• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आकांक्षा झा 
२०७८ बैशाख ४ शनिबार ०९:४४:००
सम्झना

सिजन बार्गेनिङको

२०७८ बैशाख ४ शनिबार ०९:४४:००
आकांक्षा झा 

दहेजको सुरुवात कहाँबाट भयो,कसले गर्‍यो, किन गर्‍यो, कहिले गर्‍यो ?

 

कछिन सोच्नुहोस् त, एउटा मान्छेले के–केमा मात्रै बार्गेनिङ गर्न सक्छ ? तपाईंको दिमागमा आउन सक्छ, मानिसले तरकारी, लुगाफाटा, किनमेलका सामाग्रीहरूमा बार्गेनिङ गर्न सक्छ । तर होइन, तपाईं अचम्ममा नपर्नु भए हुन्छ, मानिसले बिहेमा पनि बार्गेनिङ गर्छ । 

 

बिहे हुने महिना आइरहँदा मोलमोलाइको सिजन चल्दै गरेको महसुस हुन्छ । सामाजिक सञ्जालमा फैलिएका वैवाहिक समारोहका तस्बिरहरू हेर्दा लाग्छ, केटाकेटी पक्षबीच बार्नेनिङ भइसकेछ, पद–प्रतिष्ठा र शैक्षिकस्तरको आधारमा टेन्डर आह्वान गर्ने काम पनि सम्पन्न भइसकेछ । 

 

कुल खानदान, केटाकेटीको शिक्षा, पद, पेसा, कमाइको स्तर हेरेर अलग–अलग किसिमले लिने दिने कुरामा बजेटको रेट लगाइएको हुन्छ । उक्त रेटमाथि बिहेको सिजनभरि नै बार्गेनिङ भइरहन्छ । मधेसका देहात र सहरहरूमा त्यसवेला ‘बार्गेनिङगको पिक आवर’ चलिरहेको जस्तो महसुस हुन्छ । 

 

झन् गज्जबको कुरा त के छ भने श्रावण महिनामा देशको आर्थिक वर्ष सुरु भएझैँ, मंसिर महिना भने बिहेको आर्थिक वर्षको सुरुवातको महिनाजस्तो लाग्छ । जुन मङसिरमा सुरु भई वैशाख हुँदै असारमा समाप्त हुने गर्छ । यस अवधिभरि चल्ने गर्छ मोलमोलाइ । हो विवाहको मोलमोलाई, विवाहमा लिने दिने सामाग्रीको मोलमोलाइ, कसैको जीवनको मोलमोलाइ, रुपैयाँ र घरखेतको मोलमोलाइ । अनि मोलमोलाइ हुने गर्छ आमाबाबुले जीवन बिताएर कमाएको पैसाको र अन्तिममा हुने गर्छ आत्मसम्मान बेचेर दहेज दिने र लिने काम । मूल्य तिरेर सम्बन्ध किन्ने काम ।

 

त्यस्तो सम्बन्ध जुन दहेजका आधारमा तय हुन्छ । दहेज केटा पक्षले केटी पक्षसँग विवाहको खर्च भनी माग्छन् । खर्चसँगै गरगहना, फर्निचर सेट, किचेन आइटम पनि लिन्छन्, जसलाई हामी जिन्सी सामाग्री भनेर पनि बुझ्छौँ र तन ढाक्ने कपडा, पाउ राख्ने जुत्तादेखि ‘अन्डरगार्मेन्ट्स’ पनि त्यही दहेजवाला पैसाबाट किन्ने अपेक्षा राख्छन् । अझ छोराको बिहे हो भने त घरबाट एक पैसा पनि खर्च नगर्ने सवाल उठ्छ । त्यो सवाललाई मलजल गर्छन्, अभिभावकहरू, समाजका विद्वान्, विदुषी, शिक्षित, प्रतिष्ठित, सक्षम भनेर चिनेएकाहरू । जति धेरै दहेज त्यति ठूलो सरम भनेर अस्वीकार गर्नुको सट्टा जति धेरै दहेज त्यति धेरै इज्जत भनेर घमन्डमा पौडी खेल्छन् । अझ उनीहरू सोच्छन्, धेरै दहेज लिएर कसैको छोरीमाथि ठूलो उपकार गरियो । उसको परिवारको समेत उपकार गरियो ।

 

अर्कोतर्फ भित्र–भित्रै छोराको पालनपोषण, पढाइलेखाइको सम्पूर्ण खर्च पनि त्यही दहेजबाट असुल्न खोज्छन् । जब मौकामा चौका हानिन्छ त्यसपछि मोलमोलाइको कार्य समाप्त हुन्छ । त्यसपछि विवाहको शुभ मुहूर्त आउँछ र ठूलो अक्षरले रंगीबिरंगी ब्यानरमा लेखिन्छ शुभ विवाह । अनि सुरु हुन्छ छरछिमेकको चियो चर्चो । दहेज पर्याप्त आएको छ कि छैन ? के दियो दहेजमा ? कतिवटा सामान दियो ? धेरै दिएको छ भने वाहवाही गर्छन् । दहेज कम वा दिएकै छैन भने केटाकेटी दुवैको परिवारलाई छिछि र दुरदुर गर्ने प्रक्रिया अब सुरु हुन्छ । 

