• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नरेश रेग्मी 
२०७८ बैशाख ४ शनिबार ०८:३३:००
रिपाेर्ट

सन्तवीरले भाउजूसँग बिहे गरेपछि...

थारू समाजको संगतले को–को बिग्रियो होला  ?

२०७८ बैशाख ४ शनिबार ०८:३३:००
नरेश रेग्मी 

 

 

राजाराम थारूको जेठो छोरा कुलवीर थारूको अज्ञात रोगका कारण मृत्यु भयो । त्यसपछि कान्छो छोरा सन्तवीरले आफूभन्दा झन्डै सात वर्ष जेठी भाउजूसँग विवाह गरे । यो विवाह राजारामको चाहना र घरका सबैको मञ्जुरीमै भएको थियो ।

 

‘माया गर्ने दाइ मर्नु पक्कै पनि पीडादायी हुन्छ । तर भाउजूसँग पनि कसैले बिहे गर्छ त ?’ यो प्रश्न मैले आफूलाई सयौँपल्ट सोधेँ । त्यसमा पनि पूर्णिमा भाउजूको पहिले नै कुलवीरतिरबाट दुईवटा छोरा थिए, आकाश र पृथ्वी ।

 

म सानो हुँदा भएको यो घटना मैले लगभग बिर्सिसकेको थिएँ । पहिला–पहिला त सम्झिँदा पनि कस्तो नरमाइलो लाग्थ्यो । बिर्सिसकेको त्यो घटना फेरि मानसपटलमा तब घुम्न थाल्यो जब फ्रेडरिक एंगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पढेँ । 

 

कुलवीर र पूर्णिमा भाउजूको विवाह सम्झिँदा त अलिअलि नरमाइलो मात्र महसुस हुन्थ्यो, तर एंगेल्सको किताबमा जब प्राचीनकालमा आमाले छोरासँग मिलेर परिवार विस्तार गरेको चर्चा भयो वा बुबाले छोरीसँग पनि शारीरिक सम्बन्ध राखेको कुरा आयो वा दाजु बहिनीले एकअर्कासँग विवाह गर्ने समाजको प्रसंग चल्यो पढ्दापढ्दै केही समय त उकुस–मुकुस नै भयो । एंगेल्सको किताब हिन्दू समाजमा परम्परागत तरिकाले हुर्केको हामी जो कोहीले पढे पनि पहिलोपल्ट आङ सिरिंग गर्न सक्छ । तै पनि त्यो किताब पढ्दै गर्दा आफूलाई आफैँले सान्त्वना दिइनैरहन्थेँ । किनकि एंगेल्सले चर्चा गरेको समाज हिन्दू समाज थिएन । 

 

सन्तवीर र पूर्णिमा भाउजूको विवाह किताबको कागजमा नभएर मेरो आँखा अगाडि नै भएको थियो । थारूहरूमा भाउजू ‘स्याहार्ने’ घटना योभन्दा पहिला सुनेको मात्र थिएँ, तर स्वयं देखेको यो पहिलोपल्ट थियो । म आश्चर्यचकित भएको थिएँ । हाम्रो पहाडिया परिवारहरूतिर त झन् यो विवाहको घटना भुसको आगोजसरी भित्रभित्रै सल्किरहेको थियो । मानौँ त्यो कुनै विवाह नभएर कुनै सामाजिक अपराध नै थियो ।

 

 हाम्रो गाउँ एउटै थियो, तर समाज दुईटा । एकातिर थारूहरूको समाज र अर्कोतिर हामी पहाडिया बाहुन–क्षेत्रीहरूको समाज । हामी गाईभैँसी पाल्थ्यौँ, उनीहरू सुँगुर पाल्थे ।  थारूहरू र हाम्रा चलनचल्तीमा धेरै भिन्नता थिए । उनीहरू आफू–आफू बोल्दा एकदम ठाडो भाषामा बोल्थे, तर हामीसँग बोल्दा जानीनजानी आदर गरेर बोल्थे । पहाडियाहरूले थारूहरूलाई एकदम आदर गरेर बोलेको मलाई त्यति याद छैन ।  हामीलाई बोल्न लाज लाग्ने कैयौँ कुरामा उनीहरू आफू–आफू मजाले गफिन्थे । थारूहरू गीतैगीतमा थरूनीलाई जिस्काउँथे । 

