• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
यादव देवकोटा
२०७८ बैशाख ४ शनिबार १०:३७:००
समाज

विवाह : स्वतन्त्रता कज्याउने सत्ता

विवाह संस्था आजसम्म प्राप्त प्रमाणको आधारमा करिब चार हजार ३५० वर्ष पुरानो देखिन्छ

२०७८ बैशाख ४ शनिबार १०:३७:००
यादव देवकोटा

 

केही दशकयता विवाहजस्ता समाजका आधारभूत संस्थाहरूमा निकै ठूलो फेरबदल आएको समाज अध्येताहरूको मत छ । कतिपयले विवाह संस्थाको बदलावलाई समाज ‘विघटित’ हुँदै गएको अर्थ दिएका छन् भने कतिपयले यसलाई समाजको ‘प्रगति’का रूपमा अथ्र्याएका छन् । खासमा के हुँदै छ विवाह संस्था ? कस्ता–कस्ता बदलाव देखिए ? यस्ता बदलावले कस्तो परिवर्तनको संकेत गर्छ ? विमर्शका लागि झन् नयाँले ‘विवाह विशेष’ अंक प्रकाशित गरेको छ :

 

फिरन्ते सिकारी युगमा मानिसहरूको बसोवास व्यवस्थित थिएन । बसोवास एकान्त पनि थिएन, एकअर्काबाट । मानिसहरू समूहमा बस्थे । हुलका सारा मानिसको बसाइ र सुताइ सामूहिक हुने गर्थ्यो । समागमका लागि जोडीहरू बन्थे । महिला–पुरुष आफूले रोजेको जोडीसँग निकट भएर बस्ने र सुत्ने गर्थे । यौनक्रिया त्यहीअनुरूप हुने गर्थ्यो । पुरुष र महिलाबीच सामूहिक पतिपत्नीको सम्बन्ध रहन्थ्यो । महिलाका सामूहिक यौनसाथीमध्ये एउटा पुरुष मुख्य यौनसाथी हुन्थ्यो भने पुरुषको पनि सामूहिक यौनसाथीमध्ये एउटा महिला मुख्य यौनसाथी हुन्थे । 

 

पुरुषहरू सिकार गर्दै थिए । महिलाहरू परिवार व्यवस्थापनको साथमा बिस्तारै हजारौँहजार वर्षको अभ्यासमा अभ्यस्त भएका मौसमी जंगली बिरुवा र पशुहरूको घरेलूकरण गर्दै थिए । यसरी जंगलमा देखेका फलफूल, तरुलजस्ता खाद्य उत्पादनलाई हजारौँहजार वर्षको अभ्यासको अनुभवपछि त्यसको घरेलूकरण हुँदै थियो । त्यसैलाई जीवन निर्वाहको आधार बनाउँदै मानिसहरू बिस्तारै खेतीप्रणालीमा अभिसारित हुँदै थिए । कृषिक्रान्तिको आरम्भकर्ता निःसन्देह महिलाहरू थिए । महिलाहरू खेतीमा र पुरुषहरू सिकारमा रहने अभ्यासका क्रममा परिवारको प्रधानता महिलामा सन्केन्द्रित थियो । 

 

आरम्भमा मौसमी कृषि उत्पादनले सिकारको अनियमितताले पैदा गर्ने भोकको संकट टार्न मद्दत गरेको थियो । पछिबाट यसरी घरेलूकरण गरिएका खाद्य उत्पादन र पशुपालनले सिकारको अनिवार्यतालाई अवमूल्यन गरिदियो । अन्ततः बोटबिरुवा तथा पशुहरूको घरेलूकरणले जीवन निर्वाहका निम्ति सिकारमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरिदियो । त्योसँगै उब्जाउको अनुपातको वृद्धि र पशुपालनका लागि जमिन कज्याउने, फैलाउने र त्यसका लागि जमिन हत्याउने प्रतिस्पर्धात्मक प्रचलन बढेर गयो । त्यसको उत्कर्षमा महिलाले सध्याएको जमिन पुरुषको अधीनमा गयो । जमिनमा निर्भर पशुपालन र कृषिको प्रभुत्व जमिनको स्वामित्ववालामा गयो र महिलाको हातबाट सम्पत्ति खोसियो । योसँगै महिलाबाट सम्पत्ति खोसिएर त्यसको स्वामित्व पुरुषको अधीनमा गयो ।

 

यसले जीविकाका लागि महिलालाई सम्पत्तिको स्वमात्ववाल एक पुरुषसँगको एकनिष्ठ यौनको अधिनस्थ रहने परिपाटीमा बाँधियो । जबकि सोही कालमा पुरुषहरू भने बहुपत्नी राख्नसमेत स्वतन्त्र थिए (वेस्टरमार्क, एववार्ड –हिस्ट्री अफ ह्युमन म्यारिज, भाग १, विभिन्न पृष्ठहरू) । 

 

                                  ०००  

 

जंगली जनावरको घरेलूकरणसँगै त्यसको संकलन र सञ्चयनको स्वामित्व व्यक्तिमा रहने चेतनाले सामूहिक जीवन पद्धति भत्किएर एकल परिवारको संरचनामा समाज गयो । संकलनकर्ता पुरुष र सञ्चयनकर्ता महिला हुने परम्परा एउटा अवस्थामा पुगेपछि वैमनस्यताको बिउ बन्ने अवस्था आयो । महिलाले यौनसदस्य छान्ने स्वतन्त्रताको प्रयोग गर्दा सञ्चयन गरेको सम्पत्ति संकलनकर्ताको आँखा छलेर महिलाले फरक यौनसाथीलाई दिने आशंका र भय पुरुषमा विकसित भयो । आफूले जोरजाम गरेको सम्पत्तिको उत्तराधिकारी अरू कोही हुने कुरा पुरुषको स्वार्थी चेतनाका लागि असह्य विषय बन्यो । 

 

सम्पत्तिको अविछिन्न उत्तराधिकारी निर्क्योल गर्न एकनिष्ठ संर्सग सामूहिक जीवनपद्धति र एउटा सगोलभित्रको सामूहिक विवाह पद्धति कमजोर भएर एकल विवाह परम्परा आरम्भ भयो । (डागे, श्रीपाद अमृत–भारत आदिम साम्यवाद से दासप्रथा तक का इतिहास, पृ १६५) । 

 

विवाह समारोहको पहिलो प्रमाण मेसोपोटामियामा इपू २३५० को भेटिएको छ । यसको मतलब विवाह संस्थाको सुरुवात त्यही मितिबाट भएको भन्ने होइन । बरु त्यस मितिको प्रमाणचाहिँ भेटिएको भन्ने हो । यसरी विवाह संस्था आजसम्म प्राप्त प्रमाणको आधारमा करिब चार हजार ३५० वर्ष पुरानो देखिन्छ (द विक) । मानवशास्त्रीहरूले त्यसअघिको हजारौँ बर्षमा विवाह अभ्यास रहेको र उनीहरू लचिलो सामूहिक संगठनको अधीनस्थ बस्ने गरेको उल्लेख गरेको पाइन्छ । 

 

विवाह संस्थाको संस्थागत स्वरूप निर्माण हुनुअघिको समयमा, खासगरी सम्पत्तिमाथि निजी स्वामित्वको अभ्यास आरम्भ हुनुअघि महिला र पुरुषहरू समूहमा बस्थे । बहु यौनसाथी छनोट गर्थे । बदलिरहन्थे । जब सिकारी युगबाट मानिस कृषि युगमा प्रवेश गरेर नयाँ सभ्यताको यात्रामा आफ्नो डोब लगाउन अग्रसर भयो, उनीहरूलाई तुलनात्मक तवरले स्थिर संरचना, परिवार र अवस्थाको आवश्यकता सिर्जना भयो । 

 

जब मानिसले प्राकृतिक तवरले मौजुद स्रोतमाथि बल प्रयोगको आधारमा कब्जा जमायो, त्यसपछि उसको चेतनामा यो सम्पत्ति त मैले लडेर, भिडेर आर्जन गरेको, अरूलाई किन दिने भन्ने निजी र स्वार्थी चेतना आरोपित भयो । प्राकृतिक स्रोतको दोहन र शोषणबेगर सम्पत्तिको अतिरिक्त सिर्जना या निर्माण त उसले केही गरेको थिएन । खालि प्राकृतिक स्रोतको निश्चित हिस्सामाथि उसले आफ्नो हैकम या नियन्त्रण कायम गरेको मात्रै थियो । 

 

