• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
विरही बाबु ढुंगेल
२०७७ चैत २८ शनिबार ०७:१५:००
सम्झना

प्रीति दाइको प्रीति

२०७७ चैत २८ शनिबार ०७:१५:००
विरही बाबु ढुंगेल

बाहिर प्रीति देखाएर भित्र पसिना चुस्न आतुर प्रीति दाइहरू यत्रतत्र भेटेँ

 

बिरानो ठाउँ बस्ने कहाँ होला ?
प्रीति दाइकोमा । 
खाने कहाँ होला ?
प्रीति दाइकोमा ।
काम कसले लगाइदेला ?
प्रीति दाइले ।

 

यस्तै सुनेको थिएँ प्रीति दाइका बारेमा । क्या गजबका प्रीति दाइ ! कति दयालु हृदय भएका, जो उनकोमा मद्दतको अपेक्षा लिएर आउँछ, उसले मद्दत पाउँछ । अब मलाई न बस्ने ठाउँको पिर, न त खाने ठाउँको पिर, न त काम कहाँ पाइएला भन्ने पिर । बस् प्रीति दाइलाई भेट्यो, सुखको मानु सोझियो ।

 

सुरङजस्तो अँध्यारो कोठाको पल्लोछेउको भित्तामा एकजोर कपडाको पेरुंगे झोला मिल्काएर मैले मनमनमा प्रीति दाइको जयजयकार गरेँ– धन्य रहेछौ प्रीति दाइ, हामीजस्ता चार पैसा कमाउने कहरमा परेर सहर पस्नेहरूका लागि । कत्रो भलो हुने काम गरेका रहेछौ ! ईश्वर खोज्न मन्दिर नजाऊन्, तिमीजस्ता मानिसप्रति नतमस्तक होऊन् । तिमी दया भएका, करुणा भएका, दुःखीजनप्रति प्रीति भएका प्रीति दाइ । तिम्रो जय होस्, भलो होस् । 

 

एउटा ठूलो मानसिक शान्तिको अनुभूति पाएर होला अँध्यारो कोठाभित्र फैलिएको अमिलो गन्ध पनि आँप फुलेको बास्नाझैँ लागिरहेको थियो । कोठाभित्रको ढुसिमुसी कुहिएको, सडेको, फोहोरमैलाको गन्धलाई पनि मैले प्रेम गरेँ, प्रीति दाइको उपकार मानेर । सोची बसेँ, प्रीति दाइको कोठा हो । यहाँ जे–जे कुराको गन्ध फैलिरहेको छ, त्यो सब प्रीति दाइको प्रीति फैलिरहेको हो ।

 

मुसुरोको दाल, गुन्द्रुकमा काउली मिसाएर बनाएको तरकारी, सोना मन्सुली चामलको भात । प्रीति दाइको प्रीतिभोजमा सहभागी भइसकेपछि हाम्रो एउटा स–सानो कुल्ली डफ्फालाई वरिपरि राखेर प्रीति दाइले सम्बोधन गरे– हेर भाइ हो ! यो बिरानो मुलुक हो । यहाँ कसैले कसैलाई दयामाया गर्दैन । यो मुलुकमा बाउले खान्छ, छोराले हेर्छ । छोराले खान्छ, बाउले हेर्छ । हामी त्यस्तो दुनियाँमा आएका छौँ । यो काठमाडाैँ नेपालको त्यस्तै दुनियाँ हो । तर, म त्यसो गर्दिनँ । मेरो गोताले भ्याएसम्म म तिमीहरूलाई मद्दत गर्छु । तिमीहरूले काम नपाउन्जेल यहीँ बसेर ढुक्कले भात खाऊ । मेरो पनि पाखुराको पसिना हो । कपीमा हिसाब टिपेर राखौँला । आम्दानी भएपछि तिरौला ।

 

उनको यस भनाइमा हामीले गहिरो आदरसाथ ‘हुन्छ सो कुरा हामी मानौँला’ भन्ने जनाउ दिन टाउको हल्लायौँ । प्रीति दाइ भन्दै थिए– हेर भाइ हो, यो बिरानो मुलुकमा चोटाहाहरू, जालीहरू, फटाहाहरू धेरै हुन्छन् । अनुहार हेरेर कसैको मनको कैंची बुझिँदैन । कैंचीले कता चिरिप्प पारिदिन्छन् । त्यसैले होसियार रहनुपर्छ । सकेसम्म आफ्नो कुरा अरूलाई खुस्काउनु हुन्न । हामी सोझा मान्छेले एक कुरो बोल्दा चोटाहाले तीन कुरा थाहा पाउँछ । त्यसैले गर्दा तिमीहरू मैले हिँडाएको बाटोमा हिँड्ने । मैले लगाइदिएको काम गर्ने । मैले जे–जे कुरा भन्छु, त्यो मान्ने । 

