• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनु्राधा काठमाडाैं
२०७५ चैत ३० शनिबार १०:१८:००
यात्रा

चुचुरोमा टंकदाइको चियापसल

२०७५ चैत ३० शनिबार १०:१८:००
अनु्राधा काठमाडाैं

यात्रा

जब कुनै कथाको काल्पनिक पात्रसँग मेल खाने अर्को कुनै पात्र वास्तविक जीवनसँग साक्षात्कार हुन्छ त्यो वेलाको रोमाञ्चकता अचम्मको हुँदो रैछ । मलाई थाहा छैन, तपाईंको जीवनमा यस्तो कुनै घटना घटेको छ कि छैन । तर, यहाँ यस्तै भयो । 

१८ नोभेम्बर २०१७ को बिहान, बेथ, एन्जेला र म सँगै थियौँ । समुद्र सतहदेखि ४५०० मिटरको उचाइमा रहेको मार्दी हिमाल जाने रमाइलो यात्रा सुरु गर्‍र्यौँ । हाम्रो साथमा थियो गाइड पेम्बा । २०१२ देखि पर्यटकका लागि खुला गरिएको यो बाटो हिँड्दै गर्दा मार्दी हिमाल, माछापुच्छ्रे हिमाल, अन्नपूर्णको दृश्य देख्न पाइयो । हरेक बिहानीमा ऊर्जा थपिदिने सूर्योदय र हरेक बेलुका थकाइ मेटाउने मनमोहक सूर्यास्त, वास्तवमै बयान गर्न नसकिने खालको यात्रा थियो त्यो । 

मार्दी जाने धेरै बाटामध्ये हामीले काँडे, अस्ट्रेलियन बेसक्याम्प, देउराली, जंगल क्याम्प, तल्लो क्याम्प हुँदै हाई क्याम्पको बाटो रोज्यौँ । विभिन्न देशबाट आएका पर्यटकका साथमा हिमालको शृंखला, जंगली विविधता, र पहाडी चढाइको अनुभव लिँदै चौथो दिनको बेलुका हामी हाई क्याम्पमा पुग्यौँ । 

हामी भोक, चिसो र थकाइले चुर भएका थियौँ । होटेल भ्यु–प्वाइन्टमा हाम्रो बस्ने व्यवस्था थियो । कोठामा आफ्ना झोला राखेर हामी धेरै पर्यटक, गाइड अनि भरियासँग बस्न नजिकको ठूलो कोठामा पुग्यौँ । त्यहाँ आगो ताप्दै गफ गर्दै, खाँदै र तास खेल्दै बस्यौँ । 

त्यही वेला एकजना कालो ज्याकेट र ऊनको टोपी लगाएका एकजना होचो कदका व्यक्ति आइपुगे । उनीसँगै उनको छेउमा दुईजना पातला अनि अग्ला मानिस पनि थिए । उनी प्रवेश गर्नासाथ त्यहाँ ‘ओहो टंक दाइ ! नमस्ते, के छ हो टंक दाइ’ भन्ने आवाज चारैतिरबाट एकैपटक आयो । टंक दाइले पनि चारैतिर हेर्दै हाँस्दै हात हल्लाए । उनको छाँटकाँट कुनै नेताको जस्तो लाग्थ्यो । वरपरका मानिसले पनि उनलाई त्यस्तै व्यवहार गरिहेका थिए । ‘त्यो मानिस टंक दाइ हो, भ्यु–प्वाइन्टमा उनको चिया पसल छ’ पेम्बाले मलाई बिस्तारै भने । ‘त्योे अग्लो टुप्पामा पनि चिया पसल छन् ?’ मैले अचम्मित हुँदै सोधेँ । ‘पसल होइन, मात्र एउटा चिया पसल छ । भोलि बिहान त्यहाँ पुग्दा तपाईंलाई एक कप चियाको महत्व थाहा हुनेछ ।’ पेम्बाले मुस्कुराउँदै भने । 