 

‘रायी खेत मसुरी, मसुरी खेत रायी
चलो साली बुरान जायी, कस्सिन मज्जा आयी’

 

थरूनी केटीहरू यो सुनेर मुसुक्क हाँस्थे र केटाहरूजसरी नै जिस्किन्थे । यसरी हामी पहाडियाहरूका जवान केटाकेटीहरू जिस्किएका हुन्थे भने ठूलै बबन्डर भइसक्थ्यो । थारूहरूको यही रहनसहन नै हाम्रा परिवारहरूको चिन्ता थियो । थारूहरूको ‘असभ्यता’ कुनै दिन पर्खाल नाघेर हाम्रा घरहरूमा पस्छ कि भन्ने ठूलो डर थियो ।

 

सबैभन्दा अचम्म त थारूहरूको वेशभूषा थियो । बूढा थारूहरू अझै पनि तल ‘भेग्वा’ मात्र लगाएर हिँड्थे । हामी लंगौटी भन्थ्यौँ उनीहरू ‘भेग्वा’ भन्थे । पछाडिको लुकाउनुपर्ने अंग सबै देखिने हुँदा कोही भेग्वा लगाएर हिँड्दा नांगै हिँडेको हो कि जस्तो लाग्थ्यो ।

 

‘भेग्वा’बाट कहिले कसो अगाडिको पनि लुकाउनुपर्ने अंग देखिएजस्तो हुन्थ्यो । गलल्ल हाँसोका फोहोरा फुट्थे । बूढी थरूनीहरूको हातखुट्टा नीलो रङले खोपेका हुन्थे, आजभोलिका ट्याटुहरूजस्तै । एउटै गाउँमा पनि उनीहरूको आफ्नै समाज थियो । 

 

थारूका केटाकेटीहरूसँग मेरो संगत बाक्लो थियो । त्यसमा पनि सन्तवीरसँग झनै बढी । मेरा बुबाआमाको मुख्य चिन्ताको विषय नै सन्ते र मेरो संगत थियो । सन्तेले भाउजू ‘स्याहारे’को घटनाले झन् आगोमा घ्यु थप्ने काम गर्‍यो । 

 

राजारामको परिवारले हाम्रो गाउँको पुजारीबाजेको खेत अधिया लगाउँथ्यो । त्यो विवाहपछि त पुजारीबाजेले राजारामको परिवारलाई त्यो वर्षबाट आफ्नो खेत अधिया लगाउनै नदिने भयो । पुजारीबाजेले गाउँभरि यस्ता असभ्य घटनाहरूले आफ्ना छोराछोरी बिग्रिन्छन् भन्दै मोर्चाबन्दी नै गरे । 

 

थारू केटाकेटीहरूसँग मेरो संगत बाक्लो थियो । त्यसमा पनि सन्तवीरसँग झनै बढी । मेरा बुबाआमाको मुख्य चिन्ताको विषय नै सन्ते र मेरो संगत थियो । सन्तेले भाउजू ‘स्याहरे’को घटनाले झन् आगोमा घ्यु थप्ने काम गर्‍यो । 

 

थारूहरू प्रायः पहाडियाका खेतहरूमा अधिया लगाउँथे । आफ्नो खेत आफँै जोत्ने पहाडियाहरू अन्त्यन्त कम थिए । यही एउटा महत्वपूर्ण कडी थियो थारू र पहाडियाहरूबीच सम्बन्धको ।

 

 सन्तेले भाउजू ‘स्याहारे’देखि मेरो घरमा पनि हलचल मच्चिएको थियो । किनकि मेरो उठबस नै सन्तेसँग हुन्थ्यो । एक दिन मन थाम्नै नसकेर मेरी हजुरआमाले मनको पीर पोख्नुभयो, ‘बाबु तँलाई सन्तेले सुँगुरको मासु त ख्वाउँदैन नि ? उनीहरू त आफू पनि जान्दैनन् भनेको पनि मान्दैनन् ! दिउँसै जाँड खानेहरूको संगत अब नगर न बाबु ।’  हजुरआमाको चिन्ता हाँसोमा उडाइदिन्थेँ । किनकि म कुनै पनि हालतमा सन्तेको संगत छोड्नेवाला थिइनँ । 