(आजै पनि प्राकृतिक स्रोतको भयावह दोहन गरेर निश्चित मानिस मोटाउनेबाहेक मानिसले प्राकृतिक स्रोत, साधनको दोहनबेगर अतिरिक्त केही पनि सम्पत्तिको निर्माण गरिरहेको छैन ।)

 

त्यसले मानिसमा निजी आकांक्षा, लालसा र स्वार्थको बीजारोपण भयो । आफू अधीनस्थ रहेको सम्पत्तिको हिस्सेदारका रूपमा आफ्नो योगदानबेगर या संलग्नताबेगर निर्माण भएको परिवारको सदस्यमा हस्तान्तरण गर्ने कुरा ऊ राजी भएन । आफू अधीनस्थ सम्पत्तिको उत्तराधिकारी बन्नका लागि उसलाई बिस्तारै आफ्नै जैविक उत्तराधिकारीको आवश्यकताको आकांक्ष अंकुरित भयो । त्यसले यसअघिसम्म समूहमा रहने र बहुयौनसाथीस“ग संर्सगमा रहने अभ्यासबाट महिलालाई बेदखल गर्‍यो । 

 

सम्पत्तिको स्वामित्व मुठ्याएर बसेको पुरुषले जतिजना महिलासँग यौन समागम गरे पनि उसको स्वामित्वमा रहेको सम्पत्तिको उत्तराधिकारी बन्नका लागि महिलाले ऊबाहेक अरू पुरुषसँग संर्सग गरेको हुनु नहुने, अन्यथा त्यसरी जन्मिएको बच्चा उसैको हो भन्ने प्रमाण जुटाउन नसकिने तर्क  तेर्स्याउँदै महिलालाई एकनिष्ठ यौनमा रहन बाध्य गराइयो । र, त्यसले एक महिला एक पतिको इलो गाड्यो । पुरुष भने आफूप्रतिको एकनिष्ठ यौनको सामाजिक नियमको दाम्लोमा बाँधिएका अनेकन् महिलासँग यौन समागमको अभ्यासमा अभिसारित भएर महिलामाथि कज्याइबाट इषत्का साथ निमग्न भइरह्यो ।

 

                                     ०००

 

यसरी जब प्राकृतिक सम्पदा र स्रोत परिवारको निजी सम्पत्तिको रूपमा परिणत भयो, त्यसले गोत्रीय सम्बन्धभित्रको विवाह र मातृप्रधान समाजमाथि कठोर प्रहार गर्‍यो (फ्रेडरिक एंगेल्स –परिवार, निजी सम्पत्ति र राज्यको उतपत्ति, पृ ७०) । 

 

निजी सम्पत्तिको चेतनामा मानव समाज अनुबन्धित भएपछि त्यसले सम्बन्धका सामूहिक आयाममाथि कठोरताको घन बजार्‍यो र महिलालाई यौनको एकनिष्ठताको संहिताले बाँधिदियो । महिलालाई एकनिष्ठ यौनको गोलघरमा बन्दी बनाएर आफू भने बहुपत्नी या बहुयौनसाथीको व्यभिचारलाई शिरमा बोक्ने दौडमा सामेल भएर बेतोड दौडिरह्यो । 

 

यद्यपि महाभारतकालमै आफ्नो पुरुष अरू महिलासँग नलागून् भन्ने चेतना समाजमा जन्मिसकेकोे देखिन्छ । शुक्राचार्यले पुत्री देवयानीलाई ययातिसँग विवाह गराइदिँदा नै ययाति शर्मिष्ठासँग नजिकिन नपाउने सर्त राखेका थिए । आज पनि बहुपति प्रथा र बहुपत्नी प्रथा अवशेषका रूपमा हाम्रै समाजमा अभ्यासमा छँदै छ।

 

                               ०००  

 

विवाह पहिले अभ्यासका रूपमा आरम्भ भयो, पछि त्यसले संस्थागत स्वरूप हासिल गर्‍यो र सामाजिक सत्ताका रूपमा परिणत भयो । आजको दिनमा समाजमा स्थापित सत्तामध्ये सबैभन्दा शक्तिशाली सत्ताको रूपमा विवाह संस्था क्रियाशील छ । सम्पत्तिको स्वामित्व जबसम्म समूहमा थियो र त्यसमा पनि महिलाहरूको प्रधानता थियो, तबसम्म विवाह अभ्यास थियो, जोडी बाँध्ने । जब सम्पत्तिमाथि निजी स्वामित्व कायम भयो, त्यसले आफूलाई सुरक्षित तुल्याउन अर्थात् सम्पत्तिमाथिको निजी स्वामित्वको अभ्यासलाई चिरस्थायी बनाउन बलियाहरूको हातमा स्वामित्व कायम गर्ने अभ्यास आरम्भ गर्‍यो, त्यसको उत्कर्षमा सम्पत्तिको स्वामित्व पुरुषहरूको अधीनमा गयो । त्यसले विवाहलाई संस्थागत गर्‍यो । पत्नीको यौनमाथि एकल स्वामित्व कायम गर्न समाजलाई साक्ष्य बनाउने अभ्यास सिर्जना गरियो, ताकि उसमाथि अरू पुरुषले समागमको प्रयास नगरून् । 

 

सम्पत्तिमाथि पुरुषको स्वामित्व कायम भएपछि त्यसले परिवार, समाजदेखि सर्वत्र पुरुष प्रधानता, हैकम र वर्चस्व स्थापित गर्‍यो । कालान्तरमा त्यसले पुरुषसत्ताको स्वरूप ग्रहण गर्‍यो । पुरुषसत्ताले आफूलाई बलशाली र सर्वकालीन विजयी घोषित गर्न महिलामाथि दमनको अनेकन् दुष्चक्रको तानाबाना रचना गर्‍यो । निजी सम्पत्तिको उदयसँगै त्यसले मानिसलाई आफ्नो मोहजालको चंगुलबाट फुत्कन नदिन धर्म, जात, संस्कृति, परम्परा, लिंग, वर्गजस्ता बहुरंगी प्वाँखहरू टाँस्यो आफ्नो शरीरमा । मानिस निजी सम्पत्तिको उदयसँगै अनिवार्य परिणाममा संकथित यी तमाम बहुरंगी प्वाँखहरू देखेर पहिले मोहित भयो र पछि उसले थाहै नपाउने गरी त्यसको सिकञ्जाबाट फुत्किनै नसक्ने गरी कक्रक्क पारेर बाँधियो । अझ उत्कर्षमा धर्म, जात, संस्कृति, परम्परा, लिंग, वर्गको अडेस लागेर लादिएका विभेद र अभ्यासलाई जीवनको अनिवार्य हिस्सा र दैवी नियतिका रूपमा शीरमा बोकी बाँच्न अभिशप्त भयो । 

 

                               ०००

 

विवाह अभ्यास आरम्भ हुँदासमेत पुरुषसँग घरेलु सम्पत्तिको अधीनस्थता नहुने हुँदा अत्यावश्यकीय सामग्री महिलाले नै लिएर जाने अवस्था थियो । सम्पत्तिको अधिपति महिला हुँदा र त्यस्ता महिलाहरूले जोडी छनोट गरेर जाँदा महिलासँगै सम्पत्ति पनि जाने गर्थ्यो । पछि त्यो प्रथामा वदलियो । त्यही अभ्यासपछि गएर दाइजो प्रथाको स्वरूपमा भ्रष्टीकरण भयो । कालान्तरमा बाध्यतामा । त्यही बाध्यात्मक प्रथामाथि परेड खेलेर आज पुरुषले महिलामाथि पुरुषवादी चेतनाको राइँदाइँ मच्चाउँदै दहेज या दाइजो प्रथाको तातो तावामाथि राखेर डामिरहेको छ । 

 

                                  ०००

 

समाज विकासको ऐतिहासिक कालक्रमलाई चिहाएर हेर्दा महिला, पुरुषहरू पहिले एउटा निश्चित सदस्य संख्याले बनेको समूहमा बस्ने, समूहका उमेरदार पुरुष र महिलाबीच विनाभेद यौनसम्बन्ध कायम राख्न सक्ने अवस्था रहेको अनुसन्धाताहरूको निचोड छ । त्यस्ता समूहमा कहिले महिलाभन्दा पुरुष बढी र कहिले पुरुषभन्दा महिला बढी हुने हुँदा यौनसाथीको छनोट आवश्यकता र उपलब्धतामा हुने गर्थ्यो । एकनिष्ठ यौनको कुनै बनिबनाउ मान्यता चेतनामा आरोपण भइसकेको थिएन । कालान्तरमा त्यो अभ्यासले नवयौनसाथी (हुर्किंदो) र पुरानो यौनसाथीको चेतना, भर्खरका युवती र उमेर छिप्पिएका यौनसाथी (महिला–पुरुष दुवै) प्राप्त गर्ने विषयमा मनमुटाव र तनावको स्थिति बन्न गयो । कुमारी योनीको चेतना यही बिन्दुबाट संकथित भएर आयो । 