 

जति धेरै दहेज त्यति ठूलो सरम भनेर अस्वीकार गर्नुको सट्टा जति धेरै दहेज त्यति धेरै इज्जत भनेर घमन्डमा पौडी खेल्छन् । अझ उनीहरू सोच्छन्, धेरै दहेज लिएर कसैको छोरीमाथि ठूलो उपकार गरियो ।

 

अब यहाँबाट सुरुवात हुन्छ, द्वन्द्वको नयाँ शृंखला । केटी र केटीको परिवारले अर्को तहको मानसिक यातना झेल्न सुरु गर्छन् । अब केटा पक्ष डिमान्ड गर्ने पक्ष बन्छ, केटी पक्ष माग पूर्ति गर्ने पक्ष बन्छ । डिमान्ड पूरा भएन भने परिणाम जेसुकै हुन सक्छ भन्ने डरैडर बोकेर केटीको परिवार बाँच्न थाल्छ । तर, डिमान्ड गर्नेको न मन भरिन्छ, न उसको नियत बदलिन्छ ।

 

समाजका जान्ने बुझ्ने अगुवा कहलिएकाहरूसमेत दहेज के–कति आयो भन्नेबारे जानकारी लिन पछि पर्दैनन् । दहेज लिएपछि समाजमा मानसम्मान बढ्छ, दहेजबापतको रकमबाट केटाकेटीको भविष्य सुरक्षित हुन्छ, धनी भइन्छ भन्नेजस्ता घटिया सोचले गर्दा जबर्जस्ती दहेज लिएरै छाड्छन् । अर्कोतर्फ छोरीको बिहेलाई परिवारको हैसियत र औकातसँग दाज्ने प्रवृत्ति भएकाले पनि आफ्नो इच्छा, आत्मसम्मानविरुद्ध गएर पनि दहेज दिन अग्रसर हुन्छन् । विडम्बना यसको विरुद्ध बोल्न सबै डराउँछन् । समाजमा उदाहरण बनेर प्रस्तुत हुने हिम्मत हत्तपत्त कसैले गर्दैनन् ।

 

सबैजसो ठाउँ, क्षेत्र, परिवेशमा यस्तो नहोला, तर मैले देखेको अधिकांश ठाउँ, समुदाय र खास गरी मधेसमा यही प्रक्रिया पार गरेर बिहे भइरहेको छ । यो प्रक्रिया समाजको एउटा विरक्त लाग्दो दृश्य हो । एक त आफ्नो छोरी दिनु, सँगै दाइजोको नाममा घरखेत बारी, जग्गा–जमिन बन्धकी राखेर पैसा दिनु योभन्दा विरक्तलाग्दो दृश्य अरू के होला ! पैसाले बढी प्राथमिकता पाउनु र पैसाकै भरमा सम्बन्ध गाँस्नु नै समाजमा नयाँ समस्याको उत्पादन हुनु हो भन्ने लाग्छ । 

 

दहेजको सुरुवात कहाँबाट भयो ? कसले गर्‍यो ? किन गर्‍यो ? कहिले गर्‍यो ? भन्नेजस्ता प्रश्नहरूको उत्तर तथा दाइजोको इतिहासका बारेमा धेरै थाहा पाउन बाँकी छ । तर, यतिचाहिँ भन्न सकिन्छ कि दाइजो तराई, पहाड, हिमाल सबै क्षेत्र, जात, वर्ग र धर्ममा संस्कृति र परम्पराको नाममा फैलिएको भयावह क्यान्सर हो । यो रोगलाई हरकोहीले देख्न सक्दैन, तर भित्रभित्रै मनस्थितिलाई नै ‘प्यारालाइज्ड’ बनाउने खतरनाक रोग हो । यही रोगको परिणाम हो, छोरीको भू्रण हत्या, बालविवाह, अनमेल विवाह, महिला हिंसा । यो रोगलाई हाम्रै समाजले मलजल गरेर निरन्तर अगाडि बढाइरहेको छ ।

 

                                                      ०००

 

‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२०’ को रेकर्ड हेर्ने हो भने सन् २०१९ मा प्रदेश नम्बर २ मा मात्रै दाइजोका कारण १३ जना महिलाको विभिन्न तरिकाबाट हत्या भयो । अनगिन्ती अमानवीय घटना भए । अझ डरलाग्दो त के छ भने समाजमा शिक्षित, सभ्य, सुखी र सम्पन्न भनाउँदाहरू नै पीडकका रूपमा देखापरेका छन् । जसको प्रत्यक्ष उदाहरण वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत ४० वर्षीय डाक्टर सचितानन्द यादवलाई समेत लिन सकिन्छ, जसले केही महिनाअगाडि मात्रै दाइजोको निहुँमा ३६ वर्षीया श्रीमतीको कुटपिट गरी हत्या गर्‍यो । त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–२६ की २२ वर्षीया जरिना खातुन र दुई वर्षीया छोरी सोहना खातुनले पनि दाइजोकै कारण ज्यान गुमाउनुपर्‍यो ।