 

सहर जानका लागि थारूगाउँ भएरै जानुपथ्र्याे । एक मात्र साँघुरो बाटो त्यसमा पनि बाटोमा जताततै सुँगुरहरू । पहाडियाहरू हैरान हुन्थे । बाटो हिँड्यो कि जाँड गन्हाउँथ्यो । यो विषयलाई लिएर धेरैपल्ट गाउँमा वादविवाद भएको थियो । आफ्नो रहन–सहनले गर्दा थारूहरू अपमानित भइरहने घटना बढ्दो थियो । 

 

यस्तै घटनाहरूले होला नयाँ पुस्ताका थारूहरू पहाडिया रहनसहनप्रति आकर्षित हुँदै गएका थिए । विवाह भएका केही थरुनीहरू चुरापोते मात्र होइन सिन्दूर पनि लगाउन थालेका थिए । थारूहरूमा पनि तिज मनाउने चलन प्रवेश गर्दै थियो । 

 

राजारामको परिवार भने आफ्नो सांस्कृतिक विषयहरूमा अझै डगमगाएको थिएन । गाउँका थारूहरू राजारामलाई एकदम मान्थे किनकि राजाराम उनीहरूको ‘गुरुवा’ पनि थियो । राजारामको हातमा परेपछि सर्पले टोकेका मान्छेहरू पनि ठिक हुन्छन् भन्ने गरिन्थ्यो । उसलाई जंगली जडिबुटीहरूको पनि राम्रो ज्ञान थियो ।

 

घरबाट जति गाली खाए पनि म सुटुक्क सन्तेलाई भेटिरहन्थेँ । सन्ते उमेरले सत्र वा अठार वर्षको हुँदो हो, म चौध–पन्ध्रको । सन्ते पनि सबैभन्दा बढी मसँगै मिल्थ्यो । एक दिन के मन लाग्यो कुन्नि, झ्याप्पै सोधिहालेँ । ‘बुबालाई भाउजू बिहे गर्दिनँ भनेको भए भइहाल्थ्यो नि । तैँले भाउजू बिहे गरेदेखि मलाई आजभोलि घरमा झन् गाली गर्छन् यार !’

 

मेरो कुरा सुनेर सन्ते एकछिन घोत्लियो । उसको अनुहार मुर्झाएजस्तो भयो । सायद उसलाई एकाएक के भनौँ–भनौँ भयो होला । सुस्केरा छोड्दै भन्यो, ‘त्यस्तो हो भने तँ आजदेखि मलाई नभेट यार । मैले गर्दा तँ किन गाली खान्छस् !’

 

सन्तेले नभेटौँ भन्दा मनमा एकाएक चिसो भयो । के भनौँभनौँ भयो । नभन्नुपर्ने, नसोध्नुपर्ने कुरा सोधिसकेको थिएँ । एकछिन अक्कनबक्क भएपछि कुरा घुमाएँ । ‘अनि भोलिका लागि बनाएको योजना के गर्ने त ? तैँले मलाई जसरी पनि सिकाउँछु भनेर कसम खाको होइनस् ?’ उसले जवाफ दिएन, तर उसको मौनताले धेरै कुरा बोलिसकेको थियो । ऊ निराश भएर घरतिर लाग्यो । नराम्रो मान्दै म पनि घर फर्किएँ । 

 

अरू दिन भेट नहुँदा पनि सन्ते र म हरेक शनिबार भेट्थ्यौँ । सन्ते मसँग रिसाएको त्यो दिन शुक्रबार थियो । त्यसपटकको शनिबार सन्तेले मलाई आफ्नो एउटा सीप सिकाउने वाचा गरेको थियो । म एकदम निराश थिएँ । मैले त्यसरी सन्तेको चित्त दुखाउनहुन्नथ्यो । म ऊसँग माफी पनि माग्न चाहन्थेँ । रातभरि नराम्रो लाग्यो ।
 भोलिपल्ट बिहानैदेखि न्यास्रो लागिरह्यो । तैपनि शनिबार सधैँझैँ गाई फुकाएर खेततिर चराउन लगेँ । चराउने ठाउँमा पुगेपछि एकाएक खेतमा सन्तेलाई देखेँ । मेरो मुर्झाएको अनुहारमा फेरि घाम झुल्कियो । सन्ते मलाई पर्खिरहेको थियो । मेरो उत्साहको सीमा नै रहेन । ऊ भने पहिलाजस्तो खुसी देखिन्नथ्यो । एउटा हातमा पराल र अर्को हातमा घैँटो बोकेर ऊ मलाई नै पर्खिरहेको थियो । ‘कसम खाएपछि पूरा गर्न आउनैप¥यो नि सँघारी !’ उसले भन्यो । 

