• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २८ शनिबार ०९:१८:००
फिल्म

सिनेमालाई कला होइन व्यापारको रूपमा मात्रै बुझ्यौँ

२०७७ चैत २८ शनिबार ०९:१८:००

छिरिङरितार शेर्पा वैकल्पिक सिनेमा निर्माण गर्ने एकजना सिनेकर्मी हुन् । उनका‘मुकुन्डो’, ‘उमा’, ‘कर्मा’जस्ता फिचर फिल्महरू दर्शकले रुचाएका छन् । विशेषतः दुई दशकअघि नै बनेको सिनेमा ‘मुकुन्डो’को आज पनि सिनेपे्रमीमाझ चर्चा हुने गर्छ । उनै शेर्पासँग नेपालको वैकल्पिक सिनेमाका समस्या र सम्भावनाबारे राजु स्याङ्तान नवीन प्यासीले कुराकानी गरेका छन् :

 

तपाईंका नयाँ सिनेमा नआएको निकै लामो समय भइसक्यो । खासमा पछिल्लो समय के गरिरहनुभएको छ ?

 

अहिले खासै केही गरेको छैन । सानोतिनो डकुमेन्ट्रीहरूमा काम गरिरहेको छु । ‘मुकुन्डो’, ‘कर्मा’, ‘उमा’जस्ता सिनेमा निरन्तर बनाउन नेपालको सन्दर्भमा गाह्रो छ । आफू बाँच्नुपर्‍यो, अफिस चलाउनुपर्‍यो, त्यसका लागि शिक्षासँग सम्बन्धित डकुमेन्ट्रीहरू बनाएर बसेको छु । जुनुनले मात्रै फिचर फिल्म बनाउने रहेछ ।

 

वैकल्पिक सिनेमामा काम गरिरहेका नेपाली मेकरहरूको सधैँ एउटै जवाफ हुन्छ– निरन्तर काम गरिरहन गाह्रो छ । सिनेमाको मूलधार भनिने क्षेत्रमा भने वार्षिक सयभन्दा बढी सिनेमा र दुई सय पचास करोेड ज्यादा लगानी भइरहेको छ । तर, तपाईंहरूको भने जवाफ सधैँ एउटै आउँछ, किन ? 

 

नेपालमा मात्रै होइन, वैकल्पिक सिनेमामा काम गरिरहन संसारभर नै गाह्रो छ । सिनेमा बनाउन समय लाग्छ, बजेट पनि उस्तै महँगो लाग्छ । तर, हाम्रो सिनेमाको बजार सानो छ, दर्शक पनि थोरै नै छन् । वैकल्पिक सिने मेकरले संसारभर यस्तै समस्या झेलिरहेका छन् । 

 

अरू देशमा यस्ता सिनेमा बन्दै नबनेको भने होइन । बन्नुको कारण हो, सरकारको सहभागिता र सहयोग । त्यहाँ राज्यले फन्डिङ गर्छ । नेपालमा व्यक्तिगत पहलमा बनाउनुपर्छ । अनि एक व्यक्तिले कतिन्जेल घाटा व्यहोरिरहने ? बाहिरतिर यस्तो सिनेमालाई सांस्कृतिक सम्पदाका रूपमा हेर्दारहेछन् । त्यहाँ नाफा–घाटाको कुरै हुँदैन । ब्राजिल, चीन, भारत, कोरियालगायत देशमा राज्यले फन्डिङ गरिरहेको हुन्छ । 

 

राज्यको सहयोगविनै तपाईं र नवीन सुब्बाहरू वैकल्पिक सिनेमा बनाउँछौँ भन्दै आएकै दुई दशक नाघिसक्यो । यतिन्जेलसम्म फाट्टफुट्ट मात्रै सिनेमा आइरहेका छन् । यति लामो समयसम्म पनि वैकल्पिक सिनेमा ठोस बदलाव नदेखिनुमा समस्या कहाँ हो ?