 

उनको यस भनाइमा पनि हामी सबैले पहिलेको जस्तै गरी टाउको हल्लायौँ । त्यसपछि दाजुको थप आज्ञा आयो– अब लु सुतौँ भाइ हो । ओढ्ने ओछ्याउने यस्तै छन् भन्दै उनले पातला मुन्डीका पल्ला मिल्काइदिए । त्यसैलाई हामीले ओढ्यौँ । हामीसँग त गर्नका लागि बात पनि केही थिएन । हामी बिरानो मुलुकमा बिरानो मानिस थियौँ । बोल्न पनि नजानिएला भन्ने कुरामा डराइरहेका थियौँ । निदाउनुभन्दा पहिले दाजु एकफेर बोले– तिमीहरू कतै नजानू । मचाहिँ भोलि बिहानै बत्तीसपुतली गएर आउँछु । (मेरो मनमा तर्कना पर्‍यो, बत्तीसपुतली एकै खालका होलान् कि फरक–फरक होलान् ? तिनलाई कसले पाले होलान् । तर्कनाले निकैबेर निदाउन पनि दिएन ।)

 

मैले जिन्दगीमा कहिले इँटा बोक्ने, कहिले गाह्रो लगाउने, कहिले नाली सफा गर्ने, कहिले बाटो खन्ने, कहिले ढलान गर्ने, कहिले बालुवा बोक्ने काम गरेँ । तिनै कामलाई जिन्दगीको दुःख पखाल्ने मेसो बनाएँ ।
 

 

प्रीति दाइले दुई दिनपछि हामी पाँचैजनालाई काममा लिएर हिँडे । त्यो दुई दिनसम्मको खान्की खुराकी सबै उनकै हो । आराम गराएर दाजुले हाम्रा ज्यानमा तागत भराइदिए । उनी भन्थे, ‘हेर भाइ हो, यहाँको काम सजिलो छैन । त्यसैले पहिला आफ्नो ज्यान बनाउनुपर्छ ।’ त्यसो भन्दै उनी घिउ तताएर हाम्रा थालमा हालिदिन्थे । तर, त्यो घिउको एकरत्ति बास्ना थिएन । मासु ल्याएर खान दिन्थे । मासुको चोक्टो खाँदा कुभिन्डो खाएजस्तो कर्याङ कर्‍याङ गर्थ्यो । दाजु भन्थे, यो त बोकाको सक्कली मासु हो भाइ हो । हामीले सोच्यौँ, सहरमा यस्तै पाइन्छ होला । त्यो कुरा निकैपछि थाहा भयो, मासु भनेको कुखुराको घट्टो रहेछ । घिउ भने डाल्डा रहेछ । तर, उनी भन्थे– यो त खासा चिज हो । यसले त राँगो उचाल्ने तागत दिन्छ ।

 

हामी प्रीति दाइसँग लुरुलुरु काममा जान्थ्यौँ । काम भन्ने त्यही हो– इँटा बोक्ने, बालुवा बोक्ने, घरको ढलाइ गर्ने, पर्खाल उठाउने, नाली सोहोर्ने, बाटो बनाउने । जे काम पाइन्छ, त्यही कामप्रति प्रतिबद्ध रहनु नै हाम्रो धर्म थियो । अझ मलाई त सहरका नौला मान्छेसँग बोल्नु बडो सकसको कुरा थियो । दाजुले भनेका पनि थिए, एक कुरो बोल्यो भने तीन कुरो थाहा पाउँछन् । त्यस्ता जादुमय मान्छेसँग किन बोल्नु र भनेर काम मात्रै गरिरहन्थेँ । 

 

दश दिन बित्यो काम गरेको । ज्याला कति भयो होला ? मनले हिसाब खोज्यो । खै कति भयो, कति भयो ? त्यो सबै कुरा प्रीति दाइकै हातमा छ । आफूले लिएर पनि के गर्नु ? कुनै चोटाहाले खल्ती चप्काइदियो भने बरबाद भैहाल्थ्यो । यसो मनमा हिसाब खेलाउन खोज्यो, हिसाब नै थाहा छैन । काम गरेको ज्याला कति हो ? डेरामा बुझाउने पैसा कति हो ? खाइखुराकीमा कति गयो ? दिउँसोको खाजा भुरीको कानजत्रा पुरी खाने गरेको छ, त्यसको हिसाब कति हो ? कति हो, कति हो ? लाग्यो, कस्तो अन्धकारमा परियो ? 