 

वैदिककालमा परिपक्व उमेरमा विवाह हुन्थ्यो । जहाँ बालविवाहको कुनै संकेत देखिँदैन (विद्यालंकार, जयचन्द्र–भारतीय इतिहासकी रूपरेखा, पृ २४८) । विवाहका लागि पतिपत्नीबीचको उमेरको खास भेद भने देखिँदैन । गंगा शान्तनुभन्दा धेरै जेठी थिइन् ।

 

पहिले विवाह वैधानिक तवरले बच्चा उत्पादन क्रिया र यौन समागमको सामाजिक अनुमोदनका लागि हुने गथ्र्यो । महिलाको योनी ‘भोग’ गर्नका लागि हुने पुरुषबीचको द्वन्द्व, सम्पत्ति हस्तान्तरणका लागि आफ्नो ‘जिन’ चिन्ने व्यक्तिवादी चेतको आरोपण, कुमारी योनी भोगको चिन्तन निर्माणको प्रक्रियासँगै विवाह संस्था सुरुवात भएको देखिन्छ (वेस्टरमार्क, एडवर्ड– ए सर्ट हिस्ट्री अफ म्यारिज/दी हिस्ट्री अफ ह्युमन म्यारिज, विभिन्न पृष्ठहरू) । 

 

                                       ०००

 

भारतीय उपमहाद्वीपमा एकनिष्ठ विवाहको अभ्यास आरम्भ गराउने प्रयास दीर्घतमाले गरेको देखिन्छ । दीर्घतमाको समयअघि पनि महिला–पुरुषबीच प्रणय सम्बन्ध थियो नै । तर, त्यसले संस्थागत स्वरूप हासिल गरिसकेको थिएन भन्ने देखिन्छ । या विवाहले शास्त्रीय विधिविधानको अधीनस्थता स्वीकार गरिसकेको थिएन । दीर्घतमाले ऋग्वेदको प्रथम मण्डलको १४० देखि १६४ सम्मका सूक्तहरू प्रणयन गरेका छन् । 

 

भारत वर्षको प्राचीन साहित्यमा उल्लेखित दीर्घतमाबारेको वर्णन र उनको पारिवारिक विवरणले यो समाजमा कसरी विवाह प्रथा, समागम र एकनिष्ठ यौन, एकल पतिप्रथा आरम्भ, विकास र बलिष्ठ भएर गएछ भन्ने स्पष्ट पार्छ । प्राचीन साहित्य र भारत वर्षका महाख्यानहरूमा वर्णित दीर्घतमा वर्णनका अनुसार उनी ब्रह्माका पनाति, अंगीरसका नाति र उतथ्यका पुत्र थिए । अंगीरसका दुई छोरा थिए, बृहस्पति र उतथ्य । उतथ्यकी पत्नी ममता शारीरिक दृष्टिले समेत निकै सुन्दर महिला थिइन् आफ्नो समयकालको ।

 

उतथ्य कुटीबाट बाहिर गएको मौका पारेर एक दिन बृहस्पतिले बुहारी ममतासँग समागमका लागि अनुरोध गरे । उनले उतथ्यसँगको समागमबाट आफ्नो गर्भमा सन्तान रहिसकेकाले अहिले गर्भवती अवस्थामा बृहस्पतिसँग समागम गर्न नसक्ने तर बच्चा जन्मिएपछि बृहस्पतिसँग समागमका लागि तयार रहेको बताइन् । तर, बृहस्पतिले यौन उन्मादमा ममताको मन्जुरीविनै गर्भवती ममतामाथि बलात्कार गरे । 

 

ममताले जन्मिँदै दृष्टिविहीन छोरा जन्माइन्, दीर्घतमा । कतिपय साहित्यमा बृहस्पतिबाट बलात्कृत ममताबाट जन्मिएका सन्तानको नाम भरद्वाज पनि पाइनुले ममताले दीर्घतमा र भरद्वाज गरी जुम्ल्याहा सन्तान जन्माएको प्रतीत हुन्छ । तिनै दीर्घतमाको विवाह त्यस समयमा लोकवधूकी रूपमा परिचित प्रद्वेषीसँग भएको थियो । 

 

दीर्घतमासँग विवाह गरे पनि प्रद्वेषीको आफ्ना अनेकन् साथीसँग यौन समागम चलिरहन्थ्यो । साथीहरूसँगको समागमका लागि कहिले उनी वनमा जान्थिन् भने कहिले दीर्घतमा कुटीमा नभएको वेला प्रद्वेषीका यौनसाथीहरू कुटीमै आउँथे । उनीहरू दीर्घतमाकी आमा भएको कुटीमै सहवास गर्थे । प्रद्वेषीलाई सम्पत्ति दिन्थे । यो थाहा पाएर उतथ्यले कि प्रद्वेषीलाई छाड कि हामीलाई भन्दा दीर्घतमाले प्रद्वेषीलाई लिएर उतथ्य–ममताबाट अलग भए । त्यसरी छुट्टिएका प्रद्वेषी–दीर्घतमाका लागि बस्नका लागि कुटी प्रद्वेषीका यौनसाथीहरूले बनाइदिए । 

 

दीर्घतमा पितासँग छुट्टिएपछि बेकामे भएर प्रद्वेषीसँग कुटीमै रहन लागेपछि प्रद्वेषीका यौनसाथीहरू समागमको मौका नपाएर विह्वल भए । दीर्घतमालाई कुटीबाट बाहिर निकाल्नका लागि दीर्घतमाको शास्त्र, मन्त्रहरूमा रहेको ज्ञानको जोडदार प्रचार गर्न लागे । त्यसबाट दीर्घतमालाई यज्ञको विधिविधान गर्न, शास्त्र वाचनका लागि बाहिरबाट निमन्त्रणा आउन थाल्यो र कुटी छाडेर उनी बाहिरिन लागे । उनको वाचन, व्याख्या सुन्न आएका अनेकन् महिलासँग दीर्घतमाको पनि यौन समागम चल्न थाल्यो । त्यसबाट रुष्ट मानिसहरूले दीर्घतमालाई यज्ञकार्यका बोलाउन छाडे । उनी बेरोजगार भएपछि प्रद्वेषीमा आश्रित हुन पुगे । 

 

आफैँले पाल्नुपरेपछि प्रद्वेषीले दीर्घतमाकै सामुन्ने अनेकन् पुरुषसँग समागम गर्न थालिन् खुलेआम । त्यसबारे दीर्घतमाले प्रश्न उठाएपछि प्रद्वेषीले भनिन्– तिमी पनि पत्नीमा एकनिष्ठ अडिग मानिस होइनौ । तिमी न मेरो न छोराछोरीको भरणपोषण गर्छौ । बरु मैले तिम्रो भरणपोषण गर्नुपर्छ । त्यसैले तिमी भर्ता (पति) पनि रहेनौ । अब म तिमीलाई छाडेर मेरो र बालबच्चाको भरणपोषणका लागि अर्को भर्ता खोज्छु । 

 

दोस्रो पतिको कुरा सुनेर दीर्घतमा आक्रोशित भए । उनले प्रद्वेषीलाई भने– आजदेखि म आर्यावर्तमा सदाचारको संहिता स्थापित गर्छु । कुनै पनि स्त्री मृत्युपर्यन्त एकजना मात्रै पतिको अधीनमा रहनुपर्नेछ । पतिको मृत्युपछि पनि उसकी जीवित पत्नीले अन्य पुरुषलाई अपनाउन पाउनेछैनन् । जसले यस मर्यादाको उल्लंघन गर्नेछ, त्यसलाई पतित महिलाको रूपमा लोकले व्यावहार गर्नेछ । ऊ सदा अपयश र निन्दाको भागी बन्नेछे ।

 