 

- खासमा सिनेमाका विषय नयाँ हुँदैनन्, त्यसलाई गरिने ‘ट्रिटमेन्ट’ कति फरक छ, त्यसले अर्थ राख्छ
- सिनेक्षेत्र समीक्षकको पिटाइ खाने क्षेत्रजस्तो मात्रै भयो

 

राजनीतिक अवस्था, इतिहास, दर्शकको स्वादले समयान्तरमा धेरै चिज बदलिन्छन् । त्यो परिवर्तनलाई आत्मसात् गरेर अगाडि जानुपर्ने हुन्छ । फाट्टफुट्ट मात्रै सिनेमा बन्नुमा व्यक्तिगत रूपमा जोखिम लिन गाह्रो भएर हो । त्यसैले त मीन भाम, दीपक रौनियारहरू फन्डिङ र ग्रान्डका लागि भिड्छन् ।

 

मैले केही समयअघि इजरायली मेकरहरूसँग काम गरेको थिएँ । त्यहाँ सुरुवातमा इजरायली दर्शकले इजरायली सिनेमा हेर्दैनथे । आफ्नो सिनेमालाई ‘झुर’को ट्याग लगाइदिन्थे । अनि बाहिरूका ब्लकबस्टर सिनेमाहरू मात्रै हेर्थे । पछि इजरायली सरकारले सिनेमामा फन्डिङ गर्न थाल्यो । बिस्तारै त्यहाँका मेकरले व्यक्तिगत सिनेमा बनाउन थाले । अर्गानिक सिनेमाहरू आउन थाले । दर्शकले पनि त्यस्तै सिनेमा हेर्न थाले । बिस्तारै इजरायली सिने उद्योग उठ्दै गयो । अहिले त्यहाँको सिने उद्योग निकै समृद्ध बनिसकेको छ ।

 

कला, साहित्य, संस्कृति, भाषाप्रति राज्य कति गम्भीर छ भन्ने विषयले त्यो मुलुक कति समृद्ध छ भन्ने निक्र्योल गर्छ । मानिसलाई शिक्षित बनाउने पनि यी विषयले नै हुन् । तर, हाम्रो राज्य त्यसरी सोच्न सक्ने तहमा पुगेको छैन । स्वार्थ र लालचको राजनीतिक भागबन्डामा रुमलिरहेको छ । त्यो तहमा पुगेको दिन हामीले ‘राज्य, राज्य’ भनेर गुनासो राखिरहनुपर्नेछैन, आशा गरौँ ।

 

हामीले मूलधारे भन्दै आएको सिनेमाले दर्शकको चाहनामाथि सधैँ ब्ल्याकमेलिङ गरिरहेको भनिन्छ । दर्शकको भावनालाई ब्ल्याकमेलिङ नगरी राम्रो सिनेमा बनाउने मेकरहरू न्यून छन् । तपाईंहरूले भनेजस्तो सिनेमा पनि खासै बनिरहेको छैन । समस्या कहाँ भयो ?

 

हामीले यो अपेक्षा गर्नुहुन्न कि सबैले बौद्धिक लेभलमा सिनेमा हेर्छन् । मान्छेले कहिलेकाहीँ रिफ्रेस्मेन्टका लागि पनि सिनेमा हेर्छन्, त्यस्तै सिनेमा कमर्सियल हुने हुन् । एउटा स्पष्ट कुराचाहिँ के हो भने, कोही मेकरले एकदमै प्रयोगवादी सिनेमा बनाउँछन्, जो बुझ्नै गाह्रो हुन्छ । तर, बीचमा रहेर बनाउनेहरू पनि छन् । जस्तोः राजकुमार हिरानी । केही सोकल्डले ‘आर्ट सिनेमा’ भनिरहेको भन्दा राम्रो छ, उसका सिनेमाहरू । तर, ‘छक्कापन्जा’ले एकदमै धेरै दर्शक पायो । एउटा भाग हेरेको छु, वैदेशिक रोजगारीका विषय उठाएको रहेछ । वैदेशिक रोगजारीको विषयलाई त धेरैले उठाएका छन् । ‘छक्कापन्जा’ले कसरी उठायो, त्यो समीक्षाको विषय होला । राम्रोसँग उठाएका सिनेमा पनि त छन् ।