 

म आफू केही पनि कुरो बुझ्दिनथेँ । साथीहरू चाहिँ खै कता–कताबाट कुरा बटुलेर कानमा बताउँछन्– सुन्, हाम्रो हाजिराँ त सत्तरी रुपैयाँ रहेछ सत्तरी । होटेलमा सादा खाना खाएको दश रुपैयाँ ।

 

अर्को दिन डेराभाडाको कुरा पनि बुझियो– महिनाको साँढे चार सय । खुसीले गदगद हुने कुरा पर्‍यो । अस्तिको दिनमा मात्रै प्रीति दाइले भनेका थिए, हेर भाइ हो, खाना खाँदा आफ्नै कोठामा बनाएर खायो भने कति सस्तो पर्छ कति, होटलमा त भसक्कै पैसा लिन्छ ।

 

ओहो ! कति जाती प्रीति दाइ । दश रुपैयाँलाई त भसक्कै पैसा भने । कोठामा त हाम्रो भातलाई दश रुपैयाँ पनि परेको छैन होला । पक्कै पनि कि सात रुपैयाँ परेको छ, नत्र पाँच रुपैयाँ । अब त सबै हिसाब सरसर्ती आयो मनमा । आम्दानी दिनको सत्तरी, खानाको दिनको बीस रुपैयाँ । कोठाभाडा एकजनाको भागमा महिनाको पचहत्तर रुपैयाँले दिनको साँढे दुई रुपैयाँ । पुरी–तरकारीको दैनिक पाँच रुपैयाँ । अरू खात्राकखुत्रुक पाँच रुपैयाँ राख्दा पनि दिनको तेत्तीस रुपैयाँले त अब उपियाँ पाल्न पनि पुग्छ । अब दिनको आम्दानी सत्तरी रुपैयाँमा तेत्तीस घटाउँदा दिनको सैंतीस रुपैयाँ त बचत नै हुने भयो । आज एक संैतीस, भोलि दुई सैंतीस, पर्सी तीन सैंतीस । 

 

एक महिनामा पनि थप पाँच दिन काम गर्दा दिनको सैंतीस रपैयाँले जम्मा १२ सय ९५ रुपैयाँ पो भयो । साथीहरूले हिसाबसँगै आ–आफ्ना रहरका बिस्कुन फिँजाए ।  म त घर जाँदा एउटा क्यासेट किनेर घन्काउँदै जान्छु । म पनि जिन्सको पाइन्टमा सेतो सर्ट घुसार्छु । आफ्नो त घरमा लुगाफाटो तेल मसलो पुर्‍याउनु छ । त्यति नौ सय रुपैयाँ ऋण तिर्नु पाए ‘स्वर्गको आली’मा चढेजस्तो हुन्थ्यो आफूलाई ।

 

यसरी सबैले आफ्नो उमेर र समयअनुसारका रहर र मर्म फिँजाए । मेरो मनमा पनि रहरका औँसाहरू त निकै सकसकाएका थिए । विशेष गरी मलाई ‘लालहिराको कथा’ किन्न मन लागेको थियो । कथावाचकले यो कथाको किताब भोटाहिटीमा पाइन्छ भनेका थिए । भोटाहिटी भनेको नेपालमै त होला नि ! त्यहाँ कसले पो पुर्‍याइदेला ? यिनै कुरा मनमा खेलाइराखेको थिएँ । 

 

काम गरेकोगर्‍यै छ । कामको दाम पनि हातमा लिने रहर सबलाई जागेर आयो । प्रीति दाइबाट कसरी लिने त भन्दा अब घर जाने । घर जाने कुरा नआईकन दाम माग्ने कुरा आएन । सबैको सल्लाह साउती एउटै भयो । अब त आ–आफ्नो घर लाग्ने । पछि फर्किँदा यही डेरामा भेट्ने । 

 