दीर्घतमाले सदाचारको नियमको घोषणा गरेपछि आक्रोशित प्रद्वेषीले तत्काल छोराहरूलाई बोलाएर आदेश दिइन्, यी दृष्टिविहीन दीर्घतमालाई बाँधेर गंगामा बगाइदेऊ । दीर्घतमा–प्रद्वेषीका गौतमलगायत पुत्रले बाँधेर दीर्घतमालाई गंगामा बगाइदिएपछि दीर्घतमा बग्दैबग्दै बलि राजाको सरहदमा पुगे । त्यहाँका माझीले देखेर उद्धार गरे र दरबारमा पुर्‍याए । कुराकानीबाट त्यसरी बगेर आएको व्यक्ति धेरै ज्ञानवान् ऋषि दीर्घतमा भएको थाहा पाएर बलिले उनलाई दरबारमा राखे । बलिकी पत्नी सुदेष्णाबाट सन्तान भएको थिएन । बलिले दीर्घतमालाई अनुरोध गरे, हे महात्मा मेरी रानीको गर्भबाट केही सन्तान उत्पादन गराइदिनुहोस् । 

 

दीर्घतमाले बलिको अनुरोध स्वीकार गरे । राजाले रानीलाई पनि सबै कुरा बताइन् । रानी सुदेष्णाले पनि सो कुरामा मञ्जुरी जनाइन् । तर, वृद्ध र दृष्टिविहीन दीर्घतमालाई देखेर उनको मनमा दीर्घतमा ऋषिप्रति आकर्षण उत्पन्न हुन सकेन र सहवासका लागि उनी गइनन् । बरु बदलामा आफ्नी दासी उशिनरी (उशिज्)लाई दीर्घतमाकहाँ सहवासका लागि पठाईदिइन् । तिनीबाट कक्षीवान जस्ता एघार चर्चित ऋषिहरू जन्मिए । उपनिषद्कालीन् बहुचर्चित विदुषी घोषा तिनै दीर्घतमाकी नातिनी तथा कक्षीवान्की पुत्री थिइन् । 

 

पछिबाट बलिले पत्नीले छल गरेको थाहा पाएर सुदेष्णालाई पुनः सहवासका लागि दीर्घतमाकहाँ पठाए । सुदेष्णाले दीर्घतमासँगको सहवासबाट अंग, वंग, कलिंग, पुण्ड्र र सुह्य (सुंग) गरी चार सन्तान जन्माइन् । जसले पछि आफ्नै नाममा पाँच राज्य स्थापना गरे । अंग राज्य अर्थात् हालको दक्षिणी विहारको भागलपुर । वंग (बंगाल), पुन्ड्र (राजशाही) र सुंग(ताम्रविक) अर्थात् हालको बंगाल । कलिंग अर्थात् हालको आन्ध्र प्रदेशको उडिसा । 

 

                                 ०००

 

दीर्घतमाको यो विवरणले विवाह, समागम, एकल पतिबारे समाजको बदलिँदो चेतनाको प्रतिबिम्ब प्रदर्शन गर्छ । उतथ्य, बृहस्पतिको समयसम्म सहवासका लागि नाता सम्बन्धको चेतना समाजमा आरोपित भइनसकेको देखिन्छ । ममताले बृहस्पतिसँग सहवासका लागि जेठाजू भएकाले हैन, गर्भवती भएकाले अस्वीकार गरेकी थिइन् । बृहस्पतिले ममतामाथि जबर्जस्ती बलात्कार गरेबाट पुरुषमा महिलामाथि उनको इच्छाविपरीत जबर्जस्ती गर्ने अहंकारी र पिपासु चेतना निर्माण सुरु भइसकेको पनि देखिन्छ । 

 

उता प्रद्वेषीले एकसाथ अनेक पुरुषसँग सहवास गरेबाट समाजमा एकल पति र एकनिष्ठ यौनको अवधारणा लागू भइनसकेको तर दीर्घतमाले त्यसबाट असन्तुष्ट भएर समाजमा महिलामाथि एकल पति र एकनिष्ठ यौनको संहिता जारी गरेको देखिन्छ । 

 

त्यसका बाबजुद संहिता जारी गरिसकेपछि पनि दीर्घतमाले बलिकी पत्नी सुदेष्णा र दासी उशिनरीसँग सहवास गरेको प्रसंगबाट पुरुषले महिलामाथि एकनिष्ठ यौनको संहिता जारी गरेर आफू भने बहुस्त्री गमनमा लीन भइरहेको देखिन्छ । अर्कातिर पतिले नै पत्नीलाई सहवासका लागि पाहुनाकोमा पठाउने या अरू पुरुषकहाँ पठाउने कुरा र त्यसरी सन्तान उत्पादन गर्ने कुरा स्वाभाविक र सामान्य रूपमा समाजमा चलिरहेको रहेछ भन्ने देखिन्छ । 

 

बलिले आफ्नी पत्नी सुदेष्णालाई दीर्घतमासँग सहवासका लागि पठाएजस्तै अनेकन् विवरण महाख्यानहरूमा वर्णित छन् । महाभारत उद्योग पर्वमा सनत्सुजात ऋषिले घरमा पाहुना बनेर आएका मित्रलाई पत्नी समर्पित गर्ने गरेको विवरण उल्लेखित छ । सुदर्शनले पत्नी अमोधवतीले आफू गृहमा नरहेका बखत आएका पाहुनालाई समागमबाट सत्कार गरेको कुरालाई हर्षोल्लाससहित प्रशंसा गरेका छन् । 

 

त्यही अभ्यास महाभारत शान्तिपर्वको २६६औँ अध्यायमा भने भिन्न चेतनाका साथ प्रकट भएको छ । गौतम ऋषिकी पत्नीले अतिथिका रूपमा आएका इन्द्रसँग सम्भोग गरेको थाहा पाएपछि गौतमले पुत्र चिरकारीलाई आमाको वध गर्न निर्देशन दिन्छन् । चिरकारीले तत्काल आमाको हत्या नगरेपछि केही दिनपछि फर्किएका गौतम छोरासँग खुसी हुन्छन् र पत्नीले इन्द्रको सत्कार समागमबाट गरेकोमा त्यसलाई प्रचलनबमोजिमकै कर्मका रूपमा पछिबाट स्वीकार गर्छन् । यसले सुदर्शन र गौतमको समयकालको बीचमा पत्नीलाई अतिथिमा समर्पित गर्ने धारणा र प्रचलनमा घटेर गएको देखाउँछ । गौतमको समयमा त्यो अभ्यास हटेर गएको तर पुरातन अभ्यास परम्पराको रूपमा समाजको शिरमा हल्लिरहेको प्रतित हुन्छ (राजवाडे, विश्वनाथ– भारतीय विवाह संस्था का इतिहास) । 

 

महाभारतकै सत्यवती, कुन्तीहरूले विवाह पहिले नै स्वेच्छिक तवरले इच्छित पुरुषसँग गरेको सहवासबाट भीष्म र कर्ण जन्मिएबाट समाजमा समागम र सन्तान उत्पादनका लागि विवाह अनिवार्य थिएन भन्ने देखिन्छ । तर, कुन्तीले कर्णलाई जन्माएपछि उनलाई समाजमा स्थापित गर्न नसक्ने भयले बगाइदिएबाट सत्यवतीको समयबाट अघि बढेर कुन्तीको समयमा आइपुग्दा समाजमा सन्तान उत्पादनको वैधानिकताका लागि विवाह अनिवार्य संस्थाका रूपमा स्थापित भइसकेको थियो जस्तो देखिन्छ । 

 

दीर्घतमाबाट सुदेष्णा र उशिनरीले सन्तान जन्माएजस्तै हस्तिानापुरका राजा विचित्रवीर्यका पत्नीहरू अम्बिका र अम्बालिकाले पनि सत्यवती पुत्र व्याससँगको सहवासबाट धृतराष्ट्र र पाण्डुलाई जन्माएकी थिइन् । विचित्रवीर्य सत्यवतीकै पुत्र थिए, शान्तनु तर्फबाट जन्मिएका । सत्यवतीले शान्तनुसँग विवाहपूर्व पराशर ऋषिसँगको सहवासबाट कृष्ण द्वैपायन (वेद व्यास) लाई जन्म दिएकी थिइन् । शान्तनुसँग विवाह गरेपछि चित्रांगद र विचित्रवीर्य गरी दुई सन्तान भएका थिए । 

 

चित्रांगद गन्धर्वहरूको लडाइँमा मारिएपछि विचित्रवीर्य हस्तिनापुरका युवराज भए । उनको अम्बिका र अम्बालिकासँग विवाह भयो । तर, उनी पनि मरेपछि सत्यवतीले भीष्मलाई बुहारी अम्बिका र अम्बालिकासँग सहवास गरेर सन्तान जन्माउन अनुरोध गरिन् । तर, भीष्मले आफ्नो प्रतिज्ञा देखाएर नमानेपछि सत्यवतीले आफ्नै छोरा कृष्ण द्वैपायनलाई समागमका लागि निम्त्याइन् । तिनीसँगको समागमबाट धृतराष्ट्र र पाण्डु जन्मिए भने दासीतर्फबाट विदुर । द्रौपदीले पाँच सहोदर दाजुभाइलाई पति राखेको विवरण पनि वर्णित छ ।