 

त्यस दिन मलाई सन्तेले धान खेतका मुसा मार्ने तरिका सिकाउँदै थियो । सन्ते यस्ता धेरै कुरामा सिपालु थियो । अघिल्लो हप्ता उसले मलाई गंगटा मार्ने तरिका सिकाएको थियो । त्यस दिन मुसा मार्न सिकाउने वाचा थियो । धान खेतका मुसाहरू घरमा देखिनेजस्ता साना हुँदैनन् । कुनै मुसा त सानोतिनो बिरालोजत्रै ठूला हुन्छन् । म साहै्र उत्साहित थिएँ । वास्तवमै जिन्दगीको गणितमा सन्ते मभन्दा धेरै अगाडि थियो । उसलाई के–के आउँथ्यो आउँथ्यो । गाई चर्दै थियो । हामी भर्खरै काटेका धानका खेतहरूमा मुसाको प्वाल खोज्दै हिँड्यौँ । 

 

धानका खेतहरूमा प्रायः मुसाले धेरैतिर प्वाल भएको घर बनाएका हुन्छन् । हामी त्यस्तै प्वालहरू खोज्दै अलि परसम्म पुग्यौँ । खेतको अलि अप्ठ्यारो डिलमा मुसाको एउटा प्वाल भेटियो । त्यही प्वालको वरिपरि पन्ध्र हात परसम्म अरू प्वालहरू पनि थिए । सन्तेलाई ती सबै प्वालहरू एउटै प्वालका शाखा हुन् भन्ने कुराको राम्रो ज्ञान थियो । हामी बिस्तारै त्यो प्वालमा लुकेका मुसा समात्ने योजना बनाउन थाल्यौँ । 

 

‘यो मुख्य प्वालबाहेकका सबै प्वालको मुखमा ढुंगा कोच्नुपर्छ है ।’ औँलाले इसारा गर्दै बिस्तारै सन्तेले भन्यो । ऊ मुख्य प्वालबाहेक मुसाहरू भाग्न सक्ने अन्य सबै प्वालहरू बन्द गराउन चाहन्थ्यो । मैले उसले जस्तो–जस्तो भन्यो त्यस्तै–त्यस्तै गरेँ ।  

 

मुसा भए नभएको प्वाल थाहा पाउने धेरै उपाय हुने रहेछन् । मुसा भएका प्वालहरूको मुखमा माटो अलि चिसो हुनु, चिसो माटोमा मुसाको नंग्राका छापहरू हुनु, बाहिरबाट हेर्दा प्वालभित्र अलिअलि धानका दानाहरू देखिनु भनेको प्वालमा मुसा हुनुका संकेत थिए । सबै लक्षणहरूको हिसाबले हामी सही प्वालहरूमा आइपुगेका थियौँ । सन्तेलाई पूरै यकिन भइसकेको थियो । त्यसपछि हामी ‘मिसन मुसा’मा लाग्यौँ । यो मिसनको ऊ कमान्डर थियो, म सिपाही । 

 

म आज वर्षौँपछि पनि सन्तेलाई फर्केर खोजिरहेको छु । सन्ते कहाँ छ मलाई थाहा छैन । थारू गाउँतिर आजभोलि त्यसरी छोरा मरेपछि बुहारीको फेरि विवाह गराइदिने परम्परा छ कि छैन मलाई त्यो पनि थाहा छैन ।

 