 

खासमा सिनेमाका विषय नयाँ, नवीन हुँदैन, त्यसलाई गरिने ‘ट्रिटमेन्ट’ कति फरक छ, त्यसले अर्थ राख्छ । हिमालको पेन्टिङ हेर्दा राम्रो लाग्छ, तर भिन्चीको पेन्टिङसँग त्यसको तुलना हुँदैन । कोही कलाकारले बनाएको हिमालको पेन्टिङ दुई हजारमा बिक्री होला, भिन्चीको मिलियन डलरमा । मेरो विचारमा कलामा प्रमुख विषय नै ‘ट्रिट्मेन्ट’ र ‘युनिकनेस’को हुन्छ । हाम्रोमा व्यापारिक रूपमा सफल सिनेमा किन क्यान्स वा भेनिसमा गएन ? ‘कालो पोथी’ र ‘सेतो सूर्य’ले किन अन्तर्राष्ट्रिय रेकग्निसन पायो ? यी दुई सिनेमाले बनाएको विषयमा त धेरै सिनेमा बनिसकेका थिए नि । यी सिनेमा त्यो लेभलमा पुग्नु ‘युनिफिकेनस’ र ‘ट्रिट्मेन्ट’ नै हो । अनि मेकरको व्यक्तिगत दृष्टिकोणको कुरा पनि हो ।

 

भनेपछि हाम्रो सिनेमामा ‘ट्रिट्मेन्ट’मै समस्या हो ?

 

राम्रो र नराम्रो छुट्याउने भनेकै ‘ट्रिट्मेन्ट’ले हो । एउटा नेताले त्यही कुरा भन्दा कन्भिन्सिङ लाग्छ, अरूले भन्दा लाग्दैन । एकजनाले त्यही जोक सुनाउँदा बेस्सरी हाँस्न मन लाग्छ, अर्कोले त्यही जोक सुनाउँदा त्यही हाँस्न मन लाग्दैन । आखिर जोक त उही नै हो नि । 

 

त्यसो भए सिनेमामा ‘कन्टेन्ट’ राम्रो नभए पनि हुन्छ ? 

 

‘कन्टेन्ट’ त चाहिन्छ नै, त्यसले विचार निर्माण गर्छ, दृष्टिकोण निर्माण गर्छ । तर, त्यो ‘कन्टेन्ट’लाई कसरी भन्ने, प्रस्तुति र शैलीले ठूलो असर गर्छ । विचार जग हो । दुईवटा बिल्डिङ जगमै ठडिएका हुन्छन् । तर, एउटा सुन्दर हुन्छ, अर्को कुरूप । जगमै उभिए पनि एउटा बिल्डिङको ‘इन्टेरियर डिजाइन’ गज्जब हुन सक्छ । सिनेमामा विचारसँगै चाहिने पनि त्यही हो । त्यसमा मेकरहरूको व्यक्तिगत ‘ट्रिट्मेन्ट’ फरक हुन्छ, त्यसले असर गर्छ । त्यहाँ उसको व्यक्तिगत अनुभव हुन्छ । संसारलाई कसरी हेर्छ, उसको दृष्टि हुन्छ । त्यसले नै सिनेमालाई विशेष बनाउँछ ।

 

‘मुकुन्डो’ र ‘नुमाफुङ’जस्ता सिनेमा दुई दशकअघि बने । त्यसपछि यस्ता खालका सिनेमाहरूले आफ्नो फरक यात्रा तय गर्न सकेको देखिन्न । केही आशा लाग्दा सिनेमा बनाएर तपाईंहरू पनि अन्त कतै रुमल्लिनु भएको भन्ने आरोप पनि छ । के तपाईंहरू हार्नुभएको हो र ? 