 

महाभारतको यो विवरणले पनि समाजमा समागमका लागि नाता सम्बन्धको रेखाचित्र कोरिइनसकेको, यौन सामाजिक वन्धनको घेराभित्र बन्दी नबनिसकेको, महिलाको शरीरमाथिको अधिकार महिलामा कायमै रहेको देखिन्छ । महाभारत आदिपर्वमा उल्लेखित शर्मिष्ठाले ययातिसँग गरेको समागमको याचनाले महिलासँग ऋतुशान्तिका लागि पुरुषलाई आह्वान गर्ने अधिकार निहितै रहेको देखाउँछ:

 

रूपाभिजनशीर्लेर्हि त्वं राजन् वेत्थ मां सदा ।
सा त्वां याचे प्रसाद्याहमृतुं देहि नराधिप ।। (आदिपर्व, ८२) 

 

त्यसैगरी दुष्यन्तले शकुन्तलालाई र शान्तनुले सत्यवतीलाई विवाहका लागि याचना गरेका छन् । विवाहका लागि तिनको सर्त मन्जुर गरेका छन् । पराशर ऋषिले करार विवाहका लागि या समागमका लागि सत्यवतीको सर्त मन्जुर गरेका छन् । 

 

सत्यवतीसँग विवाह गर्नुपूर्व शान्तनुको समागम गंगासँग भएको थियो र उनीबाट भीष्म जन्मिएका थिए । शान्तनु र गंगाको समागम करारको सर्तमा रहेर भएको थियो । करारको सर्त थियो कि शान्तनुले गंगाका विरुद्ध केही बोल्नेछैनन् । र, यो मातृप्रधान करार थियो । यसलाई करार विवाहको रूपमा पनि लिन सकिन्छ । पराशर र सत्यवतीको सहवास पनि करारकै आधारमा भएको थियो कि पराशरले सत्यवतीसँग सहवास कसैले नदेख्ने गरि एकान्तमा गर्नेछन् । भीमसेन–हिडम्बा, अर्जुन– चित्रंगदा सम्बन्ध र विवाह पनि करारमै आधारित रहेको देखिन्छ । 

 

महाभारत उद्योग पर्वकी पात्र ययाति पुत्री माधवी र गालवबीचको सम्बन्ध पनि करारमै आधारित थियो । त्यो करारमा मात्रै सीमित थिएन । गालवले पत्नी माधवीलाई विनिमयको, खरिदबिक्रीको साधनको रूपमा उपयोग गरेकोसमेत देखिनाले त्यस समाजमा अभ्यासारम्भ भएको नयाँ प्रवृत्तिको यसले संकेत गरेको छ । 

 

सिकारी युगमा मानिसको जीवन अस्थिर थियो । बसाइ अस्थिर थियो । यौनसाथी अस्थिर थिए । समागम हुन्थ्यो । बच्चाको उमेरवृद्धिसँगै परिवारको संरचना बदलिइरहन्थ्यो । बिस्तारै आर्थिक उत्पादनका साधनहरूको स्थिरतामा मानवजीवन अभिसारित हुँदै गएपछि अस्थिर पारिवारिक जीवनले पनि स्थिरताको बाटो समात्न थाल्यो । अब जीवन निर्वाहका साधन स्थिर हुन थाले । त्योसँगै बसाइ, परिवार, यौनजोडीहरू पनि स्थिर हुन थाले । यो स्थिरताको आरम्भकालसम्म पनि समाज मातृप्रधानताको जगमा उभिएको थियो भन्ने कुरा प्रद्वेषीले दीर्घतमालाई घरबाट निकाल्ने र नदीमा लगेर बगाइदिन दिएको आदेश उनका सन्तानहरूले कार्यान्वयन गरेको प्रसंगबाट बुझ्न सकिन्छ । बिस्तारै सम्पत्तिको अधिपति र उत्तराधिकारी पुरुष हुने अभ्यासले समाजलाई पुरुषप्रधान बनाइदियो ।

 

                                   ०००       

 

फ्रेडरिक एंगेल्सले आफ्नो पुस्तक परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा लेखेका छन्– पहिले सबै प्रकारका हाडनाताभित्र यौनसम्बन्ध कायम हुन्थ्यो । बाउआमा, छोराछोरी, दाजुभाई, दिदी–बहिनीबीच यौनका लागि कुनै भेद थिएन । बन्धन थिएन । पछिबाट बाउआमा र छोराछोरीबीच र पछिबाट दाजुभाइ र दिदी–बहिनीबीच यौन समागम वर्जित गरियो । त्यसले अन्ततः हाडनाताबीचको यौन सम्बन्धलाई निषेध गरेर हाडनाताबाहिरको घेरामा लग्यो । आफ्नै अभ्यास र अनुभवबाट उसले के थाहा पायो भने, हाडनाता या समान रक्तीय सम्बन्धभित्रको समागमबाट जन्मिएको सन्तानभन्दा भिन्न रक्तीय सम्बन्धबाट जन्मिएको बच्चा बढी स्वस्थ, बलियो र चलाख हुन्छ । त्यसले मानिसलाई यौन समागमका लागि रक्तीय घेराबाहिर लग्यो । यद्यपि आजसम्म पनि हाम्रै समाजका कतिपय जातीय समूहमा मामाचेला, फुपूचेली विवाह अभ्यासमै छ । 

 

हरिवंश पुराणको दोस्रो भागमा वशिष्ठकी छोरी बतरूपा जवान भएपछि आफ्ना पिता वशिष्ठसँग पत्नीभावले बस्न थालेको प्रसंगले प्राचीन समाजमा प्रचलित उल्लिखित अभ्यासको प्रतिनिधित्व गर्छ । हरिवंशकै दसौँ भागमै वर्णित मनुले आफ्नी छोरी इलासित यौनसम्बन्ध राखेको विवरण छ । जन्हु ऋषिकी छोरी जन्हवीले आफ्ना पिता जन्हुलाई पतिको रूपमा स्वीकार गरेर बसेको उल्लेख भएको पाइन्छ । सोमका छोरा दश प्रजापतिहरूले आफ्ना छोरीहरू आफ्ना बाबु र बाजेलाई दिएका थिए (हरिवंश, अध्याय २) । जनमेजयले अन्त्यमा यस्तो अनैतिक कृत्यबारे प्रश्न उठाएपछि वैशम्पायनले भनेका छन्– यो पुरानो रीतिरिवाज हो (हरिवंश) । 

 

कर्णपर्वमा कर्णले शल्यसँग भनेका छन्– हे शल्य, तिम्रो मद्रदेशमा बाबु, छोरा, आमा, सासू, ससुरा, छोरी, दाइ, भाइ र अन्य सम्बन्धीहरू, नोकरचाकरहरू, पाहुनाहरू, दास–दासीहरू सबैले एकापसमा स्वच्छन्द तवरले घरगृहस्थी चलाउँछन् र त्यहाँ आइमाईहरू स्वच्छन्द किसिमले पुरुषहरूसँग सम्भोग गर्छन् । 

 

उर्वशी र अर्जुनबीच नाता–सम्बन्ध थियो । उर्वशी पुरुवंशकी आमा थिइन् । अर्जुन नाताले नाति । उर्वशीले अर्जुनसँग समागमको याचना गर्दा अर्जुनले अस्वीकार गरे । उर्वशीले अर्जुनलाई नपुंशकताले श्रापित गरिन् । यस कथामा के देखिन्छ भने तीन पुस्ताअघिको चेतनामा रहेकी उर्वशीमा अझै पुरानो समाजको मान्यता कायम थियो अर्थात् यौनका लागि हाडनाताको सम्बन्ध वर्जित थिएन । भेद थिएन । नाति अर्जुनको समयमा पुरानो मान्यता भत्किसकेको र निकट हाडनाताभित्रको यौनसम्बन्धबारे निषेधात्मक चेतनाको अरोपण भइसकेको थियो । 

 

यसले त्यसबखत स्त्री–पुरुषबीच भेद रहेको तर हाडनाता सम्बन्धको भेद छुट्टिइनसकेको देखाउँछ । लैंगिक भेद पनि थिएन । जस्तो कि ऋषि शब्दले महिला र पुरुष दुवैलाई जनाउँथ्यो (राजावाडे, उही) । मनुस्मृति कालसम्म आइपुग्दा आर्य समाजमा आमाको सातौँ पुस्ताभित्र र पितातर्फको सगोत्रभित्र विवाह गर्न हुँदैन भन्ने मान्यता स्थापित भइसकेको देखिन्छ (मनुस्मृति, ३:५) । 