प्रीति दाइको कानमा कुरो पुगेपछि प्रीति दाइले भन्न लागे, ‘हेर भाइ हो, अहिले किन घर जान्छौ ? अलि समय काम गर । दुई–चार पैसा कमाऊ । आउन–जानलाई गाडीभाडा किन नाश पार्नु र ! सबै कुरा मैले बन्दोबस्त मिलाइदिएकै छु ।

 

हाम्रो टोलीमा प्रीति दाइभन्दा दश वर्षले कान्छा बगत दाइ छन् । उनले भने, ‘ठीक छ दाइ, तपाईंले हामीलाई शरण दिनुभो । तपाईंलाई मुरीमुरी धन्यवाद छ । अब हामी घर जान्छौँ । आउँदा तपाईंकोमा आउँछौँ । अहिलेसम्मको चाहिँ हिसाबकिताब गर्न पाए हुन्थ्यो ।’

 

निकै बेरको गनगनपछि प्रीति दाइले बिजुलीको पहेंलो उज्यालोमुनि हिसाबको कापी फिँजाए । हामी सबका आँखा त्यही कापीमा गए । मैले पनि चाख मानेर त्यही कापीलाई हेरेँ । प्रत्येक पानामा छुट्टाछुट्टै चिजको छुट्टै लाइन रहेछ । तरकारीको लाइन, मट्टितेलको लाइन, स्टोभको दुलो घोच्ने पिनको लाइन । तितौराको लाइन, मसेउराको लाइन । खर्च भएजति सबै कुराको लाइन् । 

 

एक दिन प्रीति दाइले कान्छी औंलोभन्दा पनि सानु टुक्रो जेरी दिएका थिए । त्यसको पनि लाइन तानेछन् । एक दिन यो ललीपप भन्दै गुलियो दिएका थिए । अर्को दिन योचाहिँ सालीपप भन्दै अमिलो दिएका थिए, त्यसको पनि लाइन तानेछन् । एउटा चोइटो काँचो नरिवल र छुर्पीको चानु पनि कुनै दिन चपाइएको थियो, त्यसको पनि लाइन तानेछन् ।

 

प्रीति दाइले बढो मज्जाले डटपिन घसेर हिसाब गरे । हिसाबले सबैको नाक खुम्चिनी कुरा बतायो । सबै खर्च कटाएर तीन–तीन सय मात्र हाम्रो हातमा पर्ने भयो । हामी सबैको मन उकुसमुकुसमा पर्‍यो । यस्तो कसरी भयो ? बोल्नका लागि झट्टै कसैको ओठ खुलेन । निकै बेरपछि बगत दाइले तालुका पसिना पुछेर ओठ खोले– हाम्रो दैनिक ज्यालाचाहिँ कति थियो दाइ ?

यो नुनको लाइनमा किन सत्र पोका नुन लेख्नुभो ? सत्र पोका नुन भनेको झन्डै चौँतीस माना हुन्छ । डेढ महिनामा हामीले दिनको एक माना नुन खायौँ त ?

 

प्रश्न कानमा परिसकेपछि व्यासासनमा बसेको पण्डितले जसरी मिठो स्वरमा लेग्रो तानेर प्रीति दाइ बोल्न लागे, ‘हेर भाइ हो, तिमीहरूको हाजिरको के हिसाब भयो र ? कसैले साठी दिए, कसैले पचास दिए, कसैले चालीस दिए । त्यही पनि तिमीहरूलाई म भएर न दिए । नत्र नौलापौला मान्छेलाई कसले दिन्थ्यो ? कति ठाउँमा मैले यी राम्रा मान्छे हुन् मालिक, काम राम्रो गर्छन् भनेर बिन्ती बिसाएँ र न काम पायौ ।’

 