 

हारेको होइन, अहिले बिस्तारै राम्रो भइरहेको छ । परिवर्तन तत्काल देखिँदैन, यसको स्वभाव बिस्तारै अगाडि बढ्ने खालको हुन्छ । ‘सेतो सूर्य’ र ‘कालो पोथी’जस्ता सिनेमा राम्रै भएको हो नि ! मेरो विचारमा दर्शकको सिनेमा लिटेरेसी बढिरहेको छ । दर्शक बिस्तारै शिक्षित हुँदै छन् । 

 

दर्शकमा सिनेमा लिटेरेसी बढ्नुमा तपाईंहरूको पनि देन छ । तर, तपाईंको सिनेमा यात्रामा जुन ग्याप देखिन्छ, त्यसको खास कारण के हो ?

 

मलाई निरन्तर सिनेमा बनाउन गाह्रो भयो । फेरि मेरो सिनेमा हलमा चल्ने खालको चाहिँ होइन । तैपनि त्यसवेला लो बजेटमा सिनेमा बनाउने, बाँकी रहेको रकमले अर्को सिनेमा सुरु गरिहाल्ने, गरेको भए निरन्तरता हुन्थ्यो पनि होला । तर, त्यस्तो खालको निरन्तरताले मलाई तुष्टि दिँदैन । म सिनेमालाई फ्याक्ट्रीको रूपमा लिइदिनँ । एउटा मेकरको प्रत्येक कदमले उसको कामको सार के हो भन्ने प्रश्न छाड्छ । मलाई सिनेमाका लागि धेरै थोक व्यवस्थापन गर्नै गाह्रो छ । म एउटा कुरा गर्छु, अरू अर्कै कुरा गर्छन् । मेरो ताल धेरैसँग मिलेन । यसकारण ग्याप भएको हो । 

कला, साहित्य, संस्कृति, भाषाप्रति राज्य कति गम्भीर छ भन्ने विषयले त्यो मुलुक कति समृद्ध छ भन्ने निक्र्योल गर्छ । मानिसलाई शिक्षित बनाउने पनि यी विषयले नै हुन् ।

सिनेमा लिट्रेसी बढ्दै गएको भनिए पनि नेपाली सिनेमाले जहिल्यै गाली खान्छ । कवि, लेखक, बौद्धिकहरूसँग नेपाली सिनेमाको कुनै सम्बन्ध छैन भनिन्छ । तर, यता उनीहरू नै कलाको शक्ति र सीमाबारे विमर्श गरिरहेका हुन्छन् । यस किसिमको दूरी के कारणले निर्माण भएको होला ?

 

मसँग यसको ठोस जवाफ छैन । तर, सत्य के हो भने हामीले सिनेमालाई कलाको रूपमा लिएनौँ । सिनेमालाई व्यापारको रूपमा मात्रै बुझिदियौँ । यस्तो बुझाइ नेपाल र भारतमा मात्रै होला । बाहिर त सिनेमा र कलाको राम्रो सम्बन्ध छ । यसका पछाडि यावत् कारण छन् । समीक्षकहरूले कहिल्यै थिएटरलाई झुर भनेर लेखेको छ ? छैन । पेन्टिङमाथि ? छैन । झुर पेन्टिङहरू प्रदर्शनीमा भेटिन्छन्, तर राम्रो लेखिरहेका हुन्छन् । सिनेमामाथि चाहिँ झुर भनेर मात्रै लेख्छन् । सिनेक्षेत्र समीक्षकको पिटाइ खाने क्षेत्रजस्तो मात्रै भयो । सिनेमामाथि सकारात्मक धारणा कमै भनिन्छन् ।

 

