एकजना किसान दाइलाई अनुरोध गर्नुभो । माननीयसँग नसकिने भन्ने भाव हामी सबैमा थियो । सम्भवतः माननीयज्यू गाउँलेहरूको परम्पराजस्तै बन्न लागेको कुनै रोगको निदानबारे हामीसँग छलफल गाउँले साथीभाइकोे होस् भन्ने सुनाउन चाहनुहुन्थ्यो । सायद गुनासो सुन्दासुन्दा हैरान हुनुभाथ्यो ।

 

‘बाँदर साह्रै बाठो भो ।’ अन्दाजी ६५ वर्ष उमेरका लाग्ने पातला ज्यानका कृषकले भाका हालेर भन्न सुरु गर्नुभो । उहाँ हुनुहुँदो रहेछ, गजेन्द्र ढकाल । स्टोरी टेलिङको आफ्नै अन्दाजमा उहाँले भन्नुभो, ‘पहिला–पहिला बाँदरले सुन्तला खाँदैनथ्यो । किनभने सुन्तलाको बोक्रा छोडाउँदा आँखामा बोक्राको सिर्काले पोल्थ्यो । केही वर्षदेखि पिठ्यौँ पछाडि लगेर छोडाउँछ र अगाडि ल्याएर खान्छ । सुन्तला सखाप पा-यो जेमराजले !’ यो घटना हाम्रा लागि पनि अनौठो थियो । राजधानी पशुपतिका बाँदरभन्दा तिवारीभञ्ज्याङका बाँदर बाठा हुन् कि भन्ने लाग्यो ।

 

उहाँले अर्को थप बाँदर विशेषता सुनाउनुभो । ‘मकैमा बाँदर लाग्नु नौलो कुरा थिएन । तर, मकैको घोगामा वस्तुको गोवर र गउँत दलेपछि बाँदरले पहिला खाँदैनथ्यो । अहिले मकै भाँचेर खोलामा लगी धोएर मकै खान थाल्यो ।’ यो पनि हाम्रा लागि अद्भूत खबर थियो । 

 

बाँदरको तेस्रो चर्तिकलाले झन् चकित पार्‍यो । ‘भात पकाएर चुलोमा छोड्न नहुने भो । खुला भाँडा, जस्तो– कसाैँडी र कराहीमा पकाको के कुरा प्रेसरकुकरको माथिको हाबा जाने डल्लो फ्याँकेर भात खाइदिन थाल्यो ।’ हामी तीनैजनाले यदाकदा देखिने र सुनिने पशुअधिकारकर्मीलाई सम्झियौँ र बाँदर विशेषज्ञ डा. मुकेश चालिसेलाई विशेष सम्झियौँ । उहाँले हामीलाई सम्बोधन गर्दै भन्नुभो, ‘बाँदर भगाउने कि बसाइँ हिँडाउने ? केन्द्रको सरकारसँग पहुँच छ भने हाम्रो व्यथा सुनाइदिनू ।’

 

यो ‘सन्देसा’ लैजाने र सुनाउनेबारे कसले भन्ने भनेर घोत्लिएँ । अनि केही दिनअघि दिक्तेल क्याम्पसमा एलबी सरले संघतिर इसारा गर्दै भनेको सम्झिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘संघलाई म के जान्दिनँ भन्ने नै थाहा छैन ।’ अन्तर्यामीलाई बाँदरको यो चकचकीबारे कसो था नहोला ? म आफैँ मनमनै हाँसेँ ।

 

 प्रायः बच्चा र किशोरहरूको सधैँ खल्याङमल्याङ सुनिने त्यो ठाउँ यतिवेला उराठलाग्दो गरी सुनसान छ । घरहरू रित्ता छन् र स्याहार–सम्भारविनाका ती घर त्यसै–त्यसै विरक्तलाग्दा देखिन्छन् । ०४७ को हिउँदमा ७६ घरपरिवार रहेको मेरो टोलमा अहिले जम्मा सात घर बाँकी छन् ।
 

 

प्राोफेसर प्रेमकुमार खत्रीको घर भोजपुर प्याउली । हामी सबैका आदरर्णीय । सर नभए पनि सरको गाउँ बसेर साथीभाइसँग भलाकुसारी गर्ने मेलो हामीलाई माननीयजीले मिलाइदिनुभो र उहाँ लाग्नुभो जरायोटारतिर । हामी त्यहाँ तीन घन्टाजति ढुक्कैले गफियौँ । टंक दाइ एकजना स्थानीय मित्रलाई लिएर खत्री सरको घर हेर्न हिँड्नुभो । अरुण गाउँपालिका हिउँदमा पनि रमाइलो देखिन्थ्यो । गफ पनि रमाइलै भयो । 

 

श्रीकुमार राईले पहिलो खेपको गफ यसरी सुरु गर्नुभो, ‘गाउँमा राम्रै छ । खाएकै छौँ, लाएकै छौँ । उहिलेको जस्तो दुःख छैन । आमाहरू पनि खुसी हुनुहुन्छ । अचेल छिट बुन्नुपर्दैन । राढी–पाखी कोगटीको तानमा झन्डिनुपर्दैन ।’ नारायणजी मुस्कुराउनु मात्र भो । म भने बसोमती देखाउँदै खित्का छाडेर हाँसेँ । तर, उहाँ गम्भीर भएर भन्दै हुनुहुन्थ्यो । आमाहरूलाई मात्र होइन । हाम्लाई पनि आराम छ । बिहान–बेलुका भात खान भारतदेखिको ‘हात्ती–छाप चामल’ आएकै छ । मधेसबाट बन्दा, काउली र भन्टा आएकै छ । बंगलादेशबाट खुर्सानी आउन थालेको छ । यति मात्र हो, विपन्न र विदेश जान नपाएकाहरूलाई अलि गाह्रो छ ।

 

अर्का मित्र शिवराज सापकोटाले थप्नुभो, ‘गाई–भैँसी, हल गोरु पाल्न परेकै छैन । जग्गा धितो बन्धक राखेर कुखुरा, बाख्रा, गाई र भैँसी फारम खोल्न भनेर लिएको ऋणले गोठमा गच्छेअनुसारको एक थान मोटरबाइक पालेकै छौँ । हातमा मोबाइल भिरेकै छौँ । घरगिन्ती डोरी लाहुरेहरू प्रदेशमा छन्,’ फेरि थप्नुभो, ‘रमाइलो पो छ त गाउँको विकास । पहिला जान्न, थाहा पाउन र जागिर खान पढ्नुपर्छ भन्ने थियो । अहिले मलेसिया र खाडीको नियति भोग्नैपर्नेले अब १२ भन्दा बढी के पढ्ने भन्ने भा’छ । तर, अब गाउँ बिस्तारै निख्रिँदै छ ।

 

                                                                        ००० 

 

हामी १५ दिन यिनै कुरा थाहा पाउन पाँचथरसम्म हिँडिरह्यौँ । तर, सांकिला बहिनीले दिक्तेलमा सोधेको प्रश्नको पूरा उत्तर पाउन सकिएन । हाललाई माफ गर्नुहोला बहिनी ।