मैले ढुंगाले प्वालहरू थुन्दै गर्दा सन्तेले घैँटाको फेदमा एउटा सानो प्वाल पारिसकेको थियो । अब घैँटोमा मुखबाहेक एउटा अर्को सानो प्वाल पनि थियो । त्यसपछि बाँकी थियो घैँटोमा पराल कोच्ने काम । पराल कोच्ने काम सन्तेले मलाई अह्रायो । सन्तेले ल्याएको पराल मैले विस्तारै घैँटोमा कोचेँ । 

 

सन्तेले गोजीबाट सलाई निकाल्यो र को¥यो । सन्तेले बिस्तारै घैँटोको मुखबाट परालमा आगो लगायो । आगो बिस्तारै सल्किन थालेपछि सन्तेले घैँटाको गोलो मुख भाग लगेर अघि खुला छाडेको एक मात्र दुलो थुनिने गरी राख्यो र घैँटाको पीँधमा पारिएको सानो प्वालबाट घैँटोभित्र हावा फुक्न थाल्यो । 

 

सन्ते जतिजति घैँटाको दूलोबाट हावा फुक्थ्यो, घैँटोभित्रको पराल त्यतित्यति सल्किन्थ्यो र जतिजति पराल सल्किँदै जान्थ्यो घैँटाको मुखबाट त्यतित्यति धुवाँ निस्केर मुसाको दुलोमा भित्र पस्थ्यो । सन्तेले घैँटोभित्रको पराल जम्मै सल्केर धुवाँ निस्किन बन्द नहुँदासम्म हावा फुकिराख्यो । यतिन्जेलसम्म मुसाको प्वाल भित्रैसम्म धुवाँ पुगिसकेको थियो । सन्तेले त्यसपछि तातो घैँटो हतार–हतार प्वालबाट हटायो । 

 

भित्रैसम्म धुवाँ छिरेपछि निसास्सिएर एउटा मुसा प्वालबाट बाहिर आयो र पुलुक्क हेर्‍यो । सन्तेले झ्याप्प समात्न खोज्दा तर्सेर फेरि भित्र पस्यो । सन्ते मुसा समात्न एकदम तयारी अवस्थामा थियो । दुलाभित्रबाट मुसाको आवाज आइरहेको थियो । 

 

मुसा भाग्न सक्ने सबै प्वाल बन्द थिए । मुसासँग अब हामी कुरिरहेको प्वालबाट बाहिर निस्किनुको विकल्प थिएन । यत्तिकैमा एउटा मुसा फुत्त बाहिर निस्कियो र सीधै सन्तेको हातको पासोमै प¥यो । सन्तेले च्याप्प मुसो समात्यो र भुइँमा पच्छार्‍यो । पच्छारिएको मुसो अघि देखिएको मुसोभन्दा निकै ठूलो थियो । अर्थात् प्वालभित्र कम्तीमा अझै एउटा मुसा बाँकी थियो । एक–एक गर्दै थोरै समयको अन्तरालमा अरू चारवटा मुसा निस्किए र सबै सन्तेको सिकार भए ।  ‘मुसाको प्वालमा धुवाँ हालेजसरी, कुलोको पानी हालेर पनि मुसा मार्न सकिन्छ है, तरिका उस्तै हो’, उसले मुसा मार्ने अर्को तरिका पनि सिकायो । 

 

त्यो दिन सन्तेले पाँचवटा मुसा समात्यो । दुईवटा मुसा हामीले त्यहीँ पोलेर खान थाल्यौँ । मैले जिन्दगीमा मुसाको मासु खाएको त्यो पहिलोपटक थियो । पहिला नखाएर होला मीठो भयो कि नमीठो छुट्टाउनै सकिनँ । मुसा खाँदै गर्दासम्म पनि सन्तेको अनुहार पहिलाजस्तो हँसिलो थिएन मासु खाँदै सन्तेले आफ्नो मनको भारी बिसाउन थाल्यो । 

 

‘कुलवीर दाइ बिरामी भएपछि निकै दिन थला प¥यो यार, मलाई सम्झेर पनि नराम्रो लाग्छ ।’ उसले भाउजूलाई बिहे गर्नुको कारण मलाई भन्दै थियो । सन्तेका आँखा रसाउन थालिसकेका थिए । सायद ऊ मैले हिजो सोधेको कुराको जवाफ दिन खोज्दै थियो । ऊ बोलिरह्यो, म सुनिरहेँ ।  ‘थला परेको अन्तिम दिनमा कुलवीर दाइ बोल्न पनि नसक्ने भाथ्यो । भाउजूलाई देखेपछि आँखाभरि आँसु पारेर हामीलाई हेथ्र्यो ।’ सन्तेले मनको बह पोखिरह्यो ।