यो कुराले एकाएक मलाई पाउलो कोहेलेको कथा ‘द अल्केमिस्ट’को एउटा पात्रको याद आयो । त्यो कथामा पनि एकजना स्यान्टियागो भन्ने जवान भेडा ग्वालो हुन्छ, जो खजानाको खोजीमा कता–कता भौँतारिँदै यात्रा गरिरहेको हुन्छ । आफ्नो यात्राको क्रममा ऊ एउटा सानो सहरमा पुग्दछ र त्यहाँ पहाडको टुप्पामा रहेको एकजना क्रिस्टलको भाँडा बेच्ने व्यापारीको पसलमा काम गर्न थाल्छ । मानिसहरू लामो चढाइपश्चात् त्यो पहाडको टुप्पामा पुगेर मनोरम दृश्य हेर्छन् । स्यानटियागोले उक्त व्यापारीलाई क्रिस्टलको कपमा चियाको व्यापार गर्ने सल्लाह दिन्छ । सुरुमा व्यापारीले आनाकानी गर्छ, तर आखिरमा राजी हुन्छ । अनि क्रिस्टलको कपमा चिया बेच्ने व्यापार सुरु गर्दछ । बिस्तारै त्यो पहाडको चुचुरोमा रहेको उनको चियापसल प्रख्यात हुन थाल्छ । एउटा मामुली भेडा ग्वाला कसरी ठूलो व्यापारी भयो भन्नेबारे लेखिएको त्यो कथा पढेपछि म निकै नै प्रभावित थिएँ । 

“के टंक दाइ आधुनिक स्यान्टियागो नै थिए ?” दोस्रो दिन झिसमिसे उज्यालोमै हामीले मार्दी हाई प्वाइन्टबाट मार्दी भ्यु–प्वाइन्टका लागि चढाइ सुरु गर्‍र्यौँ । बे र एन्जेला मभन्दा निकै अगाडि पुगिसकेका थिए । अन्य पर्यटक पनि एक–एक गर्दै मलाई उछिनेर अगाडि गइरहेका थिए । कदम–कदममा मलाई पेम्बाले साथ दिइरहेका थिए । हेर्दाहेर्दै मेरा साथीलगायत बाँकी पर्यटक बिहानीको सूर्योदय हेरेर तल क्याम्पतिर फर्किन लागे । मनमनै सोच्न थालें, ‘अब घर फर्किएपछि जिम जान्छु । धेरै हिँड्छु ।’ मैले त्यस्ता अठोट पहिला पनि गरेको थिएँ । तर, अठोट पूरा गर्न सकिनँ । 

करिब चार घन्टापछि हामी भ्यु–प्वाइन्टमा पुग्यौँ । उत्तरतर्फ फैलिएर सूर्यको किरणसँगै चम्किँदै गरेको अन्नपूर्ण हिमालले हामीलाई स्वागत गर्‍यो । त्यो सुनसान डाँडामा मात्र एउटा झोपडी थियो । त्यहाँ पुग्नेबित्तिकै मेरा सबै थकान मेटिए । माछापुच्छ्रेलाई पृष्ठभूमिमा पारेर मैले बुरुक्क उफ्रेर एउटा फोटो खिचें। 

‘आउनुस् भित्र बस्नुस् । बाहिर त चिसो हावाले टाउको दुखाउँछ’ मार्दी हिमालको भ्यु–प्वाइन्टमा रहेको एक मात्र चियापसलको अगाडि उभिएर टंक दाइ ‘स्वागत छ है’ भन्दै मुस्कुराइरहेका थिए । हामी टाउको निहुराएर उहाँको चियापसलभित्र पस्यौँ । चारैतिर बाँसले बेरेको । बीच–बीचमा बाँसकै खम्बाले छतलाई अडाएको थियो । बेस्सरी बारेको पनि कतै–कतैबाट चिसो हावा आउँथ्यो । दुईवटा मुढाजस्तो गाडेर अनि त्यसमाथि फल्याक राखेर बस्ने ठाउँ पनि बनाएका थिए । कुनामा पानीका जर्किन, बाकस, प्लास्टिकका बाटा पनि थिए । एउटा कुनामा ढुंगाको चुलो बनाएर आगो बाल्ने व्यवस्था गरिएको थियो । बाँसको खाँबोमा किल्ला ठोकेर त्यसमा केही लुगा झुन्ड्याएको पनि थियो । धुवाँले गर्दा उनको त्यो सानो पसल कालै भएको थियो ।

आफ्नो यात्राको क्रममा ऊ एउटा सानो सहरमा पुग्दछ र त्यहाँ पहाडको टुप्पामा रहेको एकजना क्रिस्टलको भाँडा बेच्ने व्यापारीको पसलमा काम गर्न थाल्छ । मानिसहरू लामो चढाइपश्चात् त्यो पहाडको टुप्पामा पुगेर मनोरम दृश्य हेर्छन् ।