यस्तो धारणा परिवर्तन गर्न समय लाग्छ । सम्बन्ध दुई तर्फी हुनुपर्छ । मेकरले के भन्न खोजेको, त्यो बुझ्ने कोसिस त गरौँ न ! प्रत्येक सट, सिन कति मिहिनेतले खिचेको हुन्छ । राम्रो मेकरले समय खेर फाल्न सिनेमा बनाएको हुँदैन । दर्शकबाट पनि त्यसबारे चासो हुनुपर्‍यो । समीक्षकको भूमिका पनि ठूलो हुन्छ । अमेरिकामा समीक्षकले सुपरम्यानलाई त्यही लेभलबाट हेरेर समीक्षा गर्छन्, आर्ट सिनेमालाई त्यही लेभलमा गर्छन् । सुपरहिरो सिनेमालाई फ्यान्टासी हो भनेर मात्रै लेख्दैनन् । सानो सानो कुरा डिटेलमा हेरेर लेख्छन् । यसरी पो सिनेमासँग सम्बन्ध बन्ने हो, गाली गरेर त दूरी मात्रै बन्छ ।

 

‘मुकुन्डो’ युट्युबमा आएपछि केही सिनेकर्मीहरूले भने, ‘बीस वर्षअगाडि नै ‘मुकुन्डो,’ ‘नुमाफुङ’,जस्ता सिनेमाहरूले नेपाली सिनेमाको फरक बाटो तय गर्न खोजेको रहेछ । तर, बीचमा बाटो बिराइएछ ।’ तपाईंहरू फरक बाटोमा हिँड्न खोज्नुभयो, तर फेरि यात्रा मोड्नुभयो किन ? 

 

हामी फरक बाटोमा हिँड्न खोजेकै हो । त्यसवेला धेरै मान्छेले सपोर्ट पनि गरे । मेरो सिनेमा आएको दुई वर्षपछि नवीन (नवीन सुब्बा)को पनि आयो । नवीनसँग बारम्बार कुरा हुन्थ्यो । ग्रुप बनाउनुपर्छ, अर्को बाटो बनाउनुपर्छ भन्ने कुरा हुन्थ्यो । नवीनले मलाई धेरै सहयोग गरेको छ । नवीनको सिनेमा सुट हुँदा धनकुटातिर पनि गएँ । त्यो उत्साहित समय थियो । तर, हाम्रो सानो बजारमा कमर्सियल सम्भावना कम हुन्छ । राज्यबाट सहयोग नहुँदा निरन्तरता दिन गाह्रो थियो । त्यसवेला पनि पचास लाख लाग्थ्यो, एउटा सिनेमाका लागि । अहिले त करोडभन्दा ज्यादा लाग्छ । यत्रो जोखिम एक व्यक्तिले कसरी उठाउने ? 

 

हामीले त्यसरी नेपाली सिनेमाको गोरेटो खन्नु ठूलो कुरा हो । तर, फाट्टफुट्ट मात्रै सिनेमा बनायौँ हामीले पनि । बीचमा दीपक, मीनहरूको फिल्म आए । यस्तो सिनेमा निरन्तर आएको भए दर्शकलाई एउटा जोसमा राख्थ्यो होला । त्यसका लागि त साइडबाट धेरै सहभागिता चाहिन्छ । त्यही मात्रामा मेकर चाहिन्छ । राज्यको प्रयास, दर्शक चाहिन्छ । हामीमा धेरै कुराको अभाव भयो ।

 

वैकल्पिक सिनेमामा राज्यको सहयोग आजसम्म छैन । व्यक्तिगत पहलले मात्रै पनि बनाउन गाह्रो हुन्छ भन्नुभयो । दर्शक पनि थोरै देखिन्छन् । अनि त्यस्तो सिनेमा कसरी बनाउने त ?

 

मेरो त कुरै त्यही हो, राज्यको सहयोग र सहभागिता चाहिन्छ । वैकल्पिक सिनेमालाई नाफा–नोक्सानको हिसाबभन्दा परै राखेर हेर्नुपर्छ । फ्रान्समा आर्ट सिनेमालाई राज्यको ठूलो संरक्षण छ । त्यहाँ आर्ट सिनेमा नबनाइबसेका मेकरलाई पनि राज्यले तलब दिइरहन्छ । उनीहरू बाँचून्, सिनेमा बनाउन् र अर्को पेसामा नलागून् भनेर ।