• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भावना ओली
२०७७ चैत २८ शनिबार ०९:०१:००
फिल्म

मुकुन्डो उतारियो मुक्ति कहिले ?

२०७७ चैत २८ शनिबार ०९:०१:००
भावना ओली

मुकुन्डो केही सीमिततासहितको राम्रो चलचित्र हो

 

दुई दशकअघिका नेपाली चलचित्र कस्ता हुन्थे ? कथा, पात्र, विषयवस्तुको उठान सबै पुरुषकेन्द्रित हुन्थे । आज कति बदलियो ? तितो यथार्थ हो, आजको समयमा पनि नेपाली चलचित्रमा खासै ठूलो परिवर्तन हुन सकेको छैन । नगण्य मात्राका चलचित्र भने समाजमा आएको परिवर्तनका द्योतक हुन् भन्न सकिने खालका छन् । मुकुन्डोलाई त्यस्तै एक उदाहरणीय चलचित्र मानिन्छ । 

 

आजभन्दा २१ वर्षअघि नेपाली सिने जगत्मा एउटा भिन्न चलचित्र निर्माण अनि निर्देशनको साहस गरेका थिए, निर्देशक छिरिङरितार शेर्पाले । मूलधारको व्यावसायिक सिनेमाभन्दा भिन्न काम गर्न सकिन्छ भन्ने उदाहरणस्वरूप निर्माण भयो– मुकुन्डो– अ मास्क अफ डिजायर । हालसालै यस चलचित्रलाई युटुबमा राखियो, यो नेपाली दर्शकका लागि सुखद खबर हो । दुई दशकअघि यस चलचित्रबारे कस्ता चर्चा भए, खासै सम्झना छैन । अहिले युट्युबमार्फत मुकुन्डो हेरिरहेका नेपाली दर्शकमाझ यस चलचित्रका मनोवैज्ञानिक एवं लैंगिक पक्षबारे विमर्श सुरु होला भन्ने आशा गर्न सकिन्छ ।

 

मुकुन्डो गीता र सरस्वतीको कथा हो । गीता ‘माता’ वा झाँक्री हुन् भने सरस्वती एक विवाहित महिला, दुई साना छोरीकी आमा र एक बुहारी हुन् । माताका रूपमा परिचित हुनुपर्ने गीताको खास विगत छ । मानसिक रूपमा अस्वस्थ किशोरकी श्रीमती गीता किशोरावस्थामै विधवा हुनपुग्छिन् । गीतालाई सो समयमा समाजले आफ्नै लोग्नेको हत्यारा भएको आरोप लगाउँछ । समाज र आफन्तबाट एक्लिएकी गीताको विक्षिप्त मनोदशा भएका वेला उनको चाहनाविपरीत उनलाई देवी त्रिपुराकी एक अंशियारस्वरूप ‘माता’ करार गरिन्छ । अर्थात्, गीताको जीवनको ध्येय अरूले नै निर्धारण गरिदिन्छन् । जीवनभर दुःखी, गरिब, रोगीका समस्याको निदान गर्नु, तिनको मद्दत गर्नु र सो उद्देश्यबाट किञ्चित् विचलित नहुनु भनेर उनलाई माता बनाइन्छ । माता बनाउनका लागि गीताका सम्पूर्ण शारीरिक एवं संवेगात्मक आकांक्षा उनीभित्रै दबाउन खोजिन्छ । उनलाई माता नामको एउटा नक्कली मुकुन्डो भिराइन्छ । मुकुन्डोले छोपिएको असली रूप कसरी र कहिले प्रकट हुन्छ ? चलचित्र पूरा हेरे यो थाहा पाउन सकिन्छ । 

 

सरस्वतीको भरिपूर्ण गृहस्थीमा छोरो नहुनुलाई एक मात्र, तर ठूलो समस्याका रूपमा हेरिन्छ । मुस्किलले जन्मेको एउटा छोरो पनि हुर्किन नपाई बित्छ । यस घटनाले सरस्वतीमा मनोवैज्ञानिक प्रभाव पार्छ । पुत्रवियोगले विक्षिप्त सरस्वतीको एक मात्र आशाकी किरण बन्छिन् त्रिपुरा देवीकी अंशियार माता, उनै गीता । गीता र सरस्वतीबीच माता र रोगी भक्तको सम्बन्ध स्थापित हुन्छ । तर, सरस्वतीका लोग्ने दीपक उनीहरूको सम्बन्धमा समस्या पैदा गर्ने पात्र बन्न पुग्छन् । यिनै दीपकको उपस्थितिले कथालाई अकल्पनीय र दुःखदायी अन्त्यमा लगेर टुंग्याउँछ । यद्यपि लोग्नेमान्छे दीपक आफैँमा क्रुर पितृसत्ताको प्रतिनिधि पात्रका रूपमा चित्रित भएका होइनन् । 