काम त सबैले बराबर एउटै दौडधुपमा गरेका थियौँ । तर, ज्यालाचाहिँ कसरी तलमाथि भयो ? यो कुराले मेरो मनमा पनि नराम्रो गरी खोपेको थियो । बोलौँ भने टोलीमा सानो त म नै देखिन्छु । बोल्ने जिम्मा बगत दाइले नै लिए । ‘त्यो दश दिनसम्म पर्खाल लगाएको ज्याला चाहिँ कति दियो ?’
हेर भाइ हो, तिमीहरूलाई चालीस रुपैयाँ ।
तपाईंलाई कति दियो ?
हेर भाइ हो, मलाई सत्तरी ।
यस्तो कसरी भयो ?
हेर भाइ हो, म पुरानो, तिमीहरू नयाँ ।
अनि पर्खाल त नयाँ–पुरानो देखिँदैनथ्यो त ? 
हेर भाइ हो, पर्खाल त भित्रभित्रै बिग्रिएको थियो, मेरो वचनले मात्र सप्रिएको हो नत्र... ।
प्रीति दाइसँग बोलेर के पार ? बगत दाइले पुनः रासन टिपोटको लाइन हेर्न लागे । उनको टाउको टिपोटप्रति असन्तुष्टि जनाउँदै बिस्तारै हल्लिरहेको थियो । मैले विचार गरेँ, पक्कै दाइले टिपोटबाट पनि केही कुरा बोल्छन् ।

 

नभन्दै उनी बोले । ठीक छ दाइ, तपार्इंले बेसारको लाइनमा पनि १५ पोका बेसार लेख्नुभएछ, ल भैहाल्यो, हामीले १५ पोका बेसार खायौँ अरे ! यो नुनको लाइनमा किन सत्र पोका नुन लेख्नुभो ? सत्र पोका नुन भनेको झन्डै चौंतीस माना नुन हुन्छ । डेढ महिनामा हामीले दिनको एक माना नुन खायौँ त ?

 

यति कुरो सुनेपछि प्रीति दाइले उही भलाद्मी पारामा भने, ‘हेर भाइ हो, म त्यस्तो मनमा पाप बोकेको मान्छे हैन । मेरो मनले सबैको भलो चिताउँछ । अहिलेसम्म कसैलाई नराम्रो गर्दा पनि गरिएन, अब पनि गर्दिनँ । तर, तिमीहरूले सारै कुभलो सोच्यौ भाइ हो । जाबो दुई माना नुन मैले बढी खाएजस्तो गर्‍यौ ?’

 

‘हैन दिनको एक माना नुन खायौँ त हामीले ?’ ‘हत्तेरिका भाइ, कति सानो चित्त गरेको ? अहिले यहाँ पाँच माना चिउरामा ६ जनाको हात घुसार्‍यो भने मिलिक्कै सिद्धिन्छ । जाबो एक माना नुन सकिँदैन त । यो भुँडीले जति भेट्योे, त्यति तान्छ क्या । सानो चित्त नगर न । एक बारको जुनीमा ठूलो चित्तले बाँच्नुपर्छ । आखिर मरेर लानु के छ र ?’

 

बगत दाइले हार खाएको अनुहार देखाए । अब ठूलो चित्त गरेर चुप लाग्नुभन्दा अर्को उपाय पनि केही देखेनौँ । जिन्सको पाइन्ट लाउँछु भन्नेले कट्टुु बाहिरका तिघ्रा हेरेकोहेर्‍यै भयो । क्यासेट किन्छु भन्ने पनि गीतको सुरमा कता–कता हरायो । मलाई भने प्रीति दाइको प्रीति अचम्मै लागेर आयो । 

 

बाहिर प्रीति देखाउने र त्यसैको आवरणभित्र छिपेर सीधासाधा गरिब मजदुरको पसिनामाथि कैंची चलाउने प्रीति दाइहरू जिन्दगीमा आइरहे । तिनलाई भोगिराखियो । मैले जिन्दगीमा कहिले इँटा बोक्ने, कहिले गाह्रो लगाउने, कहिले नाली सफा गर्ने, कहिले बाटो खन्ने, कहिले ढलान गर्ने, कहिले बालुवा बोक्ने काम गरेँ । तिनै कामलाई जिन्दगीको दुःख पखाल्ने मेसो बनाएँ । तैबिसेक दुःख पखालिएला कि भनेर पसिनाको धारा बगाएँ ।

 

तर, हरबखतजसो बाहिर प्रीति देखाएर भित्र पसिना चुस्न आतुर प्रीति दाइहरू यत्रतत्र भेटेँ । मजदुरहरूलाई चुस्ने प्रीति दाइ र प्रीति दाइहरूलाई चुस्ने उनीमाथिका प्रीति दाइहरूको चक्रको मारमा परेर विरही बाबुजस्ता अनेकन् मानिसको जीवनमा सधैँभरि शोषणको विरह चलाई बस्ने प्रीति दाइहरूबाट कहिले पो हो खै पार पाइने !