‘चिया कि कफी ?’ टंक दाइले सोधे । ‘कफी’ हामीले भन्यौँ । टंक दाइसँग कालो चिया, दूध चिया, कालो कफी, दूध कफी अनि बिस्कुट सबै थिए । टंक दाइले एउटा स्टिलको थर्मसबाट स्टिलको कपमा कफी हालेर हामीलाई दिए । कफीको कप समातेर एक चुस्की लिएँ । ‘ओहो ! यहाँ आएर कफी पिउँदा त साँच्चिकै स्वर्ग पुगेजस्तो पो हुने रैछ’ मैले भनेँ । ‘सबैले त्यस्तै भन्छन्, टंक दाइले हाँस्दै भने । 

‘यति माथि, यसरी चियापसल खोल्ने विचारचाहिँ कसरी आयो त दाइ ?’ मैले सोधेँ । टंक दाइले आफ्नो कथा सुनाए । उनको घर मार्दी रहेछ । त्यहाँ बुवाआमासँग बस्दारहेछन् । मार्दीको डाँडामा उनी बाख्रा चराउँथे । उनको बिहे भयो । छोरी जन्मिइन् । उनी पनि राम्रो जिन्दगीको कल्पना गर्दै साउदीअरब पुगे । केही वर्ष अरबमा बिताएर उनी भेडा चराउन थाले । 

टंक दाइ विदेश जाँदाको मार्दी र अहिलेको मार्दीमा धेरै फरक भइसक्यो । पर्यटकका लागि नयाँ बाटो खुलेपछि आन्तरिक तथा बाह्य पर्यटक धेरै आउन थाले । आफ्नै गाउँ–ठाउँमा पर्यटक बढ्दै गरेको देखेपछि उनले व्यापार गर्ने योजना बनाए । मार्दी हाई क्याम्पसम्म त होटेल छन् । तर, भ्यु–प्वाइन्टमा त केही पनि छैन । लखतरान भएका पर्यटकलाई चुचुरोमा तातो कफी वा चिया पिलाउने योजना बनाए उनले । एकातिर आफ्नै देशमा आफ्नो परिवारसँग बसेर व्यापार गर्न पाइने, अर्कोतिर धर्म पनि कमाइने । 

त्यो चुचुरोमा चियाको पसल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । बिहान पर्यटक पुग्नुभन्दा अगाडि नै त्यहाँ चिया कफी तयार पार्नुपर्ने थियो । टंक दाइ अब रातिको १ बजे नै उठेर जर्किनमा पानी बोकेर त्यो ठाडो उकालो चढ्ने गर्न थाले । निकै मुस्किल थियो काम । तर, उनी पछि हटेनन् । आफ्नी छोरीको लागि राम्रो शिक्षा दिन र सुखी जिन्दगीका लागि उनी रातको १ बजे उठेर हिँड्न थाले । आफू दुःख पाएर भए पनि उनी छोरी र श्रीमतीलाई सुःखमा राख्न चाहन्थे । जसका लागि उनले त्यति धेरै दुःख गरिरहेका छन्, उनीहरू अहिलेसम्म त्यो चुचुरोमा आउन सकेका छैनन् । 

ओहो ! टंक दाइ वास्तवमा नै हिजोआजका आधुनिक स्यानटियागो रहेछन् । पाउलो कोहिलोको कथामा क्रिस्टलको कपको चर्चा थियो । यहाँ टंक दाइसँग स्टिलका कप मात्र थिए । 

हावाको बेग तीव्र हुन थाल्यो । हामी चिसोले काँप्न थाल्यौँ । ‘अब फर्किनै ठीक होला । धेरै तल पो झर्नुछ त’ पेम्बाले भने । ‘तपाईसँग भेटेर धेरै खुसी लाग्यो दाई । यदि कुनै दिन मैले यो यात्राका विषयमा अनि तपाईको चिया पसलको विषयमा कुनै आलेख लेखेर छापे भने त्यसको एउटा प्रति म तपाईंलाई पक्कै पनि पठाउँला,’ मैले भनेँ । ‘धन्यवाद । म त्यो लेख यहाँ सबैले देख्ने गरी टाँस्नेछु । फेरि आउनुहोला है ।’ टंक दाइले भने । हामीले केही फोटो खिच्यौँ । त्यसपछि ओर्लिन थाल्यौँ । 

अलि तल आइपुगेपछि मैले पछाडि फर्केर हेरें । टंक दाइ आफ्नो चियापसलअगाडि उभिएर हात हल्लाइरहेका थिए । हावाको बेगले उनले लगाएका कपडा फरफराइरहेको थिए ।