 

माताले आफूकहाँ आइपुगेका असहाय र रोगीका समस्या हल गर्न शरीर कमाउँदै नाटकीय पाराले मन्त्रोच्चारण गरेको दृश्यबाट सिनेमा सुरु हुन्छ । पहिलो दृश्यमा गीता एक जीवन्त, दैवी र शक्तिशाली आरोग्यसाधकका रूपमा देखिन्छिन् । लगत्तै आउने अरू दृश्यमा भने उही गीता एक्ली, निरस र विवश देखिन थाल्छिन् । सरस्वती कुशल गृहणी, प्रिय पत्नी, वंशजलाई निरन्तरता दिने सक्षम बुहारीका रूपमा पर्दामा देखिन्छिन् । आवरणमा सन्तुलित र सन्तुष्ट जीवन बिताइरहेकी झैँ देखिने सरस्वती महिला हुनुकै दुःखले आहत हुन्छिन् । एउटै पात्रमा सन्निहित विपरीत भावहरूलाई एकपछि अर्को उजागर गर्दा पात्रहरू सामाजिक यथार्थमा रहेका अन्तर्विरोधहरूकै अभिव्यक्तिजस्ता लाग्छन् । मुकुन्डोभित्रको अनुहार र असली अनुहारको भेद यिनै अन्तर्विरोधमार्फत दर्शकलाई सञ्चार गरिएको छ  ।

 

महिलाहरू समस्यामा परेर कमजोर भएका वेला समाजको नजरमा कि ऊ बोक्सी बन्छे, त्यसो भएन भने ऊ माता बनाइन्छे । जस्तो, पति गुमाएकी गीता यसै कमजोर विधवा बन्ने सामाजिक परिस्थिति पहिल्यै विद्यमान थियो । त्यसमाथि उनलाई हत्याको समेत आरोप लगाइन्छ, उनी थप क्लान्त हुन्छिन् । यही मौकामा उनका भावनात्मक, शारीरिक, यौनजन्य इच्छालाई दमन गर्न बाध्य पारिन्छ । यही मौकामा उसका सारा शारीरिक र मानसिक आकांक्षा दबाइएन भने, ती अभिव्यक्त हुन्छन् र समाज अपवित्र हुन्छ भन्ने मानसिकताले काम गरेको छ । गीताको अन्तःकरणका संवेग र आवेगलाई दबाउने सजिलो उपाय उनलाई ‘सबै मायामोहबाट मुक्त र अन्यको उद्धारका लागि प्रवृत्त’ माता बनाउनु्हुन्थ्यो । तर, खास किसिमको सामाजिक शक्ति संरचनाको बलमा दबाइएका ती मनोकांक्षाले प्रस्फुटित हुने बाटो खोज्दोरहेछ । अन्ततः स्वाभाविक बाटो नपाएका ती दमित आकांक्षाले असामान्य बाटो खोज्दा त्यसको चोट सरस्वतीमाथि आइपर्‍यो ।

 

उनलाई माता बन्न उत्प्रेरित गर्ने एक पुरुष पात्र र गीताबीच भएका केही संवादले गीताको निर्बन्ध बन्ने चाहना व्यक्त गरेको छ । यी संवादमा उनको असली अनुहार देखिन्छ, उनको ‘स्व’ अभिव्यक्त हुन्छ । पुरुषले पुरुषकै लागि निर्माण गरेको शक्ति संरचनाको जालोमा यी संवाद अर्थपूर्ण मानिँदैनन् । उनका असली चाहना पूरा हुने परिस्थिति निर्माण हुँदैन । बरु दमित आकांक्षा प्रस्फुटन हुँदा उनीजस्तै समस्याले घेरिएकी सरस्वती थप चोटकी भोक्ता बन्छिन् । गीता र सरस्वतीहरूको मिलन, मित्रता र संवादले साझा धरातल पो निर्माण हुनुपर्ने जहाँ उनीहरू साथै उभिएर समस्याविरुद्ध लड्न सकून् । चलचित्रले यस्तो समाधानको बाटो समाउँदैन, बरु समाजले भिराइदिएको मुकुन्डोको पहिचान, त्यसले छोपेको असली अनुहारको उद्घाटन र त्यसपछि आउने थप समस्यालाई नै देखाउने उपक्रममा सीमित छ मुकुन्डो । 