 

त्यस्तै, रौतहटको राजदेवी नगरपालिका–६ की २४ वर्षीया निशा उपाध्याय, महोत्तरी मनवा सिसवा नगरपालिका–८ सहसरामकी २० वर्षीया धनमतीदेवी महतो, जनकपुर उपमहानगरपालिका–२४ बसहियाकी १६ वर्षीया आरतीकुमारी सहनी, सोही उपमहानगरपालिका–४ बस्ने २५ वर्षीया सीमा शर्मा र उनकी २ वर्षीया छोरी गौरी मिश्रको पनि दहेजकै निहुँमा विष खुवाएर हत्या गरियो । यी प्रतिनिधि घटनाहरू मात्र हुन् । यस्ता अनेकौँ घटनाका प्रत्यक्षदर्शी हामी कहीँ न कहीँ हुन्छौँ । तर, हामी विरोधमा बोल्न हिचकिचाउँछौँ । जब छोरीको विवाह गराउने समय आउँछ, त्यतिवेला विभिन्न त्रासपूर्ण घटनाले छोडेको छापका कारण दहेज दिन बाध्य हुन्छौँ । छोरीलाई आत्मनिर्भर बनाउनुको सट्टा परनिर्भर बनाउँछौँ र छोरीको जीवनको कन्ट्रोलसमेत त्यही मगन्तेहरूको हातमा सुम्पिदिन्छौँ ।

 

यो विषयलाई गहिरिएर विश्लेषण गर्ने हो भने यसमा दोषी दहेज लिने–दिने परिवारका सदस्यहरूसँगै विवाह गर्न लागेका केटाकेटी पनि त्यत्तिकै जिम्मेवार छन् । केटा–केटीले सबै निर्णय परिवारकै हुन्छ भन्दै मौन स्वीकृति जनाउँदा गलत क्रियाकलापमा समेत पूर्ण समर्थन जनाइराख्छन् । हाम्रो समाजले पनि यस्ता क्रियाकलापलाई निरुत्साहित गर्नुको सट्टा स्याबास भनिरहन्छ । परिणामस्वरूप केटाको परिवार आफ्नो भएभरको इज्जत दाउमा राखेर दहेज माग्न तयार हुन्छन् । प्रत्यक्ष रूपमा नमागे पनि हजुरकै छोरी हो क्यारे, पछि उनीहरूले नै सुख भोग गर्ने हो भन्दै ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न पनि पछि पर्दैनन् । यही कारणले गर्दा केटीको परिवार आफ्नो र छोरीको अस्तित्व बेचेर दहेज दिन तयार हुन्छन् । 

 

नेपालको कानुनले सन् २००९ देखि दहेज लिनेदिने काममा कानुनी रूपमै रोक लगाए तापनि व्यवहारमा भने यसले कुनै काम गर्न सकेको छैन । कानुन निष्प्रभावी हुँदा बर्सेनि कति छोरीहरू जल्न, बल्न, झुन्डिएर मर्न बाध्य बनाइन्छ । कतिको हत्या हुन्छ । कति छोरीहरू शारीरिक, मानसिक, आर्थिक, सामाजिकलगायत विभिन्न हिंसाको सिकार बन्छन् । तर, अपसोच हामी अझै रमिता हेरिरहेका छौँ । आखिर कहिलेसम्म यस्तो तमासा हेरिरहने ? कहिलेसम्म नदेखेको अभिनय गरिरहने ? कहिलेसम्म नबोली बस्ने ? संस्कार, परम्पराको नाममा कहिलेसम्म छोरीहरूलाई बलि चढाएको हेरिरहने ? सम्बन्ध जोडेको नाममा कहिलेसम्म छोरीहरूको जीवनमाथि बार्गेनिङ भएको हेरिरहने ? यो घृणित सौदाबाजीको अन्त्य कहिले गर्ने ? 

 

छोरीको शिक्षा, आत्मनिर्भरता र आत्मनिर्णय गर्ने हिम्मतको विकास गरियो भने दहेजसँगै अन्य धेरै कुसंस्कारको पनि जरा कमजोर हुँदै जानेछन् । तर, हामी छोरीलाई आत्मनिर्भर बनाउन डराइरहेका छौँ । छोरीलाई परिवर्तनको संवाहक बन्ने वातावरण बनाउन डराइरहेका छौँ । हामी असंगतिविरुद्ध बोल्न डराइरहेका छौँ ।