 

मनुस्मृतिकालमा पुग्दा महिलाको शरीरमा पुरुषले वैधानिकता स्थापनाका लागि तमाम सामाजिक, वैयक्तिक नियमको संकथन र आरोपण उत्कर्षमा पुर्‍याइसकेको देखिन्छ । जो पुरुषले आफ्नो घरमा पत्नीको यौनसाथीलाई देखेर पनि मौन बस्छ, त्यस्ताले दिएको भोजन नगर्नू (३:२१७) भनेर मनुस्मृतिले महिलाको स्वतन्त्रताको सीमा कार्यान्वयन गराउन पुरुषलाई चौकीदारका रूपमा परिचालन गरेको र कथं पुरुषले आफ्नी पत्नीमाथि सामाजिक विधानको कोर्रा ठीक ढंगले नबजारे ऊ आफैँ समाजबाट बहिष्करणमा पर्न तत्पर हुनुपर्ने चेतावनी दिएको देखिन्छ ।

 

                                ०००

 

आजको दिनमा हिन्दू रीतले विवाहलाई धर्म, वंश निरन्तरता र रतिको आधार मान्छ । समागमलाई तेस्रो उद्देश्यमा राखेको देखिन्छ । वर्णाश्रम व्यवस्था ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यासमा विभाजित छ । गृहस्थकाललाई विवाह गरी परिवार निर्माण गर्ने र त्यससँग सम्बन्धित कार्य गर्ने समयकालका रूपमा व्याख्या गरिएको पाइन्छ । 

 

महिला सन्न्यासाश्रममा लीन हुने अभ्यास थिएन बुद्धकालीन समयसम्म । प्राचीनकालमा महिलालाई परिव्राजिका मिल्दैन थियो । बुद्ध नै थिए, जसले भिक्षुणी संघ खोलेर महिलाहरूलाई प्रवज्या दिएका थिए (सत्यकेतु, उही, पृ २०५) । उनको समयमा महिलालाई चिवर दिने कि नदिने भन्ने विषयमा भिक्षु संघमा ठूलो खलबली मच्चिएको थियो । 

 

कतिपय व्याख्याकारहरूले आश्रमहरूमध्ये गृहस्थ आश्रमलाई सबैभन्दा माथिल्लो स्थानमा राखेर व्याख्या गरेको पनि पाइन्छ (बराल, वासु–हिन्दू सामाजिक संगठनको प्रारूप, पृ २९) । ब्रह्मचर्य आश्रम (काल) अध्ययन र पवित्रता (कौमार्यको चेतना यस शब्दमा अधीनस्थ देखिन्छ) को अवधि मानिएको देखिन्छ भने गृहस्थ आश्रम विवाह, परिवार निर्माण र त्यसको व्यवस्थापनको कालवधिका रूपमा लिइने गरेको देखिन्छ । गृहस्थ आश्रमको मुख्य आधारका रूपमा लिइने विवाहलाई मानिस पूर्णतामा जाने संस्कारका रूपमा लिने गरिन्छ । 

 

                                ००० 

 

महाभारतजस्ता वीरगाथा लेखनको समयसम्म विवाह संस्थाले प्रस्ट आकार ग्रहण गरिसकेको देखिन्छ । तर, यही कालमा मानिसको चेतनामा नातागोता छलेर विवाह गर्नुपर्ने या विवाहका लागि जात, सम्प्रदाय, रगत सम्बन्ध हेर्ने प्रचलन अनिवार्य भइसकेकोजस्तो देखिन्न । प्रचेतसले छोरी वीरणिबाट सन्तान उत्पादन गरेको प्रसंगले यौनसम्बन्ध कायम हुनका लागि रक्तीय सम्बन्धको सीमासमेत तय नभइसकेको देखाउँछ । प्राचीन कालमा शूद्र भनिएका महिलाहरूसँग अन्य वर्णका पुरुषहरूको विवाह भइरहेको देखिन्छ (द्विवेदी, पूर्णेश्वरी–प्राचीन भारतमें कृषि व्यवस्था, पृ २) । 

 

मनुस्मृतिले स्त्रीको सुरक्षा कुमारी अवस्थामा पिताले, यौवन अवस्थामा पतिले र वृद्धावस्थामा पुत्रले गर्ने उल्लेख गरेको छ । सम्भवतः युद्ध र लडभिडका क्रममा महिलाहरूलाई जबर्जस्ती बन्धक बनाएर श्रमदास र यौनदासी बनाउन लाने अभ्यास रुढ हुँदै गएपछि महिला स्वतन्त्र भएर रहन नसक्ने अवस्था सिर्जना भएका कारण पनि यो अभ्यास बलियो हुन गएको देखिन्छ । 

 

                                   ०००

 

लडाइँमा श्रीमान् मारिएपछि एकल भएका महिलालाई लैजाने प्रक्रियाले आफ्नो गोत्र, कुल र समाजप्रति बफादारिता रहेकाहरूले सम्भवतः सतीप्रथाको आरम्भ गरे । या एकल महिलाहरूको भरणपोषण भारको रूपमा लिइने भएकाले परित्यक्त हालतमा जीवन चलाउनु विद्वेषपूर्ण ठानेर पतिको शवसँगै आत्मदाह गर्न पठाइयो भन्ने कोणबाट पनि तर्कहरू गरिएको पाइन्छ ।

 

खासगरी एकनिष्ठ विवाह र यौनको चेतनामा संक्रमित भएको समाजले पतिको मृत्युपछि पत्नीको एकनिष्ठ यौनप्रति आशंका र अविश्वासको जगमा सतीप्रथालाई आलम्बन गरिएको त होइन भन्ने मतहरू पनि सँगै टकराइरहेको पाइन्छ । महाभारतकालमा भने सतीप्रथा प्रमाणित रूपमै प्रकट भएको पाइन्छ । त्यो अभ्यास कालान्तरमा सम्पत्ति र शक्ति हत्याउने पुरुषवादी हैकमको एउटा कामयावी अस्त्रका रूपमा विकसित भएर अभ्यासमा आयो । सतीप्रथा राजन्य (क्षेत्रीय/शस्त्रीय)हरूमा देखिनु र ब्राह्मण या अन्य वर्णहरूमा कम देखिनुले बाँकी समाजले सत्तामा रहेका शस्त्रीयहरूको अभ्यासको सिको गरेको जस्तो देखिन्छ ।

 

मरेका पतिसँगै उसकी स्वास्नी, गाई, सम्पत्ति जलाउने चलन थियो (राजवाडे, विश्वनाथ– भारतीय विवाह संस्थाका इतिहास) । तर, पत्नी सती जानुपर्ने अभ्यास भने वैदिक तथा प्राचीन साहित्यमा अनिवार्यताको हदमा सामाजिक अभ्यासमा रहेको उल्लेख भएको पाइँदैन । पाण्डुको मृत्युपछि माद्री सती गएकी थिइन् भने कुन्ती सती गइनन् । मृतक पतिसँगै चितामा पत्नी पनि सुत्ने तर तिनलाई समाजको बूढो दास या परिवारकै देवर र शिष्यले चिताबाट उठाउने प्रसंगहरू पनि उल्लिखित भएको पाइन्छ । 

 

                                         ०००

 

गौतम स्मृति, बोधयन स्मृति, अत्रि स्मृतिले पारपाचुकेबारे पौराणिककालीन महिलामा अधीनस्थ सम्बन्धविच्छेदको अधिकारबारे भिन्न–भिन्न धारणा राखेका छन् । कतिले कुनै पनि अवस्थामा महिलाले पतिलाई छोड्न नसक्ने व्याख्या गरेका छन् भने कतिले महिलामा रहेको स्वतन्त्रताका आधारमा अलग हुन सक्ने अधिकार महिलामा सन्निहित रहेको उल्लेख छ । 

 