 

सामाजिक संरचनामा महिलाको खास अवस्थिति नै कथाको मियो हो भने उनीहरूका मनोवैज्ञानिक त्रासदी अभिव्यक्त गर्न खास बिम्बहरूको प्रयोग गरिएको छ । सरस्वती र दीपकका दुई छोरीबीचको संवादमा पटक–पटक ‘कालो बादल’को चित्र बनाउने प्रसंग दोहोरिन्छ । एक दृश्यमा बादलको कालो रङलाई गीताले स्वाभाविक मानेको प्रसंग जोडिन्छ । सो अभिव्यक्तिले गीताको जीवनको रंगहीनतालाई प्रतिबिम्बित गर्छन् । यद्यपि, उनको अन्तःकरणले यो वास्तविकतालाई सधैँ अस्वीकार गर्छ । त्यस्तै, सरस्वती र उनका पारिवारका अन्य सदस्यसँगको सम्बन्धमा रहेको असहजतालाई इंगित गर्न त्यस्तै बिम्बको प्रयोग गरिएको छ । जोगाएर राखिएका सेरामिकका भाडा फुटेको÷फुटाइएको दृश्यलाई मिहिनेतपूर्वक खिचिएको छ । 

 

विम्ब प्रयोगकै सिलसिलालाई हेर्दा चलचित्रको सुरुवात र अन्त्यका दृश्यबीच देखाइएको ‘कन्ट्रास्ट’ पनि महत्वपूर्ण लाग्छ । आशा, आरोग्य र जीवन्तता दर्साउने दीप प्रज्वलनको दृश्यबाट सुरु भएको चलचित्रको अन्तिम दृश्यमा भने अँध्यारो, शून्यता, कोलाहल, निःशब्दता प्रकट भएको छ । यही दृश्यले मुख्य पात्रको नक्कली मुकुन्डो उधारेको पनि छ । तर, मुकुन्डो केका लागि उत्रिन्छ ? चलचित्र हेरिसकेपछि मस्तिष्कमा एकैसाथ केही प्रश्नहरू रुमलिन्छन्– मुकुन्डो उधारिएपछि त मुक्तिको यात्रा सुरु गर्नुपर्ने होइन र ? त्यो कहिले होला ?

 

सत्य घटनामा आधारित भनिएको यो चलचित्रले महिला पात्रहरूलाई मुख्य भूमिका दिएको छ । यहाँ देखिने पुरुषहरू सहायक पात्र हुन्, उनीहरू प्रत्यक्ष रूपमा हाबी छैनन् । तत्कालीन नेपाली सिनेमा जगत्मा मिथिला शर्मा, गौरी मल्लजस्ता उम्दा कलाकारको मुख्य भूमिकाले पुरुषप्रधान चलचित्रको बाटो थोरै भए पनि मोड्न प्रयत्न गरेको बुझिन्छ । कथाले मागेको भूमिकामा यी महिला कलाकारहरू खरो उत्रेका छन् । 

 

७३औँ एकेडेमी अवार्डजस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा बेस्ट फरेन ल्यांग्वेज फिल्म विधाका लागि पहिलोपटक नेपालबाट चयन गरिएको मुकुन्डो केही सीमिततासहितको राम्रो चलचित्र हो । सन् २००० मा रिलिज भएको मुकुन्डोलाई मूलधारका व्यावसायिक चलचित्रभन्दा भिन्न मान्नुपर्ने कारण पर्याप्त छन् । खासगरी चलचित्र निर्माणको प्राविधिक एवं विषयगत नौलोपनकै कारण यसलाई उदाहरणीय मानिएको हुनुपर्छ । थोरै पात्र, चुस्त संवाद र बिम्बहरूको कुशल संयोजन, साथै जटिल सामाजिक एवं मनोवैज्ञानिक विषयको उठान यस चलचित्रको विशिष्टता हो ।