 

 ‘भाउजूको माइततिर आमाबुबा बाँकी कोही छैनन् । यस्तो अवस्थामा दुईवटा बच्चा भाको भाउजूलाई कसरी बिजोग बनाउनु । भाउजूलाई भोलि कुनै दुःख नहोस् भनेर हामीले घरमै सधैँका लागि राख्ने भनेर बिहे गरेको हो । हाम्रोमा यस्तो चल्छ यार ।’कुरा सुन्दै गर्दा म पनि भावुक भएँ । तर, पनि प्रतिक्रिया दिन जानिनँ । कुरा गर्दैगर्दा सन्तेले बाँकी बचेका तीनवटा मुसा झिरजस्तो काठ बनाएर उन्यो । ‘एउटा मुसा पूर्णिमालाई र दुईवटा आकाश र पृथ्वीलाई । ल यार फेरि भेटम्ला । मैले मेरो वाचा पूरा गरेँ है । अब बाँकी आफैँ सिकेस्’ यति भन्दै ऊ घरतिर लाग्यो । 

 

त्यतिवेला एकदम अचम्म लागेको त्यो घटना आज फर्केर हेर्दा मलाई एकदम सामान्य लाग्छ । विभिन्न किताब र समाजहरू पढ्दै जाँदा नेपालमा पनि विभिन्न प्रकारका विवाह प्रचलनमा रहेको थाहा पाइयो । आफ्नै हाडनातामा विवाह गर्नेदेखि आफ्ना नजिकका आफन्तहरूमा खोजीखोजी विवाह गर्ने समाजहरू बुझेपछि मलाई सन्तवीर र पूर्णिमाले कुनै आकाश नै खसालेजस्तो लाग्दैन । गुरुङहरूमा लोप हुँदै गएको मामाचेला फुपुचेलीमा विवाह चल्ने परम्परा यसको जिउँदो उदाहरण हो । मैले यति भन्दै गर्दा हिन्दू समाजमा यस्ता विवाह कहिल्यै थिएनजस्तो लाग्न सक्छ । केही वर्ष पहिलासम्म म पनि यही नै सोच्थेँ । 

 

मेरो भ्रमको पर्दा तब चिरियो जब भारतीय धर्मशास्त्री काशीनाथ राजवाडेद्वारा लिखित ‘विवाह संस्थाको इतिहास’ भन्ने किताब हात लाग्यो । राजवाडेले हिन्दू समाजभित्र पनि इतिहासमा हाडनाताभित्रको विवाहदेखि सामूहिक विवाहसम्म हरेक प्रकारको विवाह रहेको चर्चा गरेका छन् । कुनै विवाहहरूका बारेमा थाहा पाउँदा त आज पनि लाज लाग्न सक्छ । हिन्दूहरूका धार्मिक किताबहरूमा भएका अनेकौँ वैवाहिक परम्पराका बारेमा उनले लामो फेहरिस्त प्रस्तुत गरेका छन् । किताबमा दिइएका सयौँ उदाहरणमध्ये यो लेखसँग प्रसँग मिल्ने केही उदाहरण यस्ता छन् :

 

गंगा र शान्तनुवीच ‘करार’ विवाह भएको थियो र गंगा शान्तनुभन्दा उमेरले जेठी थिइन् (पृष्ठ १००). तारा जीवनकालमा सुग्रीव र बाली दुवै दाजुभाइकै पत्नी बनेकी थिइन् (पृष्ठ १११) द्रौपदी पाँचजना भाइ पाण्डवकै पत्नी थिइन् (११२) राजवाडेले किताबमा हिन्दू समाजका तमाम कथाहरूमा भएका अनेक प्रकारका वैवाहिक सम्बन्धहरू खोजेर समेटेका छन् । 

 