अथर्ववेदमा उल्लेखित दमयन्ती र राजा नलको सम्बन्ध र पुनः विवाहको कथनले त्यस बखतसम्म श्रीमान्ले दायित्व पूरा नगरी अलपत्र पारेमा महिलाले पुनः विवाह गर्न सक्ने मान्यता जीवित रहेको संकेत गर्छ । नलले आफ्नो भाइसँगको जुवा क्रीडामा सारा राज्य र सम्पत्ति गुमाएपछि दरबारबाट निस्किएर एउटा रूखको फेदमा रात थामेका बखत मध्यरातमा नल पत्नीलाई अलपत्र पारेर छाडी जान्छन् । त्यसपछि रुँदै कराउँदै पिताको घरमा पुगेकी दमयन्तीको पुनः विवाहका लागि पिताले दमयन्तीलाई राजी गराउँछन् (शर्मा, नागा राज –इथिक्स अफ डिभोर्स इन एन्सिएन्ट इन्डिया) । संयोगवश, त्यसरी पुनः विवाहका लागि रोजिएको पात्र नल नै रहेको उल्लेख सम्भवतः यताको समयमा सिञ्चित एउटी महिलाले बहुपुरुष भोग्ने कुरालाई अस्वीकार गर्ने पुरुष चेतना क्षेपक भएको अनुमान गर्न सकिन्छ ।

 

                                        ०००

 

यसरी समाज सामूहिक मैथुन, एक मुख्य यौनसाथी र अन्य थुप्रै सहायक यौनसाथी हुँदै एकनिष्ठ यौनको धारामा प्रवाहित हुन पुग्यो । मानवसमाजले आफ्नै अनुभव र सामाजिक आवश्यकताको बलमा संकथित गरेको एकनिष्ठ यौनको व्यवस्था यताको समयमा स्वास्थ्य विज्ञानको कोणले पनि उपयुक्त रहेको देखिएको छ । तर, एकनिष्ठ यौनको संहितामा महिलालाई बाँधेर पुरुष भने निर्बाध बहुयौन भोगमा लागिरहेको छ । एकनिष्ठ विवाह र यौनको अवधारणामा उभिएर पुरुषले महिलालाई आफ्नो निजी माल (सामान)मा परिणत गरिरहेको छ । महिलाबाट उनको स्वतन्त्रता खोसेर आफ्नो हैकमले महिलालाई कज्याउने काम गरिरहेको छ ।

 

आजको दिनमा उदार र खुला भनिने पश्चिमा समाजमा पनि विवाह महिलामाथि पुरुष नियन्त्रणको चेतनाबाट संकथन भएको पाइन्छ (मरिलिन, यलोम –अ हिस्ट्री अफ वाइफ, विभिन्न पृष्ठहरू) । पश्चिममै पनि विवाह दर्ता निजी सम्पत्तिमा हिस्सेदारीका लागि अनिवार्य सर्तका रूपमा उपस्थित छ । रोमबाट विवाहमा रिङ लगाउने प्रचलन आयो, जो आज औँठी लगाइदिने प्रचलनका रूपमा विघटित छ । रिङ दुवैलाई सधैँभरिलाई बाँधिराख्ने भावका खातिर पहिरिने प्रचलन थियो, अब निजी सम्पत्तिको वैभव प्रदर्शन गर्ने आडम्बरका रूपमा विचलित भएको छ ।

 

                                   ०००

 

पछिबाट धार्मिक संस्थाहरू शक्तिशाली भएर आएपछि यो जोडी श्रीमान्–श्रीमती यसकै हो भनेर गवाही दिनुपर्ने अवस्था आयो, सम्पत्ति र सन्तानको स्वामित्वमाथि विवादको सिर्जना भएपछि । त्यसपछि विवाहमा दुवैतर्फका साक्षीहरू सामेल हुने प्रक्रिया अभ्यासमा आयो । धर्म र रीत प्रवेश गरेपछि त्यो प्रक्रिया लामो हुन गयो । भोजभतेर र नाचगान थपियो । एउटा परिवारमा जन्मे–हुर्केको महिला अपरिचित घरमा जाँदा, पठाउँदा रुवावासी हुने अवस्था आएपछि त्यसलाई बिर्साउन र चीत्कारलाई पाश्र्वमा लानसमेत बाजागाजाको करतलध्वनि समावेश गरियो । एउटाबाट सुरु भएर त्यसबाट द्रवीभूत हुँदै थप मानिसहरू चीत्कारपूर्ण अवस्थामा पुग्न नपरोस् भन्ने भाव पनि संकथित थियो त्यसमा ।

 

अझ पहिलेबाट पराजिततर्फकी महिलालाई जबर्जस्ती कब्जा गरेर घिसार्ने क्रममा महिला र पराजितहरूको चर्को रुवावासी हुने गथ्र्यो । त्यसलाई दबाउन पनि र महिला लैजानेकोमा रातभर गानाबजाना गरिएको हुनसक्ने तर्कहरूलाई नजरअन्दाज गर्न सकिन्न । यौवनावस्थामा प्रवेश नै गरिनसकेका कलिला छोरीहरू त्यसरी लाने र विवाह गरी पठाउने अभ्यासले समागमको पहिलो अभ्यास क्रममा बालिकाको चीत्कारपूर्ण कोलाहललाई दबाउन पनि रत्यौलीजस्ता शीर्षकका गानाबजानाको होहल्लापूर्ण परिवेश निर्माण गरिएको देखिन्छ । 

 

                              ०००  

 

आज पनि विवाह अधिकृत तवरले यौनसम्बन्ध राख्न र सन्तान उत्पादनका लागि गरिने क्रियाका रूपमा उपस्थित छ हाम्रो समाजमा । अन्यथा आजको दिनमा यौनसम्बन्धकै लागि विवाहको घडी कुरी बस्ने अवस्था बदलिएको छ । तर, विवाहअघिको यौनसम्बन्धलाई धार्मिक, सामाजिक, सांस्कृतिक, पुरुषसत्ताले अवैध करार गरेको छ । त्यो पनि महिलाका लागि । पुरुष भने सधैँभर निर्बन्धन छ । स्वतन्त्र छ । आजसम्मका तमाम सत्ताले लिएको परीक्षामा पुरुषले कहिल्यै कौमार्यको परीक्षा दिनुपरेको छैन । महिलाहरू हरघडी कौमार्यको, पतिव्रताको, एकनिष्ठ यौनको परीक्षाको दन्दनी दन्किएको आगोको लप्कोमा हाम्फाल्न अभिशप्त छन् । परीक्षा दिन र दिइरहन अभिशप्त छन् । रामदेखि हरामहरू सबै आफ्ना सीताहरूको परीक्षा लिइरहन उत्साहित छन् । अग्रसर छन् । उत्तेजित छन् । 

 

सुहागरातको अतिकथन निर्माण गरेर, त्यसलाई मायावी रहस्यवादले लिपपोत गरेर, जिन्दगीको सबैभन्दा ‘पवित्र’ परिघटनाको रूपमा डेकोरेट गरेर महिलालाई अपरिचित पुरुषसँग पहिलो रातमै शरीर समर्पण गर्ने घरेलु, सामाजिक, धार्मिक, सांस्कृतिक, कानुनी पाठले ‘सुशोभित’ गरिन्छ । त्यही घडीमा महिलाको कुमारीत्व परीक्षणको अग्निपरीक्षाबाट अझै पनि पूर्णतया सामाजिक चेतनाको कक्षा बढाइ सम्पन्न भएको छैन । महिलालाई सुहागरातका लागि सुम्पिइने पूर्णतया अनजान र अपरिचित पुरुषका लागि कुमारीत्व सा“चेर राख्ने ‘पाठ’को सिस्नुपानीले हरघडी ठटाइरहेको हुन्छ । किनकि पुरुषसत्ताले महिलाको कौमार्यलाई, यौन अवस्थालाई इज्जतको विषय बनाएको छ । त्यसैले यौनलाई कज्याएर बसेको सत्ताबाट वैधानिकता पाउन पनि विवाह अनिवार्य बन्न गएको छ । 

 

मन मिल्दासम्म सँगै बस्ने र सम्बन्धमा असमझदारी पैदा भएपछि सहमतिमै सम्बन्ध अन्त्य गर्ने अभ्यास हामीमा हुर्किसकेको छैन । पश्चिमा समाजमा त्यो अभ्यास गाढा भए पनि निजी सम्पत्तिको स्वामित्वको सवालले तनावपूर्ण अदालती बाटोलाई अनिवार्यजस्तो बनाइदिएको छ । तमाम असहमति, असमझदारी, तनाव, विवादहरूलाई शिरमा बोकेर पनि इज्जत, प्रतिष्ठा, परिवार, बालबच्चाको भविष्य, आर्थिक भविष्यको सुरक्षाको खातिर सम्बन्धलाई जबर्जस्ती बोकिबस्नुपर्ने, जोगाइबस्नुपर्ने अवस्था छ । यो सबैको केन्द्रमा सम्पत्ति छ । केही भइहाले आर्थिक भविष्य असुरक्षित भइजाला कि भन्ने त्रास छ । सम्पत्तिमाथि मूलतः पुरुषको स्वामित्व केन्द्रीकृत छ । पुरुष पनि यसैकारण त्रसित छ । गुजाराका लागि बलै–करै पुग–नपुग भएको सम्पत्ति बाँडफाँड गर्नुपर्ला कि भन्ने असुरक्षाको भावका कारण । या यताको दिनमा अभ्यासमा रहेको पत्नीको नाममा राखिएको सम्पत्तिको हिस्सेदारी के होला भन्नेले । 

