• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विमल निभा
२०७८ बैशाख ४ शनिबार १०:०८:००
साहित्य

कविता : सोनचिरैया

२०७८ बैशाख ४ शनिबार १०:०८:००
विमल निभा

फुलवा, गाउँकी 
प्यारी–प्यारी सोनचिरैया

फुलवा, फूलदार फ्रक
तिमीलाई कति सुहाएको
फुलवा, माई तिमीलाई
धेर माया गर्छिन्
फुलवा, तिमी बाबाको पनि
आँखाको तारा
फुलवा, तिमीलाई सहेलीहरू
खेल्न बोलाइरहेका छन् 
फुलवा, स्कुलकी तिमी
एक जेहनदार विद्यार्थी
फुलवा, हेडमास्टरसाब तिम्रो
तारिफ गर्ने गर्छन्
फुलवा, यही वर्ष तिमी
पुग्नेछौ सात क्लासमा
फुलवा, तिम्रो पिछा गरेर
आवाराहरू सिटी बजाउँछन्
फुलवा, माईको नजरमा 
तिमी ठूली भइसक्यौ
फुलवा, तेरह पार गरेर
चौध वर्षमा तिमी 
फुलवा, बिहेको कुरा गर्न
बाबा गएका छन् पारिगाउँ
फुलवा, फागुनमा तिमी 
आफ्नो दुलहा देख्नेछौ 
फुलवा, एउटा घरबाट तिमी
अर्को घरको आँगनमा 
फुलवा, दहेजलाई लिएर
ससुरालीकाहरू खुसी छैनन्

फुलवा, फुलवा
ए सोनचिरैया
मट्टितेल खन्याएर
तिमीले आफैंलाई 
जलाएकी हो फुलवा ?