प्रश्न उठ्न सक्छ यी त सबै पौराणिक कथाहरू हुन्, यस्ता कथाहरूलाई कति पत्याउनु, कति नपत्याउनु ? यो प्रश्न एकदम स्वाभाविक हो जुन मेरो मस्तिष्कमा नआएको होइन । यो प्रश्नको सही उत्तर प्राप्त गर्न भारतीय कम्युनिस्ट लेखक श्रीपाद अमृत डांगेद्वारा लिखित पुस्तक ‘भारतःआदिम साम्यवाददेखि दास प्रथासम्मको इतिहास’ पढ्नुपर्ने हुन्छ । डांगेले यस्ता धार्मिक पुस्तकहरूमा भएका कथाहरू पढ्दा कल्पनाबाट यथार्थ छुट्याउने तरिका बताएका छन् । कथामा उल्लेख गरिएका उत्पादनका साधन, पौराणिक पात्रहरूले लगाएका वस्त्र, त्यतिवेला प्रयोग भएका हतियार, भाँडाकुँडा, घरहरूको वर्णन, पात्रहरूले गर्ने संवादबाट पनि तत्कालीन समाजको भौतिकवादी व्याख्या गर्न सक्ने माक्र्सवादी दृष्टिकोण प्रस्तुत मात्र गरेका छैनन् यस्ता विभिन्न पौराणिक घटनाहरूको वस्तुपरक विश्लेषण पनि गरेका छन् । 

 

यो लेखको उद्देश्य आजको समाजमा प्रतिबन्ध लागिसकेका विवाह फेरि सुरु गर्नुपर्छ भन्ने होइन । समाजलाई चाहेर पनि पछाडि फर्काउन सकिन्न, तर समाजको अन्तर्विरोधलाई सही तरिकाले बुझ्न भने सकिन्छ । ठूलो माछाले सानो माछा खाएजस्तै समाजमा पनि ठूलो संस्कृतिले सानो संस्कृति खाँदै जाने रैछ । समाजमा जसको सत्ता हुन्छ उसले आफ्नो संस्कृतिको पनि सत्ता बनाएको हुन्छ । अब सत्ता भइसकेपछि कि सत्ता साझेदारी हुनुपर्छ कि समझदारी । होइन भने सानो संस्कृति कि ठूलो संस्कृतिमा मिसिन्छ नत्र मासिन्छ । 

 

                                             ०००

 

 गाउँमा बस्न नै गाह्रो हुन थालेपछि राजारामहरूले केही महिनापछि हाम्रो गाउँबाट बसाइँ सरे । म आज वर्षौँपछि पनि सन्तेलाई फर्केर खोजिरहेको छु । सन्ते कहाँ छ मलाई थाहा छैन । थारू गाउँतिर आजभोलि त्यसरी छोरा मरेपछि बुहारीको फेरि विवाह गराइदिने परम्परा छ कि छैन मलाई त्यो पनि थाहा छैन । पूर्णिमा भाउजू कस्ती भइन् होला, आकाश र पृथ्वी कत्रा भए होलान् ? मलाई त्यतातिरको केही थाहा छैन । आजभोलि गाउँमा पहिलाजस्तो मुसा मार्ने थारूहरू प्रायः भेटिन्न । मलाई यो भने राम्रोसँग थाहा छ ।

 

धेरै वर्षपछि गाउँ जाँदा पुजारीबाजेको छोरी सिर्जना विधवा भएपछि माइत फर्केको समाचार भने थाहा पाएँ । विवाहको पाँच महिनामै श्रीमान् मरेपछि सबैले सिर्जनालाई ‘अलच्छिना’ भन्न थालेछन् । घरमा बसिनसक्नु भएपछि सिर्जना सधैँका लागि माइत नै फर्किछन् । सुन्छु माइती गाउँमा आजभोलि पनि सिर्जनाको संसार झट्ट हेर्दा ‘सेतो धरती’जस्तै छ ! 

 

सिर्जनाको घटना सुनेपछि मनमा एउटा प्रश्न एकदम आइरहन्छ । ती पुजारीबाजे, सन्तवीर र पूर्णिमाको विवाहको बारेमा आजभोलि के सोच्दा हुन् ? विधवा भएकी आफ्नी छोरी देखेर उनमा केही बदलाव आयो कि आएन होला ? थारू समाजको संगतले को–को बिग्रिए होलान् ?