 

प्रसंगवश, यताका दिनमा पत्नीको नाममा सम्पत्ति राख्ने प्रचलन रहे पनि त्यो केवल कानुनी छिद्रहरूमा खेल्न मात्रै राखिएको हुन्छ । नाम पत्नीको भए पनि त्यसको खास स्वामित्ववाला पुरुष नै हुन्छ ।  सम्पत्तिको उति भाउँतो नभएको जोडी पनि एक्लैएक्लै आर्थिक भविष्यको यात्रा तय गर्न सकिन्न कि भन्ने भयका कारण असमझदारी र तनावलाई बोकेरै सहयात्रा गर्न बाध्य छ । यसरी सम्पत्तिमाथिको निजी स्वामित्व अर्थात् निजी सम्पत्तिको प्रावधानमा बाँधिएको मानिसले त्यसैका कारण वैयक्तिक स्वतन्त्रताको उपभोगसमेत स्वतन्त्र ढंगले गर्न सकिरहेको छैन । 

 

                              ०००  

 

कुनै पनि व्यक्तिको शरीरको अन्तिम फैसलाकर्ता स्वयं व्यक्ति हो भन्ने मान्यतालाई वैवाहिक संस्थाको आडमा महिलाको शरीरमाथि हकदाबीको तमसुक लिखत गराउने पुरुषसत्ताको चेतनाले अस्वीकार गर्छ । श्रीमतीलाई, छोरीलाई र समग्रमा महिलालाई यो चेतनाले आफ्नो तजबिजको ‘माल(वस्तु)’को रूपमा व्यावहार गर्छ । पुरुषलाई सनक चढेको घडीका लागि महिलाले ओछ्याइने वस्तु बन्न तत्पर हुनुपर्छ । बाउआमाको मन खाएको बखत छोरी अपरिचित पुरुषका लागि सुम्पिइएर जान तयार हुनुपर्छ । 

 

विवाह संस्थाको आडमा पुरुषसत्ताको यो हैकम अजमाउन महिलाहरू नै पनि अघि सरेका हुन्छन् । त्यसलाई देखाएर, बुहारी–छोरीमाथि हुने दहेज, सन्तान उत्पादन, घरेलु काममा सासू, आमा, नन्द, अमाजूहरूले गर्ने अत्याचार, शोषण, उत्पीडनलाई ‘महिलाको शत्रु महिला’ भन्दै रूपवादी व्याख्यान गर्न तँछाडमछाड पनि चल्ने गर्छ । पुरुषसत्ताको अकण्टक साम्राज्य फैलाइराख्न त्यसरी अग्रसर हुने महिलाले एकजना स्वतन्त्र महिलाको तवरमा होइन, पुरुषसत्ताकै वारेसको रूपमा अर्की महिलामाथि अत्याचारको दलन थोपरिरहेकी हुन्छिन् । 

 

सयौँ, हजारौँ वर्षको अभ्यासबाट पुरुषसत्ताको वारेसको रूपमा अर्की महिलालाई अत्याचारको जाँतोमा पिस्नु अविछिन्न अधिकारको रूपमा व्यावहार गर्न महिलाको पनि ब्रेनवास गरिएको हुन्छ । जसरी एउटा मालिकको, सामन्तको या पुँजीपतिको वारेसको रूपमा उसको खाईपाई बसेको गरिब आर्थिक हैसियतको नोकर अर्को आफूजस्तै गरिबमाथि सामन्तको, मालिकको अत्याचार, उत्पीडन कार्यान्वयन गर्छ । ऊ आफैँ मालिक त हुँदैन । सामन्त त हुँदैन । पुँजीपति त हुँदैन । हुन्छ त गरिब नै । जीविकाका लागि मालिकको दाम्लोमा बाँधिएको तर अर्को उत्पीडितमाथि ऊ आफ्नो जीविकाको अकण्टक सुरक्षा हुने आस र टुट्ने त्रासमा मालिकको वारेसको रूपमा अत्याचार लाद्न अघि सर्छ । 

 

ठीक यसैगरी, पुरुष हैकमवादी सत्ताभित्र अकण्टक सुरक्षा प्राप्तिको हेतु पुरुषसत्ताको सहज निकटतामा रहेकी महिला अर्की पुरुषसत्ताको वक्रदृष्टिमा या विकट दूरीमा रहेकी महिलामाथि पुरुषसत्ताको वारेसको रूपमा अत्याचार, शोषण, उत्पीडन, अन्याय, हिंसा थोपर्न अग्रसर हुने गर्छिन् । 

 

                                 ०००

 

विवाह महिला र पुरुष मात्रै होइन, फरक शारीरिक अवस्थिति भएकाहरूबीचमा पनि हुने गथ्र्यो भन्ने कुरा प्राचीन घटनाक्रमका साथै नेपालमा जारी पहिलो मुलुकी ऐनका विवरणबाट पनि प्रस्ट संकेत मिल्छ । पहिलो मुलुकी ऐनले विवाहित जोडी फरक यौन रुचि भएको पाइएमा स्वेच्छिक सम्बन्धविच्छेद गर्न पाइने उल्लेख गरेको छ । महाभारतको अम्बा र भीष्म प्रकरणले पनि त्यसलाई संकेत गरेको छ । 

 

रोमन शासक निरो (सन् ५४–६८)ले औपचारिक समारोह आयोजना गरी पुरुषसँगै दुईपटक विवाह गरेका थिए र शाही कचहरीलाई आफूले विवाह गरेका पुरुषहरूलाई आफ्नो पत्नीका रूपमा व्यावहार गर्न दबाब दिएका थिए (द विक– द ओरिजिन्स अफ म्यारिज) ।

 

                                     ००० 

 

विवाह अब क्रियामा सीमित छैन । यो संस्थाका रूपमा उपस्थित छ । जसको स्वामित्व परिवार सत्ता, सामाजिक, आर्थिक, कानुनी, धार्मिक, सांस्कृति, परम्परावादी सत्ताले ग्रहण गरेका छन् । 

 

विवाह आज व्यक्तिगत र गोप्य कर्म रहेन, जोडी महिला र पुरुषबीचको । परिवार, समाज, धर्म, अर्थ, कानुन, संस्कृति, परम्परासँग बाँधिएर विवाह संस्थाको सदस्यता लिनुपर्ने अवस्था छ आज (ट्विडेल र रिग्स –म्यारिज एन्ड फ्यामिली, विभिन्न पृष्ठहरू) ।

 

यो सदस्यता वितरण गरिबसेको विवाह संस्थाले आफूलाई बलियो र अकण्टक बनाउन समयक्रममा धर्मका नाममा, ईश्वरका नाममा, सामाजिक कानुनका नाममा, परम्परा र अभ्यासका नाममा महिलामाथि पुरुष नियन्त्रणको अत्यासलाग्दो जन्जिरको तारबार लगाएको छ । महिलालाई आफ्नो स्वार्थ र अहं शान्त बनाउने वस्तुका रूपमा व्यवहार गर्ने चेतना वितरण गरेको छ । महिलाको शरीरमाथि महिलाकै स्वतन्त्रताको ठाउँमा पुरुषको कामेच्छा प्रधान हुने संकेत बृहस्पतिकै पालादेखि ममतामाथि लादिएको बलात्कारबाट देखिएको छ । 

 

परिणामतः समाजमा ममताहरूमाथि बृहस्पतिहरूको बलात्कार बढिरहेको छ । संस्कृति र रीतको नाममा आजका प्रद्वेषीहरूमाथि दीर्घतमाहरूको द्वैध शासन मडारिइरहेको छ । दाइजोको नाममा, बलात्कारमा परेर, सामाजिक रीतको नाममा महिलाहरूको शरीरको स्वतन्त्रता समेत पुरुष सत्ताको अधीनमा छ । त्यो सबैलाई वैधानिकता दिएर उभिएको छ सम्पत्तिमाथिको निजी स्वामित्व । किन पनि भने सम्पत्तिमाथिको निजी सम्पत्तिको प्रादुर्भाव भएसँगै अभ्यासमा आएको हो निजी परिवार, विवाह संस्था, धर्म, जात, वर्गको विभेद ।